लघुकथा : झटारो

भूमिका गैरे तिमिल्सिना
२३ जेठ २०८३ ७:३६

विवादले विवाद निम्त्याउँछ।

बजेट भाषण भयो, मान्छेका सन्तुष्टि र असन्तुष्टिका छुट्टै चाङ छन्। कसैलाई यही भाषण फलिफाप भयो त कसैलाई पुर्पुरोमा हात भने जस्तै भयो। व्यर्थैको टीकाटिप्पणीको ओइरो मात्रै छ। सबैको आक्रोश पोख्ने ठाउँ चाहिँ धन्न यही सञ्जाल रहेछ, नत्र के गर्थे होलान्?

पहिलोले मजाक गर्दै सम्भावना दर्शायो, “डायरीमा लेख्थे कि!”

चिया पसलमा गफिएका छन्। सबैले आ-आफ्ना विचार राखेका छन्। घडी खित्का छाडेर हाँस्छन् त घडी गम्भीर देखिन्छन्। तर्क देश, काल र परिस्थिति अनुरूप नै चलेको देखिन्छ।

दोस्रो फिस्स हाँस्यो र कर्के नजर जुधाउँदै बोल्यो, “लाजको पसारो! जसको सरकार बने पनि संसद् भवन त बाँदर नाच्ने चौतारो जस्तै भएछ। माइक नपाएरै हो त त्यो हानाहान?”

पहिलोले पुलुक्क हेर्‍यो, चियाको सुस्की लियो, ङिच्च दाँत देखायो अनि सोचेर तर्क राख्यो, “नपाउन्जेल कस्तो, पाएपछि सस्तो भनेको यही हो। त्यो भागदौड, चुनावको जित, दुई तिहाइको सरकार-के भएका हुन् यिनीहरू? केटाकेटी पारा!”

दोस्रोले सहमति जनाउँदै छड्के हान्यो, “घरि नबोलेरै हैरान, घरि किन बोल्या होला जस्तो! अचम्म!” ऊ झिँझियो।

सबै कुरा सुनिरहेको तेस्रोले सौम्य भाव देखायो। मौनतामा शक्ति हुन्छ भन्थे, शान्त रहेको मान्छे एक्कासि किन यसरी बोल्यो त? ऊ गहन हुँदै तर्कियो, “राजनीति भनेको छोरी कुटेर बुहारी तह लगाउने कला हो; कुरा एकातिर, निशाना अर्कोतिर! भो, अब झटारो नहान त!”

यति सुनेपछि एकाएक सन्नाटा छायो।

 लघुकथा : सङ्कुचित

“खोइ खोइ हार्दिकता?” म चिन्तित थिएँ।

गाउँघर कहिल्यै छोडिएन। गाउँले परिवेश नै प्यारो थियो, कामले कहिल्यै फुर्सद भएन। दिनभरि मेलापात, अर्मपर्म र गोठालो हुन्थ्यो भने बिहान–बेलुका घरमा बास हुन्थ्यो। दिन सामान्य थियो, त्यहीँ खुसी अनि रमाइलो लाग्थ्यो। कहिले कसकोमा त कहिले कसकोमा काममा गइन्थ्यो, मिलेर खाइन्थ्यो। खेती लगाउँदा र थन्काउँदा मिलेरै गरिन्थ्यो।

खर्च गर्नुपर्दा भने मरेतुल्य हुन्थ्यो। आफैँले उब्जाएको खाने बानी परेकाले हरियोपरियो तरकारी र फलफूलका बोट घरमै हुन्थे। लुगाफाटो पनि वर्षको एक पटक किनिन्थ्यो, सकेसम्म टार्ने परम्परा बाउबाजेकै पालादेखि आएको थियो।

एक दिन उसले नौलो कुरो गर्‍यो, म बबुरोले हुन्छ भन्दै टाउको हल्लाएँ। उसले कानमा फुसफुसायो, “कति गँवार भएर बस्ने हो? सहरको झिलिमिली हेर्न जाऊँ, मरेर लाने के छ र?” उसले बाहिरी संसार देखाउने प्रयत्न गर्‍यो।

मैले अन्योलले भरिएको नजर उठाएँ र उसको मुहार हेरेँ। त्यहाँ आत्मविश्वासले भरिएको चमक थियो, म ढुक्क भएँ। अचानक झिलिमिली सहर हेर्ने इच्छा जाग्यो अनि सङ्केत गरेँ, “हुन्छ, कहिले जाने?”

दुवै लाग्यौँ। बसको यात्रादेखि नै रङ्गीचङ्गी माहोल नियाल्दै थिएँ। परिदृश्य रमाइलो थियो- मान्छे सुकिला, चमकदार र आलिसान भवनहरू। तर, कामको व्यस्तता भने अनौठो र बेफुर्सदिलो थियो।

एक वृद्ध मानिस सडकपेटीमा मागेर बसेका थिए। कसैले दया देखाएनन्। उनले गुहार लगाइरहेका थिए, तर कसैले चासो दिएनन्। उनको थकित अनि जीर्ण शरीरले विश्राम खोजिरहेको प्रस्टै देखिन्थ्यो।

यी सबै परिदृश्य नजरभरि कैद गर्दै गर्दा उसले सोध्यो, “कस्तो लाग्यो त सहर?”

मैले केही तालमेल नमिलेको पाएँ। मनमा छटपटी भयो। गाउँसँग तुलना गर्दै व्याकुलताका साथ गम्भीर हुँदै जवाफ फर्काएँ, “घर ठुला तर मन सङ्कुचित, मानवता हराएको! के को तछाडमछाड हो यो?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *