सात दशकसम्म नसुध्रिएका दल र जनअपेक्षा

 जगदीश दाहाल

केही दिन अगाडि प्रधानमन्त्री केपी ओलीले गंगालाल अस्पतालको कार्यक्रममा नेपालमा धेरै राम्रो उपचार पद्धति सुरु भएको छ। राम्रा उपकरण भित्रिएका छन्, राम्रा डाक्टर उत्पादन भएका छन् भन्ने अभिव्यक्ति दिनु भयो।

तर, त्यसको केही दिनपछि नै प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने समाचार संचारमाध्यममार्फत सार्वजनिक भएको छ। प्रधानमन्त्रीले दुई दिन अगाडि के भन्नु भयो र दुई दिनपछि के निर्णय लिनु भयो? यसबाट सरकारको भनाइ र गराइ देखिन्छ।

अर्को कुरा नेकपालाई जनताले सरकार संचालनका लागि सहज बहुमत दिएका हुन्, दुई तिहाई होइन। अहिले जोडजाड गरेर दुई तिहाई बहुमत पुर्याइएको हो। जोडजाड दुई तिहाइको सरकारले काम गरेर देखाउनु साटो प्रधानमन्त्रीले गफ गरेर समय व्यतित गर्दै हुनुहुन्छ।

अहिले संचारको युगमा केही कुरा लुकाएर लुक्दैन। संचारमाध्यममा प्रधानमन्त्रीका भाषण र काठमाडौंका सडकको अवस्था दैनिक जस्तो संचारमाध्यमले देखाइरहेका हुन्छन्। यसले के देखाउँछ भने प्रधानमन्त्रीलाई राज्य संयन्त्रको सहयोग नभएको हो या प्रधानमन्त्रीलाई गफमात्र गर्न आउँछ काम गर्न आउँदैन। यसरी राजनीतिक दलका नेताले जनताको मतको मूल्य नबुझ्ने हो भने जनताले कसिंगर उडाएजस्तै यी राजनीतिक दललाई उडाउन सक्छन्।

आन्तरिक विवाद नभएको कुनै पनि राजनीतिक दल छैनन्। विवाद हुन्छ, तर कस्तो विवाद भन्ने विषय महत्वपूर्ण हुन्छ। सैद्धान्तिक रुपले फरकधार निर्माण हुनु र विवाद हुनु अत्यन्तै गम्भीर विषय हो। त्यो विवाद नेकपामा छ। त्यो विवादले नेकपालाई कुन समयमा कहाँ पुर्याउने हो भन्ने विषय जटिल बन्दै गएको छ।

लेखक
विवाद कांग्रेसमा पनि छ। कांग्रेसमा लोभी पापीको झगडा जस्तो देखिएको छ। सैद्धान्तिक धार वा गुट होइन, सिद्धान्त र विचारको झगडा पनि होइन, झगडा स्वार्थको हो। यस्ता मुलुकले भरोसा गर्न लायक र योग्य ठूला राजनीतिक दलहरुमा यस्ता विग्रहले मुलकुलाई कहाँ पुर्याउँछ?
क्षेत्रीय दल राजपामा पनि त्यस्तै विवाद छ। अहिले झगडा नदेखिएको भएपनि विद्रोही नै विद्रोहीको क्लब बनेको छ, समाजवादी पार्टी। यसरी हेर्दा कुनै पनि दल वा दलका नेता न सफा, चोखा छन्, न त सैद्धान्तिक रुपले प्रतिवद्ध र दृढ छन्।

यस्ता राजनीतिक दलका नेताले के मुलुक बनाउँछन् र जनतालाई खुसी र शान्ति दिन्छन्? दलीय पद्धतिका लागि २००४ साल देखि लडेको पार्टी आज, सात दशक पार गर्दासम्म पनि यी दलमा कुनै किसिमको सुधार हुने सोच देखिएको छैन।

यसरी मुलुकभित्रका राजनीतिक शक्ति कमजोर हुँदा, सैद्धान्तिक विचलन हुँदा बाह्य शक्तिले चलखेल गर्छ र बाह्य शक्तिको चलखेल बढ्छ। जानी नजानी उनीहरुसँग त्वं शरणम् गर्न दलका नेता पुग्छन्। अप्रत्यक्ष रुपमा उनीहरुको शासन चल्छ। राज्य संयन्त्र बाह्यशक्तिबाट निर्देशित भएर चल्न थाल्छन्। यो दुर्भाग्यपूर्ण कुरा हो।

अहिले मुलुकका समस्यालाई सरकारले समाधान गर्नै सकेन। न तराइका सिमानाहरुको समस्या बुझ्न सक्यो, न बाढी र डुबानका कारण पहिल्याउन र बुझ्न सक्यो। न अल्पकालीन निवारणको नीति छ न दीर्घकालीन योजनाको नीति सरकारसँग छ। न कुनै कुरामा छिमेकीसँग सहकार्यमार्फत समस्या समाधान गर्न सकेको छ।

यसले हामीलाई कति कमजोर बनाएछ, एउटा स्वाधीन राज्यलाई कति पराधीन बनाएछ भन्ने कुराको पुष्टि हुन्छ। आज दलका नेताहरु सबभन्दा महंगा अस्पतालमा उपचार गराउँछन्। अनि जनताले यी नेताबाट के अपेक्षा गर्ने ?

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position