तीब्र कटानले नेपाल-भारत सीमास्तम्भ नदीमा

डिसी नेपाल
७ जेठ २०७७ ९:३७

कैलाली । कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन्।

यो वर्षको नदी कटानले ७०१/१ नंको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ। नदीले दुई साताअघिदेखि कटान शुरु गरेको हो।

नदीले ३०० मिटरको दूरीमा रहेको सहायक सीमा कटान बढेपछि नदीमा मिसिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए ।

“नदी कटान तीव्र भएको छ, एक साताअघि अनुगमन गरेका थियौँ”, नगरप्रमुख रावलले भने, “साता नबिल्दै स्तम्भ नदीमा मिसियो।”

प्रमुख रावलले चाहेर पनि सीमास्तम्भ जोगाउन नसकिएको बताए । “नेपालतर्फको थुप्रै भूभाग नदीले बगाइसकेको छ”, रावल भन्छन्, “अहिले नदी बगिरहेको ठाउँमा कुनै बेला मानवबस्ती थियो ।” यो नदी कुनै बेला कैलाली र बर्दियाको सीमा हुँदै बग्थ्यो ।

विसं २०४० मा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ मोडिएको स्थानीयवासी बताउँछन् । विसं २०४० मा आएको बाढीले कैलालीका थुप्रै गाउँ नदीले बगायो । तिनै गाउँ अहिले बगर बनेका स्थानीयवासी झपट बुढाले बताए ।

अहिलेसम्म टीकापुर नगरपालिकाभित्रका चार मुख्य र ११ सहायक सीमास्तम्भ नदीले बगाएको छ । तीमध्ये धेरैजसो मोहना नदीको कटानले बगाएको सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले बताए । उनले नदी कटानले सीमास्तम्भ हराउने क्रम जारी रहेको जानकारी दिए ।

नगरपालिकाभित्रका मुख्य सीमास्तम्भ ७०१, ७०३, ७०४ र ७०६ नदीमा मिसिएका छन् । त्यस्तै सहायक सीमास्तम्भ ७०२÷२ देखि ७०२÷७ सम्म, ७०४÷३, ७०४÷४, ७०४÷६ र ७०५÷३ समेत बेपत्ता अवस्थामा रहेको दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा उल्लेख छ ।

तीमध्ये धेरैजसो सीमास्तम्भ पुनःनिर्माणको समस्या भइरहेको छ । “सीमास्तम्भ भएको ठाउँमा नदी बगिरहेको छ”, सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज भट्टले भने, “कुन ठाउँमा पुनःनिर्माण गर्ने भन्ने नै अन्योल छ।”

कैलालीमा जम्मा २८२ सीमास्तम्भ रहेका छन् । तीमध्ये ५३ मुख्य र बाँकी सहायक सीमास्तम्भ भएको नेपालतर्फको टोली नं ४ का टोलीनेता सुदर्शन धामीले जानकारी दिएका छन् ।

“हामी मर्मतको काम गरिरहेका छौँ”, धामीले भने, “दुई देश नेपाल र भारत मिलेर मर्मतको काम भइरहेको छ। कतिपय सीमास्तम्भ नदी कटानका कारण बेपत्ता छन् । बेपत्ता भएका सीमास्तम्भ कसरी निर्माण गर्नु ?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *