हाम्रो पाल्पा, गौरवमय भगवती जात्रा र राष्ट्रियता

डिसी नेपाल
६ भदौ २०७६ ११:१०

थालनी:

विश्व अहिले सातवटा महादेशमा बाँडिएको छ । एशिया महादेश भित्र नेपालको भू–भाग समेटिएको छ । पुराणकालमा पुष्करद्वीप, शकद्वीप, सालमालीद्वीप, कुशद्वीप, पलक्सद्वीप, कराउनचद्वीप र जम्बूद्वीप गरी विश्व सप्तद्वीपहरुमा बाँडिएको थियो । जम्बूद्वीप लवन (नुनिलो पानी), पालकसा ईसकु (उँखुको रस), सालमाली सुरा (रक्सी), कुश सर्पी (घिउँ), कारुणिका दधि (दही), शक दुध्द (दुध) र पुष्कर जल (शुद्ध पानी) आदि नामका समुन्द्रहरुबाट घेरिएको थियो । ‘जम्बूद्वीप’ लाई ‘सुदर्शनद्वीप’ पनि भनिन्थ्यो । जम्बूदीप पूर्वदेखि पश्चिम हिमालय, हेमकुटा, निषद, नीला, सेभता र श्रीनगभट जस्ता पहाडी श्रृंखलाहरुमा फैलिएको थियो । जम्बूद्वीपभित्र हरि, भाद्रसभ, केतुमाला, भारत, उत्तर–कुरु, सेभता, हिरिनेक, ऐरावत र इलावर्र्त आदि नौवटा वर्ष (Zone) हरु रहेको थियो । जम्बूद्वीपभित्र इन्द्रद्वीप, कशेरा, ताम्रवर्ण, गर्भस्तिमत, नागद्वीप, सौम्य, गन्धर्व, कुमारी र वरुण गरी नौखण्डहरु रहेको थियो (Ray and Sen, 1991:8,11,14) ।

पुराणमा जम्बूद्वीप भित्र ईलावर्त, रामानका, हिरण्य, उत्तर–कुरु, भद्रवर्ष, केतुमाला, हरि, किमपुरुष र भारत आदि नौ वर्ष (Zone) हरुको उल्लेख छ । तीमध्ये पश्चिम तिब्बत ‘हरिवर्ष’ मा र नेपाल ‘किमपुरुषवर्ष’ भित्र रहेको उल्लेख छ । धार्मिक अनुष्ठानमा नेपाल ‘भारतवर्ष’ को सन्दर्भलार्ई जोड्ने गरिन्छ । तर ‘भारतवर्ष’ भित्र अहिलेको बृहत् भारतको भू–भाग मात्र समेटिएको थियो (Ray and Sen, 1991:5-13) ।

पुराणकालमा जम्बूद्वीपभित्र पर्ने अहिलेको नेपाल र नेपाल अन्तर्गत पाल्पाको भू–भागमा विभिन्न समयमा विभिन्न वंशहरुले शासन गरेका थिए । ईसाभन्दा २५०० वर्ष पूर्वदेखि सन् ७०० सम्म कूर्माचलमा कत्यूरीहरुको शासन थियो । कत्यूरीहरुका मूलपुरुष शालिवाहन देव थिए । कत्यूरी राजाहरुको साम्राज्य सिक्किमदेखि नेपाल हुँदै काबुलसम्म फैलिएको थियो । कत्यूरी साम्राज्य भित्र थुप्रै माण्डलिक (सामन्त) राजाहरु थिए । तिनीहरु ठूला राजाको मातहतमा रहन्थे । माण्डलिक राजाहरुले आफ्नो नामको पछाडि ‘पाल’ पदवी लेख्ने गर्दथे भने छत्रधारी कत्यूरी सम्राटले आफ्नो नामको पछाडि ‘देव’ पदवी लेख्ने गर्दथे । समयको अन्तरालसँगै बिराट कत्यूरी साम्राज्य स–साना माण्डलिक राज्यहरुमा विभक्त हुन पुग्यो । त्यसपछि यस भू–भागमा पालहरुको राज्य स्थापना भयो । तर ई.सं. ७०० पछि पाल राज्यहरुको विघटन हुन गएपछि पालहरुको अधिनमा रहेकोे भू–भागहरु पालहरुबाट छुट्न गयो (पाण्डे, १९९०ः१८३, २११) । पालहरुबाट छुटेका भू–भागलाई ‘पाल–पा’ भन्ने गरियो । मगर भाषामा ‘पा’ भन्नाले ‘छुटेको’ भन्ने बुझाउँछ (श्रेष्ठ, २०४४ः१३६) । पाल राजाहरुको अधिनबाट छुटेको भू–भाग हुनाले त्यस भू–भागको नाउँ ‘पाल–पा’ रहन गयो । ‘पाल–पा’ बाट ‘पालपा’ हुँदै ‘पाल्पा’ रहन गएको हो । पालवंशको राज्य विघटन भए पछि खशवंशको राज्य स्थापना भयो । आर्य परिवारकै एक शाखा खशजातिले ईसापूर्व सहस्राब्दीमा भारतमा प्रवेश गरेका थिए । हिन्दु पौराणिक ग्रन्थहरुमा खशहरुलाई भारतवर्षको पश्चिमोत्तर पहाडी भू–भागमा बस्ने तङ्गण, कुलिन्द, दरद, किरात, शक, तुखार, काश्मीर आदि जातहरु जस्तै हुन् भनेर उल्लेख गरिएको छ (अधिकारी, २०५३ः२) । कल्हनद्वारा लिखित ‘राजतरंगिणी’ मा पनि काश्मीरमा खशहरुको बसोबास रहेको विस्तृत वर्णन गरिएको छ (Pandit, 2006:243, 257, 327, 523) ।

करिब पाँचौंशताब्दीदेखि नै खश आर्यमूलका मानिसहरु कुमाऊँबाट पश्चिम नेपालमा प्रवेश गरिसकेका थिए । बाह्रौं शताब्दीमा खशराज्य स्थापना हुनुभन्दा पहिले नै कर्णाली प्रदेशका पहाडी इलाकामा खशहरुको बसोबास रहेको थियो (अधिकारी, २०५३ः६,७) । बाह्रौंशताब्दीको प्रारम्भतिर नागराजले खशराज्यको स्थापना गरेका थिए (नाथ,२०१३ः५९) । खारी प्रदेशबाट आएका नागराजले सेञ्जा (सिञ्जा) लाई राजधानी बनाई पश्चिम नेपालमा खशराज्यको स्थापना गरेका थिए (नाथ, २०१३ः१४९) । अशोकचल्लका पालामा खशराज्यको सिमाना पूर्वमा नारायणी नदीदेखि पश्चिममा सतलजको चुरे श्रृंखलासम्म फैलिनुका साथै उनको साम्राज्य कर्णाली प्रदेश, गण्डकी प्रदेश, खारी प्रदेश, केदारखण्ड (कुमाऊँ–गढवाल) साथै लद्दाखसम्म फैलिएको थियो (अधिकारी, २०५३ः४२,४३) ।

खशराज्यको उदय पछि पालहरु सामन्तको रुपमा रहन थाले । जयपाल द्वितीयका छोरा पुण्यमल्लको विवाह खश राजकुमारी शकुनमालासँग भए पछि खश राजपरिवारसँग पालहरुको वैवाहिक सम्वन्ध कायम हुन गयो । पालहरुसँग राज्य संचालन गर्ने अनुभव र दक्षता भएकोले खशराजाहरुले पालहरुको सर सल्लाह र सहयोग लिने गर्दथे । पालहरुले गोह, बिषय, झुमकार, गेला र पाल्पा आदि स्थानहरुमा प्रशासक भएर खशराज्यलाई सघाउने गरेका थिए (अधिकारी, २०५३ः१९) । सेञ्जापति पुण्यमल्लको समयमा देवमानववंशका मगरराजाको राज्य थियो । अघि दुईसय मगरराज्यहरु थियो । पछि बाह्रभाइ मगरराजाहरु मात्र रहन गए पछि यस भू–भाग ‘बाह्र मगरात’ को नाउँबाट परिचित हुन पुग्यो । हिमवत्खण्डका किरात, मगरात, खसान र जडान चार प्रदेशमध्ये त्रिशूलीमा ढल्ने पानी ढालदेखि कालीगण्डकीमा ढल्ने पानी ढलो ‘मगरात गण्डकी प्रदेश’ को नामाकरण भई दक्षिणतिरको भेकलाई ‘मगरराज्य’ र उत्तरतिरको भेक गुह्यकवंशका ‘गुरुङ्गराज्य’ बाट परिचित हुन गएको थियो (नाथ, गुरुङ्ग, २०२०ः२६) । शाके १२५८ तिरको जगज्ज्येष्ठ अपाडराज जुम्ला सेँजाधिराज पुण्यमल्लदेवको कनकपत्रमा ‘मगर’ संम्वोधन गरी विर्ता दिइएको उल्लेख छ (नाथ, २०२२ः७६१) । यी दुई सन्दर्भले खश अधिराज्यमा मगर र पालराजाहरु माण्डलिक/सामन्त राजाको रुपमा देखिन्छ ।

जब दक्षिणमा मौर्य साम्राज्यको उदय भयो तब सौह्र महाजनपदको विघटन हुन थाल्यो । त्यसैबखत नेपालमा लिच्छवीहरुको प्रवेश हुन थाल्यो । प्राचीनकालमा विशाल भू–भागमा फैलिएको लिच्छवीराज्य मध्यकालसम्म आई पुग्दा लिच्छवीहरुले आफ्नो राज्यको सरहदलाई कायम राख्न सकेनन् । भारतमा गुप्त साम्राज्यको पतनसँगै विभिन्न राज्यहरुको उदय भए जस्तै त्यही समयको सेरोफेरोमा नेपालको लिच्छवीवंशको शासन पनि पतन हुन गयो । बाह्रौशताब्दीको पूर्वाद्वमा खसराज्यको स्थापना, पन्ध्रौं शताब्दीको उत्तराद्र्वमा खसराज्यको विघटनसँगै कर्णाली प्रदेशमा बाइसी र गण्डकी प्रदेशमा चौवीसी राज्यको उदय भयो । यसैताका पाल्पा जिल्लाको साविकको कुसुमखोला गा.वि.सं. वडा नं. ६ मा अवस्थित रिब्दीकोटमा स्वतन्त्र ‘सेन’ रियासतको स्थापना भयो ।

मुसलमानहरुको आक्रमण भए पछि तुथा (तुला) रायसेनले राजपुरमा आई ‘राजपुरराज्य’ खडा गरेका थिए । सो राज्यको सरहद चुरेको तलहट्टिको ठूलो भागलाई ओगट्नुका साथै रिब्दीकोटसम्म फैलिएको थियो । उनका सन्तान रुद्रसेन (वि.सं. १५५०–१५७५) पाल्पाका राजा भए (सेन, २०५९ः१,२) । रुद्रसेनका छोरा मुकुन्दसेन प्रथम बडो प्रतापि थिए । उनी ‘मुनि मुकुन्दसेन’ को नामले प्रख्यात भए । उनले पूर्वमा कोशी नदीदेखि पारि र पश्चिममा हरिद्वारसम्म आफ्नो राज्यको सरहद विस्तार गरेका थिए (रिजवी, १९८८ः३१) । साथै उनको पालामा अवधका नवाबबाट राजपुर र तिलपुर क्षेत्र उपहार स्वरुप पाए पछि पाल्पाराज्यको सरहद राजपुर र तिलपुरसम्म फैलिन पुगेको थियो (श्रेष्ठ,२०५८ः४७) । उनका सन्तान मुकुन्दसेन द्वितीयको पालामा पाल्पाराज्यको सिमाना उत्तरमा कृष्णगण्डकीसम्म विस्तार भएको थियो । उनका छोरा महादत्तसेनले पाल्पाराज्यको राजा भई वि.सं. १८३९ देखि १८५० सम्म राज्य गरेका थिए ।

पृथ्वीनारायण शाहले मकवानपुर, चौडण्डी, विजयपुर र टिस्टासम्म राज्यविस्तार गरी वि.सं. १८३१ माघ १ का दिन परलोक भए । पृथ्वीनारायण शाहको मृत्यु पश्चात पृथ्वीनारायणका छोरा प्रतापसिंह शाह २ वर्ष १० महिना ५ दिन मात्र राज्यभोग गरी परलोक भएपछि २ वर्ष पूरा भई ३ वर्ष मात्र लागेका रणबहादुर शाहलाई सिंहासनमा राखी बहादुरशाहले राजप्रतिनिधि भई राजकाज चलाउन थालेका थिए (थापा, २०५५ः भूमिका) । दरबारमा खचपच, षड्यन्त्र, खिचलो र महारानीहरुको प्रभाव (petticoat influence) चलिनै रहेको थियो । महारानी राजेन्द्रलक्ष्मीको नायवीकालमा नै कास्की दखल भैसकेको थियो तर कालीपारको चौबीसे राज्यहरुलाई विजय गर्न पाल्पासँग मित्रता नगरी सम्भव थिएन् । यस कुरालाई ध्यानमा राखी बहादुरशाहले पाल्पाका राजा महादत्तसेनकी छोरीसँग विवाह गरेका थिए (Hamilton, 1990:173) । शक्तिशाली पाल्पाराज्यसँग गोर्खालीहरुको वैवाहिक सम्वन्ध जोडिएपछि गोर्खालीहरुलाई पश्चिमतिर राज्यविस्तार गर्न सहज हुनुका साथै मद्दत पनि पुग्न गयो । त्यस अभियानलाई सघाउन महादत्तसेनले आफ्ना सरदार उपेन्द्रसिं कार्कीलाई पठाएका थिए ।

काजी दामोदर पाँडेको प्रधान सेनापतित्वमा हाँकिएको नेपाल फौजले वि.सं. १८४३ जेष्ठ १० गते कृष्णागण्डकी तरी गुल्मी कब्जा गर्यो । वि.सं. १८४३ साल भाद्रमा चन्द्रकोट, अर्घा खाँची गोरखाली फौजले हात पारी वि.सं. १८४३ साल आश्विन ४ गते धुरकोट, इस्मा जिती कीर्तिबम मल्लसँग लड्न पर्वततिर गोर्खाली फौज लाग्यो । इस्मा कब्जा गरेको दशै दिनमा पर्वतराज्य गोर्खालीको हात पर्यो । यस लडाइँमा काजी दामोदर पाँडे लगायत काजी अभिमानसिंह बस्नेत, काजी जगजित पाँडे, सरदार अमरसिंह थापा, सरदार प्रबल राना, सरदार अमरसिंह राना र सुब्बा फौदसिंह थिए । गोर्खाली फौजले वि.सं. १८४३ साल कार्तिक १९ गते प्यूठान सर गरी माघ ७ गते भेरी साँध लगाए । त्यसपछि सजिलै दाङ र रोल्पामाथि पनि विजय प्राप्त भयो । राज्यविस्तार अभियानमा सघाए बापत पाल्पालाई गोर्खालीबाट विजित गुल्मी, अर्घा र खाँची तीन राज्य उपहार स्वरुप महादत्तसेनलाई दिइएको थियो (पाँडेक्षत्री, २०३४ः६८) । यसको साथै बहादुरशाहले पाल्पाली राजा महादत्तसेनलाई सुनको छाता आदि सम्पूर्ण राजचिन्ह, सुनमा हीरा आदि नवरत्न जडिएका दुईवटा माला, मोतीका कुण्डल, मोतीका हार, पगरी लगायत सबै लगाउने लुगा, १०१ हात्ती, १००१ असल घोडा साथै सय भारी रुपियाँ पनि दिएका थिए (बज्राचार्य र पन्त, २०२२ः५२) । आफ्नो राज्यको सीमा विस्तार भएपछि महादत्तसेनले वि.सं. १८४४ मा राजधानीको रुपमा ‘श्रीनगर’ शहर बसाएका थिए । उनले तानसेनको टुँडीखेल मुनिको वटुक भैरब, पौवा आदि निर्माण गर्नुका साथै नगरको मध्यभागमा स्वामीनारायणको मन्दिर (हालको अमर नारायण मन्दिर) निर्माण गरेका थिए ।

पाल्पा राज्य नेपाल अधिराज्यमा विलयः

वि.सं. १८५० सालमा पृथ्वीपालसेन पाल्पाको राजा भएका थिए । उनको पालामा पाल्पाराज्यको सिमाना उत्तरमा गण्डकी र दक्षिणमा अवधसम्म फैलिएको थियो । दामोदर पाँडे मारिएपछि रणबहादुर शाहले दामोदर पाँडेका नजिक मानिने पाल्पाली राजा पृथ्वीपालसेन र गढवाली राजा प्रद्युम्नशाह समेत दुवै राजालाई सर्वनास गराउन खोजेका थिए । गढवाली राजा प्रद्युम्नशाह भौगोलिक रुपमा टाढा रहेकोले वि.सं. १८६१ वैशाख महिनाको आधा आधिमा चौतारिया हस्तदल शाहलाई सेनापति र वडाकाजी अमरसिंह थापालाई उनका सहायक बनाइ गढवाल हान्न पठाए । साथै उनीहरुको मद्दतको लागि पृथ्वीपालसेनका पाल्पाली सेना सहित सर्दार शशीधर टंडनलाई लैजाने काम भएको थियो । यसबाट पाल्पामा सैनिक शक्ति कमजोर हुन गयो । यही मौका छोपी तिम्री बहिनी बिहे गर्छु भनि पृथ्वीपालसेनलाई रणबहादुर शाहले काठमाण्डौं बोलाए । आफ्नू भाइ चौतरिया रणबहादुरसेनका साथ बहिनीलाई पठाएका थिए । तर पछि रणबहादुर शाहको अति आग्रह गरे पछि मनले नमान्दा नमान्दै वि.सं. १८६१ साल जेष्ठ महिनाको आधा आधिमा काठमाडौँमा उत्रे । शहरभित्र पस्न नपाउदै पृथ्वीपालसेन र उनका अंगरक्षकहरुलाई पक्री ललितपुर राजभवनमा लगेर नजरबन्द गरे । पर्सिपल्ट काठमाडौंबाट पाल्पाराज्य माथि अधिकार गर्न भनी साना काजी अमरसिंह थापा (भीमसेन थापाका पिता) र दलभञ्जन पाँडे सैन्यदलका साथ पाल्पा लागेका थिए (पन्त, पन्त, २०४१ः८) । साना काजी अमरसिंह थापाको नेतृत्वमा गएको फौजले पाल्पालाई नेपाल अधिराज्यमा विलय गराए । करिब पाँचशताब्दीसम्म सेनवंशले राज्य गरेको पाल्पाराज्य सेनवंशका पछिल्ला राजा पृथ्वीपालसेनको पालामा इतिहासको पानामा समेटिन पुग्यो ।

सरहद फैलिने र खुम्चिने क्रमः

पाल्पाराज्य नेपाल अधिराज्यमा विलय भएपछि पनि पाल्पाको सरहद फैलिने र खुम्चिने क्रम जारि नै रह्यो । राणाकालमा गुल्मी, अर्घा, खाँची, ईस्मा, मूसीकोट, पर्वत, गलकोट, धुर्कोट, समेत गरी नौ जिल्लाको गौंडा पाल्पालाई बनाइएको थियो । वि.सं. २००७ सालको परिवर्तनपछि अरु जिल्लाहरुको अलग पहिचान कायम भएपछि नयाँ पहिचान बोक्दै पाल्पा एउटा अलग जिल्लाको रुपमा स्थापित हुन पुग्यो । त्यसपछि पनि पाल्पाको सिमारेखा खुम्चने क्रम थामिएन् । वि.सं. २०३२ सालतिर पाल्पा जिल्लाको पूर्वी भेकका नुवाकोट, कोर्थर, डाँडाझिरी टाँडी, बुलिङ्गटार, अर्खला, रुद्रपुर धोवादी, जौबारी भारतीपुर, मीथुकरङ्ग, रुचाङ्ग वेनी, मनीपुर (सर्दी), भूस्सेकोट आदि एघार गाउँ पञ्चायतहरु परासी जिल्लामा गाभियो । हाल मौजुदा १३७३ वर्ग कि.मि. (१,३६,५७७ हेक्टर) क्षेत्रफलको भू–भागमा पाल्पा जिल्ला समेटिएको छ । नयाँ राज्यसंरचना तहत् पाँच नं. प्रदेश अन्तर्गत आठवटा गाउँपालिका, दुईवटा नगरपालिका गरी पाल्पा दशवटा स्थानीय तहमा व्यवस्थित गरिएको छ ।

खचपच सुरुः

पाल्पाराज्य नेपाल अधिराज्यमा विलय ता भयो परन्तु पाल्पा विजय नेपाललाई शुभदायक भएन । आफ्ना मित्र राजासँग यस्तो व्यवहार देखिएपछि अरु आश्रित राज्यहरुले शत्रुको कुरा सुनी भड्कन थालेका थिए (पाण्डेय, पन्त, २०६०ः११०) । अर्कोतिर गोरखालीको राज्यविस्तार अभियानलाई न चीनलाई न कम्पनी सरकारलाई नै चित्त बुझेको थियो । दुवै सरकारले यो अभियानलाई रोक्न खोजिरहेको थियो । खास गरेर यस विषयमा ईष्ट इण्डिया कम्पनीले बढी चासो लिएकोे थियो । आफूलाई अब्बल दर्जाको ठान्ने, कहिल्यै पनि दोस्रो नमान्ने सोच बोकेका अंग्रेजहरु आफ्नो अगाडि नेपालीहरुको चहचह देखी सहन्नथे । जसरी भएपनि मिनमेख पार्ने ताकमा कम्पनी सरकार लागेको थियो (Dhanalaxmi, 1981:15) । नेपाल अधिराज्यमा पाल्पाराज्य विलय भएपछि सेनहरुले भोग गर्दै आएको बुटवल, स्यूराज लगायत गोरखपुर, बरेली, सारन, पूर्णिया आदि सिमावर्ती एकसय बाइस मौजाको विषयलाई लिएर कम्पनी सरकार र नेपाल सरकार बीच खचपच सुरु हुन थाल्यो । पच्चीसदिन भित्र नेपाल सरकारले बुटवलको भू–भाग नछाडे कम्पनी सरकारले सो ठाउँमा अधिकार गर्ने छ भन्ने हाँक सहितको आशयपत्र वि.सं. १८७० साल फाल्गुन महिनामा नेपाल सरकारलाई पठाएको थियो । तर नेपाल सरकारले छलफल नै गर्न नपाउदै वि.सं. १८७१ साल बैशाख १० गतेका दिन बुटवलमा रहेको चौकी माथि आक्रमण गरी दुई/चारजना नेपाली रक्षकहरुलाई हताहत गर्नुका साथै कम्पनी सरकारले बुटवललाई आफ्नो कब्जामा लिएको थियो । कम्पनी सरकारले बुटवल कब्जा गरे पछि पाल्पाका तैनाथवाला साना काजी अमरसिंह थापाले बुटवल फिर्ता गर्न वि.सं. १८७१ साल जेष्ठ १० गतेका दिन बुटवलतिर लागेका थिए । बुटवललाई कम्पनी सरकारबाट खोसेर बुटवलमा आफ्नो चौकी खडा गरेका थिए (थापा, २०६०ः१४,१५) । पाल्पाका तैनाथवाला साना काजी जनरल अमरसिंह थापाको मृत्यु वि.सं. १८७१ साल कात्र्तिक ७ गते महाअष्टमीका दिन ५५ वर्षको उमेरमा पाल्पामा भयो (पन्त, २०२२ः६८) । तर एउटा हस्त लिखित पुस्तकमा साना काजी अमरसिंह थापाको मृत्यु ‘…आश्वीन मैन्हामा जनरल अम्वरसिं थापा षस्या’ भनि उल्लेख छ । उनको मृत्यु भएको बीसदिनका दिन उनका माहिला छोरा नयनसिंह थापाका जेठा छोरा वर्ष १९ का उजीरसिंह थापा पाल्पाको तैनाथी लिएर कार्तिक २६ जाँदा काठमाडौंबाट पाल्पा रमाना भएको वि.सं. १८७१ साल कार्तीक वदि ९ रोन १ मा भगीरथ जैसीलाई लेखेको रुक्कापत्रमा उल्लेख छ ।

आङ्ग्लो नेपाल वार हुनु अघिको नेपालः

संसारमा ‘किलाबन्दी युद्ध’ एकसय छ्यासठ्ठी वर्षैसम्म चलेको थियो (Duffy, 1979:8) । गढीको निर्माण र किलाबन्दी युद्धको युद्धकलालाई अवलम्बन गरी राज्यविस्तार अभियानमा नुवाकोटको लडाई, कीर्तिपुरको लडाई, मकवानपुरको लडाई, सिन्धुलीको लडाई, किल्ला काँगडाको लडाईहरु लडिएका थिए । यसै गरी नेपाल, चीन–तिब्बत युद्ध र दोश्रो नेपाल–तिब्बत युद्ध, नालापानी, जैथक, देउथल युद्धहरुमा पनि यही युद्धकलालाई अपनाइएको थियो । वि.सं. १८०१ देखि वि.सं. १८६९ साल तक ६८ वर्षसम्म एकपछि अर्को गरी ७८ गोटा लडाईहरु लडिएको थियो (पाँडेक्षत्री, २०४४ः१३३) । नेपालले जति युद्धहरु लडे आफ्नै बलबुतामा लडे, आफ्नै धरातलमा उभिएर लडेकोे थियो । त्यसताका नेपालको आर्थिक अवस्था बलियो थियो । कसैको जि–हजुरी गर्नु पर्ने अवस्था थिएन् । सिमित आवश्यकता थियो, सिमित साधनले नै थेग्ने हुँदा नेपाल आत्मनिर्भर थियो ।

काँगडा किल्लाको घेरा सन् १८०९ अगस्ट २४ का दिन छोड्नु परेपछि गोर्खालीको राज्यविस्तार अभियान थामिन गयो । सन् १८६३ आश्विनमा काँगडाको किल्लामा काजी नयनसिंह थापाले वीरगति प्राप्त गरेपछि गोर्खाली पक्ष कमजोर हुँदै गयो । तर काँगडाको किल्लामा अन्तिम हमला गर्ने निधो गरी शुरुमा गणेश घाँटी, त्यसपछि गोर्खाली टिला र अन्तिम युद्ध मालकाण्डामा भयो । मालकाण्डाको युद्धमा गोर्खालीहरुको हार भए पछि काँगडा किल्ला छोड्नु पर्यो । राज्यविस्तारको क्रममा नेपालीले रणकौशल, धीरता र वीरतालाई अगाडि सार्दै त्यस नदीको किनारसम्म पुगेका नेपाली सेनाले काँगडाको गढ रणजित सिंहलाई बुझाई सतलज पार गर्दा नेपाली फौजका प्रत्येक जवानले गहभरि आँशु बोकेका थिए । काँगडागढ छोड्नु परेतापनि पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्मको भू–भाग नेपालको सरहद भित्र नै थियो (शर्मा, २०४९ः३७५,३७८,३७९) ।

ईस्ट इण्डिया कम्पनीः

सन् १५९२ मा ‘माडरे डि डिवस’ नामको भारतीय मालमत्ताल बोकेको ठूलो पोर्चुगिज पानीजहाजलाई अंग्रेजहरुले आफ्नो नियन्त्रणमा लिएका थिए । एकलाख पचास हजार पाउण्ड जति मूल्यको सामान बोकेकोे उक्त जहाजमा बहुमूल्य रत्न, मसला, सिल्क, नैनसुत, कोरा कपडा, गलैचा, दोलाई, रंग, चिनिया माटोले बनेको भाँडाहरु, हात्तीका दाँत जस्ता बहुमूल्य बस्तुहरु र नरिवल आदि सामानहरु रहेको थियो । यी सामानहरु देखेर अँग्रेज व्यापारीहरु पूर्वमा व्यापार गर्न लालायित हुनुको साथै हौसिएका पनि थिए । व्यापारीहरुले पूर्वमा व्यापार गर्न शाही अधिकारपत्र (चाटर्ड) प्राप्त गर्न सरकारलाई दबाब दिन थाले । ‘जति सक्दो हाम्रो ब्रिटिस अधिराज्यको गौरव बढाउदै जहाजरानीको विकास र विस्तार साथै व्यापारमा प्रगतिको खातिर …….’ भन्ने उद्घोषका साथ सन् १६०० डिसेम्बर ३१ तारिखका दिन ऐलिजावेथ प्रथमले ‘गर्वनर एण्ड कम्पनी अफ मर्चेन्ट ट्रेनिङ्ग इन टु दि इन्डिज’ लाई पूर्वी द्वीपमा एशिया र अफ्रीका देश साथै त्यसका बाटोहरुमा पर्ने सबै हिन्दद्वीपहरुका बन्दरगाहाहरु, जहाजहरुको आश्रयस्थलहरु, शहर, खाडीहरु, गाउँहरु एवम् एशिया र अफ्रीकाको विभिन्न स्थलहरु अनि अमेरिका र त्यसको भित्री भाग साथै त्यहाँबाट बोना ऐपेरोन्जाको अन्तरीय पार (प्रान्त भाग) देखि मेगेलनको जलसन्धिसम्म स्वतन्त्र रुपले व्यापार गर्न अधिकारपत्र (चाटर्ड) प्रदान गरे । सन् १६६१ मा लिन्डेनहल स्ट्रिट लण्डन स्थित ज्याकोविन हाउस लिजमा लिई ईष्ट इण्डिया कम्पनी हाउसबाट व्यापारिक साम्राज्य चलाउदै आएको ईष्ट इण्डिया कम्पनीले ९ अगस्त, १६८३ ई.सं. मा अधिकारपत्र नवीकरण गर्दा कम्पनीलाई एशिया, अफ्रीका र अमेरिकामा कुनै अन्य शक्तिको विरुद्ध युद्ध घोषणा गर्न, उसँग शान्ति सम्झौता गर्न, सैनिक शक्ति वृद्धि गर्न एवम् आफ्नो सुरक्षाको लागि सैनिक नियम घोषित गर्ने अधिकार पनि दिइएको थियो । १५/१५ वर्षमा अधिकार पत्र नवीकरण गर्दै व्यापार गर्दै आएको कम्पनीले सन् १७०९ मा आफ्नो अधिकार पत्र ब्रिटिस महारानीलाई फिर्ता गरी नयाँ कम्पनी ‘दि युनाइटेड कम्पनी अफ मर्चेन्टस आफ इङ्गलायण्ड ट्रेनिङ्ग टू दि ईष्ट इण्डिज’ नामबाट व्यापार शुरु गर्न थाल्यो । पछि सो कम्पनी ‘ईष्ट इण्डिया कम्पनी’ बाट चिनियो (Woodford,1979:19) ।

व्यापार गर्ने उद्देश्य लिएर भारत पसेका अँग्रेजले सन् १७५६ मा कलकत्ताको विलियम फोर्टमा पकड जमाए पछि कम्पनी सरकार व्यापारीबाट बादशाहीमा परिणत हुन गयो (Ashton, 1987:14) । सन् १७५७ मा कम्पनीले स्थानीय शक्ति प्राप्त गर्न संघर्षरत रहनुका साथै सैनिक शक्तिको जोहो गर्न थाल्यो (OʼBrien, Williams, 2007:68) । सन् १७६५ मा शाह आलमबाट ईष्ट इण्डिया कम्पनीले गभर्नरीको अधिकार पाएपछि कम्पनी एउटा व्यापारिक संस्थामा मात्र सिमित नरही राजनैतिक संस्था पनि बन्न पुग्यो (Judd, 1972:13) । कम्पनीद्वारा भारतमा राजनैतिक सत्ताको प्रयोग आफ्नै तौर तरिकाले गर्न थाले पछि कम्पनी सरकारको ब्रिटेनमा विरोध हुन थाल्यो । संसदबाट कम्पनी माथि हस्तक्षेप गर्नु पर्छ भन्ने आवाज उठ्न थाल्यो । कम्पनीका कर्मचारीहरु भ्रष्ट हुनु, बंगाल विहार र उडीसामा नीजि व्यापार चलाउनु, घुस लिनु, अनि घुस लिएर जोडेको पैसाले धनी बनी इंग्लैड गएर संसदमा आफ्नो प्रभाव जमाउनुका साथै निर्वाचनमा भाग लिनु, सन् १७६९ मा मैसुरको सुल्तान हैदरअलीसँग कम्पनी सरकार लडाईमा हारेपछि उनको सबै सर्तहरुलाई स्वीकार्नु, गभर्नरी अधिकार पाएपछि वंगालमा उठ्ने राजस्व अनुमानित रकम ४० लाख पौंड थियो । त्यस आम्दानीमा सबै खर्च कटाइ खुद आम्दानी १६ लाख ५० हजार हुने अनुमान गरी सन् १७६६ मा कम्पनीका मालिकहरुलाई दिई रहेको ६ प्रतिशत लांभाश बढाएर १० प्रतिशतमा पुर्याउनु र त्यो लांभाशको दर सन् १७६९ मा आइपुग्दा १२.५० प्रतिशतसम्म पुर्याएको थियो । तर पछि फाइदा असत्य भएको र कम्पनी टाट पल्टने अवस्थामा छ भन्ने हल्ला हुनु, आम्दानीबाट ब्रिटिस सरकारलाई सालाना ४ लाख पौण्ड तिर्नु पर्ने टेक्स नतिर्नुका साथै सन् १७७३ सम्म आई पुग्दा कम्पनीको आर्थिक अवस्था बिग्रिए पनि कम्पनीको ६० लाख पौंड प्रति वर्ष नवाव मुगल सम्राट र भारतीय देशी शासकहरुलाई निजी फाइदा लिने हिसाबले सहायतामा खर्च गर्नु, तीस हजार सैनिकलाई पाल्नु पर्ने खर्चको बोझ अनि त्यसको व्यवस्था गर्न ब्रिटिस सरकारसँंग रकम माग्ने काम गर्न थाल्नु आदि विरोधको आवाज उठ्नुको कारण थियो । ब्रिटेनमा कम्पनीलाई ब्रिटिस सरकारको मातहतमा ल्याउनु पर्ने माग उठ्न थालेको थियो । सन् १७७३ मा ब्रिटिस संसद यिनै परिस्थितिबाट बाध्य भएर रेग्युलेटिंग अधिनियम स्वीकृत ग¥यो । त्यस पछि भारतमा ब्रिटिस राजको प्रारम्भ हुन गयो । यस अधिकारपत्रको नवीकरण गर्ने अवधि २० वर्ष थियो । यसै अनुरुप सन् १७९३ सम्म नवीकरण गरेर व्यापार गर्दै आएको कम्पनीले सन् १८१३ मा अधिकारपत्र नवीकरण गर्दा चीनसंगको व्यापार र चिया व्यापारमा मात्र एकाधिकार कायम भई अन्य व्यापार गर्नमा ब्रिटिस नागरिकहरुलाई पनि खुल्ला गरिएको थियो ।

आफ्नो स्थापनाकालदेखि नै हतियार र युद्धको आडमा व्यापार र राज्यविस्तार गर्न हौसिएको ईष्ट इण्डिया कम्पनीको चाल देखेर सन् १६१५ मा राजा जेम्सका राजदुत भएर जहाँगीरको कोर्टमा आएका उच्च घरानिया सर थोमस रो ले कम्पनीलाई चेतावनी दिदै ‘ईष्ट इण्डिया कम्पनी’ ले आफ्नो पैसा ठूलो फौजी संरचना र सैनिक विस्तारमा खर्चिनु हुँदैन यदि आम्दानी खोज्ने हो भने बिना विवाद फौजको तैयारी र इण्डियामा जमिन युद्ध नगरी समुन्द्रमा खोज्नु, विशुद्ध व्यापारमा खोज्नु’ भनेका थिए । कम्पनी सरकारले बिना कारण मराठा र रोहिलासँग युद्ध घोषणा गरेको र ब्रिटिस सरकारसँग कुनै आज्ञा नलिई गरिएको युद्धमा ब्रिटिस सरकारको धेरै रकम खर्च भएको थियो । साथै सन् १७८४ मा कम्पनीले ठूलो घाटा भोगेपछि विलियम पीट्सबाट प्रस्तावित इण्डिया ऐक्ट १७८४ अन्र्तगत कम्पनी उपर ब्रिटिस पार्लियामेन्टले नियन्त्रण गर्दै मद्रास, बम्बई र कलकत्तामा गभर्नर जनरल नियुक्ति गरी सो क्षेत्रमा नियमन गर्न थाल्यो । सर थोमस रो को ‘विशुद्ध व्यापार नीति’ जस्तै विलियम पीट्सको ‘शान्त प्रशमशील सिद्धान्त’ जुन बिना कुनै अर्र्घेल्याइ, बिना राजनैतिक हस्तक्षेप र सत्यतामा आधारित ‘पूजीवादी सपना’ मा अडिन दिएको सल्लाहलाई बेवास्ता गरी आफ्नै धुनमा निरन्तरता दिदै कम्पनी ंसरकार अगाडि बढिरहेको थियो (दरडा, १९७२ः१५–४५) ।

कम्पनी सरकारले पहिलेदेखि नै आँखा गाडेको थियोः

अँग्रेजले नेपाल शासित कुमाऊँको भू–भाग हडप्न पहिल्यैदेखि नै योजनाबद्ध तरिकाले आँखा लगाइरहेको थियो । काशीपुरमा कम्पनी सरकारले भांग (अफिम) को कारखाना खोलेको थियो । त्यहाँ कम्पनी सरकारका अफिसर आउँदा कुमाउँको अलौकिक छवि देखेर अच्चम्भित पर्ने गर्थे । त्यहाँको जंगल, जलवायु र त्यहाँको साधारण परिस्थितिको निरीक्षण गर्नको लागि बैलेसीले मिस्टर गाटलाई ई.सं. १८०२ मा पठाएका थिए । सन् १८११/१२ मा मुरक्रेष्ट र क्याप्टेन हेरसी तिब्बतमा पक्रिएर छुटेर फर्केपछि उनीहरुले कुमाउँको प्राकृतिक संसाधन र प्राकृतिक छटाको वर्णन गरी रिपोट पेश गरेका थिए । सोही विषयमा गार्डनरले पनि रिपोट पेश गरेका थिए । इतिहासका पानाहरुमा हेस्टिङ्गका माक्र्यूस, फ्रान्सिस रुवाण्डा मोइरो काशीपुरको बाटो हुँदै कुमाउँ पुगेको पाइन्छ । कुमाउँको प्राकृतिक छटा, भूमि, जलवायु, प्राकृतिक संसाधन देखेर चकित हँुदै आफ्नो गोप्य रिर्पोटमा ‘मैले सपनीमा पनि कुमाउँको अद्भुत दृश्य एवम् हिमालयको नैसर्गिक छटालाई देख्ने गर्छु, साथै ईश्वरसँग प्रार्थना गर्दछु कि त्यो दिन छिटै आवस् जब यो सुन्दर देश हाम्रो हातमा आएको हुने छ ।’ भनी लेखेका थिए । यस विषयमा नेपालसँग हुने युद्धभन्दा पहिले नै कम्पनीको भारतीय कर्मचारीले कुमाउँलाई अंग्रेजी राज्यमा मिलाउने निश्चय गरी सकेका थिए (पाण्डे, १९९०ः४०५–४१५) ।

युद्धको तैयारीमा कम्पनी सरकारः

सन् १८१३ मा चार्टड नविकरण हुँदा ईष्ट इण्डिया कम्पनीको एकाधिकारलाई खुम्चाउँदै चीनसँगको व्यापार एवम् चियाको व्यापारमा मात्र एकाधिकार कायम गरी पूर्वीद्वीपमा व्यापार गर्न ब्रिटिस नागरिकहरुलाई पनि खुल्ला गरिएको थियो । ब्रिटेनमा चिया पिउने चलन सन् १६६४ ताका सुरु भएको थियो । सन् १७८३ मा चियाको खपत ६ मिलियन पाउण्ड थियो । पछि चियाको खपत बढेर १५ मिलियन पाउण्ड पुगेको थियो (OʼBrien, Williams, 2007:69) । यस्तो नाफामूलक व्यापारको लागि नयाँ परिवेशमा चीन जाने सुगम बाटो र चिया खेतीको लागि अनुकूल भूमिको कम्पनी सरकारलाई आवश्यकता थियो, जुन भूमि बृहत् नेपालको सरहद भित्र थियो । नेपालसँग सजिलै उक्त भूमि प्राप्त गर्न सकिदैन भन्ने कुरा कम्पनी सरकारले बुझेको थियो । सेनहरुले बुटवल, स्यूराज लगायत त्यसको सेरोफेरोको भू–भागलाई अवधको नवाबलाई रकम तिरेर उपभोग गर्दै आएका थिए । अवधका नवाव आसिफद्दौलाको मृत्यु पछि अवध कम्पनी सरकारको षड्यन्त्रको केन्द्रविन्दु बन्न गयो । पहिले त नवाव वजिर अली खाँलाई उनको उत्तराधिकारी बनाइएको थियो । तर जब नवाव सआदत अली खाँले कम्पनी सरकारलाई आधा राज्य दिने मञ्जुर गरेपछि वजिर अली खाँलाई बन्चित गरी नवाव सआदत अली खाँलाई सिंहासनासीन गरिदिए । अवधमा राजस्व नउठ्नु, राज्यमा शान्ति सुव्यवस्था कायम गर्न नसक्नु एवं कम्पनी सरकारसँग लिएको ऋण तिर्न नसक्नाका कारणले अवधका वजीर नवावले सन् १८०१ मा गोरखपुर र त्यसका आसपासका क्षेत्रलाई कम्पनी सरकारलाई सुम्पिसकेको थियो (भट्टाचार्य,२००१ः२४,२५) । यसैले कम्पनी सरकारले बुटवलसम्मको भू–भाग दाबी गर्दै आएको थियो । जुम्लाराज्य नेपाल अधिराज्यमा विलय भएपछि जुम्लाको अधिनमा रहेको मुस्ताङराज्य स्वतह नै नेपाल अधिराज्यमा विलय भएको थियो (Peissel, 1968:116,125,126) । यसलाई आधार बनाइ कम्पनी सरकारले दाबी गर्दै आएका भू–भाग पाल्पाराज्य नेपाल अधिराज्यमा विलय भएपछि सो भू–भागमा नेपालको हक हुनु पर्छ भन्ने नेपालको दाबी थियो । यसको साथै जनरल अमरसिंह थापाले कम्पनी सरकारको विरुद्ध पंजाव केशरी रणजितसिंहलाई कम्पनी सरकारलाई यस क्षेत्रबाट धपाउनु पर्छ भन्ने आसय सहितको तेह्र सवाल (बुँदा) समेटिएको पत्र लेख्नुले पनि कम्पनी सरकार नेपालसँग आगो भएको थियो । यहि बखत नेपाल सरकारसँग भएको सन् १८०१ को सन्धीको धारा ५ मा ‘दुई देशबीच सिमा सम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ उल्लेखित व्यवस्थालाई समेत लत्याई, अवहेलना गरी पूर्वको बाइस मौजा, बुटवल र स्यूराजको विषयमा खिचलो उठाई सन् १८१४ नवम्बरको १ तारिखका दिन हेस्टिङगका माक्र्युस गभर्नर जनरल फ्रान्सिस् रुवाण्डाले नेपाल विरुद्ध एकतर्फ युद्ध घोषणा गर्यो (Rahul, 1996:24) ।

कम्पनी सरकारले नेपाल माथि पाँचवटा नाकाबाट आक्रमण गर्नेे तैयारी गरेको थियो । सतलज र यमुना बीचको भू–भागलाई कब्जा गर्न रुपारबाट कर्णेल डेभिड अक्टरलोनी, देहरादुनको भू–भाग कब्जा गर्न सरहानपुरबाट मेजर जनरल रोवट रालो जिलेप्सी (जावाको युद्धमा वीरतापूर्वक भाग लिएकोले उनलाई ‘जावाका वीर’ भनिन्थ्यो, उनी नेपालसँग भएको युद्धमा मारिएका थिए), गोरखपुरबाट मेजर जनरल जोन सुलिभान उड, मकवानपुरको बाटो भएर काठमाण्डौ हान्न दानापुरबाट मेजर जनरल वेनेट मार्ले र कोशीदेखि टिस्टा नदीसम्मको क्षेत्र हेर्न क्याप्टेन वैरी ल्याटर खटाएका थिए । बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एकहजार अंग्रेजी सेना र तीन हजार हिन्दूस्तानी फौज लिई वनारस गोरखपुर, बुटवल हुदै पाल्पा हान्ने र नेपालको पश्चिमको अभेध किल्लाको रुपमा रहेका सैनिक अखाडाहरुलाई राजधानीसँगको सम्पर्क टुटाई दानापुरबाट आएको फौजसँग मिल्ने योजना गरी वनारसबाट गोरखपुरमा १५ नवेम्बर १८१४ इ.सं. का दिन आइपुगे । गोरखपुरमा गाजीपुरस्थित King’s 17th Regiment (पछि Leicestershires Regiment) र प्रताप गढबाट 8th Cavalry पनि थप गरिएको थियो । त्यसबखत यातायातको असुविधाले गर्दा हतियार र खरखजानाहरु गाढाबाट ढुवानी गर्नु पर्ने हुँदा रसद पानी र अन्य सामान ढुवानी गर्न कुल्लीको व्यवस्था गर्दागर्दै ढिलो भइसकेको थियो । सोही बखत आठहजार नेपाली फौजहरु लोटनमा हमला गर्दैछन् भन्ने हल्लाले जनरल उड झन हतोत्साही भएका थिए । आफ्नो पहिलेको योजना अनुसार लोटन, पाल्ही, मिनारी, स्यूराजलाई एकै पटक हमला गर्ने योजनालाई थाती राखी सबै छब्बीस कम्पनीका फौज र एघार वटा गन (ordnance) सहित बुटवल गौडा नै सबैभन्दा पहिले सर गर्ने निधो गरी बुटवलतिर बढेका थिए (Stiller, 1995:289,292,293) ।

नेपाल तर्फको तैयारीः

आङ्ग्लो नेपाल वारको पूर्वसंध्यासम्म आई पुग्दा नेपालले धेरै युद्ध लडी सकेको थियो । यस वेला साँच्चै भन्नु पर्दा नेपाल सुस्ताएको वेला थियो । त्यसबखत युद्धमा होमिनु नेपालको रहर थिएन्, वाध्यता थियो । कम्पनी सरकारले नेपाल उपर एकतर्फा युद्ध घोषणा गरे पछि नेपाल पनि आफ्नो तैयारीमा जुट्न थाल्यो । पूर्वतिर विजयपुरमा काजी भक्तवीर थापा, मकवानपुरमा कर्णेल रणवीरसिंह थापा सहित चौतरिया प्राण शाह, दलभञ्जन पाँडे, पाल्पामा कर्णेल उजीरसिंह थापा, डोटी, कुमाऊँ, गढवालमा चौतरिया बम शाह, पश्चिम यमुना प्रान्तमा काजी अमरसिंह थापा र देहराको रक्षाको लागि बलभद्र कुँवर खटिएका थिए (पाण्डेय,पन्त,२०६०ः१२४,१२५,१२६) । पाल्पाको सन्दर्भमा बुटवल बजारको छेउ भएर बग्ने तिनाउ नदीको किनारमा अवस्थित जीतगढीबाट जमिन अग्लिदै गएको पहाडको टुप्पामा नुवाकोटगढी थियो । सो गढी हुँदै पहाडै पहाड पाल्पा जाने बाटो छेकिने र हाल पाल्पा जाने बाटो (सिद्धार्थ राजमार्ग) कोे निगरानी पनि गर्न सकिने सामरिक दृष्टिकोणले महत्वको नुवाकोटगढीलाई मुख्य सुरक्षा मोर्चा बनाइएको थियो । साथै काठेगढी, जीतगढी र बुटवल फूलबारी दरबारलाई सहायक मोर्चाको रुपमा तैयार गरिएको थियो । वि.सं. १८१९ मा स्थापित सवूज कम्पनी, वि.सं. १८६९ मा सवूज पल्टनको नामले पुर्नगठित भएको थियो । जसले वि.सं. १८२४ सालमा ईष्ट इण्डिया कम्पनीसँग पौवागढीमा युद्ध लडिसकेको थियो भने वि.सं. १८४२ र १८४३ सालमा चौविसे राज्यसँंगको युद्धमा नुवाकोट, कास्की, प्यूठानमा आफ्नो रणकौशल, साहस र वीरता देखाई सकेको गौरवमय इतिहास बोकेकोे सवूज पल्टन सहित गुरुवक्स गुल्मको बल थपी प्रधानमन्त्री भीमसेन थापाले आफ्ना भतिजा कर्णेल उजीरसिंह थापा उक्त मोर्चामा खटाएका थिए । करिब ५०० नफ्रि भएको गुरुवक्स गुल्मको दुईसय जवान र सवूज पल्टनको पाँच टुकडी लिई वीरभञ्जन पाण्डे जीतगढीमा डटेका थिए (Stiller, 1995:289,292,293) ।

आङ्ग्लो नेपाल वारः

पाल्पालाई निशाना बनाइ अघि बढेको जनरल जोन सुलिमान उडले पाल्पा हान्न दुईवटा बाटोहरु अपनाएका थिए । पहिले पहाडै पहाड गएर नुवाकोटगढीलाई ध्वस्त पारी पाल्पा हान्ने, अर्को जीतगढीलाई ध्वस्त पारी हालको सिद्धार्थ राजमार्गको बाटो हुँदै पाल्पा हान्ने योजना बनाएका थिए । तर पहिलो योजना अन्तर्गत नुवाकोट पुग्दा नुवाकोटगढीको वरिपरि तीन माइलसम्म खानेपानीको अभाव भएको जानकारी पाए पछि उड अल्मलिएका थिए । सिउरा क्याम्पमा पाँच कम्पनी र एउटा तोप छोडी अरु सबै फौज र तोपहरु लिएर जनरल उडको नेतृत्वमा सन् १८१५ जनवरी ३ तारिखका दिन बुटवलतिर लागेका थिए । एकातिर घना जंगल, त्यसमा पनि ढड्डीले ढाकेको बाटो तय गर्न कम्पनी फौजलाई सकस परेको थियो । फौजले मार्च गर्दा बाटो बिराई जनरल उडसँग जम्मा तीन कम्पनी मात्र साथमा रहन गएको थियो । आफु पुगेको ठाउँबाट जंगल समाप्त भएको र ४०/५० गज पर किल्ला जस्तो पर्खाल देखेपछि जनरल उडले पथप्रर्दशकको रुपमा आएका कनकनिधि तिवारीलाई खोजे तर कनकनिधि तिवारीको कहीँ कतै पत्ता लागेन । जनरल उडले सेनाको सानो डफ्फा इन्जिनियरको एन्सायन स्टेफललाई किल्लाको रेकी गर्न पठाए । उनले वरिपरि हेर्दा किल्ला खाली जस्तो मानेर फर्कन मात्र के लागेका थिए, किल्लाभित्रबाट गोलीको पर्रा छुट्यो । एकदुई जना त्यहीँ ढले अरु ज्यान जोगाउँदै कुलेलम ठोके । केही समयपछि कम्पनीका फौजहरु एकत्र भएपछि जनरल उडले फौजलाई दुई ग्रुपमा बाँडे । एउटा ग्रुपमा ग्रेनेडियर र दुई कम्पनी दिई क्रोकरलाई कमाण्डर बनाए र अर्को ग्रुपमा युद्धको नेतृत्व स्वयम्ले लिएर फौजलाई अगाडि बढाए । दुवै पक्षबीच घमासान युद्ध भयो । किल्लाको दाहिने तिरबाट हमला गर्नेहरुको टोलीबाट सरदार सूर्य थापाले वीरगति प्राप्त गरे । किल्ला रहेको जमिनभन्दा माथिल्लो ठाउँमा पनि घमासान युद्ध भइरहेको थियो । यसैबखत कर्णेल उजीरसिंह थापा नुवाकोटमा रहेको बाकी सवूज र गुरुवक्स पल्टनका फौजलाई लिएर जीतगढीमा आई जितगढी भित्रैबाट युद्धको नेतृत्व गर्न थाले । लडाईमा कम्पनी फौजका वृगेड मेजर हैट र इन्जिनियरका लेफ्टिनेन्ट मोरिशन नराम्ररी घाइते भइसकेका थिए (Stiller,1993:53,54) ।

गोरखालीहरुको नफ्रि (सैन्य शक्ति) भन्दा कम्पनी सरकारको नफ्रि (सैन्य शक्ति) ज्यादा थियो । त्यसको बलमा अँग्रेजहरुले युद्ध ता लडिरहेका थिए तर नेपाली सेनाको साहस, वीरता, धीरता, रणकौशल र आत्मविश्वासलाई देखेर जनरल जोन सुलिभान उडको जोश हराइसकेको थियो । युद्ध परिणाममुखी नहुनु र अनिश्चित पनि भएकोले आफ्नो सहयोगी हार्डीम्यानसँग सल्लाह गरी युद्धभूमि छाड्ने आदेश (General Retieat) दिए । नेपाली फौजको वीरता, धीरता, साहस र रणकौशललाई नजिकबाट स्पर्श गरेका जनरल उडलाई एकातिर नेपाली फौजको गढी भित्र प्रतिकुल स्थिति भएको र अर्कोतिर नफ्रि कम हुँदै गएपछि नेपाली फौजले पहाडतिर लाग्ने तरखर गरेको आभास पटक्कै भएन् । अझ कर्णेल उजीरसिंह थापा बाकी फौज लिएर नुवाकोटगढी छोडी जीतगढीमा ओर्लिएपछि नुवाकोटगढी खाली भएको र नुवाकोटगढी पुग्न सजिलै भएको कुरा पारिपट्टिको बाटो (हाल राजमार्ग) हुँदै नुवाकोट रेकी गर्न पुगेका मेजर कोमिन फर्केपछि मात्र उडलाई जानकारी भयो । यस कुराले झनै जनरल उडलाई युद्धकलामा नेपालीहरुभन्दा आफू धेरै पछि परेको भान भयो (श्रेष्ठ,२०७५ः८) ।

कम्पनी सरकारको फौज नेपाली फौजसँग परास्त भई सूरजपुरा हुँदै जनवरी ३ तारिखका दिन लोटन पुग्यो । जनरल उडलाई जीतगढीको विफलताले पोलिरहेको थियो । जीतगढी हान्ने प्रयत्नमा नै उनी एकोहोरिएका थिए । बुटवलमा एकैपटक आक्रमण नगरी पहिले स्यूराज, तुल्सीपुरलाई सर गर्ने र त्यसपछि पूर्वतिर लाग्ने योजना बनाएका थिए । जनरल उडले कर्णेल उजीरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको चाल पाई यही मौकामा बुटवल माथि आक्रमण गर्नको लागि शक्ति केन्द्रित गर्न थाले । तयारी गर्न समय लागेकोले मार्च ६ का दिन लोटन आई पुगे । मनसुन सुरु भई सकेको र मौसम खराब हुँदै गएको थियो । वर्षातले तिनाउ नदी बढी सकेको थियो । नदी तर्न नसकी कम्पनी फौज तिनाउ नदीको पूर्वपट्टिबाट बढ्दै हालको खस्यौली बजारतिर आई पुगेपछि पारी बुटवल (हालको पुरानो बुटवल बजार) लाई लक्षित गरी तोपको गोला वर्साउन थाले । वारिबाट पनि नेपाली फौजले प्रत्युत्तरमा एकदुई तोपका गोला छोडे । केही क्षण पछि अँग्रेजहरुले गर्दै गरेको गोलाबारीको पारी बुटवलबाट कुनै जवाफी कारवाही भएन । कम्पनी फौजले गरेको अठार पाउण्डको गोला प्रहारले बुटवल फूलबारीमा रहेको दरबार ध्वस्त भयो । कम्पनी फौजले बुटवल बजार र जीतगढी शुन्य भएको अनुमान गरे ।

कुनै किसिमको खतरा नदेखी फौजलाई बुटवल पस्न जनरल उडले आदेश दिए । रेकी दलले तिनाउ नदी पार गर्न के खोजेका थिए, अभेद्य किल्लाको रुपमा जितगढीबाट गोलीको पर्रा छुट्यो । केही मरे अरु कम्पनी फौज भागाभाग भए । आफ्ना जासुसहरुबाट कहिल्यै सत्य कुरा थाहा नहुनु र सानो बस्तीलाई धेरै ज्यानको बाजी लगाउनु जस्ता मनोबल गिरेको र हतोत्साही मनस्थिति बोकेका जनरल जोन सुलिभान उडले यो लडाइ लडिरहनु त्यति युक्तिसंगत देखेनन् । वर्षायाम सुरु भई सकेको थियो । मलेरिया ज्वरोदेखि अति नै डराउने अँग्रेजहरु नेपाली सेनाको वीरता, धीरता, रणकौशल र साहसलाई मध्यनजर गरी आफ्नो फौजलाई युद्ध मैदानबाट फिर्ता हुने General Retreat को आदेश दिए (शर्मा, २०४९ः३७५,३७८,३७९) ।

विकसित हात हतियार र नफ्री (सैन्य शक्ति) पनि ज्यादा भएको कम्पनी सरकारको फौजसँग परम्परागत र सिमित स्थानीय हतियार लिएर युद्ध लड्नु नेपालको लागि चानचुने कुरा थिएन् । तर ‘युद्ध त विचारले लडिन्छ, हतियारले लडिँदैन’ भन्ने उच्च विचार नेपालीले बोकेका थिए । नेपालीहरु जुन राष्ट्रियताको सोचबाट ओतप्रोत थिए, त्यो सोच नै युद्धमा विजयश्री हासिल गर्न पर्याप्त थियो । नेपाल उपर पाँचवटा नाकाबाट भएको युद्धमध्ये चारवटा युद्ध मोर्चालाई नेपालले आफ्नो अनुकुलमा पार्न सकेन् । नौ हजार चार सय वर्ग किलोमिटर भू–भाग पनि गुमाउन पर्यो, त्यसको पीडा आफ्नै ठाउँमा छ । यथार्थलाई आत्मसात गर्नु पर्छ नै ! तर बुटवल क्षेत्रमा जुन कम्पनी सरकारसँग नेपालले युद्ध लड्यो, नेपालको त्यस क्षेत्रको एक इञ्च भू–भाग पनि गुमाउनु परेन । बरु एक पटक होइन, पटक पटक कम्पनी सरकारको फौजलाई पराजयको भारी बोकाएर खेद्ने काम भने भयो । यस्तो कन्दरामा पनि हामीलाई परास्त गर्ने वीरता, धीरता र रणकौशल बोकेका वीरहरु रहेछन् भन्ने चेत लिएर अँग्रेज पछाडि फर्के । त्यो समर सौन्दर्यको गौरवमय इतिहासको मूल्य अहेम छ । साके सम्वत् १७३७ तदनुसार वि.सं. १८७२ साल बैशाख ७ गतेका दिन नेपालले विजयश्रीको पताका फहराएको दिन थियो । त्यो विजय पताका त्यसै फहरिएको थिएन् । कर्णेल उजीरसिंह थापाको दलमुखी आँट, काजी वीरभञ्जन पाँण्डेको सुझबुझु, सरदार सुर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर वोहोरा, हवल्दार रणसुर वानिया एवं जुठे बस्नेत लगायत पाँच सय जना नेपालीको रगत पसिनाले विजय पताका फहरिएको थियो ।

श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको निर्माणः

लडाई खेल्न जानु अघि युद्धमा विजयश्री हासिल भयो भने ठूलो मन्दिर बनाइ, सिंदुर जात्रा गरी भगवतीको महिमा चारै चौरास फिजाउँछु भनि तानसेन बजारको मध्यभागमा अवस्थित महिषासुर मर्दिनी भगवतीको पाउ छोई कर्णेल उजीरसिंह थापाले भाकल गरेका थिए । विजयश्री हासिल भएपछि भाकल बमोजिम तीनतले मन्दिरको वि.सं. १८७२ मा थालनी गरी वि.सं. १८७६ मा निर्माणकार्य पूरा गरिएको थियो । मन्दिर भित्रको प्रदक्षिणा मार्गको वायब्य कोणमा सूर्य, ईशान कोणमा विष्णु, आग्नेय कोणमा शिव, नैऋत्य कोणमा गणेशको मूर्ति साथै गर्भगृहको मध्यभागमा अष्टधातुले बनेको अठारबाहु भएकी महिषासुरमर्दिनी भगवतीको प्रतिमा स्थापन गरी दुर्गा पञ्चायनको रुप दिइएको थियो । मन्दिरमा आफ्नो उचाइ बराबरको सुनको मोलम्बो चढाएको गजुर राखिएको थियो ।

मूर्ति स्थापनाः

दश इञ्चको आसन माथि रहेको सो रणउजीरेश्वरी भगवती मूर्तिको एक पाउ सिंह माथि रहेको छ भने अर्को पाउ महिषासुरको छातीमा टेकेको छ । मूर्तिको उचाइ २५ इञ्च र चौडाइ २४ इञ्च रहेको छ । श्री ७ रणउजीरेश्वरी भगवती माई नामाकरण गरिएको सो मूर्ति अष्टधातुले बनेको छ । नागको छत्र सहित सुन्दर मुकुट धारण गरेको सो मूर्तिको शिरमा छेपुले सुन्दरता दिएको छ भने दायाँतिर चाँदीको नाग जडित छ । अठारबाहु भएकी रणउजीरेश्वरी भगवती माईको हस्तहरुले (घडीको सूई क्रम अनुसार) दाहिना पहिलो हस्तमा त्रिशुल धारण गरेको छ भने अर्को हस्त बरद मुद्रामा रहेको छ । अरु दायाँ हस्तहरुले बज्र, अंकुश, डमरु, चक्र, तीर, खड्ग धारण गरेको छ । बज्र धारण गरेको हस्त पछिको हस्त करिहस्त मुद्रामा छातिसम्म उठी करपात्र धारण गरेको छ । यस पछि वायाँतिरको माथिल्लो हस्तमा ढाल, नाग, गदा, सुला, पास धारण सहित करिहस्त मुद्रा, घण्ट धारण गरेको छ । एउटा हस्त अभय मुद्रामा रहेको छ । वायाँतिरको पछिल्लो हस्तले महिषासुरको टुप्पी समातेको छ ।

रथयात्राः

पाल्पामा वर्ष भरी नै विभिन्न देवी देवताको खटयात्रा हुने गर्दछ । ती खट्यात्राहरुमध्ये श्री ७ रणउजीरेश्वरी भगवतीको खटयात्रा डिफरेन्ट मात्र होइन इनडिफरेन्ट छ, जसलाई ‘पाल्पाको भगवती जात्रा’ को नामले प्रसिद्ध छ । यस जात्राको धार्मिक महत्व आफ्नै ठाँउमा छ, यसको साथै कम्पनी सरकारलाई परास्त गरी विजयश्री हासिल गरी राष्ट्रियता, वीरता, धीरता, रणकौशल र राष्ट्रिय वुजूदको इतिहास पनि यस रथयात्रासँग गाँसिएको छ । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी वि.सं. १८७७ सालदेखि निरन्तर पाल्पाको भगवती जात्रा हुँदै आएको छ । कृष्ण जन्माष्ठमीको भोलीपल्ट पाल्पाको भगवती जात्रा हुने गर्दछ । साइत जुराएर सेनाले सम्मान गारद चढाए पछि रथ उठाइन्छ । सबैभन्दा पहिले मूलपूजा हुने गर्दछ, त्यसपछि रथले मन्दिरलाई तीन फन्को मारेपछि कर्णेली पूजा हुने गर्छ । कर्णेली पूजा भएपछि रथ सरासर पाल्पा दरबारमा पुगी पहिले तत्कालीन तैनाथवाला (पछि बडाहाकिम र हाल प्रमुख जिल्ला अधिकारी) को पूजा चढ्ने गर्दछ । त्यसपछि मात्र दुनियादारीको पूजा लिने गरिन्छ ।

ठूलो मूलढोकाबाट निस्किएको भगवतीको रथ शीतलपाटी–बसन्तपुरटोल–कैलाशनगर–फेरी शीतलपाटी–असनटोल–नारायणटोल–भीमसेनटोल हुँदै तानसेन नगरपालिका पुगेर नगर प्रमुखले पूजा दिएपछि रथ सैनिक ईलाकामा प्रवेश गर्दछ । सैनिक ईलाकामा प्रवेश गर्दा सेनाहरुले नै बडो आस्थाका साथ रथलाई बोक्ने गर्दछन् । व्यारेकमा सेनाको गणपतिबाट पूजा सम्पन्न भए पछि रथ बसपार्क–बडिज्ञानटोल–सिलेखानटोल–टक्सारटोल हुँदै मन्दिर परिसरमा आएर रथ भित्रिने गर्दछ । भगवतीको रथयात्रामा कर्णेल उजीरसिंह थापाको प्रतीक उजीरसिंह थापाको तरवार रथ भित्र राख्ने प्रचलन छ । कर्णेल उजीरसिंह थापाले यस भगवती रथयात्रा सुरु गर्दा रथमा आफू सँगै चन्द्रमणी गुभाजु पनि रथ भित्र बसी बजार परिक्रमा गर्ने गर्दथ्यो भन्ने जनश्रुति छ । हाल मूल पुजाहारी हिक्मत बहादुर गुभाजु रथ भित्र बस्ने गर्दछन् ।

पूजा व्यवस्थाः

कर्णेल उजीरसिंह थापाले मन्दिर निर्माण गर्नुका साथै भगवतीको नित्य–नैमित्तिक पूजा, वर्ष बन्धक पूजा र जात्रा संचालनको लागि विभिन्न गुठीको व्यवस्था पनि गरी दिएका थिए । वराहमिहिरले बृहत्संहितामा देवीको मन्दिरमा पूजाआजा गर्न मातृमण्डलको ज्ञान भएको पुजाहारी हुनु पर्ने विधिविधानको उल्लेख गरेका छन् । सोही अनुसार ललितपुर महानगरे जयश्री मित्र संस्कारित मयुरवर्ण विहारका गौतम गोत्रका चन्द्रमणी गुभाजुलाई मन्दिरको पूजारीको रुपमा ल्याइएको थियो । यस मन्दिरको पूजा आजा अहिलेसम्म उनैका छ पुस्ताका दरसन्तानले चलाउँदै आएका छन् । खलकहरु बीच महिना महिनाको पालो बाँधी पूजा गर्ने गर्दछन् भने चन्द्रमणिका सन्तानमा उमेरले पाकोलाई मूलपूजाहारी हुने व्यवस्था छ ।

गुठी व्यवस्थाः

भगवतीको नित्य पूजा गुरु मण्डल विधि अनुसार हुने गर्छ भने रथयात्रा (वर्षबन्धन पूजा, कारण पूजा), कालरात्री अष्टमी र चैते दशैमा त्रिसमाधी तान्त्रिक विधिद्धारा पूजा हुने गर्दछ । श्री ७ रणउजीरेश्वरी भगवतीको पूजारीलाई ४० मुरी धान खान्कीको व्यवस्था थियो भने मूल पूजाहारी भई जात्रामा रथभित्र बसी पूजा गर्नेलाई थप ४ मुरी धान र सो दिन जम्मा भएको नगद तथा जिन्सी आधा पाउने व्यवस्था थियो । हाल त्यो व्यवस्था छैन् । भगवती मन्दिर र मन्दिर परिसरले साविकको ता.न.पा. वडा नं. ८ भगवती टोल, कित्ता नं. २८४ क्षेत्रफल ४ रोपनी ५ आना १ पैसा २ दामको जग्गा चर्चेकोे छ । मन्दिर परिसर भित्र पश्चिम दक्षिणतिर कित्ता नं. २८५ अन्तर्गत ० रोपनी १० आना १ पैसा २ दाम क्षेत्रफलको जग्गा श्री भगवती प्रा.वि. का नाममा रहेको छ भने सोही विद्यालयसँग जोडिएको कित्ता नं. २८६ मा ० रोपनी ३ आना ३ पैसा ३ दाम क्षेत्रफलको जग्गा बद्रीनरसिंहद्वारा निर्माण गरिएको श्री बद्रेश्वर महादेव मन्दिरको नाममा रहेको छ । पहिले भगवती मन्दिर परिसर भित्र पर्ने कित्ता नं. २८७ को ७ रोपनी ८ आना ० पैसा ३ दाम क्षेत्रफलको जग्गा हाल विद्युत् प्राधिकरणको नाममा रहेको छ ।

श्री ७ रणउजीरेश्वरी भगवतीको नित्य–नैमित्तिक पूजा, वर्षबन्धन पूजा (कारक पूजा) आदि खर्च व्यवस्थाको लागि भक्तपुर जिल्लामा ३६ रोपनी खेत सुनागुठी रहेको छ भने पाल्पा जिल्लाको साविकको चिदीपानी, मदनपोखरा, तेल्घा, अर्गली, कोलडाँडा गा.वि.स. र तानसेन नगरपालिका क्षेत्रमा गरी १६३२ रोपनी ३ दाम जग्गा श्री ७ रणउजीरेश्वरी भगवती गुठी रहेको छ । गुठी संस्थानको मातहतमा यस मन्दिरको व्यवस्थापन नआउँदासम्म एकजना गुठियार, एकजना पुरानो पेन्सनवाल गुठियार, पाँचजना वानादार (दमाई), एकजना टमोट र मुखिया एकजना लगायत अठार जनाबाट मन्दिरको सम्पूर्ण कार्य सम्पादन हुने गर्दथ्यो । गुठी जग्गाबाट पूजारीलाई ४० मुरी, नयाँ गुठियारलाई ३५ मुरी, पुरानो गुठियारलाई ९ मुरी, वानादार (दमाई) लाई ३६ मुरी, टमोटलाई १ मुरी र मुखियालाई ७ मुरी धानको व्यवस्था थियो । तत्कालीन श्री ५ को सरकार गुठी संस्थानको केन्द्रिय कार्य समितिको २०५६ साल माघ १४ गतेको बैठकले श्री ७ रणउजीरेश्वरी भगवती गुठीलाई राजगुठीमा लगत चढाई रैतानी नम्बरीमा परिणत गर्न पाउने निर्णय भएपछि मालपोत कार्यालयले जग्गा मूल्याङ्कनको न्यूनतम मूल्यमा नगरपालिका क्षेत्रभित्रका जग्गामा ३० प्रतिशत र गाउँ विकास समिति क्षेत्रभित्रको जग्गामा २५ प्रतिशत रकम जम्मा गरी रैतानी नम्बरी गर्ने काम भएको थियो । तर सो काम अहिले रोकिएको छ । । एकातिर गुठीको जग्गालाई रैकरमा परिणत भएपछि आउने रकम रैकर गराउने कार्य रोकिएपछि रकम नआउनुले जात्रा संचालन गर्न गाह्रो भएको छ । हाल श्री ७ रणउजीरेश्वरी भगवती गुठी व्यवस्थापन समितिबाट मन्दिरको व्यवस्थापनको काम हुने गर्दछ । साथै जात्रा तथा नियमित पूजाको लागि अक्षयकोशको व्यवस्था गरेको छ ।

अबको पालो राष्ट्रियताकोः

‘Strange, (is it not) that battles, martyrs, blood, even assassination, should so condense–perhaps only really lastingly condense–a Nationality’ (Jay, 1996:388), राष्ट्रियताको सवालमा Geoffrey C. Ward ले सबैभन्दा पछिल्लो महत्वपूर्ण आयाम भनेको राष्ट्रियता हो भनेका छन् । राष्ट्रियताभन्दा ठूलो त्यस देशका जनताको अरु कुनै हुँदैन । राष्ट्रियतामा राष्ट्रको पहिचान खामिएको हुन्छ । यसरी नै ‘तेनास्मान् ब्रह्मणस्पतेऽभि राष्ट्राय वर्तय ।’ अर्थात आफ्नो राष्ट्रिय चिनारी बिनाका जाति खोलाले छेउ लगाएको ढुङ्गामुढा समान हुन भनेर ऋग्वेदमा उल्लेख छ (शर्मा, १९८९ः३) । यसकारणले राष्ट्रियता बिना मानिसकोे पहिचान हुन सक्दैन । बेला बखतमा जब नेपालीहरुको वुजुद माथि, अस्मिता माथि खेलवाड हुन थाल्छ अनि नेपालीको मन चिसिक्क हुने गर्छ अनि निकै गम्भीरताका साथ राष्ट्रियताको कुरा उठ्ने गर्छ । विभिन्न कोणबाट राष्ट्रियताको व्याख्या पनि हुने गर्छ । राष्ट्रियताको विषयमा बहस चल्नु पनि पर्दछ । श्री ७ रणउजीरेश्वरी भगवतीको जुन धार्मिक महिमा छ, माई भगवतीको शक्तिलाई भक्तहरुले जुन तवरले आत्मसात गरेका छन् त्यो भावनालाई कही कतैबाट चिसिक्क पार्नु हुँदैन । महत्वपूर्ण कुरा त अहिले जसरी राष्ट्रियता कमजोर हुँदै गई रहेको अवस्था छ, परम्परादेखि चली आएको पाल्पा भगवती जात्रामा जुन राष्ट्रियता खामिएको छ, राष्ट्रिय वुजुद झल्किएको छ त्यो गौरवमय इतिहास र राष्ट्रियतालाई अब क्यापिटेलाइज.गर्ने वेला आएको छ । साथै यसमा खामिएको मजबूनलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आजको खाँचो हो । अहिले हामी हाम्रो खुट्टा दिएर बैसाखी लिईरहेका छौं, यो चिन्तनबाट नयाँ पुस्तालाई अलग राख्न राष्ट्रियताको मजबूनलाई युवाहरुको मनमस्तिष्कमा पुर्याउनु पर्छ ।

अचेल हाम्रो सोचाइ र गराइ ज्यादा भौतिक लिप्सापूर्ण छ । वैयक्तिक स्वार्थ र निहित महत्वाकांक्षामा लिप्त आजको समाजमा ईश्वरदेवताजस्ता विषयलाई अन्धविश्वास वा रुडिगढ ठम्याइसँग जोड्ने गर्दछन् । आदि भौतिक तत्व अथवा ईश्वर आस्थाको अर्को नाम हो भन्ने विश्वास अध्यात्मिक मनहरुले राख्ने गर्दछन् । यही आस्था र विश्वासले जीवनलाई जीवन्त राख्न सक्छ भन्ने ती मनहरुको भनाई छ । निराशाका बीच आशा, अज्ञानताको भूमरीमा ज्ञानको प्रकाश, अध्यारोको कुहिरोमा उज्यालोको आशा जगाउने यही विश्वासकै सहारा लिनु पर्ने हुन्छ भन्ने धारणा पनि ती मनहरुले राख्ने गर्दछन् । यी कुराको अहेमियद आफ्नै ठाउँमा छ । एउटा मार्केवल कुरा हाम्रा पुर्खाहरुले केवल अन्धविश्वासको संतृप्तिका लागि मात्र श्री ७ रणउजीरेश्वरीको यत्रा देवदेवालय बनाएका होइनन् । श्री ७ रणउजीरेश्वरी भगवतीको स्थापना, जात्रा र साँस्कृतिक पहिचानसँग हाम्रो राष्ट्रियता उनिएको छ । यसको वर्तमान र आगत पुस्ताले जान्न र बुझ्न भने जरुरी छ ।

दुईशताब्दी अघि, बलिया राष्ट्रले कमजोर राष्ट्रलाई मिच्ने प्रवृति थियो आज पनि उस्तै छ । मीर जाफरहरु अहिले पनि नभएका होइनन् । रुपमा फरक परेको छ होला, मात्रामा फरक आएको छ होला तर मिचाहा प्रवृतिहरु ज्यूँका तिउँ सलबलाइ रहेका छन् । राष्ट्रलाई जोगाउन राष्ट्रिय भावना बोकेका मनहरु छन् भने राष्ट्रको चर शत्रुलाई दिएर बाटो देखाउँदै सर गर्न उक्साउनेहरु पनि यहाँ नभएका होइनन् । यस अहेम कुरालाई स्पन्दनसँग साट्दै नेपालीहरु शतरंजका खेलाडि झैं सजक र सतर्क हुनु पर्ने वेला आएको छ । राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्न समर भूमिमा धीरता, वीरता र रणकौशलको पहिचान दिदै कर्णेल उजीरसिंह थापाको दलमुखी आँट काजी वीरभञ्जन पाण्डेको सुझबुझ अनि सरदार सूर्य थापा, अम्बर अधिकारी, कुम्भेदान बृषसुर थापा, जमादार भिमसेन देउजा, जमादार सुरवीर बोहोरा, हवल्दार रणसुर बानिया एवं जुठे बस्नेत लगायत पाँच सयजना नेपालीहरुको रगत पसिनाले सिंचित श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको सदा चम्किरहने गजुरले राष्ट्रियतालाई खबरदारी गर्दै आएको छ । बिरालोको चिल्ला पञ्जाभित्र लुकेको तिखा नङ्ग्रा भए जस्तै बाहिरियाको दखल तीव्र भइरहेको बखत जसरी विश्व साम्राज्यका संवाहकको रुपमा देखिएको नेपोलियनलाई पनि आँछु आँछु पार्न सफल भएका अंग्रेजलाई वीरता, धीरता, रणकौशल र रणआतंक प्रदर्शित गर्दै पहाडको कुना कन्दरामा पनि राष्ट्रियता र वीरता बोकेका यस्तो शक्ति रहेछ भन्ने जुन मेसेज् दिए, त्यसको गोडमेल गर्नु आजको खाँचो हो । निखरा राष्ट्रियताको खाँचो छ । निर्देशित र आयतित राष्ट्रियताले पछि परन्तु देशलाई भलो पक्कै गर्दैन । एकातिर दौरा सुरुवाल र टोपी बीच हामीले राष्ट्रियताको खोजी गर्छौ भने जनताको आन्तरिक मनोबललाई उकास्न सक्दैनौं । राष्ट्रियताको जगेर्ना गर्ने श्रृंखलाको एउटा कडि राष्ट्रिय बुजुद साथै आङ्ग्लो–नेपाल वारमा विजयश्री पनि समर सौन्दर्य हो । नेपालको विजयश्री पनि एउटा सुनौलो दस्तावेज हो । आङ्ग्लो–नेपाल वार पछि कम्पनी सरकारलाई भारतीय प्रदेश, ब्रिटिस ताजको तर्फबाट अमानतको रुपमा मात्र रह्यो । पछि कम्पनीका सञ्चालक समितिको अन्तिम बैठक बसालेर सन् १८५८ मा भारतीय साम्राज्यलाई एउटा मूल्यवान उपहारको रुपमा ‘हर मैजेस्टी’ लाई बुझाउने निर्णय ग¥यो । भारतमा ईष्ट इण्डिया कम्पनीको शासनको अन्त्य र ब्रिटिस ताजको शासनको स्थापना भयो । यसरी हेपाहा प्रवृतिले गर्दा व्यापारिक संस्थाबाट सम्पूर्ण भारतमा आदिपत्य कायम गरेको ‘ईष्ट इण्डिया कम्पनी’ भूतकालको महाविस्मरण–सागरमा विलीन हुन पुग्यो । तर वीरता, धीरता, रणकौशल, राष्ट्रियता र राष्ट्रिय गौरवको गाथासँगै नेपाल, ‘नेपाल’ नै रहि रहेको छ ।

राष्ट्रियताको कुरामा आकृष्ट हुनुमा आफ्नै ठाउँ छ । गन्तव्यमा पुग्नु मात्र लक्ष्य होइन्, किन भने राष्ट्रियताको आकर्षणले तान्नु, राष्ट्रियताको लागि तत्परता देखाउनु, त्यस्को लागि तड्पिनु नै वास्तविक सुख हो । यही नै ‘सौन्दर्य उपासना’ हो । यसलाई ‘स्टीवेन्सन’ भन्ने गरिन्छ । अब रोम्यान्टिक नेशन्यालिजम् होइन, पोलिटिकल नेशन्यालिजम्को जगेर्ना गर्नु आजको आवश्यकता हो । अर्थवादमा ढुङ्गाको सुन्दर डुङ्गा बन्न सक्दछ । त्यसमा सुन्दर बुट्टाहरु पनि कुदिन सक्छ तर पानीमा तैरिन सक्दैन् ।

सन्दर्भ सामग्रीहरुः

अधिकारी, सूर्यमणि, पश्चिम नेपालको खश अधिराज्य, प्र.त्रिभुवन विश्वविद्यालय नेपाल र एशियाली अनुसन्धान केन्द्र कीर्तिपुर, काठमाडौं, वि.सं. २०५३ ।
थापा, राजेश्वर, काजी जनरल अमरसिंह थापा, अमरसिंह–भीमसेन थापा अध्ययन अनुसन्धान प्रतिष्ठान, वि.सं. २०६० ।
थापा, शम्शेर बहादुर, वडा महाराजा पृथ्वीनारायण साह देवका सुयोग्य अनुयायी अधिराजकुमार वहादुर साहको प्रमाणित इतिहास, प्र.दिवाकर विक्रम शाह, काठमाडौं, वि.सं. २०५५ ।
दरडा, रणजीतसिंह, भारतीय स्वतन्त्रता आन्दोलन एवं संवैधानिक विकास, प्र. राजस्थान हिन्दी ग्रन्थ अकादमी, जयपुर, सन् १९७२ ।
नाथ, योगी नरहरि, इतिहास प्रकाश, भाग १, अङ्क २, प्र.इतिहास प्रकाशक संघ मृगस्थली गोरक्षपीठ, वि.सं. २०१३ ।
नाथ, योगी नरहरि र गुरुङ्ग कृष्णबहादुर, श्रीगुरुङ्ग मगर वंशावली, प्र.उल्लेख नभएको, वि.सं. २०२० ।
नाथ, योगी नरहरि, इतिहास प्रकाशमा सन्धिपत्र संग्रह भाग १, प्र.राप्ति दाङ्गका अध्यात्मिक सम्मेलनमा प्रकाशित, वि.सं. २०२२ ।
पन्त, महेशराज, नेपाल–अँग्रेजयुद्धको दोस्रो चरण, पूर्णिमा, पूर्णाङ्क ६, वर्ष २ अङ्ग २, प्र. संशोधन–मण्डल, काठमाडौं, वि.सं. २०२२ ।
पन्त, महेशराज, दिनेशराज पन्त, पूर्णिमा वर्ष १२, अंक १, प्र. देवीप्रसाद भण्डारी, काठमाडौं, वि.सं. २०३७ ।
पन्त, महेशराज, दिनेशराज पन्त, पूर्णिमा वर्ष १६, अंक ४, प्र. देवीप्रसाद भण्डारी, काठमाडौं, वि.सं. २०४१ ।
पाण्डे, बद्री दत्त, कुमाऊँका इतिहास, प्र. श्याम प्रकाशन, अल्मोडा, उ.प्र. सन् १९९० ।
पाण्डेय, तोत्रराज र नयराज पन्त, नेपालको संक्षिप्त इतिहास, प्र. खिलशर्म–राजीव लोचन जोशी स्मारक प्रतिष्ठान, काठमाडौं, वि.सं.२०६० ।
पाँडेक्षत्री, सरदार भीमबहादुर, राष्ट्रभक्तिको झलक भाग १, प्र.रत्न पुस्तक भण्डार, भोटाहिटी काठमाडौं, नेपाल, वि.सं. २०३४ ।
भट्टचार्य, सच्चिदानन्द, भारतीय इतिहास कोश, प्र. उत्तर प्रदेश हिन्दी संस्थान, लखनऊ, सन् २००१ ।
रिजवी सैयद नजमुल रजा, अठारहवीं सदी के जमींदार, प्र. पीपुल्स पब्लिसिंग हाउस, सन् १९८८ ।
श्रेष्ठ कृष्णप्रकाश, स्थाननाम–कोश, प्र. नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौं, वि.सं. २०४४ ।
श्रेष्ठ टेकबहादुर (सं.), नेपालका राजाहरु तथा तराईका थारु, प्र. नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं, वि.सं. २०५८ ।
श्रेष्ठ निर्मल, मुझुङेली कार्की, प्र. प्रेमाकुमारी कार्की, मुझुङ, पाल्पा, वि.सं. २०७४ ।
श्रेष्ठ, निर्मल, आङ्ग्लो नेपाल वार, ऐतिहासिक जीतगढी र राष्ट्रियता, बुटवल उपमहानगरपालिकामा वि.सं. २०७५, बैशाख ७ गते प्रस्तुत कार्यपत्र ।
श्रेष्ठ, निर्मल, सेनकालीन इतिहास, कला र संस्कृति, प्र. केशलक्ष्मी श्रेष्ठ, पाल्पा, वि.सं. २०७५ ।
शर्मा, शिवप्रसाद र अन्य, नेपालको सैनिक इतिहास, प्र. शाही नेपाली जंगी अड्डा, कठमाडौं, वि.सं. २०४९ ।
शर्मा, शिवराज, गोर्खाल्याण्ड दर्पणः पूर्वार्ध, प्र.अम्बिका देवी शर्मा, दार्जीलिङ, सन् १९८९ ।
Ashton, Stephen, The British in India : From Trade to Empire, pub.B.T.Batsford Ltd, London, 1987 A.D.
Dhanalaxmi, Ravuri, British Attitude to Nepalʼs Relations with Tibet and china, pub. Bahri Publications pvt, New Delhi, 1981A.D.
Duffy, Chrictopher, Siege Warfare, pub. Routledge and Kegan Poul, London, 1979 A.D.
Hamilton, Francis Buchanan, An account of The Kingdom Of Nepal, Pub. Asian Educational Services, New Delhi, 1990 A.D.
Jay, Antony(ed.), The Oxord Dictionary Of Political Quotations, pub. Oxford University Press, New York, 1996A.D.
Judd, Denis, The British Raj, pub.Wayland Ltd., England, 1972 A.D.
OʼBrien, Robert, and Williams Marc, Global Political Economy, pub., palgrave macmillian, Hampshire, 2007 A.D.
Pandit, Ranjit Sitaram, Rajatarangini, The saga of The Kings of kasmir, Pub. Sahitya Akademi, New Delhi, 2006A.D.
Ray, Priyadaranjan & S.N.Sen, The Cultural Heritage of India, Vol. VI, Pub. The Ramkrishna Misson Institute of Calcutta, 1991A.D.
Rahul, Ram, Royal Nepal A Political History, pub. Vikas Pub. House pvt ltd, New Delhi, 1996A.D.
Stiller, Ludwig F., Nepal Growth of a Nation, pub. Human Resources Development Research Center, 1993A.D.
Stiller, Ludwig F, The Rise of the House of Gorkha, pub. Human Resources Development Research Center, 1995A.D.
Woodford, Peggy, Rise of the Raj, pub. Midas Books, U.K., 1978 A.D.




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *