नेपाली क्रिकेटको ऐतिहासिक समय सुरु, नेपालले पहिले बलिङ गर्ने

डिसी नेपाल
१३ भदौ २०८० १४:५१

काठमाडौं । नेपाली क्रिकेटले लामो समयदेखि प्रतीक्षा गरिरहेको ऐतिहासिक पल सुरु भएको छ । एसिया कमको पहिलो खेल सुरु भएको छ । खेलमा नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको छ । आज नेपाल आइसीसी बरियताको नम्बर एक टिम पाकिस्तानसँग उसकै होमग्राउण्ड मुल्तानमा खेल्दैछ ।

आजको खेलमा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिँदैछ । नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), आरिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने र ललित राजवंशी मैदानमा उत्रिँदैछन् ।

यस्तै पाकिस्तानको तर्फबाट फखर जमाँ, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), आगा सलमान, इफ्तिकर अहमद, शदाब खान, मोहम्मद नवाज, शाहीन शाह आफ्रिदी, नसीम शाह र हरिश रउफ मैदानमा उत्रिँदैछन् । पाकिस्तानले आजको खेलको प्लेइङ ११ हिजै घोषणा गरेको थियो ।

आजको खेलमा नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । १० टिम सहभागी एसीसी प्रिमियर कपको विजेताको रुपमा नेपालले एसिया कप खेल्दैछ । यसअघि एसिया कप खेलिसकेका युएइ, हङकङ जस्ता प्रतिस्पर्धीलाई उछिनेर यहाँ पुगेका नेपाली खेलाडीको मनोबल यसै पनि उच्च हुनेछ । यसबाहेक नेपालले विश्वकप लिग २ मा पनि पछिल्लो १२ मध्ये ११ खेल जितेको छ ।

आजको खेल नेपालको लागि प्रतिष्ठाको खेल हुनेछ । आइसीसीको पूर्ण सदस्य तथा एकदिवसीय बरियतामा शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेल्न पाउनु १५ औं बरियतामा रहेको नेपालको लागि निकै ठूलो अवसर हो । नतिजा जे भए पनि बलियो टिमसँगको यो खेलले नेपाली खेलाडीलाई धेरै सिक्ने अवसर दिनेछ । सिनियर टिमको रुपमा नेपालको यो कुनै पनि फरम्याटमा पाकिस्तानविरुद्ध पहिलो खेल हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *