आयुर्वेद औषधिलाई प्रोत्साहन गरौं

पूर्ण ओली
१४ चैत २०८० ७:३२

नेपाल जडिबुटीको भण्डार भएको देश हो। संसारका सबभन्दा अग्लो हिमालय पर्वतदेखि अग्ला अग्ला महाभारत पहाड केही तल चुरेका पहाड अनि समथर मैदान तथा प्रसस्तै जंगल साथै विविध हावापानी भएको देश हो नेपाल।

यहाँ बाह्रै महिना बग्ने हिमाली नदीदेखि बिशाल ताल तलैया, झर्ना, सिमसारलगायत प्रकृतिले दिएको उर्बर भूमि छ। यहाँ सबै किसिमका बोट बिरुवादेखि अत्यन्त महत्वपूर्ण जडिबुटी प्रशस्तै पाइन्छ।

भनिन्छ यहाँ संजिवनी बुटी पनि छ। रामयणको कथामा उल्लेख भए अनुसार लक्ष्मणलाई बाँण लागि मराणासुन्न अबस्थामा पुगेको बेलामा हनुमानले यही हाम्रो हिमालयबाट जडिबुटीसहितको पहाड लिएर गएका थिए। जुन पहाडमा भएको संजिवनी बुटिबाट लक्ष्मण बाँच्न सफल भएको कुरा हामीले हाम्रा महत्वपूर्ण धर्मशास्त्र रामायणमा पढ्न पाइन्छ।

परापूर्व कालमा असंख्य ऋषिमुनिहरुले यसै ठाउँमा बसेर तपस्या गर्ने, त्यही जंगलको जडिबुटी खाएर आफू बाँच्ने र अरुलाई बचाउन जडिबुटीको प्रयोग गरिएका कुरा हामीले सुन्दै आएका छौं।

खप्तडमा ५० औं वर्ष तपस्या गरेर त्यहाँ भएका जडिबुटी चिनेर त्यसबारेमा राम्रो ज्ञान प्राप्त गरेका खप्तड बाबा बारेमा हामीले सुनेका छौं। २०४५-४६ साल तिर महेन्द्रनगरमा यो पंक्तिकारले उहाँसँग साक्षात्कार गर्ने अवसर पाएको थियाे।

उहाँ १०० वर्ष भन्दा माथि पुगेर पनि उहाँको अनुहारमा देखिने कान्ती, रातो पिरो अनुहार हेर्दा उहाँ कसरी जंगलको ओढारमा बसेर पनि यस्तो राम्रो स्वस्थ्य रहनु भयो होला जस्तो लाग्थ्यो।

यस्ता जडिबुटीको बारेमा राम्रो जानकार राख्ने हाम्रा विद्वान आयुर्वेदका बिज्ञ तथा डक्टर पनि धेरै छन्। पतञ्जलि योगका गुरु रामदेव र उहाँका साझेदार बालकृष्णले चलाएको कम्पनिका जडिबुटी औषधि आज संसारभर प्रख्यात छन्। जसबाट अरबौंको आम्दानी गर्न उनीहरु सक्षम भएका छन्।

नेपालको एउटा आयुर्वेद अस्पताल नरदेविको आज नाजुक अबस्था छ। सिंहदरवार बैद्य खानाको हालत पनि उही छ। यस्ता आयुर्वेदका अस्पताल तथा क्लिनीक आज देशभर संचालन हुनुपर्छ। जसमा हाम्रा देशका जडिबुटी प्रयोग हुन्छन्।

आज कतिपय ठूला रोगको उपचारको लागि यस्तै जडिबुटीबाट बनाइएका औषधिबाट बिरामी निको भएका पाइन्छ। अझै हाम्रा गाउँ घरमा परम्परागत चिकित्सा तथा जडिबुटीको प्रयोगद्वारा बिरामीको उपचार भइरहेको छ।

अहिले भारतमा आयुर्वेद उपचार र आधुनिक पद्धतिको उपचार एल्लोप्याथीलाई समान रुपमा हेरिन थालिएको छ। साथै आयुर्वेद उपचारमा पनि अपरेशन गर्न स्वीकृति प्राप्त भइसकेको छ।

हामी भने देशमा उत्पाादित भएका जडिबुटी बिदेश निकास गरेर त्यहाँ बनाइएका आयुर्वेद औषधि महँगोमा खरिद गरेर उपयोग गर्न बाध्य छौं। आज बिकसित देशले पनि यस्ता जडिबुटी उत्पादित औषधि प्राकृतिक चिकित्साको रुपमा प्रयोग गरिरहेका छन्।

यदि हामीले हाम्रा जडिबुटीको सदुपयोग गर्दै यसको संकलन र यसबाट बनाइएका औषधि उत्पादनलाई प्रोत्साहन गर्न सफल भइएमा देशले ठूलो आम्दानी गर्न सक्छ।

हाम्रो सरकारले देशभरमा उपचारको लागि एल्लोप्याथीसँगै आयुर्वेद अस्पताल र क्लिनिकलाई प्रोत्साहन गर्दै गाउँ गाउँसम्म पुर्‍याउन सके हाम्रा धेरै नेपालीले सर्ब सुलभरुपमा उपचार पाउन सक्ने थिए।

हामीले आयुर्वेदको लागि छुट्टै अनुसन्धान केन्द्र, विश्वविद्यालय बनाउन आबश्यक छ। स्वास्थ्य मन्त्रालयले आधुनिक चिकित्सासँगै आयुर्वेदलाई महत्व देओस । स्वदेशमा उत्पादित आयुर्वेदलाई सदुपयोग गर्न सकिएमा स्वास्थमा हुने धेरै खर्च कम हुनुको साथै हाम्रो रकम बिदेशीनबाट जोगिन सक्छ।

हाम्रा पुर्खाहरुले परम्परागत औषधि उपचार गरिरहेकोमा आधुनिक उपचारको कारण अहिले ती उपचार हराउँदै गएका छन्। अब हामीले हाम्रा परम्परागत औषधि, आयुर्वेद औषधिलाई सरकारले राम्रो नीति बनाएर निजी स्तरलाई पनि सहुलियत दिएर प्रोत्सहान गर्न अत्यावश्यक छ।

गाँजा खेतीलाई पनि औषधिको रुपमा प्रयोग गर्ने गरि यसलाई बैधता दिनुपर्छ। जुनकुरा बिकसित देशहरुले गरिरहेका छन्। डा. बि पि तिमल्सिनाको भनाइमा लोकल रक्सीमा पनि बिभिन्न किसिमका मर्चा मिसाएर औषधिको रुपमा प्रयोग गर्न सकिन्छ।

त्यसैले हाम्रा गाउँ घरमा बनाइने लोकल रक्सीमा आबश्यक मर्चा मिलाएर बिभिन्न रोगको उपचार गर्ने गरि त्यसलाई ब्राण्ड गर्न जरुरी छ। पहिला केही सांसदले पनि लोकल रक्सीलाई ब्राण्ड गर्ने प्रस्ताव पनि संसदमा गर्नु भएको थियो।

यदि यसलाई हामीले कानूनी रुपमा मान्यता दिन सकिएमा यसबाट धेरै गरिब नेपालीको जीवनस्तर सुधार हुने थियो। झन् गाँजा खेतीलाई मान्यता दिन सकिएमा लाखौं गरिब किसानको उद्दार हुने मात्र होइन राष्ट्रलाई अरबौं डलरको बिदेशी रकम आम्दानी हुने थियो।

त्यसैले सरकारले जडिबुटीलगायत आयुर्वेदलाई प्रोत्साहन गरेर देशलाई गरिबबाट धनी बनाउन सकिन्छ। हामीले बिदेशबाट आयुर्वेदको औषधिलाई आयत गर्ने होइन, निर्यात गर्नुपर्छ। यसपछि हाम्रो ब्यापार घाटा पूरा घट्ने छ।

त्यसैले हामीले परम्परागत औषधिलाई पनि प्रयोग गर्नुपर्छ। जुन औषधियुक्त जडिबुटी हाम्रा डाँडाकाँडा, जंगल, तराइ जतासुकै पाइन्छ। धेरै बिदेशीले नेपालको जडिबुटी, परम्परगत औषधिको महत्व बुझेका छन्। तर हामीले यस्को महत्व बुझ्न सकेनौं।

हामीले खाइरहेका आधुनिक औषधिले प्रशस्तै साइड इफेक्ट भइरहेको हुन्छ। जसले बिभिन्न थरीका डरलाग्दो रोगहरु निस्कइ रहेका हुन्छन्। जडिबुटीबाट निर्मित आयुर्वेदका औषधिले साइड इफेक्ट अत्यन्त न्युन हुन्छ।

एल्लोप्याथीको औषधि खाँदा जिन्दगिभर खानु पर्ने हुन्छ भने जडिबुटीबाट निर्मित औषधिले पूरा रोग निको हुने कुरा पनि आयुर्वेद बिज्ञ डा. बिपि तिमिल्सिनाले बताउनु भएको छ।

त्यसैले हामीले आधुनिक औषधिको कारण हाम्रा परम्परागत औषधिलाई हेला गर्दा हामी धरै मर्कामा पर्दै गएका छौं। त्यसैले यसलाई सुधार गर्दै आधुनिक चिकित्सासँगै प्राकृतिक चिकित्सा तथा आयुर्वेदलाई पनि सँगै अघि बढाउनु पर्छ।

देशको अबस्था परिबर्तन गर्न, जनताको स्वास्थ्यमा सहयोग पुर्‍याउन र दुर्गम गाउँसम्म जनताको सेवा गर्न पनि देशका बिभिन्न स्थानमा उत्पादन हुने महत्वपूर्ण जडिबुटीलाई आधार बनाइ जडिबुटी खेती, संकलन केन्द्र, औषधि उद्योग तथा कमसेकम सबै जिल्लामा आयुर्वेदिक अस्पताल खोलियोस्।

एउटा आयुर्वेदको मेडिकल कलेज पनि सरकारले संचालन गर्नुपर्छ, जहाँबाट डाक्टर र नर्सको पढाइ सञ्चालन होस्। यसका लागि आवश्यक शिक्षक स्वदेशबाट निकाल्न ल्याउन सकिन्छ। केही नपुग भएमा भारतबाट पनि ल्याउन सकिन्छ।

अहिलेको सरकारले जडिबुटी र आयुर्वेद औषधिमा ध्यान दिँदै यसको बजेट बढाउन र विस्तृत योजनासहित आयुर्वेदलाई सहयोग र प्रोत्साहन गर्न सकेमा देशको हित हुने र यो सरकारको छवि पनि केही सुध्रिन सक्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *