‘नेतान्याहु न्युयोर्क आए गिरफ्तार हुनसक्छन्’: मेयर जोहरान माम्दानीको चेतावनी, कानुनविद्हरू भने सशङ्कित

डिसी नेपाल
४ साउन २०८३ १३:४४

काठमाडौं । अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका विरुद्ध कडा टिप्पणी गर्दै नयाँ राजनीतिक तरङ्ग सिर्जना गरिदिएका छन्। आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभामा सहभागी हुन नेतान्याहु न्युयोर्क आएमा उनलाई पक्राउ गर्न सकिने सम्भावनाबारे आफ्नो प्रशासनिक टोलीले कानुनी सल्लाह लिइरहेको ममदानीले खुलासा गरेका छन्।

एक अन्तर्वार्ताका क्रममा मेयर माम्दानीले भने, ‘मेरो स्पष्ट मान्यता छ कि नेतान्याहुको वास्तविक ठाउँ द हेगमा हो। अन्तर्राष्ट्रिय अपराध अदालतले उनीविरुद्ध पक्राउ पुर्जी (वारेन्ट) जारी गरिसकेको छ र विश्वभरका मानिसहरू उनलाई युद्ध अपराधी मान्छन्।”

यद्यपि, एक विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई पक्राउ गर्ने कानुनी अधिकार न्युयोर्कको मेयरसँग छ कि छैन भन्ने कुरा अझै स्पष्ट नरहेको ममदानीले स्वीकार गरेका छन्। यस संवेदनशील विषयमा न्युयोर्क सिटीको कानुन विभागसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै उनले भने, ‘कानुनले हामीलाई जे गर्न अनुमति दिन्छ, हामी त्यही गर्नेछौँ। हामी आफ्नो तर्फबाट कुनै नयाँ कानुन बनाउने छैनौँ।’

ममदानीका अनुसार कानुनले अनुमति दिएको खण्डमा अन्तर्राष्ट्रिय अपराध अदालतको पक्राउ पुर्जीको सम्मान गरिनेछ। गाजा युद्धमा नेतान्याहुको भूमिकामाथि प्रश्न उठाउँदै उनले संयुक्त राष्ट्रसङ्घको छानबिन समितिले पनि त्यहाँको स्थितिलाई लिएर गम्भीर टिप्पणी गरिसकेको स्मरण गराए।

कानुनविद्हरूले भने ममदानी प्रशासनको यो सम्भावनालाई अत्यन्तै जटिल र कानुनी रूपमा असम्भव प्रायः मानेका छन्। यसका केही कारणहरू पनि छन् । संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय अपराध अदालतको सदस्य राष्ट्र होइन र उसले यसको अधिकार क्षेत्रलाई आधिकारिक रूपमा स्वीकार गर्दैन।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसअघि नै आइसीसी विरुद्ध कडा अडान अपनाउँदै सो अदालतलाई कमजोर पार्ने नीति सार्वजनिक गरिसकेको छ। यसबाहेक संयुक्त राष्ट्रसङ्घको बैठकमा भाग लिन आउने विदेशी नेताहरूलाई अन्तर्राष्ट्रिय कूटनीतिक सन्धि अनुसार विशेष उन्मुक्ति प्राप्त हुन्छ।

येले ल स्कूलका अन्तर्राष्ट्रिय कानुन विज्ञ हेरोल्ड होङ्गजु कोहले यस विवादलाई ‘राजनीतिक टकरावको खेल’ को संज्ञा दिएका छन्। उनका अनुसार यो मामला न्युयोर्क सहर प्रशासन, ट्रम्प खेमा र इजरायली प्रधानमन्त्री नेतान्याहुबीचको एउटा ठूलो संवैधानिक र राजनीतिक सङ्घर्षका रूपमा परिणत हुन सक्छ।

अब सबैको ध्यान आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको साधारण सभातर्फ मोडिएको छ। यदि नेतान्याहु न्युयोर्क आएको खण्डमा कानुनी सल्लाहपछि माम्दानी प्रशासनले वास्तवमै कुनै कदम चाल्छ वा यो केवल राजनीतिक वक्तव्यबाजीमा मात्र सीमित हुन्छ, त्यो हेर्न बाँकी नै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *