लघुकथा : बाँध

भूमिका गैरे तिमिल्सिना
२७ असार २०८३ ७:५७

“संघर्ष कसका लागि ?”

समय बितेको पत्तै भएन। गणितीय हिसाबले मात्र जीवनमा सुख नदिने रहेछ। कमाइ गर्‍यो, खर्चको बाँडफाँड गर्‍यो, तर कहिल्यै नपुग्ने! दौँतरीको लहलहैमा लाग्दा भोक र तिर्खा सबै बिर्सिइने। कस्तो अचम्मको प्रतिस्पर्धा?

एकछिन छहारीमा बसेर आराम गरेँ। त्यत्तिकैमा एक युवकले वृद्धलाई लिएर आए। सायद छोरा हुनुपर्छ भन्ने आँकलन गरेँ। “कतिमा लाने हो?” उनले सोझै प्रश्न गरे।

मैले आफ्नो डोको मिलाएँ र भनेँ, “थाहा होला नि हजुर, बाटो ठाडो उकालो छ। पाँच हजार दिनुस्।”

उनी कचकच गर्न थाले र अन्य भन्नेसँग तुलना गर्दै भने, “पैँतीस सय दिन्छु, हुन्छ भने हुन्छ, नत्र परेन।”

मैले ठाडै जवाफ फर्काएँ, “केदारनाथको बाटो हो हजुर, मान्छे बोकेर हिँड्न सजिलो छ र? एक सुका कम लिन्नँ। हुन्छ हुन्छ, हुन्न हुन्न।” यति भनेर मैले डोको थन्काएँ।

मेरो कुरा सुनेर उनी केही नरम भए र कर गर्दै भने, “नरिसाउनुस् न। ल ल भैँगो, तपाईंकै बोली भयो। हुन्छ, जाऊँ जाऊँ।”

मैले वृद्धलाई डोकोमा मिलाएर बसालेँ र बाटो लागेँ। उनी पनि सँगसँगै हिँडे। हिँड्दाहिँड्दै उनले मेरो उमेर बुझ्ने प्रयास गरे, “कति उमेर भयो हजुरको? बुढै देखिनुहुन्छ त, साठी काट्नुभयो?”

गति नरोकी मैले वास्तविकता बताएँ, “कटेँ हजुर! भरिया भएको पनि आज ठ्याक्कै दुई दशक भएछ।”

फेरि स्वाँ–स्वाँ गर्दै, सास फुलेको स्वरमा उनी बोले, “हैट मानेँ! उमेरले छ दशक पार गर्दा पनि जोस भने तीस वर्षको युवकको जस्तो छ! वाह, गजब छ! कहाँबाट ल्याउनुहुन्छ हो यस्तो उत्साह?” उनले ठट्यौलो पारामा सोधे।

म निहुरिएरै मुस्कुराएँ र अन्तर्मनमा हराएँ। मनले घर सम्झियो अनि फुर्तिलो स्वरमा भनेँ, “यो सन्तोषको दु:ख हो हजुर! परिवारको खुसीका अगाडि यस्ता कैयौँ बाँधहरू तोड्न म कसरी नसकूँला र?” मेरो स्वरमा पूर्ण सन्तुष्टि झल्किएको थियो।

आलेख

“बिहानको सात बजिसक्यो, तर चिया दिने अत्तोपत्तो छैन!” घडी हेर्दै बुढाले हकारे।

उनले विगत कोट्याउँदै थपे, “पहिला-पहिलाका मान्छे पानी-पँधेरो, भैँसी-भकारो, दैलो-चुलो सबै सकेर काममा निस्कन्थे। अहिले त दिनभरि लाग्दा पनि घरको सरसफाइ भ्याउँदैनन्।”

“पख्नुस् न, यति काम सकेर बनाइहाल्छु नि!” उनी भने आफ्नै लेखनकार्यमा व्यस्त थिइन्।

श्रीमतीको व्यस्तता देखेर चिढिँदै उनले भने, “के के नै लछारपाटो लाउलान् जस्तो! जतिखेर पनि घोप्टिएर लेखेको लेख्यै! तात्तो न छारो! कुवाको भ्यागुतो जति उफ्रिए पनि कुवाको कुवै त हो नि।”

“आफैँ पकाएर पनि पिउन सकिन्छ नि त्यति चिया त! मेरो यहाँ जरुरी काम छ, थालेको काम सकेर बनाउँछु त भन्दै छु नि,” झिँझिएको स्वरमा उनी बोलिन्।

बुढाले रिसको झोंकमा टिभी बन्द गरे। “नमच्चिने पिङको सय झट्का” भन्दै उनले सोफातर्फ नजर घुमाए र पत्रिका हेर्न थाले, “असार महिनामा कहाँ-कहाँ के-के भएछ?”

हेर्दाहेर्दै अचानक पत्रिकामा आफ्नै श्रीमतीको आलेख (लेख) मा उनको नजर पर्यो। उनले सरसरती लेख पढे। लेख पढिसक्दा उनी भित्रभित्रै पुलकित भए। उनी आफैँ भान्छामा छिरे, चिया बनाए र आदरपूर्वक बुढीको टेबलमा लगेर राखिदिए।

श्रीमतीले अचम्म मान्दै उनको अनुहारमा हेरिन्। “हैन, के भयो आज? सन्चो भएन कि क्या हो? कि रिसाउनुभएको हो?” मनमा अनेक प्रश्न खेलाउँदै र बुढाको अनुहारको भाव पढ्दै उनले सोधिन्, “के भयो, सबै ठिकै त छ नि?”

बुढाले गर्विलो स्वरमा पत्रिका देखाउँदै भने, “घरकी मुर्गी दाल बराबर भन्थे, हो रैछ। मैले पनि तिम्रो महत्त्व कहाँ बुझेको रहेछु र?”

 पालो

“आज को पर्छ ?”

करेसाबारीमा छपक्कै तरकारी फलेका छन्। केही झुन्डिएका छन् त केही लत्रिएका छन्। करेला, घिरौँला, लौका, बोडी र फर्सी लगायतका तरकारीले बारी नै भरिएको छ। मलजल प्रशस्त पाएकाले सबै बोटबिरुवा राम्रोसँग मौलाएका छन्। एकदिन उनीहरूबीच भलाकुसारी चल्दाचल्दै अचानक घिरौँला र करेलाबीच विवाद सुरु भयो।

करेलाले कर्के नजरले हेर्दै भन्यो, “ओए तोरियाँ! त्यसै तुर्लुङ्ग झुन्डिएको छस्। सित्तैमा फलेका छन्, स्वाद केही छैन। मान्छेले एक-दुई छाक खाए भने सबैको जिब्रो लोप्रिन्छ। के छन् तेरा फाइदा?” उसले चर्को आवाजमा छड्के प्रहार गर्‍यो।

घिरौँलाले यो अपमान खप्न सकेन। ऊ पनि रिसले आगो हुँदै जंगियो, “के रे? फेरि भन् त! बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड भन्थे, हो रैछ। मुखै बिगार्ने तितेकरेलाले पनि बडो फुर्ती लगाउने रहेछ!”

ऊ फेरि भुत्भुताउँदै भन्न थाल्यो, “ल सुन्, मलाई खाँदा मान्छेको पाचन प्रक्रियामा सुधार आउँछ। जसले तौल नियन्त्रण गर्न, मुटु, कलेजो र आँखालाई फाइदा पुर्‍याउँछ। ममा भिटामिन, खनिज र पानीको मात्रा प्रशस्त पाइन्छ र शरीरमा अम्लीयपन पनि हुन दिन्नँ, बुझिस?” उसले फिस्स हाँस्दै आफ्ना फाइदाहरू सुनायो।

करेलाले रवाफिलो स्वरमा भन्यो, “नमच्चिने पिङको सय झट्का भनेको यही हो। अरूले तपाईं भन्नु कहाँ छ कहाँ, आफैँ मपाईं? धेरै नै गुणी रहेछौ हगि! इन्द्रका अगाडि स्वर्गको बयान नगरेकै बेस।” उसले कडा कटाक्ष गर्‍यो।

घिरौँलालाई अब खपिनसक्नु भयो। उसले सोध्यो, “लल, तिम्रा पनि गुणहरू सुनाऊ न त, के-के रहेछन्?”

करेलाले जुँगामा ताउ लगाउँदै घमण्डका साथ भन्यो, “म त औषधि हुँ, औषधि! मधुमेह कम गर्ने, रगत शुद्ध बनाउने, हृदयको सुरक्षा गर्ने, छाला स्वस्थ राख्ने, भिटामिन र खनिज प्रशस्त दिने मात्र होइन, शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछु, बुझ्यौ?” उसले बडो फुर्तीका साथ कुरा टुङ्ग्यायो।

उनीहरूबीच यसरी भनाभन चलिरहेकै बेला अचानक घरबेटी आइन् र करेलाको घाँटी निमोठेर चुँडेर लगिन्। क्षणभरमै बारीमा सन्नाटा छायो। सबै तरकारीहरू मौन भए र चकित पर्दै एकअर्कालाई हेर्न थाले।

यी सबै दृश्य प्रत्यक्ष नियालिरहेको लौकालाई अब सहन भएन। उसले गम्भीर हुँदै मुख खोल्यो, “एकअर्काको अस्तित्वलाई बुझ साथी हो! पालो सबैको आउँछ भन्ने थाहा हुँदाहुँदै पनि आखिर यो घमण्ड केका लागि र किन?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *