कथाकार विमल र रङ्गकर्मी शर्मालाई पुरस्कृत गरिने

डिसी नेपाल
१९ चैत २०८० १०:०८
16
Shares

काठमाडौँ। रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले दुई स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

वाङ्मय मन्दिर स्थापनाको पहिलो वर्षको अवसरमा २०८० सालको ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार राजेन्द्र विमल र ‘अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार’ वरिष्ठ रङ्गकर्मी हरिहर शर्मालाई प्रदान गर्ने निर्णय गरिएको हो ।

‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार विमलको कथासङ्ग्रह ‘सरबरिया टोल’लाई प्रदान गर्ने निर्णय भएको रामगीता वाङ्मय मन्दिरकी अध्यक्ष गीता खत्रीले जानकारी दिए।

विभिन्न स्रष्टाका नौ कृतिमध्ये उत्कृष्ट उक्त कथासङ्ग्रहमा कथाकार विमलले अनेकन द्वन्द्वले विखण्डित तुल्याउँदै लगेको नेपाली समाजलाई जोड्ने र अन्यायमा पारिएका नागरिकसम्म न्यायको उज्यालो पु¥याउन खोजेका छन् ।

उक्त पुरस्कारका लागि विक्रमभक्त जोशीको ‘चोभार ब्लुज’, चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, मनोज थारुको ‘टुवरा’, इल्या भट्टराईको ‘मिसर’, हरिबोल काफ्लेको ‘यशोधरा’, युवराज नयाँघरेको ‘याकजी’, राजेन्द्र तारकिणीको ‘बिगनरामको मादल’ र अशोक थापाको ‘सन्तापको धून’ मनोनयनमा परेका थिए ।

यसैगरी, २०८० सालको ‘अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार’ नेपाली रङ्गमञ्च र समग्र नाट्य क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नुहुने वरिष्ठ रङ्गकर्मी तथा कलाकार शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । दुवै स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि रु ५० हजार रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *