होसियार, अपराधीहरु जंगल पसेका रहेछन्

डिसी नेपाल
२४ चैत २०७६ १३:४२

सर्भिलेन्स दायरा फराकिलो पारेर संरक्षणलाई मजबुद् बनाइएको छ भन्दा भन्दै निकुञ्जभित्र अवैध घुसपैठ, चोरी सिकारी र तस्करीका प्रयासहरु भइरहेका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा चोरी सिकारीहरुको सुरक्षा गस्तीमाथि फायर खोल्दा लकडाउनको तेस्रो दिन मुठभेड भयो । बर्दिया राष्ट्रिय निकुञ्जमा तस्करहरु कहिले छिरे पत्तो भएन तर काठ तस्करीको लर्को त्यतिबेला वाहिर आयो त्यतिबेला निकुञ्जले स्विप र सर्च अप्रेशन गर्दा भारी मात्रामा काठ बरामद गरको छ । त्यही निकुञ्जमा लकडाउनको नवौँ दिनमा राजापुर नजिक एउटा वयस्क भाले हात्ती मारिएको दुखद् खबर छ । राप्ती र नारायणी नदीमा अवैध माछा मार्ने टोली भनेर पसेका तस्करहरुले सोही दिन तीनवटा घडियाल गोही मारे । यो खबरले प्रकृति तथा संरक्षणविद्हरुलाई स्तब्ध तुल्याएको छ ।

लकडाउनका बेला तस्करहरुका यी हर्कतले नेपाली सेनामाथि थप जिम्मेवारी आइलागेको छ । प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान र त्याग गर्ने एउटा खम्बा नेपाली सेनाले कोरोना कहरलाई जोडेर आफ्नो सर्भिलेन्स रडारको रेञ्ज बढाउन र तिखो पार्न जरुरी भएको छ । संरक्षण मोडललाई पुनरावलोकन गरेर समय सापेक्ष, प्रभावकारी र असरदार बनाउन आवश्यक भएको छ । चितवन राष्ट्रिय निकुञ्ज सगरमाथाजस्तै विश्व सम्पदामा सूचिकृत अर्को हाम्रो पहिलो र महत्वपूर्ण राष्ट्रिय निकुञ्ज हो । पर्यटकहरुको केन्द्रबिन्दू हो । धेरै लगानी भएको र राजस्व संकलन गर्ने निकुञ्ज पनि हो ।

त्यहाँ गतवर्ष किन २७ पाटे बाघ घटे ? यो वर्ष किन नेपालको प्रतीक एक सिङ्गे गैँडाको धेरै (६१वटा) क्षति भयो । र, त्यही निकुञ्जमा यो वर्ष किन त्यति धेरै संरक्षित गोहीहरुको क्षति भयो ? आखिर तस्करहरु किन पल्किएका छन् जंगलमा ? त्यो गम्भीर अध्ययन र अनुसन्धानको विषय भएको छ । अनि संरक्षणकर्मीहरुको लागि चासो चिन्ता र इज्जतको सवाल भएको छ । नेपाली सेनाको चितवन राष्ट्रिय निकुञ्जमा खटिएको प्रोटेक्सन युनिटको जिम्मेवारी धेरै ठूलो र बहु आयामिक छ ।

पहिला हामी गैंडा संरक्षणका लागि खटिएका थियौँ । अहिले हामीले समग्र निकुञ्ज र मध्यवर्ती क्षेत्र समतेको जैविक विविधताको संरक्षण गर्ने हो । त्यो भनेको आकाश, जमिन र पातालको सम्पूर्ण संरक्षण हो । गोहीलाई छुटायो भने गम्भीर त्रुटी र अपूर्ण संरक्षण हुन्छ । जाबो माछा त हो नि भनेर हेलाँ गरी यसको संरक्षण छायामा पर्यो भने अर्को महाभूल हुन्छ । सम्पूर्ण जीवजन्तु, बोटबिरुवा, सरिसृप, जलचर पंक्षी, किरासमेतले समान प्राथमिकता र महत्व पाउनुपर्दछ । अवैध माछा मार्ने, अवैध जालको प्रयोग, रातको समयमा माझीहरुको अवैध सक्रियतालाई निस्तेज पारेर चितवन राष्ट्रिय निकुञ्जले आफ्ना संरक्षित संकटापन्न गोही र माछालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिनुपर्दछ ।

लकडाउनले निकुञ्ज आरक्षणमा कस्तो प्रभाव पार्ला ? र, व्यवस्थापक र संरक्षणकर्मीहरुले अपनाउनुपर्ने सुरक्षात्मक उपायहरु उल्लेख गरेर पंतिकारले एउटा लेख यसअघि प्रकाशित गरेको थिए लकाडाउनको प्रारम्भमा ।

द्धन्दकालमा चोरी शिकारी र तस्करहरुले ठुलो हानी नोक्सानी पुर्याइ अपूरणीय क्षति गरेको नजिरलाई आधार मानेर लकडाउनमा उच्च सतर्कता, सुरक्षा, सर्भिलेन्स, इन्टेलिजेन्स नेटवर्ककिङ, आइटी व्यापकता एवं ‘बुट्स अन द ग्राउण्ड’ को पहुँच सर्वत्र पुर्याउनु अहिलेको आवश्यकता हो ।

म पूर्व संरक्षणकर्मीलाई त्यतिबेर गर्व बोध भयो, जतिबेर व्यवस्थापक र संरक्षक मिलेर एउटा टीम भएर व्यापक सर्भिलेन्स, सूचना, सुरक्षा, कारवाही एवं घाँसे मैदान, पानीका कुवा, ताल, घोल बनाएर व्यवस्थापन र संरक्षणका कामलाई एकसाथ अगाडि बढाए । लकडाउनको शान्तिकालीन समयको उच्चतम सदुपयोग गरे । चोरी सिकारी र तस्करहरुलाई ठाउँको ठाउँ पक्राउ गरे र कानुनको दायरामा ल्याए । अहिलेको समय किसानहरुलाई तुलनात्मकरुपमा केही विश्रामको बेला हो । विदेशबाट घर फर्केका युवाहरु पनि फुर्सदिएका छन् । लकडाउनले सामान्य जनजीवनालाई असर पारेकै छ । काम नपाउने मानिसको आल्छी पेशा हो चोरी शिकारी । फुर्सदलाई बिसाउन र रमाइलो गर्न पनि मानिसहरु जोखिम उठाएर जङगल छिर्न सक्दछन् । यी सम्भावनाहरुको अध्ययन र विश्लेषण गरेर संरक्षणकर्मीहरुले आफ्नो सुरक्षा रडारलाई फराकिलो र मजबुत् बनाउने हो ।

कोरोेना संक्रमण र उच्च जनसंख्या एवं वातावरण विनासको सम्बन्ध छ छैन वैज्ञानिकहरुको खोज र अनुसन्धानको विषय होला । तर विश्व लकडाउनको प्रकृतिले सास फेर्न शुरु गरेकी र प्रकृति फिर्ता आएकी फोटो, रचना, व्यङ्ग्य, पाठ धेरै देख्न र पढ्न पाइयो लकडाउन अवधिमा ।
प्रकृतिले आफ्नो सन्तुलन आफैँ गर्दछिन् भनेर धेरै विद्धान र विज्ञहरुले टिकाटिप्पणी पनि गरे । भाइरसले विश्वव्यापीरुप लिँदै जाँदा र सारा मानवतामाथि एकसाथ धावा बोल्दा हामी सबैले आफ्नो पूर्व पाप स्मरण गरौं । पश्चाताप गरौं । भविश्वयमा सुध्रिने बाचा गरौं ।

सुध्रिनलाई यी कुराको निक्र्यौल हुनु जरुरी छ । जस्तो कि, हाम्रो विकासको चाहना कति हो ? माग केहो ? गन्तव्य कहाँ हो ? प्रकृतिको दोहन र विनास गरेर पुग्न खोजेको कहाँ हो ? स्वस्थ फोक्सोलाई चाहिँने स्वच्छ, सफा वायु कसले प्रदुषित गरेर काम नलाग्ने बनाएको हो ? पिउँने पानीको गुणस्तर कहाँ पुग्यो, प्लाष्टिकजन्य फोहोरको थुप्रो कसले बनायो ? जल, जमिन, जंगल र वायु माथिको अतिक्रमण शोषण, दोहा्न र विनाशले हामी कहाँ पुग्न खोजको हो ? कोरोनाले विश्वको ध्यान खिचेको छ र यही समय यी पेचिला प्रश्न पनि हाम्रा सामु तेर्साएको छ । प्रकृति संरक्षणको सवालमा नयाँ संरक्षण रणनीति र वातावरण मैत्री भावी योजना माग गरेको छ ।

तीन महिनासम्म कोरोनाले किन प्रकृतिको धनी बेल्ट र महादेशलाई छोएन । दक्षिण एशिया, अफ्रिका र दक्षिण अमेरिकामा भाइरस किन सुस्त, कमजोर र ढिलो छ ? वनजङ्गल, स्वच्छ हावा, शक्तिवर्धक हावापानीको ताकगले हो वा गरिवीले हो त्यो अध्ययनले पछि देखाउला ।
यो सत्य हो कि कोरोना भाइरसले स्वच्छ, सफा र शक्तिवर्धक वायु, पानी जमिन, जल र आकाशको माग गरेको छ । व्यक्तिगत सरसफाइ उच्चकोटीको माग गरेको छ । प्लाष्टिकजन्य फोहोरको विरोध गरेको छ । यो चेतना हामीले हाम्रो जनतामा गाउँ, घर टोलमा दुर दराजका कुना काप्चामा जतिसक्यो छिटो वायु वेगमा फैलाउनु छ । संरक्षण क्षेत्रको अतिक्रमण र दोहन रोक्नु छ । विकासका वहानामा वन विनासलाई रोक्नु छ । यी वातावरण संरक्षणलाई सम्झौता गरेर तयार पारिएका विकासका योजनाहरुको औचित्य र पुनरावलोकन गर्नुपर्ने भएको छ ।

नेपाली सेनाका वर्तमान प्रधानसेनापतिले सगरमाथा सरसफाई अभियानको खाको कोरे । ज्यादै महत्वकांक्षी योजनालाई कार्यान्वयनमा लैजान अभियानको संयोजन गरे । असम्भव केही छैन भन्ने सन्देश कुरा होइन कामले गरेर देखाए । बाँकी फोहोर उठाएर विश्व सम्पदा, विश्वको गौरव, नेपालको प्रतीक र श्रीपेचलाई झलल टल्काउने सदिच्छा वास्तवमा एउटा राष्ट्रभक्त, सच्चा प्रकृतिप्रेमी सेवकको अन्तस्करणबाट निस्केको महत्वकांक्षा थियो । अहिले पहिलो चरणको सफलता, श्रेय र आत्म विश्वासले पूरै हिमालय श्रृङ्खलाको अभियान अगाडि बढाउने योजनाको प्रारुप अघि सारिएको छ । विश्वव्यापी ज्यानमारा भाइरस आउनु एक वर्ष अगाडि यस्तो सुन्दर योजना तर्जुमा गर्ने ज्यादै दूरदर्शी संगठन प्रमूखलाई म स–सम्मान सलाम भन्न चाहन्छु ।

विश्व वन्यजन्तु कोष, नेपालले प्लाष्टिक मुक्त चितवन राष्ट्रिय निकुञ्जको कार्यक्रम संचालन गर्दा मैले त्यसको गम्भीरता र संवेदनशीलता बुझेको थिइन । कोरोना भाइरसले भविश्यमा माग गर्ने अधिकार उक्त कोषले अग्रिम सूचना पाएको जस्तो देखियो । अहिले लाग्छ त्यो ज्यादै बुद्धिमानी र दूरदर्शी कदम रहेछ । धर्ती सफा र शुन्दर राखेर प्राकृतिक राख्न विलम्ब भइसकेको रहेछ ।

परम्परागत संरक्षण जिम्मेवारीमा निखार ल्याएर शून्य शिकार वर्षको ऐतिहाँसिक उपलब्धिको रक्षा गर्दै पवित्र हिमालको सरसफाई अभियानजस्तै प्रकृति संरक्षण्को सवालमा नयाँ क्षेत्र र भूमिकाको पहिचान गरी संरक्षण र योगदान गर्न नेपाली सेना अग्रसर हुन वान्छनीय हुनेछ । आफ्नो लामो संरक्षण अनुभवको सदुपयोग गरेर सेनाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई सफलिभूत पार्न योगदान पुर्याउन सक्दछ । कोरोनाले पूरा राष्ट्र र राष्ट्रवासीलाई एकढिक्का भएर प्रकृति संरक्षणमा योगदान गरेर पुरानो स्वच्छ, सफा, प्रकृति फर्काउन जोडदार माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *