कविता: मान्छेभित्रको मान्छे

प्रकाशचन्द्र खतिवडा
६ असार २०८३ ७:२१

आँसुका पहाडहरू ढलून्
परेली लतार्दै,
समुद्रमा डढेलो लागोस्
र तड्पिऊन् माछाहरू।
हिमाल नाङ्गै बसोस्,
धरती मरुभूमि बनोस्,
अक्सर वृक्षहरू छटपटीऊन्;
तर मान्छे-
लाशको विस्कुन सुकाउँदै
कोट्याइरहोस् जिजीविषाको आलो घाउ,
म भने श्रद्धाको फूल चढाउँछु
र चाहन्छु- समय शोकाकुल बनोस्।

जीवनको भिख मागिरहेछन् मान्छेहरू
सडकका किनाराहरू छिचोल्दै,
म विवशताको एउटा ल्याम्पपोस्टमुनि उभिएर
नियाल्दै छु भिखारीहरूको यो विशाल जुलुस।
जुलुसभित्र आक्रोशको आँधी छ,
त्यहाँ सपनाहरू हराएका छन्,
र तिनै हराएका सपनाको खोजीमा
तिनीहरू आफ्नो जीवन उत्सर्ग गरिरहेछन्।

पीडाबोधले उम्लिरहेछ रगत
मुटुका गहिरा भँगालाहरू फुटाउँदै,
दासताको पुरानो जालो च्यातेर
उन्मुक्तिको नयाँ शिखर चढ्दैछ मान्छे।
म शब्दमा त्यही आक्रोश पोखिरहेछु,
मलाई किमार्थ असह्य छ दमन,
त्यसैले म दमनको सशक्त प्रतिकार गरिरहेछु।

मेरो नाङ्गो छातीमाथि
बर्बर बुटहरू बजारेर,
तिर्खा लाग्दा पानीसमेत पिउन नदिने-
तिमी क्रूरताका महानायक हौ!
तिमी मेरो कञ्चटमा
बन्दुकको ट्रिगर दबाउँछौ,
मलाई घुँडा टेकाउने र आत्मसमर्पण गराउने ध्येयले;
तर सुन- म गल्ने छैन,
म किमार्थ ढल्ने छैन,
म त अद्भुत साहसका साथ
यी उत्पीडित मान्छेहरूको जीवनयात्रालाई गन्तव्यतिर डोर्‍याइरहेछु।

तिमी लाशको घृणित राजनीति गर्छौ
मान्छेकै आलो मासु चपाएर,
तिम्रो दानवताले कम्तीमा सीमा त नाघ्नु पर्थ्यो,
अलिकति त पाप-पुण्यको ख्याल राख्नु पर्थ्यो!
मान्छेहरूमा बेचैनी अब सीमाभन्दा बढी भइसक्यो,
दबेका चाहनाहरू विष्फोट हुन आतुर छन्;
हे शासक! तिमी रक्तपिपासु ब्वाँसोजस्तै नबन,
मानवतालाई यसरी नलत्याऊ।
हेर, आत्मस्वाभिमानको गौरवशाली गाथा गाउँदै
मान्छेहरू आज मान्छेभित्रको ‘असली मान्छे’ खोजिरहेछन्-
तिम्रो अहंकारको पराजयमा
विजयको रक्तिम झण्डा उठाएर।

सुन्दरहरैँचा–०६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *