काजी रोशन र अक्षरको अनन्त यात्रा
समय आफ्नै गतिमा बगिरहन्छ। तर, केही यस्ता साधकहरू हुन्छन्, जसले समयको यो निरन्तर बहावलाई अक्षर, संस्कृति र आत्मीयताको रङले सजाएर जीवन्त तुल्याइदिन्छन्। कालीगण्डकीको सुस्केरा, कालिका माईको आशीर्वाद र धवलागिरिको शीतल छहारीमा बसेर नेपाली भाषा, साहित्य र संस्कृतिको मझेरी उज्यालो बनाउने त्यस्तै एउटा आदरणीय नाम हो- काजी रोशन!
बागलुङको सुगन्धित माटोमा उभिएर उहाँले छर्नुभएको साहित्यिक सुवासले सिङ्गो नेपाली वाङ्मयलाई सुवासित बनाएको छ। धवलागिरि साहित्य प्रतिष्ठानको मियो बनेर दर्जनौँ संस्थाहरूको चौतारीमा उहाँले गर्नुभएको भाषा-साहित्यको प्रवर्धन आफैँमा एउटा स्तुत्य इतिहास हो।
साहित्यकार रोशन साहित्यप्रति अनन्य आसक्ति र समर्पणको पर्याय हुनुहुन्छ। कतिपय मानिस भौतिक भोक मेट्न हुरुक्क हुन्छन्, तर उहाँको भोक अर्कै छ, तृष्णा अर्कै छ। उहाँलाई बरु खानु पर्दैन, तर एउटा नयाँ पुस्तकको पाना पल्टाउन पाए, शब्दका नयाँ गोरेटाहरूमा हिँड्न पाए र कुनै स्रष्टाको आत्मीय सामीप्य पाउँदा उहाँभित्र एउटा अलौकिक तृप्ति छाउँछ।
त्यसो त उहाँको यस किसिमको स्वभाव आजदेखिको होइन। बितेको छ दशक अघिदेखि नै उहाँ साहित्यकारहरूसँगको भेट र भलाकुसारीमा रमाउनुहुन्थ्यो। साहित्यका कुनै पनि विधा पढिसकेपछि उहाँ सोच्नुहुन्थ्यो- यो साहित्यकारको जीवन कस्तो होला, कसरी बाँचेको होला, स्वभाव कस्तो होला? यस्तै खुल्दुलीले उहाँलाई हैरान पार्थ्यो।
त्यसपछि उहाँ त्यो साहित्यकारलाई भेट्न हतारिनुहुन्थ्यो। भेटेपछिको खुसी उहाँका लागि सबैभन्दा ठुलो प्राप्ति र सन्तुष्टिको पल हुन्थ्यो। त्यही भेटमा फोटो खिच्ने, केही शब्द आफ्नो डायरीमा लेखाउने र आफूभित्रको जिज्ञासा मेटाएर उहाँ फर्किनुहुन्थ्यो।
यस्तो स्वभावका साहित्यकार काजी रोशनसँग मेरो भेट र चिनाजानी भएको पनि चार दशक व्यतीत भइसकेको हुनुपर्छ। सरल स्वभाव, हार्दिक मन र मिजासका उहाँ अत्यन्तै मृदुभाषी हुनुहुन्छ।
उहाँसँगको हरेक भेटमा मैले यही सत्यलाई नजिकबाट नियालेको छु, स्पर्श गरेको छु। त्यो आत्मीयता र अक्षरप्रतिको मरिमेट्ने भावनाले मलाई सधैँ एउटा मौन तरङ्ग दिइरहन्छ, जुन तरङ्ग मेरो निबन्धको अन्तर्यमा ‘मौन धुन’ बनेर गुञ्जिरहन्छ।
काजी रोशनसँग मेरो भेट नभएको जुग बितिसकेको सन्दर्भमा, उहाँले मेरो एउटा लेख ‘रचना’ साहित्यिक द्वैमासिकमा पढेपछि एउटा कविता लेख्नुभयो– ‘कहाँ छन् ज्ञानेन्द्र विवश’। त्यो कविता उहाँले फेसबुकमा पोस्ट गर्नुभयो। त्यो पढेर मेरो मन भावुक भयो।
म उहाँसँगका भेट, भलाकुसारी अनि बागलुङ–बेनी यात्राका ती पुराना दिनहरू सम्झिएर झस्किएँ। समयले निकै दशक फड्को मारिसकेको रहेछ। कविताका प्रत्येक पङ्क्तिमा उहाँको प्रेमिल अनुभूतिका उच्छ्वासहरूलाई मैले महसुस गरेँ।
उहाँको लेखन र जीवनयात्रा एउटा सुमधुर र विविध रागहरूले भरिएको सङ्गीत जस्तै लाग्छ, जहाँ शब्दहरू गुनगुनाउँछन् र भावनाहरूले जीवन्त स्वर पाउँछन्। २०३५ सालमा ‘मानसरोवरमा डुबुल्की मार्दा’ मार्फत सुरु भएको उहाँको नियात्रा र संस्कृतिको यात्रा ‘हिमश्रृङ्खलाबाट’ कविताहरूमा पग्लिँदै अगाडि बढेको देखिन्छ।
‘सम्झनाको गोरेटोमा मोहनबहादुर मल्ल’ को संस्मरण होस् वा ‘पं. जगन्नाथ स्मृति ग्रन्थ’ को जीवनी, उहाँले नेपाली वाङ्मयका अनेकौँ तन्तुहरूलाई प्रेमपूर्वक उनेर गाँस्नुभएको छ।
उहाँका अन्य सिर्जना-कृतिहरू ‘चारो टिप्न गएका बस्तीहरू’ र ‘कवि, रोगी र नर्स’ जस्ता पुस्तक पढ्दा लाग्छ– उहाँ पाइला–पाइलामा भूगोल मात्र नाप्नुहुन्न, मानव मनका अनेकौँ रङ र संवेदनाहरूलाई शब्दको क्यानभासमा उतार्नुहुन्छ। ‘एम्बुस देश र फूलदानीहरू’ को काव्यिक चेत र ‘एक झुप्पा प्रकाश’ को भूमिकाहरूमा उहाँको निष्कपट प्राज्ञिक धरातल प्रष्ट झल्किन्छ।
उहाँभित्र एउटा अनौठो र निकै सुन्दर तृष्णा छ- हस्ताक्षर सङ्ग्रहको। माथि पनि मैले उल्लेख गरिसकेँ कि उहाँका लागि आफूले पढेका साहित्यिक मनहरूसँग साक्षात्कार हुनु र तिनको अभिलेख राख्नु उहिल्यैदेखिको बानी हो।
त्यही सिलसिलालाई निरन्तरता दिँदै २०२५ सालको निष्पट्ट समयदेखि उहाँले एउटा ऐतिहासिक अभियान सुरु गर्नुभयो- भेटिएका स्रष्टाहरूको मन्तव्यसहितको हस्ताक्षर संकलन। यो शब्दको केरकार मात्र थिएन, यो त नेपाली साहित्यको एउटा सिंगाे कालखण्डलाई जीवन्त राख्ने महायज्ञ थियो।
यही कल्पवृक्षको फलस्वरूप जन्मियो- ‘स्रष्टा भेटका स्वर्णाक्षर’ (२०६४)। यस कृतिभित्र सङ्ग्रहित १५० जना स्रष्टाहरूका ती हस्ताक्षर र उनीहरूका अभिव्यक्ति मसीका अक्षरसँगै नेपाली साहित्यका अजम्बरी पदचापहरू हुन्। उहाँले प्रत्येक स्रष्टाको स्पन्दन र प्रत्यक्ष भेटपछिको प्राप्तिको अभिलेखलाई पुस्तकमा कैद गरेर आगामी पुस्ताका लागि एउटा अमूल्य नासो छोड्नुभएको छ।
साधना कहिल्यै अनुत्पादक हुँदैन र सच्चा साधकलाई समयले ढिलोचाँडो सम्मानको श्रीपेच पहिर्याउँछ नै। युवा वर्ष मोती पुरस्कार, रत्न श्रेष्ठ पुरस्कार, गोपाल असीम पुरस्कार जस्ता गरिमामय सम्मानहरू मात्र होइन, दीर्घ सेवा पदक, जानपद सेवा पदक र सीमापार भारतको धर्मशालामा अवस्थित ‘मास्टर भीमसेन साहित्य सङ्गीत सभा’ को पदकलगायत दुई दर्जनभन्दा बढी अभिनन्दनहरूले उहाँको उचाइलाई सम्मान गरिसकेका छन्।
यसैको निरन्तरता स्वरूप यस वर्ष पोखराको ‘हरिदेवी कोइराला साहित्य-सङ्गीत सम्मान कोष’ ले उहाँलाई ‘हरिदेवी कोइराला साहित्य सम्मान’ प्रदान गर्ने सुखद निर्णय गरेको छ। आज जेठ २३ गते शनिबारका दिन पोखरामा शीतल पर्यावरणबीच आयोजना हुने एउटा भव्य समारोहमा उहाँलाई नगद पच्चिस हजार रुपैयाँसहित यो सम्मान अर्पण गरिँदैछ। यो सम्मान साहित्यसेवी काजी रोशनको मात्र होइन, बागलुङको त्यो अटल साहित्यिक निष्ठा र सिङ्गो धवलागिरिको अक्षर–साधनाको सम्मान पनि हो भन्ने मलाई लाग्छ।
अक्षरको यो अनन्त आकाशमा काजी रोशन एउटा त्यस्तो चम्किलो र शीतल तारा हुनुहुन्छ, जसको प्रकाशले थुप्रै नवोदित स्रष्टाहरूलाई बाटो देखाएको छ। उहाँका आँखाहरूमा साहित्यको अनन्त क्षितिज छ र मनमा सङ्गीतको जस्तै एउटा मीठो, शालीन लय छ।
सङ्गीतको स्वर र साहित्यको शब्द एकाकार भएर नै जीवन जीवन्त बन्छ, काजी रोशनको व्यक्तित्व ठ्याक्कै त्यस्तै छ। उहाँको यो निस्वार्थ र निष्कपट साहित्यिक यात्रा अझै लामो समयसम्म हिमालका नदीहरू जस्तै अविरल बगिरहोस्; अक्षरका ती स्वर्णिम औँलाहरूले नेपाली वाङ्मयको पवित्र मन्दिरमा अझै धेरै दियोहरू बालिरहून्। मेरो मनको कुनाबाट यही आत्मीय शुभकामनाको धुन प्रस्फुटित भइरहन्छ। आदरणीय काजी रोशनलाई हार्दिक बधाई तथा शुभकामना!
……..त्यसपछि जिन्दगीको
लामो तार टुट्यो, फुट्यो र भाँच्चियो
जिजीविषाको प्रलय आँधीमा
उनी कहाँ पुगे मलाई थाहा हुँदैन
म कहाँ ? उनलाई थाहा हुँदैन
लामो समयको अन्तरालमा
उनी ‘जनमत प्रकाशन’ बाट
सम्मानित भएको मलाई जानकारी हुन्छ
रोचक घिमिरेको ‘रचना’ मा
रातरातसम्म खोटाङ हिँडेको
उनको मन छुने लेख छापिएर आउँछ
म उनले लेखेको अक्षरमा होइन
म उनलाई सग्लो अनुहारमा
सिङ्गो मान्छे हेर्न चाहन्छु
कहाँ छन् ज्ञानेन्द्र विवश ?
म उनलाई भेट्न चाहन्छु
म उनको यादमा तड्पिरहेछु !
– काजी रोशन















Facebook Comment