आविष्कारको दुनियाँमा नयाँ फड्को : एप्पल माला

डिसी नेपाल
१ भदौ २०७६ २१:४९

एप्पल घडी देखिन्थ्यो नि हातका नाडी भरी
आज देख्छु एप्पल माला गला वरिपरी

गरेउ कि त आविष्कार केहि दुरदराजमा आज
एप्पल ब्रान्डको स्मार्ट माला विश्व बजार माझ!

ट्याबलेट, घडी, कम्पुटर, फोन जस्तै गरि बनि
बधाई छ है ल्याउँदा आज एप्पल माला पनि

कस्तो फिचर लिइ आछ आज यसो गरी
एप्पल ब्रान्डकै सामान सरि छाओस् विश्वभरी

सोलारबाट चल्ने हो कि लाग्छ ब्याट्री पनि?
तामे तार पो उन्या छ कि चार्ज गर्नलाई भनि!

क्यारी उनेउ माला त्यस्तो क्यारी सफ्टवेयर भरेउ!
कारखानामै हलेउ कि त तिम्रै हातले गरेउ?

दुर्गम मै फली कुहिने अमृत जस्ता फलले
माला बनि बजार पाउदा नेता ज्यूका बलले

मूहार फिरोस् ति किसानको जसले यो फल लाए
नेता ज्यूको कृपाले यी विश्व बजार पाए !

बजार नपाई कुहिने स्याउको बन्दा स्मार्ट माला
नेता ज्यूको आविष्कारले विश्व बजार खाला !

किसान मात्रै हैन होला अब देशै पनि
एप्पल माला बेचिकन हुन्छ होला धनी !

बहुराष्ट्रिय कम्पनी त्यो आओस् त्यहि गाँउमा
एप्पल माला निर्यात गर्न उसले अनेक ठाँउमा

आविष्कार हैन र यो हो यो भने रहर
माला लाउनी तिम्रो रहर बन्ला फेरि जहर

श्याउका दानामा कहिँले काँही त गुटुमुटु परी
झुशिलकिरो पनि लुक्छ नदेखिने गरि

रहर गरि जे को पनि माला लाउँदा खेरि
सल्किएला झुशिलकिरो फेरि हर भरि

उद्घाटनमा भने पछि जे मा पनि धाउदा
जे को गरेउ उद्घाटन त्यसकै माला लाउँदा

बोलाउलान् नि कोहि कसैले जुत्ता पसल खोल्दा
कस्तो होला त्यहि जुत्ताको माला लाएर बोल्दा!

सुन्दै छु त खुल्ने हो रे सिस्नो फारम पनि
सुकाएर धुलो बनाइ निर्यात गर्न भनि

उद्घाटनमा जाउला फेरि सिस्नो फारम तिर
होसै नपाई माला लाउला पर्ला ठूलो पिर

अर्जुनराज पन्त
बाग्लुङ्ग नेपाल, हाल–प्रवास


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *