तराईमा बढ्दो साम्प्रदायिक तनावप्रति स्वामी आत्मानन्द गिरीको चिन्ता: धर्मनिरपेक्षता नीतिको समीक्षा गर्न माग
काठमाडौं। सुनसरी, नेपालगञ्ज, लहान र वीरगञ्जलगायत तराई तथा सीमावर्ती क्षेत्रमा पछिल्ला दिनमा देखिएका साम्प्रदायिक तनाव र विरोध प्रदर्शनका घटनाप्रति धार्मिक वृत्तले गम्भीर चिन्ता व्यक्त गरेको छ।
देवघाटधामस्थित गलेश्वर आश्रमका पीठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा स्वामी आत्मानन्द गिरीले नेपाली समाजको मूल पहिचान सहिष्णुता, धार्मिक स्वतन्त्रता र सहअस्तित्वमा आधारित रहेको स्पष्ट पारे।
राजनीतिक स्वार्थ, सामाजिक विभाजन तथा बाह्य प्रभावका कारण विभिन्न समुदायबीच अविश्वास बढाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले यस्ता घटनाको निष्पक्ष अध्ययन र दीर्घकालीन समाधानको माग गरे।
‘२०६३ पछिका निर्णयको पुनरावलोकन आवश्यक’
राजनीतिक परिवर्तनपछि भएका केही संवैधानिक तथा नीतिगत निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले धर्मनिरपेक्षताको घोषणा, राजसंस्थाको अन्त्य र नागरिकता नीतिको पुनः समीक्षा गर्न सरकारसँग आग्रह गरे। यी निर्णयहरूले बहुसंख्यक सनातन धर्मावलम्बीको भावनामा असर परेको उनको दाबी छ।
साथै, सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन र अवैध घुसपैठ नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्नेमा उनले जोड दिए।
सुरक्षा निकायलाई राजनीतिमा नतानौँ
नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिक विवादमा तान्न नहुने धारणा राख्दै स्वामी आत्मानन्द गिरीले संवेदनशील घटनाको निष्पक्ष छानबिन गरी संवाद र कानुनी प्रक्रियाबाटै समाधान खोज्नुपर्ने बताए। उनले राजनीतिक दलहरूलाई संवेदनशील विषयमा राजनीतिक लाभ-हानिको खेल नखेल्न र उत्तेजनात्मक अभिव्यक्ति नदिन आग्रह गरे।
वैदिक सनातन दर्शनको ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्ने मूल मर्मलाई स्मरण गराउँदै उनले ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने भावनालाई व्यवहारमा उतार्न र सबै धर्मप्रति सम्मान कायम राख्दै राष्ट्रिय एकता सुदृढ बनाउन अपिल गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment