आज अर्धशतक बनाउँदै सन्दिप लामिछाने, २०० विकेटको कोसेढुङ्गा पार गर्ने अवसर

डिसी नेपाल
१३ भदौ २०८० १३:०४

काठमाडौं । एसिया कपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । यो खेलका लागि पाकिस्तानले आफ्नो प्लेइङ ११ सार्वजनिक गरिसकेको छ तर नेपालले ११ खेलाडी घोषणा गर्न बाँकी छ ।

आइसीसी एकदिवसीय बरियतामा नम्बर १ रहेको पाकिस्तानी टोलीलाई आजको खेलमा फेवरेट मानिएको छ । पहिलो पटक एसिया कप खेलिरहेको र आइसीसी बरियतामा १५ औं स्थानमा रहेको नेपालको लागि यो खेल निकै कठिन हुने मानिएको छ तर यससँगै यो खेल नेपाली खेलाडीका लागि ठूलो अवसर समेत बन्न सक्छ ।

नेपाली बलर सन्दिप लामिछानेले यो खेलबाट आफ्नो एकदिवसीय खेल संख्याको अर्धशतक बनाउँदैछन् । उनले अहिलेसम्म ४९ एकदिवसीय खेल खेलेका छन् । आफ्नो खेल संख्याको अर्धशतक पाकिस्तानजस्तो नम्बर एक बरियताको टिमसँग खेलेर पूरा गर्न पाउनु उनको लागि सौभाग्य बनेको छ ।

यसबाहेक सन्दिपसँग आफ्नो करियरमा अन्तर्राष्ट्रिय विकेटको संख्या २०० पूरा गर्ने अवसर पनि छ । उनी २०० विकेटको कोसेढुंगाबाट मात्रै ४ विकेट टाढा छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ४२ खेलमा १०० विकेट लिएर विश्वरेकर्ड बनाएका सन्दिपले ४९ एकदिवसीय खेल खेलेर १११ विकेट लिएका छन् । यस्तै टि–२० अन्तर्राष्ट्रियमा ४४ खेलमा ८५ विकेटसहित कूल १९६ अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

आजको खेल सन्दिपको लागि यसकारण पनि अवसर बन्न सक्छ किनकि पाकिस्तानको अहिलेको टिम पछिल्लो समय स्पिन बलिङसामु कमजोर देखिएको छ । पाकिस्तानले भर्खरै श्रीलंकामा अफगानिस्तानविरुद्ध ३ एकदिवसीयको सिरिज खेलेको थियो । जसमा पाकिस्तानले १३ विकेट स्पिन बलिङमा गु्माएको थियो । सन्दिप एकदिवसीय क्रिकेटमा विश्वमै सबैभन्दा उत्कृष्ट बलिङ औसत भएका खेलाडी भएकोले पनि उनीबाट अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *