ए झरी ! नझरिदेउ यसरी…
अरुण सायमि-धूस्वाँ सायमि : एक सन्तानको बाबु प्रेम…
केही पहिले डा. अरुण सायमिज्यूसँग भेट हुँदा सोधेको थिएँ, “सरले लेख्नुभा’ गीत हो सर यो ?” “हो”; उनले भने। म एकछिनसम्म ‘वाह! गजब!’ को भावबाट एक प्रेमी हृदय जो त्यो अनुहारले धारण गरिरहेको थियो त्यसलाई मौनी एकदृष्टिले हेरिरहेँ।
“कसरी लेख्नुहुन्छ यति सहजै, प्रेमका जटिल अमूर्त भावलाई सहज बहावमा सरल शब्दले ?” भन्ने सोचले “गजब लेख्नुभा’छ त सर”, त्यसपछि मैले उनलाई भनेको थिएँ।
“प्रेमको सम्मान खातिर उद्यत हरेक प्रेमी धड्कनका झैँ धड्किरहेका हृदयका ती उत्कट ढुकढुकीलाई मैले पनि यस्तै गरी प्रेमप्रति आभार भावमा अभिव्यक्त गर्न सके कस्तो खुसी अनुभूत हुन्थ्यो होला मलाई पनि?” भन्ने सिकाइको उत्सुक भावनाले मनमनै सोध्दै अभिव्यक्तिमा चाहिँ कौतुहल मेरो मनले उनलाई फेरि सोध्यो; “कसरी लेख्नुहुन्छ सर यस्तो?!” “म पहिलेदेखि लेख्थेँ”, भित्ताको फोटोतिर देखाएर उनले थप भने, “मेरा पिताजी धूस्वाँ सायमि” ! यति उनको बोली निस्कन नपाउँदै मैले अझ उनका पिताजीप्रति कृतज्ञताको भावानुभूतिमा भन्न पुगेँ, “धूस्वाँ सायमिज्यूको सुपुत्र हो सर हजुर?”, “हो।” उनले भने ।
कोही गायन, कोही वादन…कोही चित्रकारिता त कोही लेखन…यी सबै प्रेमकै अभिव्यक्ति न हुन् ! रचना गर्नेहरू प्रेमी हुन्छन् । तिनका हृदयमा प्रचुर प्रेम हुन्छन् ! अनि रचना पोखिएर ती हृदयका अनन्त प्रेमका अभिव्यक्ति हुन्।
एक प्रेमसाधक बाबुको प्रेमी हृदयको प्रभाव, साहित्यका प्रेमसाधक बाबुको साहित्य प्रेमी हृदयको प्रभाव – सन्तानको हृदयमा पनि प्रेम घटित भएको थियो, सन्तानको हृदयमा पनि साहित्य घटित भएको थियो !
प्रेमरसमा निथ्रुक्क डुबेका एक प्रेमरसिक बाबुबाट एक गहिरो प्रेरणारूप सन्तानमा पनि प्रेमको मूल फुटेको थियो, प्रेमरसको चस्का सन्तानलाई पनि लागेको थियो। प्रेम सर्छ। प्रेमको नैसर्गिकता नै बढ्ने हो, सर्ने हो। प्रेम एक सरुवा एहसास हो। प्रेमले प्रभाव पार्छ नै ! एक त वंशाणुगत अर्कोतिर प्रेमको प्राकृत नैसर्गिकता : सरुवा प्रकृति ! प्रेमका साधक बाबु धूस्वाँ सायमिका सन्तान डा. अरुण सायमि पनि प्रेम कै साधक बन्न पुगेका थिए !
लालजी पाण्डे-सायर अनजानका सुपुत्र शीतला पाण्डेलाई पनि बाबुको गहिरो प्रभावले रोमाञ्च भर्दै सर्वाधिक ‘हिट’ गीतहरू दिँदै संसारमै सर्वाधिक गीत लेख्ने गीतकारका रूपमा दर्ज भएर सफलतम – लीरिसिस्ट समीर बनायो।
एकदिन शीतला पाण्डेले आफ्ना पिता सायर अनजानलाई भनेछन्: “बुवा ! म पनि तपाईँ जस्तै सर्वाधिक सफल मध्येका गीतकार बन्न चाहन्छु । म पनि गीत लेख्न चाहन्छु । सर्वाधिक चर्चित-हिट गीतहरू कोर्न चाहन्छु, लोकप्रिय, सबैले मन पराउने सर्वोत्कृष्ट गीतहरू लेख्न चाहन्छु।”
बाबुले चम्किलो र अति उत्सुक आशामा जोशिएको छोरोको अबोध अनुहारतिर घोरिएर एकछिन गम खाँदै जवाफ फर्काएछन्; “के तैँले कसैलाई प्रेम गरेको छस्?”, छोरो ट्वाँ – चकित ! बल्लतल्ल जबर्जस्ती आँट पुर्याई नपुर्याई छोरो शीतलाले भनेछन्; “छु !”
बाबुले दिलैबाट घटित गर्वको मिठो मुस्कानमा छोरोलाई स्याबासीको धाप पिठ्युँमा मार्दै अँगालेछन् र भनेछन्; “स्याबास् ! आइज ! त्यसो भए तँ गीत लेख्न सक्छस् र लेख्नेछस् पनि !”
त्यसपछि त ‘रेस्ट इज हिस्ट्री’ भन्छन्; कालान्तरमा शीतला पाण्डे अत्यधिक सफल, सर्वप्रिय-लोकप्रिय या त्यस्तै चर्चित-लीरिसिस्ट समीर बन्न पुगे। ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड्स’मा संसारमै सर्वाधिक गीत लेख्ने गीतकार- समीर, समीर अनजान !!! उनी हुन पुगे ! त्यो प्रेमी बाबुलाई कत्रो खुसी ! प्रेमी बाबुको प्रभाव-सन्तान पनि एक जब्बर प्रेमी भएका थिए।
बाबुप्रतिको कत्रो प्रेम! बाबुको साहित्यिक नाम “अनजान” उनले आफ्नो गीतकार नाम “समीर” पछाडि थर झैँ जोडेर “समीर अनजान” बनाउँदै आजीवन हिँडिरहेका छन्! बाबुप्रतिको कत्रो प्रेम ! बाबुप्रतिको कति गहिरो भक्ति ! बाबुप्रतिको यति गहिरो भक्तिले उनलाई जगाएको थियो।
बाबुप्रतिको अनन्य प्रेमले प्रेम सिकाएको थियो। प्रेमले सिकाउँछ। प्रेमले प्रेम सिकाउँछ। आफैँलाई कष्ट दिने साँघुरो सङ्कुचित सोचको घोचाईबाट प्रेमले चौडा, फराकिलो शुद्ध-सपाट निश्छल निष्कपटको सुकोमल उच्च विचारमा उठाउँछ! जहाँ उदारताको विस्तीर्णतामा संसारमा अनाशक्ति-वैराग्य अनुभूतिले परम शान्तिमा मग्नमस्त मजा आउँछ ! प्रेम आफैँमा शिक्षा हो । प्रेम मौन छ । मौनतामा विद्या घटित हुन्छ। ज्ञान । मौनतामा ज्ञान घटित हुन्छ।
मौनी प्रेमको नजरियाबाट द्रष्टाभावले साक्षी हुँदा प्रेमले सिकाउन थाल्छ ! प्रेम आफैँमा शिक्षा हो। हृदयमा घटित भक्तिबाट द्रष्टाले प्रेमलाई हेर्दछ जब तब मौनतामै त्यो प्रेमबाट द्रष्टा सिक्न थाल्दछ।
हेरिएकोले सिकाउँदै नसिकाई त्यस हेरिएकोवालाबाट हेर्नेवालाले सिक्न थाल्दछ। बिनबोले प्रेमले सिकाउन थाल्छ । दृश्यमा घटित प्रेमबाट प्रेमदृष्टिवाल द्रष्टाले स्वतःस्फूर्त आफैँ सिक्न थाल्छ । अतः प्रेम आफैँमा शिक्षा हो। प्रेम आफैँमा ज्ञान हो।
कथा सायमि बाबु-छोरा, कथा सायर बाबु-छोरा अनजान-समीर अनजानमा मात्र परिमित छैन, यो प्रेमप्रेरणाको कथा ज्ञातअज्ञात-व्यक्तअव्यक्त यत्रतत्रसर्वत्र छ। सन्तानलाई सत्मार्गमा डोर्याउँदा एक बाबुको सन्तानको सारा जिन्दगी नै त्यस बाबुप्रति कृतकृत्यताले प्रचुर हुन्छ।
बाबुको सकारात्मक प्रभावबाट त्यस सन्तानको हृदय आकाश झैँ अनन्त चौडाइवाला गर्वले फुल्दछ। त्यही विस्तीर्ण आकाशमा सन्तानको आफ्नो आत्मस्वरूप-स्व पूर्ण फुलाईको तृप्तिमा मग्नमस्त हुन्छ !… दृष्टिमा यस पङ्क्तिकारको अघिल्तिर सचित्र चित्रित थियो यस्तै सकारात्मक नै सकारात्मक प्रभावबाट जीवन धन्यधन्य हुन जाने गहिरो प्रेरणात्मक उर्जा !
अनि यस उर्जाको अपार महत्त्वको बोधले अनुभूतिमा परमानन्दी महामग्नताको मदालसी तृप्तिबाट खुब खुसी प्राप्त झैँ गर्वको उर्जाले उद्वेलित बुरुक् बुरुक् मुटु ढक्क- विराटतम भइरहेको थियो । हो ! एक बाबुको साधनाले सन्तानको हृदयमा पनि साधना घटित हुन्छ। यहाँ पनि त्यस्तै नै भएको थियो।
अदृश्य-अव्यक्त रूपमा बामे अवस्थादेखि नै सन्तान अभिभावकसँग प्रेरित भइराख्या हुन्छन्। एक त वंशाणुगत अर्कोतर्फ देखेरै अभिभावकको हिँडाई-बोलाई-हँसाई आदि हरेक हरेक कुराको अनुसरण सन्तानले गरिराखेका हुन्छन्।
थाहै नपाई, सिकाउँदै नसिकाई पनि त्यो कोमल अबोध मस्तिष्क धमाधम अनुशीलन र पूर्ण समर्पणले अनुसरणमा धमाधम व्यस्त हुन्छन् । अभिभावकको ‘भाइब’ नै सर्छ ! त्यो कलिलो बालक मस्तिष्कबाट परमात्माले धमाधम काम गरिराखेका हुन्छन्, नभए त त्यो त्यति कलिलो अबोधलाई सिकाइको कहाँ ज्ञान हुनु !
डा. सायमिसँगको त्यो छोटो भेट ! त्यसपछि जिन्दगी अनि संसार !…त्यस्तै त हो !…त्यो भेट त्यत्तिकै दिलको अन्तरकुन्तरमा पोको बनी गाँठिएर थन्कि त गो ! अचेल केकसो छ कुन्नी पहिले पहिले सरकारी कार्यालयहरूमा चाबी हालेर त्यो ‘ह्यान्डिल’ थिचेर ढोका खोल्नपर्ने ‘स्टिल’का हरिया ‘गोद्रेज’ दराजमाथि अति महत्त्वपूर्ण फाइलहरू पनि पोकामा थन्किए झैँ ! समयको नदी बगिरहँदा थपिएर धुलाले पातलो ओढ्ने ओढाइदिएर मैल्याएर पहेँल्याउँदै चर्मचक्षुबाट ‘इग्नोरित’ भएझैँ !…क्रमशः… भने झैँ!
हो ! त्यो भेट अपुरो थियो…तर पूरा हुनलाई नै अपुरा रहन्छन् अक्सर भेटहरू… र,… फेरि झरी पर्यो ! एकाबिहानै ! ‘जिन्दगी’मा एकाबिहानै झरी परिरहन्छन् !
आज पनि परेको थियो ! तर यो झरी चाहीँ खास थियो !… झिसमिसेमै कसैलाई निन्द्रा खुल्नासाथ प्रेमको धड्कन खुब धड्किएछ कसो, नेपाली पप ‘लेजेन्ड’ नवीन के. भट्टराईको कालजयी गीत “ए झरी नझरिदेउ यसरी…”… गीतको ‘ओपनिङ्ग’ किबोर्डको ‘डिस्सेन्डिङ्ग’ बहावको धुन टक्क रोकिनासाथ उठ्ने गिटारको अमिलो रोमाञ्चक ‘लिड’ले मन्द ब्युँझाएको थियो !… झरी परिरहेको रहेछ ! यो झरी खास लाग्यो…आवाज झरीको रोमाञ्चक!… सधैँ झैँ उस्तै !…आज अलि बढी हो कि?!… ‘सिलिङ्ग’तिर एकटक घोरिरहेँ…डा. सायमिसँगको वर्षौँ पहिलेको त्यो अपुरो जो पूरा हुन कुरिरहेको रहेछ… त्यो छोट्टोमिठ्ठो संवाद!… समयको विराट सामुद्रिक बहावमा घटित झिलिक्कको त्यो संवाद…बेलाबेला यो गीत सुन्दा आइरहन्थ्यो, आज आएर फेरि याद आयो…आज अलि बढी आयो…
संसारमा झरी त कति पर्छ पर्छ जिन्दगीमा ! म चैँ कति त्यो अपुरो वाद पूरा नगरी मिलिक्को ‘कास्टिङ्गै’ मात्रै सम्झिरहुँ ???…अतः त्यही अपराह्न म दौडँदै गीतकार-उपन्यासकार-कवि-साहित्यकार चर्चित मुटुरोग विशेषज्ञ हाम्रा डा. सायमिज्यू कहाँ पुगेँ ! र, सम्झाएँ उहाँलाई, अनि मैले चैँ मेरो याद ताजा गरेँ…र, र …एक बाबुको प्रेम साधनाले सन्तानको हृदयमा हुन पुगेको प्रेम घटनबाट क्रमशः… भएको त्यो अपुरो संवाद पूरा गर्न वाद अगाडि बढाएँ… …हो! बच्चैदेखि बाजस्तै कलम प्रेम उनमा बसिगो! चिन्तनमा रमिगो ! प्रेममा डुबिगो।
त्यसपछि हुर्कँदै किशोर उमेरमा आइपुगुन्जेल सायमि भित्रभित्रै भविष्यका एक दिग्गज साहित्यकार-गीतकारका रूपमा दरिन प्रेमी हृदयको उद्वेलनमा पुगिसकेका थिए ! हो यही जता मोड्यो त्यतै मोडिने नवयुवक उमेरमा उक्लिउन्जेल अरुण सायमि बाबाट प्रेरणाको उर्जाले यति प्रेरित भएछन् कि एकदिन बालाई नै भरमार गर्व लाग्ने रचनात्मक साहस देखाइदिएछन्; “बुवा तपाईँले बीस वर्षको उमेरमा उपन्यास लेख्नुभो, म उन्नाइसमै उपन्यास लेख्छु!” बा चैँ आफूप्रतिको प्रेमले आफ्नो छोरो यत्तिका विधि, यस्तरी गहिरो प्रभावित बुझेर छोरोको प्रगतिशील ‘च्यालेन्ज’ स्विकार्दै भन्दिए : “ल!” तब त बाबाट प्रेरणामा घटित बा प्रेम सावित गर्न नवपालुवा अरुण कस्सिए ! बाप्रतिको गहिरो प्रेम र लगामका साक्षी रहेका अरुण मानन्धरलाई हृदयदेशमा विराजित परमात्माबाट त्यो प्रेम सावित गर्न कृपा भो; लेखे !
उनले उन्नाइस वर्षकै कलिलो नवपल्लव उमेरमा नेपाल भाषामा उपन्यास; “हाकुता” । उपन्यास पूरा भयो, तब यी नवपालुवा अरुणका पिताजी छिमेकी देश भारतको राजधानी दिल्लीमा हुनुहुन्थ्यो । उनले दिल्लीमै पठाए पिताजीलाई “हाकुता”को पाण्डुलिपि ! निरीक्षण र सम्पादनका लागि । तब पिताजीले कवि श्री दुर्गालाल श्रेष्ठज्यूलाई सो कार्य सुम्पनुभो।
“हाकुता” प्रकाशनका लागि तयार भो ! र, प्रकाशित पनि भो ! साँचो प्रेम थियो ! सो सावित गर्न परमात्माकै कृपा भएपछि कसको के चल्छ र!“हाकुता” अत्यधिक ‘हिट’ भयो ।, प्रेम र प्रेमकृपाबाट प्राप्त पहिलो प्रयासकै सफलता बाप्रति कृतज्ञ सायमि फुरुङ्ङ भावमा गर्वले सुनाउँछन् !
श्री गोविन्दबहादुर मानन्धरका सुपुत्र अरुण मानन्धर अब बाले “सायमि” लेख्ने गरे झैँ आफू पनि भविष्यको सफल एवं विख्यात गीतकार-उपन्यासकार-साहित्यकार डा. अरुण सायमि हुन अघि दौडिसकेका थिए जो कालान्तरमा गएर तीनवटा नेपाल भाषा र तीनवटा नेपाली भाषामा गरी छ वटा उपन्यास, कयौँ गीत-कविता आदि साहित्य जगत्लाई भेट गरिसकेका अनि निरन्तरको योगदान जारी राखेका उनी साहित्याकाशका एक चम्किला नक्षत्र हुन पुगेका छन् र यात्रा जारी छ…उनको “मर्दीको किनारामा” उपन्यास ‘टेलिफिल्म’मा रूपान्तरण पनि हुन पुगेको थियो।
त्यस्तै उनको अर्को उपन्यास “आस्था” नामक ‘टेलिफिल्म’मा रूपान्तरित, अत्यधिक ‘हिट’ पनि भयो ! यात्रा जारी छ… बालाई छाड्दै नछाड्ने अरुण मानन्धर बाकै झैँ नाम पछाडि “सायमि” नै राखे र आज पनि उनी आफ्नो हृदयको गहिराइदेखि बाहिर आफ्नो साहित्यिक नामसम्म बा प्रेम बोकेर हिँडिरहेका छन् : डा. अरुण सायमि…
कथा अब “ए झरी नझरिदेउ यसरी…” गीततिर :
पहिलो गीत नै “वर्षा तिमी…”…! पहिलो गीत नै उनको “वर्षा तिमी छमछम गरी नाचिदेउन…” जुन कालान्तरमा गएर खुब रुचाइन्छ पनि ! खुब हिट हुन पुगेको यो गीत वर्षामा रोमाञ्च भेट्ने आम दिलहरू छमछम गरी वर्षालाई नाच्न अझै पनि अनुरोध गरिरहेछन्।
वर्षा प्रेमले नै सफलता दिएको डा. सायमिलाई एक सफल र चर्चित गीतकार हुन सुरु गरायो ! हो त्यही समयको आसपासमा रचिएको थियो; “ए झरी नझरिदेउ यसरी…” हो त्यही वर्षा फर्किएर “ए झरी नझरिदेउ यसरी…” को प्रेमपुकार भई उनको प्रेमी हृदयमा झरी बनी आउँदा सम्म भविष्यमा उनी अझ कसैबाट पनि नचिनिएको भन्ने धेरै हुन दिएन ! वर्षामा त्यस्तो के शक्ति छ हँ ?! मन पगाल्दिने चिसो बरसात- साहित्य, दर्शन घटित गराइदिने…वर्षामा के बीजशक्ति छ हँ ?
सरल शब्दमा प्रेमको जटिल भावलाई सहज बहावमा एक खारिएका अति पोख्त व्यावसायिक गीतकारको रचना झैँ यी गीत एमबिबिएस पढ्न जाने बेलाका आसपासको कलेजजीवनको रोम्यान्टिक मन, रोमाञ्चक वातावरणमा केवल सत्र अठारकै कलिलो नवतरुण उमेरमा रच्न पुगेका थिए उनले !…
यसरी गीत, गजल, कविता उपन्यास गर्दै गर्दै उनको साहित्यका अनेक आयाममा लेखन यात्रा चलिरह्यो…डाक्टरी पढाइसँगसँगै ! कहिले गीत, कहिले कविता त कहिले कथा…लेख्दालेख्दै श्रीमहादेवी सरस्वतीले उनलाई एक उपन्यासको दहलीजमा लगिपुर्याउनुभो : “मर्दीको किनारामा” । यस उपन्यासमा सम्मिलित पात्रहरूले आफ्ना प्रेमभावलाई शब्दरूपमा अभिव्यक्तिस्वरूप “ए झरी”, “वर्षा तिमी” लगायतका गीत उनले अङ्कित गरे ! उपन्यास विमोचन भयो, समय बित्दै गयो…
शब्दरूपमा रहेका गीतहरू अब सङ्गीत सहितको अलौकिक रूपमा रूपान्तरण :
एक त वरिष्ठ साहित्यकारका सुपुत्र, समाजमा विभिन्न विधाका लब्ध प्रतिष्ठित व्यक्तित्व इष्टमित्र ! तिनीबाट वात्सल्य प्रेम पहिल्यैदेखि, त्यसमाथि उनी खुद डाक्टर : समाजका विभिन्न विधाका दिग्गजहरू उनका इष्टमित्र वृत्तमा थपिए…कोही साथीभाइ अनि कोही स्वास्थ्य जाँच परीक्षणको दैवीय संयोगबाट चिनजान ! अतः गायन, संगीत, कला आदि अनेक विधाका हस्तीहरूका उनका साथीसङ्गी, इष्टमित्र छँदै नै थिए।
उनको उपन्यास “मर्दीको किनारामा” जसका पात्रहरूका प्रणयगीति सवालजवाफ स्वरूपमा “ए झरी…”, “वर्षा तिमी..” लगायतका सुन्दर गीति रचनाहरू सम्मिलित छँदै नै थिए सो उपन्यास उनले साथी सङ्गीतकार शम्भुजीत बास्कोटालाई उपहार स्वरूप भेट गर्छन्! समय फेरि बित्दै जान्छ…
साथी सङ्गीतकार बास्कोटालाई यो सुन्दर उपन्यास खुब मन पर्यो । अझ मन पर्यो उपन्यासमा सामेल गीतहरू…अनि दैव कृपा ! साथी-साथी यी दुई दाजुभाइ भेट हुँदा ती शब्द रूपमा मात्रै रहेका गीतहरू मध्ये “वर्षा तिमी छमछम गरी…” भन्ने मुहार भएको गीतलाई साङ्गीतिक श्रव्यश्रुतिको आयाममा अर्को उडान दिने दुई साथी बात मार्छन्- शब्दबाट स्वरसङ्गीतको बहावमा विचार हुन्छ। हो ! सपना बन्छ।
पहिल्यैदेखि, यहीँ झोँछेंमा गीत गाउने बेलादेखिकै चिनापर्ची ; चर्चित गायक उदितनारायण झा र दीपानारायण झाको स्वरमा उनै दोस्त सङ्गीतकार शम्भुजीत बास्कोटाकै सङ्गीतबद्ध “वर्षा तिमी छमछम गरी नाचिदेउन…” नेपाली कथानक चलचित्र “छोरा”मा समावेश हुने दैवसंयोग घटित हुन्छ ।
त्यसपछि सङ्गीतकार बास्कोटाले डा. सायमिलाई भन्छन् : “अब एउटा एउटा गीत गरेर भएन, एल्बममै निकाल्नुपर्यो!” दुई साथीबिच सल्लाह हुन्छ र क्लिनिकको काम सक्काई शाब्दिक स्वरूपमा रहेको अर्को एक गीतलाई सङ्गीतसँगको यौगिक सज्जाले सजाई आम दिलहरूलाई प्रणयित भावनाका बहावमा उडानका हेतु रूपान्तरण दिन एक साम उनी सङ्गीतकार बास्कोटाको निवास पुग्छन् !
साम गुज्रिएर रात परिसकेको हुन्छ ! सङ्गीतकार बास्कोटा अक्सर रातको चकमन्नतामा प्रणयी भावनाका कोलाहलहरू रोमाञ्चक सङ्गीतमा रूपान्तरण गर्न रुचाउने ! साथीको स्वभाव सुनाउन पाउँदा खुब खुसीमा डा. सायमि फुरुङ्ङ हुन्छन्… हो ! शून्यबाटै सिर्जना हुन्छ, चकमन्नतामै प्रेम अवतरण हुन्छ…चरम सन्नाटामै प्रेमको ‘overwhelming’ भव्यता रचनाको, दिव्यतामै पदार्पण हुन्छ…एकलास रातको नीरवता !… रातको शून्य प्रहरमा त्यहाँ सङ्गीतकार बास्कोटा शब्दरूपमा रहेको “ए झरी नझरिदेउ यसरी…”लाई रोमाञ्चक मदालसी सङ्गीतमा बगाउँछन्…डा. सायमि मुग्ध हुन्छन् !… मन्त्रमुग्ध… गीत त अब सङ्गीतबद्ध भयो, गीतको सङ्गीत तयार भयो ! अब गाउन लाउने कसलाई ?! प्रश्न उठ्नासाथ बिना बल लगाई दुवैको दिमागबाट एउटै जवाफ आयो – गायनमा त्यतिखेरको चर्चाको ‘पीक’मा रहेका गायक : नवीन के. भट्टराई ! त्यसपछि दिनहरू फेरि यत्तिकै बित्दो थिए…
गायक नवीन के. भट्टराई र “ए झरी नझरिदेउ यसरी…” :
डा.सायमिलाई थाहा थिएन ! हजुरबुवादेखिको बिमारी हुँदा ओर्दा या निरन्तर स्वास्थ्य चेकजाँचमा आइरहनुहुने गायक नवीन के. भट्टराईकी माताजी पनि उनकैमा नियमित स्वास्थ्य जाँचपरीक्षण खातिर आइरहनुहुने ! हजुरबुवा पनि गायक नवीन के. भट्टराईकै हजुरबुवा हुनुहुन्छ भन्ने डा. सायमिलाई थाहा थिएन !
एक दिन त्यस्तै ‘क्लिनिक’मा गायक नवीन के. भट्टराईकी आमा नियमित अनुवर्ती स्वास्थ्य जाँचको क्रममा डा. सायमिलाई भन्नुहुन्छ : “डा. साब हजुर साहित्यकार, उपन्यासकार, गीतकार पनि । गीतहरू लेख्नुहुन्छ पनि । मेरो छोरो पनि गीतसीत गाउँछ ओर्छ। हजुरको एउटा गीत पनि मेरो छोरालाई गाउन लाउनु पर्छ !” यो पनि डा. सायमिलाई थाहा थिएन; उहाँ गायक नवीन के. भट्टराईकै आमा हुनुहुन्छ भनेर ! आफ्नो गीतका लागि गायक नवीन के. भट्टराई नै सोचिरहेका डा.सायमि गीतको मूर्त स्वरूप कल्पिँदै गायक नवीन के. भट्टराईकी माताजीलाई सोध्छन् : “हो र? हजुरको छोरोको नाम के?” “नवीन के. भट्टराई!”, आमाको जवाफ डा. सायमिको आफ्नो खोजको जवाफ भएर आफ्नै अघिल्तिर आइपुगी खडा भएको थियो ! त्यसपछि त ‘के खोज्छस् कानो आँखो !’
अबोध आफ्नो उसबखतको कलिलो प्रेमावस्थाको अमिलो रोमाञ्चक एहसासमा डा. सायमि नोस्टाल्जिक हुँदै सम्झन्छन् : “नवीन के. भट्टराईको त्यस समय उनको आफ्नै स्वभावका गीतहरू, यो गीत चाहीँ उनी रम्दै उडान भरिरहेको स्वाभाविक आफ्नो उनको प्राकृत रमण भन्दा फरक स्वादको !”
आमा मार्फत त्यसपछि डा.सायमिले गायक भेट्छन् । सङ्गीतकार शम्भुजीत बास्कोटाले पहिल्यै सङ्गीत रचिसकेका ! आमाको ‘ठाडो आदेश’ लागेपछि गायकले गाए ! गाइसकेपछि गायक नवीन के. भट्टराई खुद गीतकार र सङ्गीतकारलाई भन्छन् : “मेरा आफ्ना गीतहरूमा मलाई नै सबैभन्दा मन पर्ने “साँझपख एकान्तमा…” पछि त्यस्तै गाउन सबैभन्दा मजा आएको र मन परेको “ए झरी नझरिदेउ यसरी…”!
त्यसपछि त ‘रेस्ट इज हिस्ट्री’ भन्छन् ! दशकौँपछि पनि गीत यो प्रेमयात्रीहरू माझ आज पनि उत्तिकै सान्दर्भिक छ…विशेष गरी झरी त पर्नै हुन्न ! वा भावनाका उद्वेलित दिलजलेहरूलाई झरी पनि किन परिरहनुपर्यो र?!…गीत बजिरहेछ… “ए बिजुली नचम्किदेउ यसरी..” संयोग पनि कस्तो परेछ भने; “गीतको छायाङ्कन सकिनासाथ झरी बर्सिछिन्!”, पङ्क्तिकारसँग गायक नवीन के. भट्टराई मिठा आफ्ना सम्झनाका सन्दुक खोल्छन् !
“दैवसंयोग पनि यो कस्तो?! झरी यत्तिका विधि मन पर्ने कि उस्तै परे झरीमै निथ्रुक्कै भिज्दै हिँडिदिने सङ्गीतको बगाईमा बगेको एक प्रेमी गायकलाई दैवकृपा स्वरूप झरीसँगै प्रेमवन्दन गर्दै गरिएको गीत उनै दैवको एक रोमाञ्चक प्रेमकोसेली रूपमा! है दाइ?!”, यो घटन उपर धार्मिक कृतकृत्यताले भगवद् लीलाको स्विकारोक्तिमा गायकसँगै लययोगात्मक एकबद्धताको अपेक्षित जिज्ञासा पङ्क्तिकारबाट हुँदा; “हो ! आफूले जे चाह्यो ‘नेचर’ले त्यही अनुसार मिलाइदिने त हो !”, प्रकृतिप्रति कृतज्ञतामा गायक आफ्ना दार्शनिक मूल खोल्छन् ! प्रकृति प्रेम हुन् ! केवल नवयौवनावस्थाको कलिलो उमेरमा एक प्रेमी हृदयमा घटित प्रकृतिलाई प्रेमको
संवेदनशीलताको गहिराइमा पुगी प्रेमरक्षा खातिर वन्दन गरिएको एक प्रेमगीत कालजयी बन्न पुग्यो ! जबजब झरी पर्छ तबतब प्रेमको संवेदनशीलतामा सजग हर प्रेमी हृदयहरू यहाँ प्रकृतिलाई प्रेमवन्दन गर्न लाग्छन् : “ए मेघ नगर्जिदेउ यसरी… अनि,बाहिर झरी नपर्दा पनि, पिरतीको शीतल बतास चल्दा मात्र अनि धड्कनमा घनको धमधम हुँदा मात्रै पनि भित्र कल्पनामा झरी पर्दै प्रकृतिलाई पुनःपुनः प्रेमवन्दन भइरहन्छ यहाँ दशकौँपछि आज पनि : “ए झरी नझरिदेउ यसरी…”
पछिपछि गायक नवीन के. भट्टराईका हजुरबुवासँग भेट भइरहँदा हजुरबाले आफ्ना नातिको असाधारण उपलब्धिमा हर्षको गर्वानुभूति डा. सायमिसँग व्यक्त गरिरहनुहुन्थ्यो रे! ; “मैले एल्लाई डाक्टर बनाउँछु भन्या काँबाट यो ‘म्युजिकमा’ लागेर!…”, नेपाली पप सङ्गीतका त्यस बखतका धेरै चम्किला प्रतिभाहरू एकाएक रिक्ततामा प्रेमी श्रोताजनलाई बाध्यताले सायद अलपत्र छाड्न बाध्य भई बिलाई गएका ती गायक-गायिका-सङ्गीतज्ञहरूकै बिलाउने भीडमा मिस्सिन नगई आफ्नो ‘प्यासन’ बाहेकका अन्य रहर र बाध्यताहरूलाई पनि जबर्जस्ती भरथेग थामेर-थिचेको थिच्यै मायाँ मार्दै आजसम्म पनि हल्लिँदै नहल्लिई अटल-अचल रहँदै आएका आफ्नो मुख्य ‘प्यासन’मा यी ‘डीटर्मिन्ड’-दृढ निश्चयी ‘नेपलीज पप लेजेन्ड’ या ‘लिभिङ्ग लेजेन्ड’ भनी प्रेय श्रोताबाट उपमित यी नवीन के. भट्टराईले नेपाली पप सङ्गीतलाई अतुलनीय योगदान पुर्याउँदै नेपाली पप सङ्गीतको परिभाषाको पर्याय बन्न सफल भए !
यी स्रष्टाका सिर्जना नेपाली पप सङ्गीत भन्ने बित्तिकै अर्थिने अर्थ हुन पुगे ! यो भन्दा ठूलो सफलता के होला र खै ! नयाँनयाँ प्रेमढुकढुकी-‘जेनजी’ दिलहरू पनि प्रेमानुभूतिमा नयाँनयाँ पर्दा उनकै गीतसङ्गीतमा खोजीखोजी पुग्दछन् पनि र बहन्छन् आफ्नो प्रेमका भावमा… “आँखामा तिमीलाई…” अनि त अनि उनको नेपाली पप सङ्गीत प्रेमको ‘डीटरमिनेसन’-दृढ सङ्कल्प प्रेमका अबोध हृदय बोकेर हिँडिरहेका ‘मिल्लेनियल’-‘जेन वाइ’ पुस्तालाई आज आएर पनि ती दिल माझ एक भावविभोर ‘नोस्टाल्जिया’ भई गुञ्जिरहेछन्, गुञ्जिरहनेछन् पनि !
यो भन्दा ठुलो सफलता के होला ! “केटो ‘सिम्पल’, भद्र-भलाद्मी, त्यस्तै भव्य अनि शालीन पनि !”, गायक नवीन के. भट्टराईको प्रशंसामा डा. सायमि पङ्कतिकारलाई गायकको प्राकृत प्रकृति साझा गर्छन्… नेपाली पप सङ्गीतमा एक्लैले ठूलो योगदान पुर्याउँदै यस ‘जनर’मा लामो समय एकछत्र अडिएर अग्रपङ्कतिको ‘सेलिब्रेटी’मा दरिँदै आफ्नो नामलाई एक ‘ब्रान्ड’ नै बनाउन सफल भएका यी गायक, ‘कम्पोजर’ हरकोहीसँग पनि उस्तै विनयशील, सरल, सहज अनि उस्तै विनीत स्वभावमा प्रस्तुत हुने व्यक्तित्वले नै ‘फ्यान्स’ माझ उनी ‘डाउन टु अर्थ’ भन्ने उपमाले पनि उपमित छन् !
आफ्नो दिलको लगावमा आजीवनको सङ्घर्षबाट निख्रिँदै सरलतारूपी सारमा प्रतिष्ठित भनी हृदयहरूबाट सम्मानित हुनु भन्दा ठुलो सफलता अरू के होला र खै ! यस पङ्क्तिकारलाई पनि यी साङ्गीतिक व्यक्तित्वसँग साक्षात्कार र अन्तरसंवादको क्रममा प्रशंसकबाट सम्मानित यिनको ‘डाउन टु अर्थ’ भन्ने ताजमा कुनै तलमाथि लाग्न सकेन पनि ।
गायक-गायिकाका पारिश्रमिक र डा. सायमि उपर मिथ्या हल्ला :
सबै गायक-गायिका-सङ्गीतकार सबै आफ्ना साथीसङ्गी । नवीन के.भट्टराई, उदित-दीपानारायण झा लगायत कसैले पनि डा. सायमिसँग पारिश्रमिक लिन चाहेनन् । दीपा-उदितनारायण झाका पहिल्यैदेखिका चिनापर्ची डा. सायमिको “वर्षा तिमी…” गीतलाई पनि साथी सङ्गीतकार शम्भुजीत बास्कोटा गीत रेकर्डिङ्गकै कामले बम्बई पुग्या बखत बिल्कुल पारिश्रमिक बिना गाइदिन्छन् !
आफ्नो एल्बममा सामेल गीतहरूका सर्जक डा. सायमिलाई अप्ठेरो लागिरह्यो : “आजीवन झैँ लामो साधना गरेर आएका स्रष्टालाई सित्तैमा सित्तैमा कसरी काम लगाउने?!” “तिमीलाई(For you)” एल्बम विमोचन समारोहको पल पनि आयो ।
स्थान : काठमाडौँको हायात होटल । प्रेमार्पण गरिएको “तिमीलाई(For you)” एल्बम लोकार्पण पनि भयो । हरेक गाना कोही हृदयरोगले पिरोलिनुभएका जनबाट त कोही आम जनमानसका हृदयरोग न्यूनीकरण गर्न हरदम पिरोलिइरहेका हृदयरोग विशेषज्ञ जस्तै डा. मृगेन्द्रराज पाण्डे, डा. भगवान् कोइराला आदिबाट विमोचित भयो… गीतकार सायमिले प्रत्येक गायक-गायिकालाई एकएक वटा आकर्षक फ्रेममा प्रमाणपत्रले सम्मान गर्छन् ।
स्रष्टाहरूले सम्मानपत्र त प्राप्त गरिरहेकै हुन्छन् ! डा. सायमिको यो एल्बममा ती स्रष्टाले प्रेमपूर्वक अर्घ्याएको अभूतपूर्व प्रेमाञ्जलीलाई हार्दिक कृतज्ञता स्वरूप एक मिठो स्मृति रहोस् तिनका हृदयमा भनि त्यो सम्मान पत्र आम सम्मानपत्र भन्दा फरक हुन गएको थियो !
फरक यो कुरामा कि गायक-गायिकालाई भेट गरिएको हरेक सम्मानपत्र बिचमा प्वाल थियो! प्वालमा जडित थियो आधा तोलाको सुनको असर्फी ! यो ‘आइडिया’ गीतकारका साथी सङ्गीतकार शम्भुजीत बास्कोटाको थियो !
मानिसले पछि बजारमा हल्ला गरे : “अरुण सायमिले सुनको असर्फी बाँड्यो!” “त्यो सुनको असर्फी बाँडिएको थिएन!”, डा.सायमि कुरै नबुझी हल्ला गर्नेहरू प्रति उदेक मान्दै लामो सुस्केरा छाड्छन् ! त्यो ऋणमोचन थियो !,
सायमि स्रष्टाहरू उपर अर्पित उनको कृतज्ञताको नतमस्तक भावमा अवतरित हुन्छन् । त्यतिखेर गायनको पारिश्रमिक मोटामोटी पाँच हजार थियो रे, डा. सायमि भन्छन् । अनि त्यतिखेर सुनको भाउ तोलाको आठ हजार थियो रे ! डा. सायमिले पारिश्रमिक लिनै नचाहने आफ्ना साथीसङ्गी गायक-गायिकाको आफू उपर अतुलनीय योगदानको ऋणको भार बोक्न कदापि चाहेका थिएनन् ।
“अतः सम्मानपत्र त नकार्न मिलेन ! अब त्यसमै पारिश्रमिक सरह प्रत्येक सम्मानपत्रमा एक-एक सुनका असर्फी बिचमा प्वाल बनाई जडान गर्दिउँ !”, साथी सङ्गीतकार शम्भुजीत बास्कोटाको यो ‘आइडिया’ ऋणमोचक पनि थियो र स्रष्टाको योगदान उपर थोरबहुत ‘ग्राटिट्युड’ पनि थियो ।
यसरी उपन्यास “मर्दीको किनारामा”का गीतहरू दीपा-उदितनारायण झा, रामकृष्ण ढकाल, फत्तेमान राजभण्डारी, प्रकाश श्रेष्ठ, सुकमित गुरुङ्ग लगायतका हस्ती गायक-गायिकाको स्वरमा स्वरबद्ध, सङ्गीतकार शम्भुजीत बास्कोटाको सङ्गीतमा डा. अरुण सायमिको “तिमीलाई(For you)” एल्बम नै ‘हिट’ भयो । त्यसमा सर्वाधिक ‘हिट’ भयो “ए झरी नझरीदेउ यसरी”…
गीतहरूको छायांकन:
एभिन्युज टेलिभिजनका भास्कर राजकर्णिकार डा. सायमिका आफ्नै अर्का इष्टमित्र ! उनैले “तिमीलाई(For you)” एल्बमका गीतहरूको छायाङ्कन, स्थानको निर्धारण, खर्चबर्च, कलाकार-मोडेलको खोजी, तिनको चयन आदि पुरै जिम्मा लिए ।
साङ्गीतिक श्रव्यदृश्य (‘music video’) को छायाङ्कनका लागि सामान्य भन्दा थोरै विचित्र, केही फरक, नौला प्रयोग अनि रचनात्मक निर्देशनमा सफल एवं चर्चित निर्देशक भूषण दाहाल ! उनी एभिन्युजमै थिए त्यसबखत ! भास्कर राजकर्णिकार र भूषण दाहाल दुई दाजुभाइ मिली सबै जोडजाम गरे । छायांकनको स्थान तय भयो – होटल याक एन्ड यति ।
भूषण दाहालले गीत गाउन तम्तयार महफिल यहीँ जुटाए : यहीँ पानी पारे, मेघ गर्जाए र बिजुली चम्काए ! गीतको महफिल सजाए । अनि बजाए शम्भुजीत बास्कोटाले आफ्नो मदालसी सङ्गीत…मोडेल कोहिनूर अति प्रेम गरिएकी मायालु स्वरूपमा दुर्लभ्य कोहिनूर झैँ बहुमूल्य छर्छिन् मदहोशी…अदाहरू…अनि रोमाञ्चको त्यो माहौललाई पूर्णता दिँदै गायक नवीन के. भट्टराई सजिएको महफिलमा त्यस्तै प्रेमालु मादकतामा मन्द-मन्द, कोमल-कोमल गाउँछन्…
मञ्चन :
उनी प्रेममा छपक्क छन्, मुटुरोग विशेषज्ञ डा. अरुण सायमि ! मुटुकै चाल झरीलाई यी प्रेमी प्रेमयाचनमा लेख्छन् :
“ए..झरी…नझरी देउ…यसरी… कोमल..कोमल, मन्द… मन्द… बोलाउँछन्…झरिरहेको झरीलाई नजिक बोलाई ती झरी प्रति अनि हार्दिकतामा अनुरोधित हुन्छन्… “नझरी देउ यसरी…प्रेमलाई बोलाए जति हार्दिकता त प्रेम बाहेकलाई त के होला र…प्रेम झैँ झरीलाई…अलिकति कम ! प्रेमलाई भन्दा केही थोरै हार्दिकतामा झरीलाई उनी बोलाउँछन्, बोलाउँछन् र भन्छन्… “नझरी देउ यसरी…सम्बोधन झरीलाई थोरै कम भए पनि धेरै कम पनि हुनु भएन किनभने यो सम्बोधन उनको लागि हो…प्रेम झैँ कोमलतामा झरी अघिल्तिर उभिएर झरीलाई अनुरोध : “नझरीदेउ यसरी… अर्कोतिर प्रेममा लट्ठिएको मदहोसी मन:स्थिति…झरीलाई लट्ठिएकै अवस्थाबाट मधुरो अनुरोध…
“एकान्त यो रातमा मलाई पागल गरी… मुटु यहीँ छ, उड्न सक्तैन, मनको चैँ लगाम छैन…म रोमाञ्च भेट्न पागल भइसकेँ..पागल… रोमाञ्चको उडानमा… एकान्तमा प्रेम उर्लेर आउँछ त्यसमाथि झरी…झरीले बाढीको सीमा नाघ्यो, जलप्रलय झैँ हुन लाग्यो अब त ! कृपया नझरिदेउ… यसरी नझरिदेउ… प्रेम मेरो दिमागले नथेग्ने भइसकेको छ…झरेको छौ तिमी यसरी…मलाई पागल गरी…
झर्ने नै भए म एक्लो हुँदा उर्लेर हैन प्रेमको मादकता अनगिनत गुना अनुभूत गराइदिन मेरी मायालु मेरो वरिपरि हुँदा तब झरिदिनु तिमी सुस्तरी सुस्तरी; “झरिदेउ तिमी सुस्तरी सुस्तरी… जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि…
प्रेमको खुब संवेदनशील ख्याल राख्दै बरसाती महफिलका अर्का धुरन्धर अलङ्कार मेघलाई उनी प्रेमको खुब संवेदनशीलताको पूर्ण ख्याल राख्दै अनन्त सजगतामा मेघलाई उनी प्रेमास्पद निवेदन गर्छन् :
“ए मेघ नगर्जिदेउ यसरी
निन्द्रामा मस्त भएकी मेरी
मायालु तर्सने गरी…
प्रिय मेघ,
सायद तिमीलाई थाहै होला;
मस्…त निदाइरहेकी एक सुन्दरता…
निदाइरहेकी सुन्दरता अझ मादक हुन्छिन्
दृश्यमा मग्नता छाडी निदमा उनी
मस्…त हुन्छिन्…
म दृश्यपानमा लट्ठ हुन्छु…
यसरी नगर्जिदेउ,
निदाइरहेकी एक मग्न
सुन्दरताबाट त्यसमा एकबद्ध मेरो
मग्नता
नबिथोलिदेउ !
उनी निदाएकी छन्
निन्द्रामा मस्त भएकी मेरी
मायालु तर्सने गरी तिमी हे मेघ नगर्जिदेउ
मेरो प्रेम गहिरो आराम गर्न निदाएको छ
उनको निदुली नबिथोलिदेउ…
मानौँ एक सुकोमल बालकलाई झैँ
निदरी बिथोलिएला !
यी प्रेमी प्रेमको ख्यालमा आज हदै नाजुक भएका छन्…
“गर्जिदेउ तिमी रातै थर्कने गरी
जब हाँस्छिन् मेरी मायालु
मेरो अँगालोमा परी
ए झरी…
बरु हे मेघ तिमीलाई गर्जनु नै छ भने
यो गर्जाईमा अझै जोड
थपेर रातै थर्काएरै गर्ज तब
जब मेरी मायालु मेरो अँगालोमा
परेर हाँसिरहेकी हुन्छिन् !
तब त उनी तर्सँदा पनि मेरो
अङ्कमालमा बरु अझै गहिरो डुब्नेछिन्
अनि म उनलाई मेरो ज्याकेट
भित्र छिपाउनेछु झरीको रुझान र तिम्रो गर्जनबाट
प्रेमकवच झैँ…
“ए बिजुली नचम्किदेउ यसरी
मेरी मायालुको आँखा तिर्मिराउने गरी…
ए बिजुली अब तिमी पनि उनलाई कष्ट नदेउ…उनका कोमल नयनकुसुम
तिर्मिराउनेछन् !
त्यसैले हे विद्युल्लता मेरो विनति छ तिमी पनि नचम्किदेउ
यसरी…
“चम्किदेउ न तिमी अन्धकार भाग्ने गरी
मेरी मायालुको हँसिलो अनुहार देखिने गरी
बरु तिम्रो चम्काई यस्तो होस् अन्धकार चैँ भागोस्
अनि मेरी मायालुको सुवर्णमय हिमाली मुस्कानबाट सुशोभित
हँसिलो अनुहार झललल देखियोस्…जसरी प्रभातमा कुहिरोले फेरि ढाक्नु अघि मिलिक्क पन्छिँदा प्रभाकरका प्रथम काञ्चन किरणले
नजिकैबाट झललल माछापुच्छ्रेको जाज्वल्यमान अनुहार दर्शित हुने गरी…
“ए बिजुली नचम्किदेउ यसरी…
“ए झरी…
एकान्त यो रातमा…
उपसंहार :
“ए मेघ…
गर्जिदेउ तिमी रातै थर्कने गरी
जब हाँस्छिन् मेरी मायालु
मेरो अँगालोमा परी…















Facebook Comment