डायस्पोराको ज्ञान र सीप नेपालको विकासमा उपयोग गर्ने लक्ष्यका साथ जर्मनीमा दोस्रो ‘नेपाली रूट्स समिट’

डिसी नेपाल
२२ असार २०८३ ११:२७

काठमाडौं। जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र समुदायका अगुवाहरूबीच सञ्जाल विस्तार गर्दै नेपाली डायस्पोराको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यका साथ जर्मनीको म्युनिखमा दोस्रो ‘नेपाली रूट्स समिट-२०२६’ सम्पन्न भएको छ।

नेपाली रूट्सद्वारा आयोजित उक्त समिटमा जर्मनीका विभिन्न सहरहरूबाट ९६ जना नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो। जर्मनी तथा युरोपमा रहेका नेपाली मूलका विज्ञ, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका पेशाकर्मीहरूलाई एउटै सञ्जालमा आबद्ध गराउने उद्देश्यले स्थापित नेपाली रूट्सले ज्ञान आदानप्रदान, व्यावसायिक सहकार्य र नेपालसँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

नेपाली रूट्सका अध्यक्ष डा. कृतन गौतमको अध्यक्षतामा सम्पन्न उक्त समिटमा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। मन्तव्यका क्रममा उनले नेपाली रूट्स नेपाली डायस्पोराको साझा मञ्चका रूपमा एक महत्त्वपूर्ण संस्था बनेको चर्चा गरे।

कार्यवाहक राजदूत फुयाँलले सरकारले परम्परागत कूटनीतिभन्दा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिइरहेको उल्लेख गर्दै पर्यटन, व्यापार, उद्योग, ऊर्जा, सूचना प्रविधि, वाणिज्य तथा नवप्रवर्तन (इन्नोभेसन) का क्षेत्रमा डायस्पोराको ज्ञान, सीप र सञ्जालको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका अध्यक्ष लोकमणि ढकालले कार्यक्रमको सफलताको शुभकामना दिँदै नेपाली रूट्स र एनआरएनएबीच नजिकको सहकार्य आवश्यक रहेको औँल्याए।

नयाँ पुस्ताको आवश्यकता बुझ्न एनआरएनएले नेपाली रूट्सजस्ता संस्थाहरूबाट सिक्न चाहेको उनको भनाइ थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाली रूट्सका सचिव जितेन्द्र कसौधनले सहभागीहरूलाई स्वागत गर्नुका साथै ‘नेपाली रूट्स जर्नल’ को विमोचन समेत गरे।

उनले विश्वभर फैलिएको नेपाली डायस्पोरा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगिसकेकाले उनीहरूबीच बलियो सञ्जाल निर्माण गर्नु समयको आवश्यकता भएको बताए।

विदेशमा रहेका नेपालीहरूबीच सहकार्य बढाउनुका साथै नेपालसँग ज्ञान, प्रविधि, अनुसन्धान, उद्यमशीलता र लगानीका क्षेत्रमा दीर्घकालीन सहकार्य विस्तार गर्ने अपेक्षाका साथ संस्थाले काम गरिरहेको उनले स्पष्ट पारे।

समिटका क्रममा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा तथा डायस्पोरा नेतृत्वलगायत समसामयिक विषयहरूमा गहन छलफल गरिएको थियो।

विभिन्न क्षेत्रका विज्ञहरूले व्यक्तिगत सफलतालाई सामूहिक प्रभावमा रूपान्तरण गर्न बलियो व्यावसायिक सञ्जाल, मेन्टरशिप र सहकार्य अपरिहार्य रहेको धारणा राखे। छलफलले नेपाली डायस्पोराको भूमिका रेमिट्यान्समा मात्र सीमित नरही ज्ञान, अनुसन्धान, प्रविधि, उद्यमशीलता तथा विश्वव्यापी सञ्जालमार्फत नेपाल र विश्व समुदायमा अझ प्रभावकारी योगदान दिन सकिने निष्कर्ष निकालेको छ।

यसैगरी, नेपाल र नेपाली डायस्पोराबीच सहकार्यका नयाँ सम्भावना पहिचान गर्दै भावी पुस्ताका लागि बलियो समुदाय निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो।

सहभागीहरूले विभिन्न क्षेत्रका नेपालीसँग अनुभव आदानप्रदान गर्नुका साथै नेपाल सरकारका तर्फबाट रिमोट भोटिङ, प्रवासी नेपाली नागरिकता तथा डायस्पोरा फन्डको प्रभावकारी परिचालनजस्ता नीतिगत विषयमा पहल गर्नुपर्ने धारणा राखेका थिए।

नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको र यसको विकासका लागि डायस्पोरा र सरकारबीच सहकार्य आवश्यक रहेको निचोड निकाल्दै आयोजकले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *