देवत्वतिरको यात्रा: मोहन दुवालको भीमरथारोहण

ज्ञानेन्द्र विवश
६ असार २०८३ ७:०२

मानिसको जीवन लामो यात्राजस्तै हो। कुनै यात्रा उकालोमा हिँड्छ, कुनै ओरालोमा झर्छ, कुनै समथर मैदानमा विश्राम गर्छ। तर केही यात्रुहरू यस्ता हुन्छन्, जो आफ्ना पाइलाले मात्र बाटो नाप्दैनन्, अरूका लागि पनि बाटो बनाइदिन्छन्। नेपाली साहित्यको विशाल यात्रामा मोहन दुवाल त्यस्तै एक अथक यात्रु हुन्, जसले आफ्नो जीवनका असंख्य दिन र रातहरू साहित्यको सेवामा अर्पण गरेका छन्।

कतिपय मानिसहरू आफ्नो नाम उज्यालो बनाउन कर्म गर्छन्, तर कतिपयले अरूको नाम उज्यालो बनाउन आफ्नो जीवन समर्पित गर्छन्। मोहन दुवाल दोस्रो कोटीका मानिस हुन्। उहाँले दशकौँदेखि ‘जनमत’ मासिक साहित्यिक पत्रिकालाई साधनाका रूपमा बोकेर हिँड्नुभएको छ। त्यो पत्रिका उहाँका लागि कागजका केही पानाहरू मात्र होइन, नेपाली साहित्यका असंख्य स्रष्टाहरूको सपना, सङ्घर्ष र सिर्जनाको साझा चौतारी हो।

विभिन्न कार्यक्रमहरूमा उहाँसँग भेट हुँदा मलाई सधैँ एउटा दृश्यले छोइरहन्छ- उहाँको हातमा झुण्डिएको झोला र त्यसभित्र सुरक्षित राखिएका ‘जनमत’ का ताजा अङ्कहरू! भेट्नेबित्तिकै झोलाभित्र हात हालेर पत्रिका निकाल्दै भन्नुहुन्छ, ‘लिनुस्, यो नयाँ अङ्क।’

त्यो क्षण, उहाँ पत्रिका मात्र बाँडिरहनुभएको हुँदैन, साहित्यप्रतिको आफ्नो अगाध प्रेम बाँडिरहनुभएको हुन्छ। उहाँका ओठमा खेल्ने मृदु मुस्कान पनि त्यत्तिकै आत्मीय हुन्छ। त्यो मुस्कानमा न कुनै प्रदर्शन हुन्छ, न कुनै अभिमान। त्यहाँ त निःस्वार्थ सेवाको उज्यालो मात्र झल्किरहेको हुन्छ।

समयले मानिसको शरीरलाई वृद्ध बनाउँछ, तर मनलाई कहिल्यै वृद्ध बनाउन सक्दैन। मोहन दुवाललाई हेर्दा यो सत्य झन् स्पष्ट हुन्छ। बनेपादेखि काठमाडौँसम्म हुने साहित्यिक कार्यक्रमहरूमा उहाँको उपस्थिति आज पनि उत्तिकै सक्रिय छ।

उमेरले सात दशक पार गरिसकेको शरीरमा पनि युवा जोसको स्पन्दन देखिन्छ। लेखनमा उहाँको जाँगर कम भएको छैन। पत्रिका प्रकाशन उहाँको नियमित कर्म बनेको छ। समाजसेवा र साहित्यसेवा उहाँको जीवनको धर्म बनेको छ। यस्तो लाग्छ, उहाँको जीवन कुनै घडीको सुईजस्तो हो, जो निरन्तर घुमिरहन्छ, तर कहिल्यै थाक्दैन।

अघिल्लो शनिबार उहाँको भीमरथारोहण सम्पन्न भएको समाचार सुन्दा मन अनायासै भावुक बन्यो। नेवार समाजको सुन्दर सांस्कृतिक परम्परानुसार ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला पुगेको व्यक्तिलाई देवतासरह सम्मान गरिन्छ।

जीवनका यति धेरै ऋतुहरू पार गरिसकेपछि उसलाई मानिसका रूपमा मात्र होइन; अनुभव, तपस्या र पुण्यको प्रतिमूर्तिका रूपमा हेर्ने चलन छ। देवस्थल परिक्रमा गराइन्छ, पूजाआजा गरिन्छ र समाजले उसको जीवनयात्रालाई श्रद्धापूर्वक नमन गर्छ।

वास्तवमा देवत्व भनेको आकस्मिक रूपमा प्राप्त हुने कुनै अलौकिक अवस्था होइन। देवत्व त जीवनभरका सत्कर्महरूको सञ्चित फल हो। अरूका लागि बाँच्ने, समाजका लागि काम गर्ने अनि संस्कृति र साहित्यको संरक्षणमा आफूलाई समर्पित गर्ने मानिस नै देवत्वका वास्तविक अधिकारी हुन्छन्। मोहन दुवालले पनि यही बाटो हिँडेर यो सम्मान प्राप्त गर्नुभएको हो।

मलाई लाग्छ, उहाँको भीमरथारोहण एउटा सांस्कृतिक संस्कारको सम्पन्नता मात्र होइन, नेपाली साहित्यिक समाजले एउटा समर्पित साधकप्रति व्यक्त गरेको सामूहिक सम्मान हो। यो त्यो युगप्रतिको सम्मान हो, जसले साहित्यलाई व्यवसाय होइन, सेवा ठानेर जीवन बितायो। यो त्यागी व्यक्तित्वप्रतिको श्रद्धा हो, जसले आफ्ना लागि भन्दा अरूका लागि बढी सोच्यो।

जीवनको साँझमा उभिएर पनि जसको हातमा ‘जनमत’ छ, जसको आँखामा साहित्यको उज्यालो छ र जसको अनुहारमा मन्द मुस्कान छ, त्यो व्यक्ति वास्तवमै देवत्वको नजिक पुगेको हुन्छ। भीमरथारोहणको रथमा आरोहण गर्दै गर्दा मोहन दुवाल केवल संस्कारमा मात्र सहभागी हुनुभएन, उहाँ आफ्ना सत्कर्महरूको उज्यालोसहित मानवताबाट देवत्वतिरको अर्को सुन्दर यात्रामा प्रस्थान गर्नुभएको मैले मनमनै महसुस गरिरहेँ।

मोहन दुवालसँग मेरो परिचयको क्रम पनि आजको होइन, धेरै वर्ष अघिदेखिको हो। जीवनमा केही मानिसहरू यस्ता हुन्छन्, जससँगको सम्बन्ध औपचारिक चिनजानबाट सुरु भएर बिस्तारै आत्मीयताको तहमा पुग्छ। मोहन दुवाल त्यस्तै व्यक्तित्व हुनुहुन्छ, जसलाई मैले साहित्यकारका रूपमा मात्र होइन, साहित्यका एक समर्पित अभिभावकका रूपमा पनि चिन्दै आएको छु।

एक समय थियो, म बनेपामा आयोजना हुने साहित्यिक कार्यक्रमहरूमा निकै सक्रियताका साथ सहभागी हुन्थेँ। भाषाविद् तथा साहित्यकार कृष्णप्रसाद पराजुली संस्थापक अध्यक्ष रहनुभएको ‘सुनकोशी साहित्य प्रतिष्ठान’ले समय-समयमा आयोजना गर्ने वृहत् साहित्यिक समारोहहरू मेरा लागि आकर्षणका केन्द्र बन्थे।

ती कार्यक्रमहरूमा सहभागी हुन काठमाडौँबाट बनेपासम्मको यात्रा गर्दा म साहित्यिक आत्मीयताका केही उज्याला अनुहारहरू भेट्न लालयित हुन्थेँ। त्यही क्रममा मोहन दुवाल र ज्ञानकाजी मानन्धरसँगको भेटघाट, चिनाजानी र निकटता प्रगाढ हुँदै गयो।

एकपटक उहाँको निवासमा पुग्ने अवसर पनि मिलेको थियो। घर त धेरैका हुन्छन्, तर केही घरहरू आफैँमा संस्कृतिका प्रतीक बनेका हुन्छन्। उहाँको घरमा प्रवेश गर्दा मलाई कुनै साधारण घरभित्र पुगेको अनुभूति भएन, त्यो त साहित्यको देवालयजस्तै लाग्यो; जहाँ लेखकहरूको सम्मान गरिन्थ्यो, पुस्तकहरूलाई श्रद्धापूर्वक राखिन्थ्यो, पत्रपत्रिकाहरूलाई पढ्ने सामग्रीका रूपमा मात्र होइन, ज्ञानका निधिका रूपमा हेरिन्थ्यो।

पुस्तकका थाकहरू, पत्रिकाका सङ्ग्रहहरू र साहित्यिक वातावरणले भरिएको त्यो घरले मलाई गहिरो प्रभाव पारेको थियो। त्यहाँ पुगेर मैले महसुस गरेको थिएँ- साहित्यलाई जीवनको धर्म बनाउने मानिसहरू वास्तवमै दुर्लभ हुन्छन्।

२०५० सालतिरको एउटा घटना आज पनि स्मृतिमा ताजै छ। काभ्रेको बाहुनेपाटीमा आयोजित वृहत् साहित्यिक समारोहमा सहभागी हुने अवसर पाएको थिएँ। त्यो सामान्य कार्यक्रम थिएन।

त्यहाँ सम्मानका समारोहहरू थिए, पुस्तक विमोचनका उत्सवहरू थिए र साहित्यिक चर्चा–परिचर्चाका गम्भीर बहसहरू हुन्थे। त्यसै अवसरमा कविवर केदारमान व्यथितको नागरिक अभिनन्दन पनि अत्यन्त भव्य रूपमा सम्पन्न गरिएको थियो।

साहित्यिक श्रद्धा, सांस्कृतिक गरिमा र स्रष्टाप्रतिको सम्मानले भरिएको त्यो वातावरण अहिले पनि मानसपटलमा झल्झली आइरहन्छ। त्यस्ता कार्यक्रमहरूको सफल आयोजनामा मोहन दुवालजस्ता व्यक्तित्वहरूको अथक श्रम र समर्पण लुकेको थियो भन्ने कुरा समय बित्दै जाँदा झन् प्रष्ट हुँदै गएको छ।

उहाँसँग जोडिएका आत्मीय सन्दर्भहरू यतिमै सीमित छैनन्। गत वर्षको एउटा साँझ मेरो स्मृतिमा विशेष रूपमा अङ्कित छ। अचानक फोनको घण्टी बज्यो। फोनको अर्कोपट्टि मोहन दुवालको परिचित स्वर थियो।

“विवशजी, एउटा शुभ समाचार सुनाउँदैछु,” उहाँले भन्नुभयो, “कृपया सहमति जनाइदिनुहोला।”

म केही अचम्मित भएँ र हाँस्दै भनेँ, “के होला र त्यस्तो मोहन दाइ? हजुरले भनेको कुरामा मैले कसरी असहमति जनाउँला र!”

मेरो कुरा सुनेर उहाँले तत्काल भन्नुभयो, “यसपटक हामीले जनमत प्रकाशनका तर्फबाट तपाईंलाई ‘जनमत महेन्द्रलाल कला सम्मान’ अर्पण गर्ने निर्णय गरेका छौँ।”

क्षणभर म निःशब्द भएँ। सम्मान पाउनु सुखद कुरा थियो, तर मनभित्र विनम्रताको अर्को भाव पनि जाग्यो। मैले भनेँ, “यो त खुसीको कुरा भयो। तर मभन्दा अगाडि सम्मान पाउनुपर्ने अरू पनि धेरै विशिष्ट व्यक्तित्वहरू हुनुहुन्छ होला। मेरो पालो पछि राखे पनि हुन्थ्यो नि!”

उहाँको उत्तर छोटो तर आत्मीयताले भरिएको थियो, “हैन, तपाईंले सहमति जनाउनुहोस्, बस।”

त्यसको केही महिनापछि नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा आयोजित भव्य कार्यक्रममा अन्य प्रतिष्ठित साहित्यकार, कलाकार र सङ्गीतकर्मीहरूसँगै मैले पनि उहाँको संस्थाबाट सम्मानित हुने अवसर पाएँ।

त्यो सम्मान केवल एउटा पुरस्कार मात्र नभएर लामो समयदेखि लेखनमा निरन्तर लागिरहनका लागि प्रेरणा दिने उज्यालो दीपजस्तै थियो। कुनै पनि स्रष्टाका लागि उसको श्रमको कदर हुनु आफैँमा ठूलो ऊर्जा हो। मोहन दुवाल र उहाँको संस्थाले मलाई प्रदान गरेको त्यो सम्मानले मेरो लेखन–यात्रामा नयाँ उत्साह थपेको छ भन्ने कुरा स्वीकार गर्न म हिच्किचाउँदिनँ।

सायद यिनै कारणले गर्दा मोहन दुवाललाई सम्झँदा मेरो मनमा एउटा साहित्यिक सम्पादकको छवि मात्र आउँदैन। उहाँभित्र म संस्कृतिकर्मी देख्छु, साहित्यिक अभियन्ता देख्छु, अभिभावक देख्छु र स्रष्टाहरूलाई प्रोत्साहित गरिरहने उदार मन भएको कुशल सारथि देख्छु। आफूभन्दा अरूको उपलब्धिमा बढी खुसी हुने यस्ता व्यक्तित्वहरू समाजमा विरलै भेटिन्छन्।

भर्खरै सम्पन्न उहाँको भीमरथारोहणको सुखद अवसरमा यी सबै स्मृतिहरू एकसाथ मनमा उर्लिएर आएका छन्। समयले उहाँलाई जीवनको विशिष्ट उचाइमा पुर्‍याएको छ। त्यो उचाइ उमेरको मात्र होइन, कर्मको उचाइ हो; वर्षहरूको सङ्ख्याको होइन, सेवाको गरिमाको उचाइ हो।

यस शुभ अवसरमा आदरणीय मोहन दुवालज्यूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। उहाँको जीवन सुस्वास्थ्य, सक्रियता र सिर्जनशीलताका साथ अझ दीर्घ बनिरहोस्। उहाँको मृदु मुस्कान, साहित्यप्रतिको निष्ठा र समाजप्रतिको समर्पणले आगामी पुस्तालाई निरन्तर प्रेरणा दिइरहोस्। यही शुभेच्छाका साथ उहाँप्रति पुनः हार्दिक बधाई तथा उच्च सम्मान अर्पण गर्दछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *