सुनसरी घटनाका दुवै मृतकको शव परिवारलाई बुझाइयो
विराटनगर। सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जना युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। सरकार र पीडित पक्षबीच सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको हो।
गोलीकाण्डमा ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो। बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी अस्पतालमा पोस्टमार्टम गरिएको थियो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पोस्टमार्टमपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव परिवारको जिम्मा लगाइएको हो।
सरकारसँग भएको सहमतिअनुसार सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
गत आइतबार राति कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर गम्भीर घाइते भएका ओमप्रकाशको घटनाकै राति मृत्यु भएको थियो भने जयप्रकाशको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment