‘वानीरा पुरस्कार’ वैरागी काइँलालाई

डिसी नेपाल
१० वैशाख २०८० २०:१०

काठमाडौं। साहित्यकार बैरागी काइँलालाई नगद रु एक लाख राशिको ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिएको छ ।

नेपाली भाषासहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा समर्पित रहेको भन्दै वानीरा फाउन्डेसनले साहित्यकार काइँलालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो ।

त्यसैगरी, नेपाली कविताको संवर्द्धनमा योगदान पु¥याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई रु ५० हजार राशिसहित वानीरा पुरस्कार प्रदान गरियो । भीमबहादुर बोटेलाई पनि रु २५ हजार नगदसहित वानीरा सेवा पुरस्कार प्रदान गरिएको छ ।

सबै पुरस्कार आज आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले प्रदान गरे । साहित्यकार काइँलाले विशेषगरी तेस्रो आयामको प्रवर्द्धनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान पुर्‍याएका छन् ।

नेपाली साहित्यका विश्व नारी रत्न डा वानीरा गिरीको सम्झनामा पुरस्कार स्थापना गरिएको हो । उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला हुन् । कोरोनाका कारण गिरीको विसं २०७८ जेठ ९ गते निधन भएको थियो ।

गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहु, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार आदिबाट सम्मानित भएकी थिइन्।

सो अवसरमा पुरस्कृत काइँला र पराजुलीले भगवती बस्नेतद्वारा सम्पादित ‘वानीरा अभिलेख’ को लोकार्पण गरेका थिए । पुरस्कृतद्वय काइँला र पराजुलीले मुलुकको सबैखाले भाषा तथा साहित्य संरक्षणका लागि सबै सर्जक जुट्नुपर्ने खाँचो औँल्याए। पुरस्कारले साहित्य सिर्जनाको यात्रालाई थप ऊर्जा थपेको उनीहरूको भनाइ थियो ।

फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईं र सदस्यसचिव नरेन्द्रराज प्रसार्इंले संस्थाले साहित्य सिर्जना र प्रवर्द्धनका लागि संस्थाले खेलको भूमिकाबारे उल्लेख गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *