नेपाल, हरियाे पासपोर्ट र राजनीति

डिसी नेपाल
१४ पुष २०७७ ८:००

‘मान्छेले आँटेको के हुन्न, चन्द्रमा पनि भेटिन्छ,
अभागी रेखा निधारको पसिना पुछि मेटिन्छ।’

राष्ट्र कवि माधवप्रसाद घिमिरेको आशा र उत्प्रेरणा जागृत गर्ने कालजयी यी हरफले भने झैं हाम्रो राजनीति व्यवस्थाको स्थायित्व र दिगोपनाको आधार दुई तिहाइको सरकार समेत बन्न सकेन।

श्रमजिवी जनताका निधारको पसिना पुछ्ने र दुःख सुखको साथी बन्ने सरकार र व्यवस्थाको खोजी जनताले फेरि पनि गर्नु पर्ने भएको छ। मानिसले आफ्नो प्रतिविम्ब ऐनामा देखे जस्तै, समाजले आफ्नो चित्रण विश्व मानचित्रमा देख्छ।

भूमण्डलीकरणको वर्तमान परिवेशमा नेपाली समाज विश्व मानचित्रमा नाइल नदीभन्दा पनि अन्नत गतिमा लम्बिदै लम्किरहेको छ। जसलाई बुझ्न आज हामी विकासको चरम उत्कर्शको देश अमेरिका, प्रविधिको देश जापान, मानवीय मूल्यमा उच्चाङ्क प्राप्त गर्ने युरोपीयन देशहरु बुझ्नु पर्छ।

अझ मानवीय क्षमता सँगै युवा रोजगारलाई साधन र स्रोत बनाउने अरवीयन मुलुक, द्वन्द्वको चपेटामा परेर थलिएका अफगानिस्तान, इराक, अफ्रिका वा कयाँै देश मै किन नहोस, नेपालीको फैलावटको आयतन फराकिलो बन्दै छ।

यस अर्थमा नेपाली समाज विश्वमान चित्रमा आफ्नो पन, माटोको सुगन्ध, चाडपर्व सँगै आफ्नै स्वाद अनि पहिचान बोकेर महाकुम्भ रुपी विश्व बजारमा आफ्नै आकृति, आयतन, उचाई र बनोट खोज्न अग्रसर हुँदै कन्चन नदी झैं प्रवाहित छ।

नेपाल ऋषि मुनिहरूको पावन तपोभूमि हो। यही माटोमा एकाग्र भएर ठूला–ठूला काव्यको सिर्जना भएको इतिहास छ। शान्तिको प्रतिक गौतम बुद्धका महान वाणीको जन्म यही माटोमा भएको छ।

जबसम्म शासक हरियो पासपोर्टलाई बिकाउको साधन बनाइरहन्छन्, तो दिनसम्म शासकहरु देश लुटिरहने छन। अनि युवा युवतीको मतदानको मौलिक अधिकार लुटिरहन्छन्। हरियो पासपोर्ट धारीलाई नेपाली राजनीतिले कहिलेसम्म उसको अधिकारबाट बन्चित गर्ने, नेतृत्व चुन्न पाउनु उसको रहर मात्र होइन मौलिक अधिकार हो।

वाल्मीकि, ब्यास, भानुभक्त जस्ता महापुरुषको पावन भूमिको पहिचान हाम्रो गर्व हो। किराँत, लिच्छवी काल हुँदै मल्लकालसम्म मौलिकपन र महत्व बोकेर हिमालयको काखमा गौरवसाथ बाँचेका हाम्रा पुर्खा र तीनको वीरताले छोडेका इतिहास र कलात्मक गौरव अझै जीवित छन्।

जसको जगनै नेपाली भनेर गर्व गर्ने सेतू हो। प्रकृतिको बरदान सगरमाथाको उचाइले मात्र हामी विश्व सामु परिचित छैनौं, हाम्रो हिमालय पर्वतको सुन्दरता र पवित्रता समेत नेपाली पहिचान हो। समृद्धिसँगै पहाडी क्षेत्रको आकर्षण होस, मधेस तराईको जीवन किन नहोेस्, विश्वले हाम्रो पर्यावरण को प्रसंसा मात्र गरेको छैन नेपाली वीरंगनाहरूको अदम्य शाहस, इमानदारिता, लगनशिलता, कला, राष्ट्र प्रेम, भाषा मौलिक रीति–रिवाज र साँस्कृतिक विविधतालाई पनि स–गर्व स्विकार गरेको छ।

बिशेषत २०४६ को प्रजातन्त्र प्राप्तिपछि भएका आन्दोलन देश र भूगोल भित्रमात्र सीमित रहेन। राजनीतिबाट शिक्षित भएका युवा विदेशीने र आर्थिक उपार्जन गर्ने सपना देखे कतिलाई सपना बाँडियो। जसरी पनि हरियो पासपोर्ट हकदार बनाइयो, आँखामा सम्पन्नताको सपना र मुटुमा देशको माया बोकी पसिना बगाउन लाखौँ युवा विदेशिनु कतिलाई रहर त कतिको बाध्यता बन्यो।

राजनीतिक परिवर्तनले नै नेपालको मुहार फेर्छ र फर्कँदा पसिना बगाएको देशको सम्पन्नतामा सिरान लगाएर आफ्नै मौलिकतामा रमाउने युवाका सपनाका त्यान्द्राहरू जोडिन सकेनन्। तर पनि, प्रकृति र सनातनदेखिको यस पूण्य भूमिको स्वर्णताका लागि हरेक आन्दोलन र परिवर्तनमा आफ्नो क्षमता अनुकुल आर्थिक, नैतिक समर्थन गर्दै राष्ट्रियता र देशभक्तिको मौलिक सोच निमार्ण गर्दै गए प्रवासी नेपालीहरू पनि। आज सरकारी तथ्यांक हेर्दा पनि पौने करोड हरिया पासपोर्ट पहुँच र अवसर सँगै योग्यताको आधारमा एसिया, युरोप, अमेरिकामा संघर्ष सँगै दक्षतामा अब्बल बनिरहेका पनि छन्।

सबैको अन्तिम लक्ष्य र चिनारी नेपाली पहिचान नै हो तर पनि राज्यको तर्फबाट नागरिकको पसिनाको मुल्यांकन भएको आभाष हुनै सकेको छैन। नेपालले नागरिक उत्तरदायित्वमा राज्य नीति व्यबाहारिक बनाउन सकेको छैन। सरकार जन उत्तरदायि नवन्नु मात्र होइन, शोषक वर्गको प्रतिनिधित्व गर्नेहरू नै सरकारमा सहभागी हुँदा शोषक बनेर निस्कनु कम पीडादायी छैन नेपालीहरूका लागि।

राज्यलाई कर तिरेर बाध्यताले विदेशीएका नेपालीहरू कफिन (लास बोक्ने बाकस) मा आफ्ना अभिलाषा समेत मृत भएर फर्कनुको पीडाले हरेक दिन विक्षिप्त हुने गर्नछ मातृभूमि। मृत्यु वहन गर्नु पूर्व प्रवासमा हरेक नेपालीको एउटै आकङ्क्षा हुन्छ। मेरो मृत शरीर मातृभूमि कै माटोमा बिसर्जन होस। यति अगाध राष्ट्र प्रेमी नेपालीले मृत्युपछि पनि संघर्ष गर्नु परेको छ, राज्यसँग। राज्यले कहिले स्विकार्छ?

नागरिकको मृत्युवरणपछि पनि करको लिस्टो थमाउन आतुर छ मेरो देश, मेरो देशको लोकतन्त्र। राज्य सञ्चालनको केन्द्र विन्दु मानिने सिंहदरबार र बालुवाटारको निर्लज्ज आँखाबाट आर्यघाटमा दिइने दाग बत्तीको अंकगणीत राखिरहेको छ मेरो सरकार।

दैनिक प्राय उपस्थित हुने कफिन कुरेर त्रिभुवन विमानस्थलमा आफन्तको लास पर्खने बा, आमा, ती अवोध सन्तति र जवानीमा संसार खोसिएकी चेलीको रोदनले भक्कानिएको मनको आवाज सुन्न मेरो देशको सरकारी निकायको क्षमता र इच्छाशक्ति कहिले पलाउने हो?

पहुँच नहुनेहरूको समानता र न्यायको नयाँ मुद्दा माथिको कमजोर प्रतिरोध देखेर राजनीति व्यवस्था माथिको नागरिक खवरदारी बढाउनु पर्ने सहज अनुमान गर्न सकिन्छ। सरकारले बेला–बेलामा चर्को स्वरमा युवालाई विदेश मोह त्याग्न गरिरहने उद्घघोष देख्दा लाग्छ सरकार देशका आर्थिक सुचकहरूबाटै बेखवर छ। आज पनि लासबाट राजस्व उठाएर आफू झन्डावाला गाडीमा सयर गरिरहन्छ।

तिनै हरिया पासपोर्ट धरौटी राखी राज्यका नायक, कमिसनकारी कारिन्दाहरु नाटक मन्चन गरिरहेछ। यो शताब्दीकै घिन लाग्दो व्यवहार कहिले सम्म? रहन्छ सरकार अहिले झन्डै पौने करोड नेपालीको साझा प्रश्न यही हो। देश लोकतान्त्रिक मात्र भयो, सरकार र कर्माचारीतन्त्रको आचरण लोकसम्वत बनेन। जबसम्म नागरिक सचेत हुँदैनन्, तबसम्म शासकहरुको नियत सफा हुँदैन।

यसको ज्वलन्त तस्बिर नेपालको राजनीतिक र कर्माचारीतन्त्रको भ्रष्ट प्रवृत्ति नै हो। हामी बिविध कारणले विदेशमा पसिना ,श्रम र सिप बेचिरहेका छौँ ।यो हाम्रो बाध्यता मात्र होइन, राज्यले रोजीदिएको गन्तब्य पनि हो। राज्यले नै हाम्रो पाखुरा र मष्तिष्कलाई रेमिटेन्सको नाममा नागरिक दोहन गरिरहेछ। रेमिटेन्सबाट राज्यले गुजरा चलाइ असफल राष्ट्र बन्नबाट नाक जोगाएको छ।

हरियो पासपोर्टको लिलामीबाट लुटिएको अस्मिता, गुमाएका प्राणबाट राज्यले राजस्वको नाममा राजलिला मच्चाइ महल र सुखः भोगको सोख पूरा गरिरहेछ। काठमाडाैंको चारघेरालाई देशको रुप देख्नेहरु राज्य शक्तिको दुरुपयोग गरि भ्रष्टाचारको नांगो नाच नाचिरहेका छन्। घर कुर्न राखेको पाले नै त्यही घरको सम्पतिको ज्वाई बनेको छ।

जसको जवलन्त उदाहरण पूर्व अख्तियार प्रमुख नै भएका छन। यी केबल कारिन्दा थिए। कारिन्दाले मालिकलाई बुझाएको पोकोे भित्रको राज झन के होला? मालिक बनेका राजनीतिका चाटुकारहरुको स्वदेश तथा विदेशको लगानी र आफन्तको नाममा संकलन गरिएको ढुकुटी हेर्ने हो भने आजका युवाले पसीनासँग यो देशको समृद्धि साट्नु बेकार साबित हुनेछ।

अब एउटै बिकल्प खबरदारी गर्नु हो। देशको माटोको टीका लगाएर यी चाटुकार सुख सयल र भोग विलासमा लिप्त भएको नागरिकले पहिचान गर्नु पर्छ ।अब हरिया पासपोर्टहरु देश फिर्तीको अभियान चलाउनु पर्छ। सबैको साझा स्वार्थ बिकास हुनुपर्छ। अहिलेको नेतृत्वले नीति बनायो। निर्माण युवा पुस्ताले गर्नुपर्छ। वैचारिकता मात्रले होइन विवेकले काम गर्नु पर्छ।

नागरिकले नागरिकत्व खोज्ने बेला भएको छ। प्रतिक्रान्ति होइन, उद्यमशीलता खोज्ने बेला भएको छ। पञ्चायतको नुन खाएर लोकतन्त्रको पण्डित बनेका पञ्च हुन् वा विदेशिको गुलाम बनेर राष्ट्रवादको हुंकार गर्ने कम्युनिस्टहरू नै किन नहुन्, यसको विकल्प मात्र होइन जटिल परिस्थितिको कुसल व्यवस्थापकको खाँचो टड्कारो छ नेपालमा यति बेला।

अक्सर नेताहरू जेलनेल, सड़क, जगंल र बन्दुकको अनुभवले पारंगत भएपनि सत्ता प्राप्तिपछि आफूहरुलाई छोटे राजाको आचरण, रहन–सहन, भाइ भारदारहरुलाई सत्ताको रासलीलामा परिणत गर्न थाले। जेल र जंगलमा भोगेको दुःखलाई ब्याज सम्झी मरेको राज्यलाई लुछी, लोकतान्त्रिक आचरणबाट स्खलित हुन पुगे। अहिले जनता आफैं आफैलाई धिकार्न बाध्य छन्।

कोइली भनी छानेको कौवा परेछ भनी! जंगल राजमा लुकेका छरप्रष्ट चित्कारहरु, झुण्डाइएका निर्मल आत्माहरु, गोलीले छिनाइएका विकास र जनआधारका पाइलाहरुले अझै शान्ति पाएका छैनन्। त्यही जंगल राजको सिंह न दिनभरी निर्वाध हिडडुल गर्न नै सकेको छ, न रातको निद्रा निःसन्देह निदाउन सकेका छन्।

चौघेरा बन्दुक बोकाएर शहरको बीचमा शान्ति रसको साहराले एक प्रहर सुत्नु परेको छ। राजनीतिक सँधियारहरु पनि सिमानामा झरेका फल आफ्नो अंशमा झर्छन् कि भनि लालपुर्जा बोकेर बन्धकी बसेका छन। बरु राष्ट्रलाई जनताको नासो सम्झिएर जनतामा फिर्ता गर्ने, जनताको साहनुभूति नभएका राष्ट्र नायकको सौभाग्य पाएका पो महापुरुष भएको भान भइरहेछ। जनताको दैलो, मठ मन्दिर, पूजाआजा, हिमाल, पहाड, तराईले आफै लाज मानिरहेको छ।

आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न गरिने हुलवाद, सोख पूरा गर्न जन्माउने नक्कली नातावाद नियुक्तिमा हुने ब्रिफकेसवाद, परिवारवाद र फरियाबाद। बिचार नभएर पैसामा राजनीति गर्नेहरु ठेक्का र दलालवाद, साँझ परेपछि चुस्की–चुम्बन यो जालो नै नेपालको आजको गतिरोध हो। आफ्नो गुटको स्वार्थको लागि बिना लज्जाबोध संविधानको अपव्याख्या गर्दै ब्यबस्था माथि नै प्रश्नचिन्ह खडा गरिदिएका छन्।

जबसम्म शासक हरियो पासपोर्टलाई बिकाउको साधन बनाइरहन्छन्, तो दिनसम्म शासकहरु देश लुटिरहने छन। अनि युवा युवतीको मतदानको मौलिक अधिकार लुटिरहन्छन्। हरियो पासपोर्ट धारीलाई नेपाली राजनीतिले कहिलेसम्म उसको अधिकारबाट बन्चित गर्ने, नेतृत्व चुन्न पाउनु उसको रहर मात्र होइन मौलिक अधिकार हो।

यो आँट र अद्मय सहासले मात्र हाम्रो देशको राजनीति व्यवस्थाले चन्द्रमा छुनेछ। अनि मात्र तमाम हरियो पासपोर्टका निधारबाट अभागी रेखाहरू पुछिने छन्। त्यही स्वर्ण देश र समृद्धिको नयाँ मुलुकले मात्र चिरकालसम्म गर्व र गौरव साथ सगरमाथाको सान उँचो रहने छ।

लेखक हाल जापानमा बस्छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *