ऐतिहासिक कीर्तिस्तम्भ धरहरा: इतिहास, रूपान्तरण र राष्ट्रिय गौरव
नेपाललाई विश्वमानचित्रमा एक सुन्दर, शान्त र विशाल देशका रूपमा चिनिन्छ। यस देशभित्र यस्ता असङ्ख्य ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरू छन्, जसले नेपालको विशिष्ट पहिचानलाई विश्वसामु उजागर गर्दछन्।
सर्वोच्च शिखर सगरमाथाको देश, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि, असङ्ख्य ऋषि-महर्षिहरूले ज्ञान प्राप्त गरेको तपोभूमि, र देवीदेवताहरूले समेत क्रीडास्थल बनाएका पवित्र तीर्थस्थलहरूको समिश्रण नै हाम्रो मातृभूमि हो।
भौगोलिक विविधताले भरिपूर्ण, उत्तरमा चीनको तिब्बत र दक्षिण, पूर्व तथा पश्चिममा भारतसँग जोडिएको यो सार्वभौमसत्ता सम्पन्न राष्ट्रको इतिहास अत्यन्तै रोचक र गौरवपूर्ण छ।
इतिहासका पाना पल्टाएर हेर्दा हाम्रा वीर पुर्खाहरूले देशका लागि गरेको त्याग, बलिदान, समर्पण र बफादारिताको जीवन्त मिसाल फेला पर्दछ। देशप्रतिको अगाध माया र माटोप्रतिको असीम प्रेम कस्तो हुन्छ भन्ने कुरा बुझ्न इतिहासको अध्ययन अपरिहार्य छ।
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् भन्ने शास्त्रीय मान्यतालाई चरितार्थ गर्ने त्यस्तै एउटा ऐतिहासिक प्रमाणका रूपमा काठमाडौँको मुटुमा ठिङ्ग उभिएको छ- कीर्तिस्तम्भ धरहरा। मुगल भाषामा मस्जिदको ‘मिनार’ शब्दबाट साभार गरिएको यो अग्लो स्तम्भ केवल ढुङ्गा-माटोको संरचना मात्र नभएर नेपाली वीरता र कलाको अनुपम सङ्गम हो।
धरहराको निर्माण किन र कसरी भयो भन्ने जान्नका लागि हामीले झन्डै दुई सय वर्ष पुरानो इतिहासतर्फ फर्कनुपर्ने हुन्छ। हाल नेपालको राजधानी काठमाडौँको सुन्धारामा अवस्थित ऐतिहासिक धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) रहेको छ।
वि.सं. १९९० को विनाशकारी भूकम्पभन्दा पहिले यो स्तम्भ ११ तल्लाको थियो र यसको बार्दली अर्थात् छानामुनि खुला गोलाकार ठाउँ नवौँ तल्लामा अवस्थित थियो, जहाँबाट सहजै उपत्यकाको दृश्यावलोकन गर्न सकिन्थ्यो।
वि.सं. १९९० माघ २ गतेको महाभूकम्पका कारण बार्दलीभन्दा माथिका १० र ११ तल्ला भत्किएपछि यो ९ तल्लामा सीमित हुन पुगेको थियो। यस ऐतिहासिक स्तम्भको निर्माण तत्कालीन मुख्तियार (प्रधानमन्त्री) जनरल भीमसेन थापाले वि.सं. १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेश र इच्छाबमोजिम गराएका थिए।
महारानी ललित त्रिपुरासुन्दरीका पिता काजी नैनसिंह थापा थिए भने उनी भीमसेन थापाकी भतिजी र राजा श्री ५ रणबहादुर शाहकी कान्छी पत्नी थिइन्। उनी नेपाली साहित्य जगत्की प्रथम महिला स्रष्टाका रूपमा समेत सुप्रसिद्ध छिन्।
कुशल शासक र धार्मिक एवं सामाजिक लगाव भएकी यी राजमाताले आफ्नो छोटो जीवनकालमै काठमाडौँको त्रिपुरेश्वर मन्दिर, बागमतीको पुल र सुन्धारासहित धरहराको निर्माण गराएर राष्ट्रलाई ठूलो गुन लगाएकी थिइन्।
संस्कृतबाट ‘राजधर्म’ को नेपालीमा अनुवाद गरेकी साहित्यिक प्रतिभा महारानी ललित त्रिपुरासुन्दरीको वि.सं. १८८८ चैत १६ गते केवल ३८ वर्षको अल्पायुमै बिफर रोगका कारण दुःखद निधन भएको थियो।
महारानीको स्मृति र देशको रणनीतिक महत्त्वका लागि बनाइएको धरहराले समय-समयमा प्राकृतिक विपत्तिको ठुलो सामाना गर्नुपर्यो। निर्माण भएको केही समयपछि नै अर्थात् वि.सं. १९१३ मा चट्याङ परेर यो भत्किएको थियो, जसको १० वर्षपछि वि.सं. १९२३ मा जीर्णोद्धार गरियो।
पुनः वि.सं. १९९० को भूकम्पले क्षति पुर्याएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा यसको पुनर्निर्माण गराइयो र यसलाई ९ तल्लामा कायम राखियो। भीमसेन थापाको कार्यकालमा बनेकाले यसलाई लोकबोलीमा ‘भीमसेन स्तम्भ’ पनि भनिन्छ।
तत्कालीन समयमा यसको उपयोग सैन्य तथा प्रशासनिक सूचना सम्प्रेषणका लागि गरिन्थ्यो। धरहराको टुप्पोबाट बिगुल बजाएपछि जङ्गी तथा निजामती कर्मचारीहरू तत्काल टुँडिखेल वा कोतमा जम्मा हुनुपर्ने अनिवार्य नियम थियो, जसले राष्ट्रिय सुरक्षा र सङ्गठनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।
वि.सं. २०७२ साल वैशाख १२ गते शनिबार गएको ७.८ रेक्टर स्केलको प्रलयकारी भूकम्पले यस ऐतिहासिक धरोहरलाई जगैदेखि ढलाएर इतिहासको पानामा मात्र सीमित गरिदियो।
तर, नेपालीको पहिचान बनेको धरहरालाई पुनर्जीवन दिन वि.सं. २०७५ पुस १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट नयाँ धरहराको शिलान्यास भयो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तत्त्वावधानमा आधुनिक र सुरक्षित प्रविधिको प्रयोग गरी पुरानै स्वरूप झल्कने गरी नयाँ धरहराको निर्माण सम्पन्न गरियो र वि.सं. २०७८ वैशाख ११ गते यसको विधिवत् उद्घाटन भयो।
नयाँ निर्माण गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्रभित्रै २२ तल्लाको रहेको छ। यसको १८८ वटा सिँढी उक्लिएपछि आउने बार्दलीबाट काठमाडौँ उपत्यकाको गुजुमुज्ज र आधुनिक बस्तीलाई नियाल्न सकिन्छ।
धरहराको सबैभन्दा माथिल्लो तल्लामा शिवलिङ्ग र टुप्पोमा स्वर्ण गजुर प्रतिस्थापन गरिएको छ। धरहरामा शिवलिङ्ग राख्नुको पछाडि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्त्व छ; जसले ब्रह्मा, विष्णु र महेश अर्थात् सत्य, ज्ञान र अनन्त त्रिमूर्तिको प्रतिनिधित्व गर्दै नेपालको प्राचीन सनातन धर्मको निरन्तरतालाई दर्शाउँछ। अध्यात्म केवल आस्था मात्र होइन, बरु जीवनलाई अनुशासन र सत्यको मार्गमा डोर्याउने कला पनि हो भन्ने सन्देश यसले दिन्छ।
मुगल र नेपाली वास्तुकलाको अनुपम मिश्रणबाट निर्मित यो स्मारक इँटा र परम्परागत बज्र (सुर्की, मास र चाकुको सम्मिश्रण) प्रयोग गरी बनाइएको छ।
ऐतिहासिक रणनीतिक दृष्टिकोणले मात्र नभएर वर्तमान समयमा यो क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिएको एक बृहत् पर्यटकीय परिसरका रूपमा विकसित भएको छ।
तत्कालीन राजा राजेन्द्रविक्रम शाहबाट वि.सं. १८९२ असोज १८ गते ‘कमान्डर-इन-चिफ’ को उपाधि पाएका भीमसेन थापाको राष्ट्रिय योगदानको कदर र नेपाली स्वाभिमानको प्रतीकका रूपमा यो स्तम्भ सदैव नेपालीको मुटुमा रहनेछ।
राष्ट्रको शान, पर्यटकीय आकर्षणको केन्द्र र पुरातात्त्विक सम्पदाको जीवन्त रूप धरहराको संरक्षण, प्रवर्द्धन र उचित व्यवस्थापन गर्नु अब हामी र सम्बन्धित सरोकारवाला निकायको परम कर्तव्य हो। आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै राष्ट्रिय आय बढाउन र नयाँ पुस्तालाई आफ्नो गौरवशाली इतिहास बुझाउन धरहराको देशविदेशमा व्यापक प्रचारप्रसार गर्नु आजको आवश्यकता हो।















Facebook Comment