ब्रोड पिक हिमपहिरो अपडेट

चार वटा जीपीएस ट्र्याकरको संकेत फेला परे पनि मुभमेन्ट ठप्प, १० आरोही अझै बेपत्ता

डिसी नेपाल
१५ साउन २०८३ १२:४३

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० जना आरोहीहरूको खोजी तथा उद्धार कार्य जारी रहँदा ४ वटा जीपीएस ट्र्याकरको लोकेसन फेला परेको छ।

एल्पाइन क्लब अफ पाकिस्तानका महासचिव अयाज शिग्रीका अनुसार ट्र्याकरहरूको अवस्थिति पत्ता लागे पनि ती आरोहीहरू जीवित छन् या मृत भन्ने विषयमा भने अहिलेसम्म केही खुल्न सकेको छैन।

बेपत्ता हुने १० जना आरोहीहरूमा नेपालका चर्चित पूर्व बेलायती विशेष फौजका सैनिक तथा कीर्तिमानी आरोही निर्मल पुर्जा (‘निम्सदाई’) समेत रहेका छन्। विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा उनीहरू हिमपहिरोको चपेटामा परेका हुन्।

एल्पाइन क्लब अफ पाकिस्तानका महासचिव अयाज शिग्रीका अनुसार फेला परेका चार वटा ट्र्याकरहरूबाट लोकेसन प्राप्त भइरहे पनि त्यहाँबाट कुनै किसिमको हलचल देखिएको छैन। उद्धारकर्ताहरू ती चार जना आरोही भएको ठाउँसम्म पुग्न प्रयासरत रहेकाले स्थिति निकै चिन्ताजनक र अन्योलग्रस्त बनेको छ।

उद्दार कार्यका लागि ड्रोन र स्थलगत टोली निरन्तर खटिरहेका छन्। साथै, पाकिस्तानी सेनाका हेलिकप्टरहरू पनि उद्धारका लागि पठाइएको छ, जुन हाल के-टु आधार शिविरमा पुगिसकेका छन्।

अक्सिजनको सहयोगमा ती चार वटा ट्र्याकर रहेको स्थानसम्म पुग्न करिब ४ घण्टाको उकालो चढ्नुपर्ने महासचिव शिग्रीले बताएका छन्। आज साँझसम्म उद्धार टोली त्यहाँ पुगेपछि वास्तविकता थप प्रस्ट हुने आशा लिइएको छ।

यद्यपि, हिमपहिरोमा परेका अन्य ६ जना आरोहीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे अझैसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *