कथा : व्यथा

खेमराज पोखरेल
६ असोज २०८० ५:४६

उसको नाम ऋषिमोहन। श्रीमतीको नाम शान्ति। एक छोरा र एक छोरी।

ऋषिमोहन खासमा ताप्लेजुङको खोक्लिङ गाउँमा जन्मेको हो। उसले एस.एल.सी. पनि त्यहीँ गाउँबाट गरेको हो। लिम्बूहरुको बस्तीको बीचमा एकदुई घर बाहुन, दुई पाँच घर धुलिखेले नेवारहरु, अलिअलि दमाइँफ  कामी, सार्की।

यत्ति हो। बाँकी सोलोडोलो लिम्बू। तर ऋषिमोहनलाई कहिल्यै आफू लिम्बूवानमा हुर्केको अनुभव नै भएन। अहिलेसम्म आफ्नी आमा पछाडि उसलाई धेरै माया गर्ने लिम्बू लिम्बुनी नै थिए। अचेल उसलाई लाग्न थालेको छः

‘उनीहरुको यो माया के अनुपम होइन? यही पृथ्वीमा सात जुनी जन्मिए पनि अन्त यो माया के पाइएला र?, यो विकास र पैसाले पाइने कुरो हो र?’ उसले टाउकामा हात लगायोः ‘अचेल त लिम्बूवान रे। लिम्बूवान भएर के भो त? मेरा बाआमा मात्र होइन सबै गैरलिम्बूहरु तराई वा काठमाडाैंमा स्थापित वा विस्थापित भए रे’।

ऊ त उच्च शिक्षाका लागि नै विस्थापित भएको थियो काठमाडौँमा। त्यसबेला पुरै खोक्लिङ गाउँ घुमेको थियो। साइँली लिम्बूनीले उसको गालामा म्वाइँ खाँदै भनेकी थिईः ‘अब यो काठा उम्कियो, मलाई लान कहिले आउँछौ?’ हो ऊ त्यसपछि दुईचारपल्ट पुग्यो।

पढाइ बिग्रने, ऊ झरि हाल्थ्यो। अहिले आमाबा पनि विस्थापित भए काठमाडौँमा। सजिलै भयो। साइँली पनि त छैन।

ऋषिमोहनले अमेरिकाबाटै एरोनटिक इन्जिनियरिङमा मास्टर गर्‍यो। उतै जागिर खाँदै छ। ऊ ऋषिमोहन दाहालबाट आर.एम. ड्याल भएको छ। श्रीमती पनि आफ्नै खुट्टामा उभिएकी छिन्। उभिनै पर्छ। छोरो र छोरी उतै जन्मे। अङ्ग्रेजी मोहले नेपाली सिकाएनन्।

अहिले नेपाली बुझ्दैनन्। तर चलेको छ, बुलन्द छ। ऊ भने नेपाल भन्यो कि खोकलिङ सम्झन्छ। लिम्बूवान सम्झन्छ। लिम्बूवानले उसलाई बाहुन ठान्छ। नेपालले उसलाई अमेरिकी ठान्छ। अमेरिकाले उसलाई प्रवासी ठान्छ।

नेपालबाट उसलाई फोन आयो। उसका मामा बोल्दै थिएः ‘दिदी त बिरामी हुनुहुन्छ भान्जा, नेपाल आउने हो कि?’। बल्ल उसले आमा सम्झ्यो। आमासँग बिताएका पलहरु सम्झ्यो। र आफू बिरामी हुँदा एकबिहानको बाटो बोकेर लिम्बू बिजुवाकोमा फुक्न लगेको सम्झ्यो।

‘आमाको माया त अतुलनीय हुँदो रहेछ’। ऊ रातभरि निदाएन। शान्तिले जस्तो आफ्ना बच्चा तीन महिनापछि नै ‘चाइल्ड केयर सेन्टर’ मा हुर्काएको होइन नि उसलाई।

ऊ त आमाको काखमा लुटपुटिएर हुर्किएको हो। काठमाडौँबाट घर जाँदा पनि आमाकै काखमा मुन्टो राखेर ‘ठुङ्ङा’ हानी माग्थ्यो। भोलिपल्ट उसले शान्तिसँग सल्लाह गर्‍योः

‘सुन त शान्ति, काठमाडौँमा आमा निकै बिरामी पर्नु भएको छ अरे, एकपल्ट जाने हो कि?’

‘हुन त हुन्थ्यो, तर अस्ति भरखर सबै बिदा लिएर ‘क्रुज’ मा गइयो। अहिले बिदै पो छैन’

‘बिदा मिलाउन पर्‍यो। एकपल्ट त पुग्नै पर्‍यो’

‘हुन्छ, तर यसो गरौँ न, पैसाको पनि कुरा आउँछ, तपाईँ जानुस्, म फेरि जाउँला’
डलर स्टोरमा गएर कोसेलीपात किने।

ऊ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो। उसलाई आफ्नो घर कपनको कुन ठाउँमा भन्ने थाहा थिएन। बाबुआमा काठमाडौँ बसाईँ सरेपछि ऊ आएकै थिएन। घर किन्न भने थपथाप पैसा पठाएको थियो।

विमानस्थलमा लिन मामा आएका थिए। ट्याक्सीमा बसेपछि मामाले क्षेमकुशल सोधे। र मामाले भनि हालेः ‘भान्जा, दिदी भिनाजु निकै गल्नुभएको छ, हाडमासुको बुढो शरीर कति दिन टिक्ला र? तिमी त एक्लो छोरा, न दिदी न बहिनी, न दाजुभाइ। कसले हेर्छ आमाबाबुलाई?’
‘के गर्नु मामा? जागिर उता छ, यता के गरि खानु?’

‘यत्रा नेपालका मान्छेले गरि खाएकै छन् त, फेरि तिमी त इन्जिनियर मान्छे एउटा दह्रो जागिर पाइहालिन्छ नि, जेथा पनि त छ नि’

उसले पहिले आमालाई त्यसपछि बाबालाई खुट्टा मै ढोग्यो। आमाले गम्लङ्ग अँगालो मार्नुभयो। बाबाले आशीर्वाद। मान्छेको जीवनमा आमाको भूमिका बेजोड हुन्छ। आमालाई त्यसैले पृथ्वी भनिन्छ। पृथ्वीमै जीवन बाँच्नुपर्छ।

बाबु त आकाश। पृथ्वीमा तातोचिसो, हावापानी पठाएर रक्षा गर्ने त हो नि। भूमिका बाबुको पनि हुन्छ तर आमा पहिलो हो। आमा भान्सातिर जान खाजिन्ः ‘छोरो उति टाढादेखि आएको छ, थाकेको छ, चिया पकाउँछु’।

उसले एकतमासले आमालाई हे¥यो। आमा निकै गल्नु भएछ। झोलिनु भएछ। आँखामा चरम थकान। अनुहारभरि भिरालोका गह्राजस्ता मुजैमुजा, दम्मा, खोकी। खोइ आमाको पोटिलो शरीर? खोइ आमाको श्वेत सुन्दरता? खोइ आमाको आभा र कान्ति?

आमाले खोल्च्याङ खोल्च्याङ गरेर हिँडेको हेर्‍यो। खोइ आमाका मधेस पहाड गर्ने दर्बिला गोडा? खोइ समग्र आमा? आमा नजिक गएर हात समायो। आमाका कालो घेरा भएको आँखाबाट आँसु झरे। सायद हर्षाश्रु थिए। छोरो जो आएको थियो।

भोलिपल्टै उसले आमालाई नाम चलेका डाक्टरकोमा पु¥यायो। रिपोर्ट आयो। डाक्टरले हेर्‍यो र भन्योः

‘बुढो शरीर हो आमाको, खासै केही छैन, प्रेसर छ र ‘इम्युनिटी पावर’ कमजोर छ। यो प्रेसरको औषधि छ, भिटामिन लेखिदिएको छु, छ÷छ महिनामा जचाँऔं’।

केही दिनसम्म पनि आमाको व्यथा आँटको पाँट नचलेको देखेर ऊ अर्को घागडान डाक्टरकोमा आमालाई लिएर पुग्यो। अघिल्ला रिपोर्ट देखाएन। फेरि अलग रिपोर्ट। फेरि उही भनाइ। उसले डाक्टरलाई भन्योः

‘डाक्टर साहेब, मेरी आमालाई के भएको हो?, खुलस्त भन्नुस् न’

डाक्टर बोलेः ‘ब्लड क्यान्सर हो। तर ‘माइल्ड छ। उमेर भइसकेको छ, अब ‘किमो थेरापी’ न दिऊँ, उहाँले थाम्न सक्नु हुन्न। बरू धुवाँ, धुलो, फोहोर र श्रमबाट जोगाउनु भयो भने आठ/दस वर्ष केही हुन्न। यस्तै हो मानव जीवन’।

ऊ डाक्टरको क्लिनिकबाट बाहिर निस्कियो र सडकमै बेस्सरी रोयो। आँसु झार्‍यो। हुने भए क्यान्सरका सबै कीटाणु आँसुबाट झर्थे होला। सक्ने भए क्यान्सरका सबै अवयवलाई आँसुको भेलले बगाइ दिन्थ्यो होला। तर दैवले माया मात्र दिएको थियो। ऊ लाचार घर पुग्यो। आमाले सोध्नु भयोः

‘के भन्यो त अर्को डाक्टरले?’

‘केही छैन अरे। नातागत भन्यो’

‘हो त मलाई केही भएको छैन। मलाई थाहा थियो’ आमाको जवाफले ऊ झन्डै भक्कानियो। बाहिर निस्केर आँसु पुछ्यो। उसले आमाबाबुलाई अमेरिका लैजाने सोच्यो। उसका आमाबाबु बुज्झकी। यो देश, यो माटो, यो मातृभूमि, यो जन्मस्थान भनेर अड्डी लिएनन्।

आमाले एकपल्ट भन्न त भनिन्ः ‘बाबु यही माटोमा मर्न पाए हुन्थ्यो’ तर बाबुले भन्नुभयोः ‘एउटै धर्ती त हो नि, ओल्ला छेउ नेपाल पल्ला छेउ अमेरिका। यो त राजनीतिज्ञले बाली लाउन घेरेका त हुन नि’। बाबुआमा अमेरिका जान तयार भए। कागजी प्रक्रिया सुरू गरियो। तर अमेरिकी दूतावासले भिसा दिएन। ऊ अर्कोपल्ट रोयो।

अमेरिका फर्किने दिन त आइहाल्यो। अमेरिकाबाट छोराछोरी फोन गर्न थालेः ‘ड्याडी, ह्वेन आर यु कमिङ ब्याक’।

श्रीमतीको पनि तागेताः ‘अब के गर्नु भविष्य बिगार्नु भएन त?’ अफिसले पनि इमेल गरेको गर्‍यै। अब बिदा नथपिने जानकारी। उसले पूर्णकालीन काम गर्ने मान्छे खोज्यो। दूधको उठाउना गरिदियो र आमालाई अलिकति पैसाको जोहो गरिदियो र रुँदै अमेरिकातिर लाग्यो।

बोइङमा ऊ सोच्न थाल्योः ‘म कुपुत्र भएँ। आमाको दसधारा दूधको मूल्यसमेत मैले चुकाउन सकिनँ। हे भगवान् म किन जन्मेँ? किन अमेरिका आएँ?, मजस्तो नालायक छोरो जन्माएर मेरी आमालाई के भयो? नेपाललाई के भयो?’

एकदुई वर्ष यत्तिकै बिते। फोनमा क्षेमकुशल त भएकै थियो। एकाएक आमा झन् साह्रै हुनुभयो। उसले श्रीमतीसँग भन्योः

‘शान्ति, जाऔँ नेपाल, बाबुआमा निकै बुढो हुनुभयो। आमा सिकिस्त हुनुहुन्छ। क्यान्सरको पीडित। डाँडापारिको घाम। अहिले आमाबाबुलाई हाम्रो आवश्यकता छ, पैसाको होइन’

‘यो सबै छोडेर जाने?’

‘हो हाम्रो यहाँ के छ र? यो धर्ती हाम्रो होइन, यो पहाड, रुख केही पनि हाम्रो होइन र भनौँ न समग्र देश हाम्रो होइन, एउटा घर हो बेचौँला’
नेपाल पुग्नेबित्तिकै उसकी श्रीमतीले भनिन्ः ‘काठमाडौँका डाक्टरको मात्रै भर परेर हुन्न। एकपल्ट आमालाई भेलोर लैजाऔँ। आमालाई लिएर ऊ भेलोरतर्फ लाग्यो। लामो जाँचपडतालपछि डाक्टरले भन्योः ‘ब्लड क्यान्सर होइन यो, शतप्रतिशत होइन, ढुक्क हुनुहोस्’
ऊ खुसी भयोः ‘के भएको हो त डाक्टर साहेब?’

‘धुलो धुवाँको ‘एक्सट्रिम एलर्जी’ हो। यसबाट पूर्णरुपमा जोगाउनुहोस्, उहाँलाई केही हुन्न’

अलि खुसी भयो। आमालाई क्यान्सर होइन। ऊ परिस्थितिसँग रिसायो। यो तीनवर्षसम्मको क्यान्सरको ‘टेरर’ को जिम्मेवार को?

नभन्दै भातभान्साबाट अलग गरिदिएपछि र बिहानदेखि बेलुकासम्मको हेरविचार छोरा बुहारीले गर्न थालेपछि आमाको स्वास्थ्यमा आशातीत सुधार आयो। छोराछोरीलाई स्कुल भर्ना गरिदियो। आफूले जागिर खान खोज्यो।

राजनीतिक नेताको सोर्स नभई जागिर पाएन। २०१५ सालमा काङ्ग्रेसमा भोट हालेको हुँ भन्ने उसका मामाले केही माखो मार्न सकेनन्। एउटा नेपाल खाएको आफन्तले सुझायोः

‘आ दाइ पनि यो अमेरिका हो र योग्यताले जागिर पाइने? म मिलाइ दिन्छु। अलिकति डलर खर्च गर्नुपर्छ’।
‘घुस ख्वाएर म जागिर खान्नँ भाइ’

‘त्यसोभए दाइ फर्कनोस् अमेरिका, यहाँ तपाईँले भनेजस्तो चल्दैन’

ऊ बाध्य थियो। जागिर खायो। यसपल्ट पनि ऊ मनमनै बेस्सरी रोयोः

‘थुइक्क, घुस ख्वाएर जागिर खानु पर्‍यो’

‘घुस होइन दाइ, पार्टीलाई सहयोग हो भन्ने बुझ्नुस् न। अमेरिकामा पनि त पार्टीलाई सहयोग दिन्छन् नि’ धूर्त भाइले धुत्र्याइँ झिक्यो।

‘ड्याडी, आइ डोन्ट वान्ट टु स्टे हियर, न्यास्टी पिपुल, डर्टी स्कुल, ड्याड यु बिलिभ टिचर विथ स्टिक’ (बाबा, म यहाँ बस्न चाहन्नँ, रद्दी मान्छे, फोहोरी स्कुल। बाबा! विश्वास गर्नुहुन्छ, लौरो लिएको शिक्षक)। छोरोले एकदिन भनि हाल्यो। छोराछोरीलाई फकाए।

तर छोराछोरीमा डिप्रेसन देखिन थाल्यो। नबोल्ने, नखेल्ने, स्कुल जान नमान्ने। डाक्टर देखाए। प्रगति भएन। एकदिन श्रीमतीले भनिन्ः ‘हजुर, छोराछोरीमा त ‘डिप्रेसन’ देखिन थाल्यो। हामी त जसोतसो गरौँला। यही माटोमा जन्मिएका हौँ। तर छोराछोरीको भविष्य के गर्ने होला?’
‘खोइ के गर्ने त?’ ऊ पनि उदास देखियो।

आखिर सल्लाहअनुसार श्रीमती छोराछोरी लिएर अमेरिका उडिन्। ऊ बाबुआमा स्याहारेर बस्यो। छोरा बुहारी अलगअलग बस्नु परेको देखेर आमाले भन्नुभयोः

‘बाबु, तिमी अमेरिकै जाऊ। नातिनातिनाहरु यहाँ सहजाएनन्। हामी त पहेँलो पात। उनीहरुको भविष्य बनाउनु पर्छ। हामीलाई मान्छे राखि दिएकै छौं। हामी बसि हाल्छौँ’

‘हुम’ ऊ केही बोलेन।

एकवर्ष बित्यो। अचानक उसको जागिर खुस्कियो। जागिर लाइदिने भाइले उसलाई भन्योः ‘के गर्नु हाम्रो पार्टीको सरकार ढल्यो, सरकारवाला पार्टीले आफ्नो मान्छे राख्यो’

जागिर गएको तनावमा ऊ उत्तानो परेर सोफामा सुतेको थियो। मामा आइपुगेः

‘के भो भान्जा, सन्चो भएन?’

‘हो मामा। जीवन हरायो, दायित्व हरायो, हरायो मामा हरायो, सबै थोक हरायो। खोइ के व्यथा लाग्यो कुन्नि मामा? कहाँ हो कहाँ टनटनी दुखेको छ। हिँड्न नसक्ने भएको छु। तर मैले हिँड्नु छ। शक्ति सञ्चय गर्दै छु’

मामाले खोइ के बुझे कुन्नि? सायद बुझेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *