‘साहित्यमा उत्तर-चेतको खोजी’ सार्वजनिक

डिसी नेपाल
१९ चैत २०८१ १०:४४
12
Shares

काठमाडौं। असमी तथा नेपाली भाषाका असम तेजपुर निवासी साहित्यकार छत्रमान सुब्बाको समालोचकीय कृति साहित्यमा उत्तर–चेतको खोजी’ एक कार्यक्रमबिच सार्वजनिक भएको छ।

सोमबार काठमाडौंमा ओरिएन्टल पब्लिकेशनद्वारा आयोजित कार्यक्रममा विभिन्न सर्जकहरूले संयुक्त रूपमा कृति लोकार्पण गरे। कार्यक्रमका प्रमुख अतिथि डा. तुलसी भट्टराईले भारत असमका साहित्यकार सुब्बाले यो पुस्तक प्रकाशनमा ल्याएर नेपाल र असमबिचको सम्बन्ध सेतुलाई अझै बलियो बनाएको बताए।

लोकार्पणसँगै सम्पन्न पुस्तक विमर्शको चरणमा साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले सन् २०२३मा साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरिसकेका छत्रमान सुब्बामा नयाँ चेतना बुझ्ने र तिनलाई खोज्ने तिर्खाले यो पुस्तक जन्माएको बताए।

प्रा.डा. कुमारप्रसाद कोइरालाले असमी साहित्यकार सुब्बाको यो कृति सिर्जनात्मक समालोचना भएको उल्लेख गरे। त्यस्तै पुस्तकमाथि साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, शान्ति रिसाल, नारायणप्रसाद शर्माले पाठकीय टिप्पणी राखे।

साहित्यकार सुब्बाले आफूले नयाँ बाटो पाएको बताए भने साहित्यकार श्रीओम श्रेष्ठ रोदनले अक्षरहरूले दुई देशको सम्बन्धलाई कसरी जोडेको छ भन्ने यो पुस्तकले देखाएको बताए।

प्रा.डा. अञ्जना वस्ती भट्टराईले असममा बसेर पनि नेपाली भाषामा किताब लेख्नु आफैंमा उल्लेखनीय काम भएको बताइन्।
पुस्तक सेर्गेम प्रकाशन गृह, दमकले प्रकाशनमा ल्याएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *