मानसिक तनाव : चाँसो नदिँदा बन्न सक्छ गलाको पासो!

डिसी नेपाल
४ भदौ २०७६ १८:१६
580
Shares

गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन
गोजीमा सुक्को नहुने मान्छे, केही पनि काम छैन।

‘अम्बिका सुबेदी (सापकोटा) र महेन्द्रको जोडीले यो गीतमा बनाएको टिक्–टक् भिडियो त भाइरल भएछ नि विष्णु, तिमीले हेरेउ?’, विदुर दाइले सोध्नु भो। ‘हेरेँ दाइ! अम्बिकाले साह्रै राम्रो टिक्–टक् बनाउँछिन्। त्यसमाथि त्यो गीतले अहिले नेपालका युवाहरूको अवस्था दर्साएको हुनाले पनि त्यो भिडियो भाइरल भयो’, मैले भनेँ।

हो! आजकाल नेपालमा युवालाई तनाव छ। विद्यार्थीलाई उच्च शिक्षा हासिल कहाँ गई गर्ने भन्ने दबाब छ। पढाई सकेकालाई जागिर नभएर तनाव छ। कसैलाई पारिवारिक जिम्मेवारी। कसैलाई बाइक नभएर तनाव त कसैलाई गर्लफ्रेन्ड नभएर तनाव। आ–आफ्नो ‘स्टाटस मैन्टेन’ गर्न कसैलाई ‘पियर प्रेसर’, कसैलाई ‘पी.आर. प्रेसर’!

बुढा बुवाआमालाई हेर्नै पर्‍यो। साना भाइ–बैनीलाई पढाउनै पर्‍यो। प्रेमी प्रेमिका टिकाई राख्न उपहार दिनै पर्‍यो। कहिले काहीँ घुम्न जानै पर्‍यो। बाइक, राम्रो लुगा र फोन इत्यादि गर्दा पकेट खर्च जत्ति भए नि पुग्दैन। नहुनेले ऋण सापटी लिएर भएपनि आफ्नो घर–छिमेकको अगाडी आफ्नो ‘इमेज’ त कायम राख्नै पर्‍यो, के गर्ने?

यी दबाब र असुरक्षासँग जुझ्न केही युवा सामाजिक सञ्जालमा काल्पनिक व्यक्तित्व निर्माण गर्छन् त कोही लागू औसधको कुलतमा पर्छन्। यस बाहेक एउटा युवाहरूको ठूलो समूह अन्जानमै हीनताबोध र मानसिक रोगका सिकार भई रहेका छन्।

झट्ट हेर्दा केही युवाहरू ‘नाम र दाम’ दुवै कमाई रहेको देखिएपनि उनीहरूको आन्तरिक सङ्घर्ष र मनोदशाप्रति उनका साथी, परिवार र समाज प्राय अनभिज्ञ नै हुन्छ। यो असंवेदनशीलता र अ–चासो कति युवाको गलाको पासो बन्दै छ।

मानसिक बिमारीहरू र आधारभूत मनोविज्ञानको चेतना नेपालमा अत्यन्त न्यून छ। स्कुल–कलेजहरूमा मानसिक स्वास्थ्यबारे न पढाई हुन्छ न यसमा थप जान्न चाहनेहरूका लागि कुनै संरचना या सञ्जाल नै छ। त्यसमाथि मानसिक रोगप्रतिको पूर्वाग्रह, अस्वीकारले यसलाई यती कलङ्कित गरी दिएको छ कि कसैलाई केही लक्षण भन्यौँ या कउन्सुलिंग गएँ भनेँ बौलाएछ भन्लान् भन्ने डर! गर्लफ्रेन्डले पनि ‘ब्रेकप’ देली भन्ने डर!

यी सब कारणहरूले गर्दा साथी या परिवारका सदस्यहरूपनि कुनै आफन्तमा देखिने सुरुवाती व्यक्तित्वमा आएका असाधारण बदलावहरूलाई वास्ता दिँदैनन् या लुकाउन खोज्छन्। यी लक्षणहरू ध्यानमा राखी समयमै उपचार गरे धेरै जसो युवालाई हुने मानसिक रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ।

अब समाधान के त?

१. रोगका बारेमा चेतना

मनोविज्ञानको आधारभूत ज्ञान र मानसिक रोगका लक्षणहरू बारेमा विद्यालयमा विज्ञान सामाजिक शिक्षा अन्तर्गत पढाई गराइनु पर्छ। अब्सेसिव कम्पल्सिव डीसर्डर, बाई–पोलेर डीसर्डर, स्किटजोफेर्निया जस्ता व्यक्तित्व विकारहरू (पर्सनालिटी डिस्अडर) र डिप्रेसन इत्यादि मानसिक रोगका सुरुवाती लक्षणहरू।

जस्तैः एकंत–प्रियता (आइसोलेशन), स–साना कुरामा झर्किने (इर्रिटेबिलिटी), असामान्य शङ्का (अन्हेल्दी डाउट), काल्पनिक कुराको प्रक्षेपण (प्रोजेक्शन)

र यी बाहेक हीनताबोध, नकारात्मकता र अत्मविश्वासको कमी, घोरिएर बस्नु, अप्रासङ्गिक कुरा गर्नु र सामाजिक सञ्जालमा उग्र, भड्किला, अत्यन्त व्यक्तिगत कुरा र अभिव्यक्तिलाई बारम्बार राख्नु, देखावटीपना बढ्दै जानु जस्ता व्यवहार कसैमा बढ्दै गएको देखिएमा परिवार र साथीहरूले यसमा बेलैमा ध्यान दिनुपर्छ। आवश्यकता परे मनो–चिकित्सक भेट्न ढिलो गर्नु हुन्न।

२. मानसिक रोगको स्वीकार र सामान्यकरण

शारीरिक रोग जस्तै मानसिक रोगपनि सामान्य हुन् र कसैलाई पनि हुन सक्छ। सामान्य मानसिक रोग लाग्दैमा कसैलाई पागल भयो भन्नुहुन्न र समयमै उपचार गरे निको पार्न सकिन्छ।

३. कला, संस्कृति र व्यायाम तथा खेलकुदमा अग्रसरता

शारीरिक स्वस्थताले मानसिक सन्तुलन बनाइराख्न मद्दत गर्छ। गीत, सङ्गीत, सामूहिक नाच–गान, कलाकारितालाई पनि पढाई र काम जस्तै प्राथमिकता दिनाले सर्वाङ्गीण विकास हुन्छ र कुनै एक पाटोमा चाहेजस्तो सफलता नमिले पनि पहिचानको अभाव महसुस हुँदैन।

४. आत्म–मूल्याङ्कन, ध्यान र आध्यत्मिकता

आफ्ना विचारहरूलाई एउटा डायरी बनाई लेख्नाले भावनात्मक उतार–चढावलाई अविचलित भई अवलोकन गर्न सकिन्छ। ‘सादा जीवन उच्च विचार’ राख्नाले शान्ति मिल्छ। भौतिक वस्तुलाई मात्रै महत्त्व दिने बानीलाई घटाउँदै जाँदा जीवन सरल र सहज हुँदै जान्छ।

आत्म–संयम, आस्तिकताले सधैँ सकारात्मक बनाउँछ भने ध्यान गर्नाले शान्ति मिल्छ, सजगता बढ्छ। शान्त र संयमित भएर सोच्न सक्ने प्रवृत्तिको विकास भएको व्यक्ति आवेशमा आएर आत्मघाती काम गर्दैन।

आत्महत्या पलायन हो, समस्याहरूको समाधान होइन। यसले मरेर जाने भन्दापनि उसका बाँकी रहेका परिवार, मित्रहरूको र सहकर्मीहरूको जीवन झनै कष्टकर बनाई दिन्छ।

त्यसैले युवाहरु माथिको दबाब र जिम्मेवारीको चापप्रति संवेदनशील भई व्यक्तिगत, पारिवारिक र सामाजिक रूपमा सबै मिली मानसिक रोगहरूप्रति चेतना फैलाऔँ। मानसिक रोगका लक्षण देखिएकालाई अझै धेरै माया, सहयोग गरौँ।

सकिन्छ भने उनीहरूको पिर–मर्का सुनिदिऊँ सकिन्न भनेपनि कसैलाई पागल, बौलाहा, साइको जस्ता होच्याउने र सामान्य मानसिक रोगलाई कलङ्कित पार्ने संज्ञा नदिऊँ। के थाहा, कहिले हाम्रै आफन्त या हाम्रो आफ्नै पालो पनि आउन सक्छ?

बिष्णु प्रसाद जोशी

ठेगाना : खप्तड छान्ना गाउँपालिका ५ बझाङ्ग
हाल : यूनिवर्सिटी अफ म्यसचुसेट्स, अमेरिका

ट्वीटर:@BishnuJoshi999


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *