तीर्थ प्रसाद मिश्रका तीन विधाका तीन पुस्तक : समीक्षात्मक चर्चा

डा. निरञ्जन ओझा
३० असार २०८० १३:३२

तीर्थ प्रसाद मिश्रका २०७८ मा आखिर दोषी को ? र कचिडेदेखि काठमाडौसम्म फर्केर हेर्दा र २०७९ मा भोटमा नेपाली पहिचान र पराक्रम गरी तीन कृति पाठकहरुले उपहार स्वरुप प्राप्त गरेका छन्।

प्राध्यापक मिश्र नेपाल इतिहासका एक शसक्त्त हस्ती भएका कुरा उनका इतिहास विषयका पूर्व प्रकाशित बाइस ग्रन्थहरु साक्षी छन्।

हाल निवृत्त जीवन व्यतित गरी रहनु भएका डा. मिश्रको कलम निरन्तर चलिरहेको तथ्य हिमालय टाइम्स, नागरिक, नेपाली पोष्ट, हिमालय खबर आदिमा प्रकाशित लेखहरुले सावित गरेको छ। यीनै विद्वानद्वारा लेखिएका तीन कृतिको संक्षिप्त चर्चा यो आलेखमा गर्ने जमर्को गरिएको छ ।

आखिर दोषी को (कोरोनाकालको वसिवियालो) २१ लेखहरुको संग्रह हो जसमा समकालिन समाजमा देखापरेका विसंगतिहरुको ऐतिहासिक परिप्रेक्ष्यमा व्याख्या गर्ने प्रयास भएको छ ।

नेपाली समाजको राजनीतिमा देखापरेका शासकवर्गको स्तुतिगान, पूर्वपदाधिकारी प्रतिको दोषारोपण, महिला महत्वकांक्षा, पूर्व मठाधिषहरुको व्यवस्थापन, राजनेताको राजधानी मोह, मालपाउनु तर चालनपाउनु, योग्यको कदर नहुनु, आत्मकथा प्रकाशनका रोगहरुको सविस्तार ऐतिहासिक पृष्ठभुमिमा चर्चा भएको छ।

यसैगरी नेपाली समाजमा देखापरेको समयको सदुपयोग नगर्ने बानी लधुताभाष पनि एक विसंगतिको रुपमा विकसित भएको विषयमा पनि प्रकाश पारिएको छ ।

२०७६/२०७७ सालमा नेपालको राजनीतिमा देखापरेको अनपेक्षित घटना, यस्को चिरफार, जंगवहादुरको प्रतिवद्धता, नेपालीले कहिलेसम्म रमिता हेर्ने, नेपालको सन्दर्भमा राजनिति र राजनेताको प्रवृद्धि जस्ता समसामयिक विषयमा व्यङ्ग्यात्मक विवेचना भएको छ।

रेडक्रस सोसाईटी जस्तो सामाजिक संस्थाप्रति सरकारको नीति र कार्यवाही प्रति चिन्ता व्यक्त गरिएको छ भने सोही समयमा देखा परेका दुई कृतिहरुको समीक्षा समेत सो पुस्तकमा समेटिएको छ। इतिहास राजनिति र साहित्यको त्रिकोणात्मक संगम यस कृतिमा देखा परेको छ।

नेपालको इतिहासमा स्तुतिगान गरी आफनो स्वार्थ सिद्व गर्ने भाट प्रवृत्तिको चर्चा गरिएको स्तुतिगानमा लिच्छविकालदेखि हालसम्मका शासकहरुमा स्तुतिप्रति प्रसन्न हुने प्रवृतिको लेखाजोखा सप्रमाण गरिएको छ।

यसै गरी पूर्वाधिकारी शासकरशासन वा राज्यकालको मिथ्या दोषरोपण गर्ने, नेपालको कुटनीतिमा देखिएका कमी कमजोरीहरु र राष्ट्रप्रमुख कमजोर हुँदा मुलुकले भोग्नु परेका सास्तीहरुको पनि ऐतिहासिक घटनाको समीक्षा गरिएको छ।

नेपालको राजनितिमा शासकका श्रीमतीहरुको हैकमले निम्ताएको संकटका प्रसङ्ग पनि ऐतिहासिक पात्रसंग जोडेर उल्लेख गरिएको छ।

उखान टुक्काले नेपाली समाजमा निर्वाह गरेको भुमिकामा प्रकाश पार्दै उखान टुक्काकै आधारमा २०४६ पश्चात नेपाली राजनीतिको घटनाक्रम उल्लेख गरी नेपालीले कहिलेसम्म रमिता हेर्ने ? विषयका लेख रोचक र घोचक छ।

२०७७ मा देखिएका २ कृति महारानी र आफैंलाई खोज्दामा केही छोपिएका केही उघारिएका समीक्षा गरिएको छ । प्रा. विश्वम्भर प्याकुरेलको आत्मकथा केही छोपिएका केही उघारिएकाले निकै चर्चा पाएको थियो र सोही कृतिको साङ्गो पाङ्गो परिचर्चा भएको छ।

यसैगरी २०७६ सालको मदन पुरस्कार प्राप्त चन्द्रप्रकाश वानियाको ऐतिहासिक उपन्यास महारानीलाई समेत इतिहासको खानी नामाकरण गरि समीक्षा गरिएको छ।

उपन्यास महारानीलाई समेत इतिहासको आंखिझ्यालबाट विचरण गरिएको र सो कृतिले उजागर गरेको सामाजिक र राजनैतिक इतिहासका तथ्यहरुको वस्तुनिष्ठ मुल्याकन भएको छ।

यी दुवै कृतिका कमी कमजोरीको विषयमा पाठकलाई खट्किने कुराहरु समेत समीक्षाले समेटेको छ । यो कृति पढ्दा नेपाल र नेपाली समाजमा जताततै निराशा भएको प्रतिविम्वित हुन्छ तर यर्थाथमा त्यसो छैन।

नेपालको इतिहासमा कतिपय उज्ज्वल पक्ष पनि नभएका होइनन्। कोरोनाकालमा लेखकलाई निराशावादी सोचको मनोविज्ञानले प्रभाव पारेको आंकलन गर्न सकिन्छ।

प्रा. मिश्रका चर्चा गरिएका ऐतिहासिक लेखहरुमा कुनैमा सन्दर्भ ग्रन्थको उल्लेख गरिएको छ भने कतिपयमा छैन। यस्ता लेखहरुमा समेत सन्दर्भ दिंदा पाठकहरुको जिज्ञासा मेट्न सकिने र थप अध्ययनको लागि प्रोत्साहन मिल्ने थियो।

समकालिन राजनीतिज्ञलाई एकै स्थानमा एकै दर्जा र एकै दृष्टिकोणले हेरिएको देखिन्छ जुन पूर्णतया ठीक भन्न सकिँदैन। अन्तमा कोरोनालाई पनि धन्यवाद दिनै पर्छ जस्को कारणवाट यो कृति पाठकले पाए।

डा. मिश्रको दोश्रो कृति हो निजकै आत्मवृतान्तः कचिडेदेखि काठमाडौंसम्म फर्केर हेर्दा। नेपालमा आत्मवृतान्त लेख्ने परम्परा प्राचीन नै भएतापनि धेरैले यस दिशातर्फ विगतमा ध्यान दिन नसकेको प्रतित हुन्थ्यो।

विगत दुई दशकदेखि नेपालमा आत्मवृतान्त, आत्मकथा आफ्नो जीवनगाथा लेख्ने र प्रकाशित गर्ने वाढी नै आएको छ। नेपालमा श्रुति परम्पराको हस हुँदै गएको वर्तमान समयमा यस्ता आत्मवृतान्तले भविष्यमा सन्तानलाई वितेका र भएका कुरा वुझ्न जान्न सहज हुने देखिन्छ।

यसै क्रममा डा. मिश्रको उक्त जीवन गाथा प्रकाशित भएको हुनु पर्छ । यो कृति १३ भागमा विभाजित छ जसमा जन्मस्थलको सम्झनामा गाउँ घरको वर्णन, प्रारम्भिक देखि लिएर वि ए. सम्मको अध्ययन, अवसरको खोजीका लागि भएका प्रयासहरु, उच्च अध्ययनका लागि गरेको सघर्ष जस्ता जीवनका प्रमूख मोडहरुको रोचक प्रस्तुती छ।

यसै गरी त्रिभुवन विश्वविद्यालयमा अध्ययन अध्यापन र अनुसनधानको क्रममा गरेका अनवरत अथकित प्रयासवाट आफ्नो धावनमार्गमा आउने समस्या विचलित नभै लक्ष्य प्राप्त गर्न उन्मुख भएको देख्रिन्छ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगत विभिन्न निकायम कार्य गर्दाको अनुभव पनि रमाइलै देखिन्छ। विश्वविद्यालय वाहिरको अनुभव भने त्यति उत्साहजनक नभएको हो कि भन्ने प्रतित हुन्छ।

नेत्र ज्योति संघको चर्चा त नेपालमा अन्धोपन निवारणको इतिहास जस्तो लाग्छ। अन्धोपन निवारणमा लेखकले निर्वाह गरेको भुमिका र अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई पहिचान गराउन गरेका सार्थक प्रयासहरु प्रसंशनीय छन्।

नेपालका विभिन्न भागको देश(दर्शन यात्रा, हिन्दुस्थानको तीर्थाटन र विदेशको नियात्रा वर्णन पनि पाठकले रुचाउने विषय वस्तु हुन सक्दछन्।

छोरा, छोरी सवै अमेरिका तिर भएको र उताको यात्राको स्मरणले त नेपाली घरघरको कहानी झुल्काउछ र नेपालमा वढ्दै गएको व्रेन ड्रेनले अव छिटै यो मुलुक वृद्धाश्रम हुने परिकल्पना गर्न सकिन्छ।

लेखकले विभिन्न रोगसंग गरेको सघर्ष र सम्झौता र अनुभव गरेको विष्मयकारी घटनाहरुको चित्रणले पाठकलाई रोमान्चित तुल्याएको छ।

आफ्नो जीवनका बिभिन्न चरणमा सहयोग गर्ने व्यक्तिहरु उल्लेख गरीएबाट लेखक कृतज्ञता व्यक्त गर्न कन्जुुस देखिदैनन् नत्र त हाल खोला तर्यो लौरो विर्सियो भन्ने आहान चरितार्थ गर्नेको वाहुल्यता छ।

प्रा. मिश्रको आत्मकथा उनको जीवनगाथा मात्रा नभएर समकालिन समयको ऐना पनि हो। हाल हराउँदै गएका कतिपय चलनको स्मरणले भाविपुस्तालाई विगतको नेपाली समाज वुझ्न सहयोगी भएको छ।

त्यसवेलाको अध्यापन प्रविधि, शिक्षाको स्तर, यातायातको स्थिति, गाउँघरको रितिथिति, चालचलन वुझ्न यो कृति उपयोगी हुने विश्वास गर्न सकिन्छ । धनकुटा कलेजको वर्णन, झापामा शिक्षक भएर कार्य गर्दाको अनुभव रोचक नै छ।

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी राजनीति, शिक्षक विद्यार्थी सम्वन्ध, पाठनपाठनको तौर तरिका आदिको वर्णन साच्चिकै रमाइलो घटना लाग्दछन्।

प्रमाणपत्र छानविनको प्रकरण, त्रिभुवन विश्वविद्यालयको विद्यमान राजनीतिको शल्यक्रियाले शिक्षा क्षेत्रमा अनावश्यक र अवान्छित राजनीतिकरणको तस्विर उतारेको छ। आफनो जीवनबाट सन्तुष्ट भएको लेखकको भनाई मनन योग्य छ।
पुस्तक पढ्दा केही खट्किने कुरा पनि पाइन्छ।

जस्तो कि घटनाहरुको पुनरावृति, कुनै घटनाको वर्णन, कुनैकोे संकेत मात्र हुँंदा पाठकलाई पुर्ण सन्तुष्टि पस्कन सकेको छैन। समकालिन समाजको विविध पक्षको चित्रण पनि अधुरो नै छ।

पाठकहरु लेखकको जीवनी भन्दा पनि समकालिन समाजका विविधपक्षका जिज्ञाशु हुन्छन्। यात्रा वर्णन संकेत मात्र हुँदा पाठक अलमल पर्न सक्छन्, तीर्थाटन र विदेश भ्रमण आदि समेटेर वेग्लै नियात्रा कृति प्रकाशन गर्न उपयुक्त हुने देखिन्छ । अरु आत्मकथा जस्तो आफ्नो गुणानुवर्णन नगरिनु प्रस्तुत ग्रन्थको विशेषता नै हो ।

डा. मिश्रको तेश्रो कृति हो– भोटमा नेपाली पहिचान र पराक्रम अरु दुई कृतिभन्दा यो तेश्रो यो अनुसन्धानात्मक ग्रन्थ हो। नेपाल भारत सम्वन्ध विषयमा धेरै विद्वान तथा इतिहासकारहरुले लेख्न जाँगर चलाएका छन्, उत्साह देखाएका छन् तर नेपाल भोट (तिव्वत) सम्वन्धमा भने कमै लेखकहरुको ध्यान गएको देखिन्छ।

विदेशी लेखक सिल्भा लेभीको (लि नेपाल), लियो ई रोजको नेपाल स्ट्रयाटेजीज फर सर्भाइभल, स्वदेशी लेखकहरु चितरञ्जन नेपालीको नेपाल भोट विवाद, प्रेमरमण उप्रेतिको नेपाल तिबेट रिलेसन्स आदिले नेपाल भोट सम्वन्धमा कलम चलाएका छन् । अरु पनि यो क्षेत्रमा अध्ययन, अनुसन्धानको खाँचो छ।

तीर्थ प्रसार मिश्रले दि टेमिङ्ग अफ टिबेट, नेपालभोट सम्वन्धमा ग्यालल्पो काण्ड, अङ्ग्रेज भोट विवादमा नेपालको भुमिका, नेपाल्स क्वीनीक्वीयल मिसन टु चाइना (सह लेखक) का सो क्षेत्रका लेखकका प्रकाशित कृति छन्।

नेपालभोट चीन सम्वन्धमा विशेष जानकार राख्नु हुने डा. मिश्रको २०७९ सालमा भोटमा नेपाली पहिचान र पराक्रम नामक कृति प्रकाशन भएको हो।

नेपालका अभिलेखालयमा रहेका सामाग्री विशेषतः नेपालको परराष्ट्र मन्त्रालयको अभिलेख र सेनाको अभिलेखालय र भातरको दिल्ली स्थित राष्ट्रिय अभिलेखलायमा रहेका सामाग्रीहरुको आधारमा प्रस्तुत कृति तयार भएको हो।

नेपाल र नेपालीले ऐतिहासिककाल देखि नै विशेष स्थान हासिल गरेको पहिलो र अन्तिम मुलुक भोट भएको र भोट केै कारण र माध्यमवाट चीनसँग पनि सम्वन्ध कायम भएको हूनाले यो विषयमा लेखकको ध्यानगएको स्वयम् उनको भनाईबाट स्पष्ट हुन्छ।

६ भागमा विभक्त यस पुस्तकमा नेपालभोट सम्वन्धको ऐतिहासिक पृष्ठभुमि, भोटमा रहेका नेपाली र नेपाली अड्डाहरु, भोटमा विशेष उपस्थिति भोटमा रहेका अन्य देशका जनताहरुको नेपालीप्रतिको दृष्टिकोणमा यथेष्ट प्रकाश पारिएको छ।

सातौं शताव्दी देखि नेपालभोट सम्वन्धमा भृकुटी, अरनिकाे, प्रताप मल्ल, रामशाहजस्ता हस्तीको भुमिका, पृृथ्वी नारायण शाह र उनका उत्तराधिकारीहरुको भोटप्रतिको नीति १७८८,१७९१ र १८५६ मा भएका युद्धहरु र सोबाट श्रृजित परिमाणहरु १८८३/१८८४, १९२८ र १८२९ मा दुवै मुलुकवीच युद्ध हुने परस्थिति आई शान्तिपुर्ण ढंगले समस्याको हलभएको र १९५६ को नेपाल–चीन सन्धिबाट दुवै मुलुकमा परेको प्रभावको विषयमा वास्तुनिष्ठ मूल्याकन भएको छ।

भोटमा नेपाली र नेपालीहरुले पाएका सुविधाहरु ती सुविधा उपभोग गर्न नेपालले गरेका सघर्षहरु भोटमा नेपाली अफिस, अदालत र अन्य अड्डाहरुको विवरण र कार्य क्षेत्र भोट चीन–अङ्ग्रेज विवादमा नेपालका वकिलहरुले गरेको मध्यस्तथा, भोटमा नेपालीहरुको लागि नेपालकै कानुन लाग्ने, भोटमा नेपाली खचडा व्यवस्था जस्ता विषयहरुमा पुस्तकका प्रमुख आकषर्ण हुन्।

अन्तराष्ट्रिय विबादमा निर्वाह गरेको भुमिकावाट नेपाली कुटनीज्ञहरुले नेपालीहरु वीर स्वाभिमानी मात्र होइनन कुटनैतिक कौशलमा पनि कम थिएनन् भन्ने दृष्टान्त पाइन्छ।

भोट प्रति चीन र नेपालको समान धारणा हुनाको कारण र असर, अङ्ग्रेजको भोटमा स्वार्थ र सो कारण नेपाली अर्थतन्त्रमा परेको प्रभाव, नेपाली शासकहरुको भोट प्रति उदासिन नीति जस्ता मुद्धाहरुमा पनि चर्चा परिचर्चा भएको छ। अनुसुचिमा दिईएका सामाग्रीहरु त अनुसन्धानकर्ताहरुका लागि अझ खुराक नै भएका छन्।

विभिन्न प्रसङ्गको पुनरावृति, कतिपय वुँदाहरुमा स्पष्ट व्यख्याको अभाव, नेपालीहरुको अध्ययनमा मानवशास्त्र एवं समाजशास्त्रीय अवधारणा सिद्धान्त र मान्यता अवलम्बन हुन नसक्नु जस्ता कमी कमजोरी पुस्तकमा यदाकदा देखिएका छन् ।

यी सामान्य कमजोरी हुन्। तापनि यसले ग्रन्थको भावलाई ओझेलमा पारेको छैन। जे होस प्रस्तुत कृति नेपालको कुटनैतिक इतिहासमा थप आयाम थप्न सफल भएको छ।

४२ वर्षको अध्यापन अनुभव बोकेका, निवृत जीवनमा पनि प्राज्ञिक कार्यमा निरन्तर जुटेका प्राध्यापक मिश्र सबैका लागि प्रेरणाका स्रोत हुन भने इतिहासका विद्यार्थीहरुका लागि मार्ग दर्शक नै हुन् । प्राध्यापक मिश्रबाट यस्तै ग्रन्थहरुको पाठकहरुले अपेक्षा गरेका छन् र उनै गुरु कृपावाट मैले यतिसम्म लेख्न सकेको छु।

(डा. ओझा इतिहास केन्द्रिय विभागका सह–प्रध्यापक हुनुहुन्छ)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *