पूर्वसचिव परीक्षित नर्सिंह राणाको पुस्तक लोकार्पण (भिडियो)
काठमाडाैं। पूर्वसचिव स्वर्गीय परीक्षित नर्सिंह राणाको जीवनीमा आधारित पुस्तक ‘धनबुबा’ को लोकार्पण गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा स्वर्गीय राणाकी धर्मपत्नी कोकिला राणाले पुस्तक लोकार्पण गरिन्।

पुस्तकमाथि समीक्षा गर्दै पुस्तकका सम्पादक प्रा.डा. करण शाहले परीक्षित नर्सिंहले जीवनमा अवलम्बन गरेका इमानदारीका पाइलाहरू सबैका लागि प्रेरणा हुने बताए। स्व. राणा अर्थ मन्त्रालयबाट अधिकृतको जागिर सुरु गरेर सचिवबाट सेवानिवृत्त भएका थिए। ‘

उहाँको जीवनीबाट इमानदारी सिक्न सकिन्छ, उसवेला प्रशासन क्षेत्र हाँक्दा अड्डी लिने र इमानदारभन्दा बाहिर नजाने उहाँको स्वभाव थियो,’ उनले भने, ‘उहाँ लोकसेवामा बसेर पनि काम गर्नुभयो, जहाँ बसे पनि उहाँले इमानदारी छाड्नुभएन ।’ उनका अनुसार विद्यार्थी कालदेखि नै गम्भीर स्वभावका राणा प्रशासनिक क्षेत्रमा रहँदा राजनीतिक हस्तक्षेपबाट डग्मगाएनन्।

अर्का समीक्षक विमल भौकाजीले एक वर्ष लगाएर तयार पारिएको किताबमा स्वर्गीय परीक्षित नर्सिंङ राणाको जीवन र अनेकौँ अवरोहका पक्षमा खोजी–खोजी लेखिएको बताए। ‘यो पुस्तकमा उहाँका बारेमा विभिन्न व्यक्तिले व्यक्त गरेका कुराहरूलाई समेटिएको छ,’ उनले भने, ‘यो पुस्तकमा ४० जनाले स्वर्गीय राणाबारे लेख्नुभएको छ ।’

उनका अनुसार वि.सं. १९७३ मा जन्मिएका उनी प्रजापरिषद्का समर्थक थिए। सहिद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीसँग उनी पनि प्रजाको पक्षमा हिँडेका थिए । उनलाई पनि मृत्युदण्ड दिने तयारी गरिएको वेला कसैले राणा परिवारको व्यक्ति भनेपछि गोर्खाको कारावासमा राखिएको थियो। ४४ वर्षअघि नै मृत्यु भएका राणाको बारेमा लेख्दा विभिन्न अध्ययन र अनुसन्धान गरेर लेखिएको अर्का समीक्षक भीम घिमिरेले बताए

उनका अनुसार यस पुस्तकले राजनीतिक इतिहास र राणाकालीन अवस्थाबारे प्रस्ट पार्नेछ। पाँच खण्डमा लेखिएको यो पुस्तक २०७ पृष्ठको छ। यो पुस्तकमा वि.सं. १९६४ यताका धेरैजसो राजनीतिक, सामाजिक, प्राकृतिक र प्रशासनिक इतिहास र घटना अटेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment