कृति लोकार्पण

डिसी नेपाल
२४ पुष २०७८ १७:४२

काठमाडौं। शिक्षा तथा समाजसेवी सीताराम ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’को आज एक समारोहबीच लोकार्पण गरिएको छ ।

उनको परिवारद्धारा स्थापित सीताराम–पदमकुमारी फाउन्डेसनको आयोजनमा यहाँ आयोजित एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकमाथि टिप्पणी गर्दै प्राडा गोविन्दमानसिंह कार्की र डा शैलेन्द्र प्रकाश नेपालले ढकालले गाउँ, टोल, समाज र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताए । उनको जीवनमा भए गरेका गतिविधिलाई चार खण्डमा विभाजित गरी प्रस्तुत गरिएको पुस्तकमा ७० लेखकका लेख तथा रचना समावेश गरिएका छन् । उनलाई धेरैले ‘ढकाल बा’ भनेर चिन्ने गर्दथे ।

गत वर्ष पुस ५ गते निधन भएका ढकाल भोजपुर र काठमाडौँमा आफ्नो जीवनभर सामाजिक सेवामा सक्रिय भएका थिए । उनी गाउँमा रहँदा घरको गहना बेचेरसमेत स्कुल बनाउने अभियानमा लागेका थिए । ज्येष्ठ नागरिक आन्दोलनका योद्धा ढकालले गाउँमा छँदा विकास निर्माणका साथै आइपरेका समस्या, झै–झगडा समाधान गर्नेदेखि ढकाल समाजको अध्यक्ष भएर लामो समयसम्म सामाजिक कार्यमा योगदान गरेका थिए ।

विसं २०५६ मा काठमाडौँ आएपछि उहाँले विशेष गरी ज्येष्ठ नागरिकको हकहितमा योगदान गरेका छोरा (प्रहरी वरिष्ठ उपरीक्षक) भीमप्रसाद ढकालले बताए । आजको पुस्तक लोकार्पण समारोहमा साहित्यकार विन्दु अधिकारीले समाजमा गरिबी र अशिक्षाको अन्धकार हटाउन ढकालको योगदान महत्वपूर्ण रहेकाले त्यही योगदान समेटेर पुस्तकारको रुपमा ल्याइएको बताए ।

कलाकार मदनदास श्रेष्ठले स्वर्गीय ढकाल सामाजिक व्यक्तित्व मात्रै नभएर एक कुशल कलाकारसमेत भएको जानकारी गराए । ढकालको योगदानका बारेमा साहित्यकार विप्लव ढकाल, पुस्तकका प्रधानसम्पादक कुलप्रसाद पराजुली, फाउण्डेसनका अध्यक्ष विश्वमणि गौतमलगायतले चर्चा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *