भोटेकोशी बाढीका मृतकको पहिचानका लागि डिएनए परीक्षण तीव्र

डिसी नेपाल
२५ भदौ २०८३ १०:२५

रूपन्देही। भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्र बनाएको छ।

शव पहिचानमा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले प्रहरीले आधुनिक ‘फोरेन्सिक’ प्रविधि डिएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको हो।

नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट प्राप्त नमुनाहरूको परीक्षण गरिरहेको छ। नमुना सङ्कलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड अपनाइएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धार र शव पहिचानलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।

प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालले बाढी प्रभावित क्षेत्रबाट मृतकका र आफन्तका नमुनाहरू आउने क्रम जारी रहेको बताए। सङ्कलित नमुनालाई सुरक्षित रूपमा भण्डारण गर्दै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरेर डिएनए परीक्षणमा अहोरात्र टोली खटिएको उनले जानकारी दिए।

प्रयोगशालामा हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट प्राप्त ८०८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीका ३४८ वटा नमुना र ८४ वटा औँलाछापसम्बन्धी नमुना गरी कुल १,२४० वटा नमुना परीक्षणका लागि प्राप्त भएका छन्। हालसम्म २६ जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भइसकेका छन्।

हालसम्म प्राप्त पछिल्लो तथ्याङ्कअनुसार मृतकका १,२८६ र आफन्तका १,४१२ गरी कुल २,६७८ वटा डिएनए नमुना सङ्कलन भइसकेका छन्। जसमध्ये चितवनबाट ३५४, धादिङबाट ७०, नुवाकोटबाट २०७, रसुवाबाट १३४, नवलपरासी पूर्वबाट १९९, तनहुँबाट ३८, गोरखाबाट ७१ र नवलपरासी पश्चिमबाट २१३ वटा नमुना सङ्कलन गरिएको छ।

यस्तै नेपाल प्रहरी अस्पतालमा मात्रै ९९० जना मृतकका आफन्तको नमुना सङ्कलन भइसकेको छ भने अन्य जिल्लाहरूमा पनि यो कार्यलाई तीव्रता दिइएको छ।

‘डिएनए प्रोफाइलिङ’ मार्फत व्यक्तिको पहिचान र जैविक सम्बन्ध स्थापित गर्न सहज हुने भएकाले भोटेकोशी बाढीपछि बेपत्ता रहेका नेपाली तथा विदेशी नागरिकको पहिचानका लागि यो विधिलाई व्यापक बनाइएको हो।

फेला परेका शव तथा शरीरका अङ्गहरूलाई आफन्तको नमुनासँग वैज्ञानिक दाँजो गरेर पहिचान यकीन गर्ने प्रक्रिया अघि बढाइएको छ। यस कार्यका लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष निर्देशन र निगरानी गरिरहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले पनि डिएनए नमुना संकलन, भण्डारण र परीक्षणलाई व्यवस्थित रूपमा अघि बढाइएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *