लघु कथा : कोसेढुंगाे

प्रकाशचन्द्र खतिवडा
१६ जेठ २०८३ ८:५१

‘वाहियात! तास खेलेर दिन बिताउने?’ आर्याले आक्रोशमिश्रित स्वरमा संयोगलाई हपारी।

‘नरिसाउन यार! कहिलेकाहीँ इन्टरटेनमेन्ट पनि गर्नुपर्छ नि। म जुवाडे होइन नि आर्या,” संयोगले आर्यालाई थुम्थुम्याउने प्रयत्न गर्‍यो।

आर्या र संयोग गाउँकै उदाहरणीय जोडी हुन्। आर्या कुशल गृहिणी र प्लस टु की शिक्षिका हुन्। संयोग गाउँपालिकाको शाखा अधिकृत हो। यी दुईको भेट कलेज अध्ययनताका आर.आर. क्याम्पसको वार्षिकोत्सवमा आयोजित वक्तृत्वकला प्रतियोगितामा भएको हो। आर्या प्रथम र संयोग दोस्रो भएको उक्त कार्यक्रमदेखि उनीहरूबीच हिमचिम बढेर प्रेमाङ्कुर भएको हो।

यी दुई अनेरास्ववियुमा आबद्ध थिए। स्ववियु निर्वाचनमा संयोग अध्यक्ष र आर्या कोषाध्यक्ष पदमा निर्वाचित भएका थिए। विद्यार्थी राजनीतिले उनीहरूलाई झनै नजिक्याएको थियो।

विचार र सिद्धान्त मिलेपछि जातभातको कुरा गौण बन्दो रहेछ। संयोग र आर्या अन्तरजातीय जोडी थिए। घरपरिवारको असहमति हुँदाहुँदै उनीहरूले ‘स्टेज म्यारिज’ गरे। पार्टी नेताहरूको उपस्थितिमा सम्पन्न उक्त विवाहले गाउँमा हलचल पैदा गरेको थियो।

सामाजिक क्रान्तिको प्रतीकका रूपमा उक्त विवाहलाई परिभाषित गरी कुरीति र बेथितिलाई थप्पड हानिएको थियो। पुरातन शैलीमा बाँचेको समाजमा यो विवाह एउटा आन्दोलन नै थियो।

क्रान्तिका अनेक रूप हुन्छन्। वर्गसङ्घर्षदेखि सामन्त सफायाको अभियान क्रान्तिले समेट्ने गर्छ। जातीय उत्पीडन र वर्गविभेद अन्त्य नभएसम्म क्रान्तिले गोता खाइरहन्छ। संयोग र आर्याको विवाह क्रान्तिकै एउटा कडी थियो।

संयोग र आर्याको विवाह सामाजिक रूपान्तरणको दिशामा कोसेढुंगाे साबित भएन र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *