यस वर्षको पद्मश्री साधना सम्मान भक्तराज र पद्मश्री साहित्य पुरस्कार मोक्षभूमिलाई

डिसी नेपाल
४ कार्तिक २०७८ १२:४०
84
Shares

काठमाडौं । पद्मश्री साधना सम्मान-२०७७ बाट भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन्। उनलाई यो सम्मान बुधबार आयोजित एक कार्यक्रमबीच खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा प्रदान गरेकी हुन्।

आचार्यका छोरा तथा गायक सत्यराज आचार्यले यो सम्मानले बुवालाई हौसला मिलेको बताए। भजन शिरोमणि आचार्यले आफूले २०५० मा आफ्नो जिब्रो काटिएपछि धेरै सम्मान प्राप्त गरेको भए पनि हालसम्मकै सबैभन्दा ठूलो धनराशिको सम्मान पाएकामा खुसी व्यक्त गरेको सत्यराजले बताए। सम्मानपत्र, दोसल्लाभन्दा पनि नगदले सम्मान गर्दा साहित्यकार, लेखकलाई जीविकोपार्जन तथा औषधोपचारमा सहयोग पुग्ने धारणा आचार्यले राखेका थिए।

पद्मश्री साहित्य पुरस्कार-२०७७ आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ। उक्त पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ छ। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहेका प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आगामी वर्षबाट तीन लाख रुपैयाँ राशिकै पद्मश्री समाज सम्मानबाट पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताए। प्रतिष्ठानले प्रत्येक कोजाग्रत पूर्णिमाका दिन सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ।

प्रतिष्ठानका सदस्यसचिव रवीन्द्र समीर र प्रतिष्ठानको आगामी वर्ष उत्कृष्ट कृति छनोटका संयोजक राम लोहनीले चैत मसान्तसम्म प्रकाशन भएका नयाँ कृतिहरू २०७९ वैशाखभित्र उपलब्ध गराउन आग्रह गरे। आगामी वर्षका लागि कृति छनोट गर्न लोहनीको संयोजकत्वमा कुमारी लामा र नयनराज पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *