दही, दलित र द्वन्द्व – Dcnepal

दही, दलित र द्वन्द्व

खोटाङ । नपाकेको फलमा झटारो हानेर थकानको सुसेली हाल्ने चलनले समजिक सहिष्णुता स्खलन भएको छ । पछिल्लो समयमा दही प्रकरणले बजार भाउ पाएको छ र बजारमा राम्रै खरिद बिक्रि भइरहेको छ। जेठ अठारको दिन कसैका लागि महान सास्कृतिक क्रान्तिकाो शुभारम्भको यश बटुल्ने मौका भयो भने इमान्दार र सालीन किसानको लागि गलाको पासो भयो।

जातीय छुवाछुत तथा उचनीचको सदियौं पुरानो विकृति विनासका लागि जिल्ला समन्वय समितिले गररेको सहभोजनमा सामेल ७६ वर्षिय टंकप्रसाद आचार्य गाउँबाट विस्थापित जस्तै भई विभिन्न संघ संस्था र राज्यका निकायमा न्यायका निम्ति भौतारिए पनि उचित न्याय पाउन सकेका छैनन्।

केन्द्रिय तथा जिल्ला स्तरीय नेता र जिल्लाका हाकिम साहेवहरु सामेल सहभोजनमा अचार्य लगायतका सज्जनले दलित बालिकाको हातबाट दही पिएका थिए। दहीमात्र होइन मासु भात पनि स्वाद मानीमानी खाएका थिए । मास मेडियामा तस्विरसहितको समाचारले राम्रै बजार पाएको थियो। सहभोजनमा सहभागी नेतागण र प्रमुख जिल्ला अधिकारी ज्यूहरुलाई थेगी नसकनु बधाइको वर्षा भएको थियो, सामाजिक कुरीति समाप्त गर्ने असल कार्यको थालनी भएकोमा।

छोटो समयमा नै यस प्रकरणले गलत मोड लियो । दलितको दही आचार्यका लागि समुद्र मन्थन गर्दा निष्पन्न कालकुट विष महादेवले निलेर छटपटाए झैं भयो भने उही प्रकरणमा सामेल नेतागण र कार्यालय प्रमुखलाई इन्द्रले ऐरावत र देवगणले अमृत पाएझैं भयो । जातीय छुवाछुतलाई खरानी बनाउन बालेको दावानलमा हाम फाल्नेहरुमध्ये आचार्यमात्र जले, कुसंस्कार जलेन अन्य अभियान्ता जलेनन्।

यहाँ त सच्चा प्रल्हाद नजलेर अग्नी शक्तिप्राप्त मायावी होलिका जलेकी हो वा सच्चा प्रल्हाद जलेर मायावी होलिका नजलेकी हो खुट्याउन सकस छ । हजारौं माइलको यात्रा ढोकाको सँघारबाट आरम्भ हुन्छ भन्ने दर्शनमा टेकेर थालेको अभियानले हजार माइलको यात्रा एक कदमको कमजोरीले दुर्घटनामा पुर्याउँछ भन्ने नवीन दर्शनको जन्म गराएको छ ।

सामन्ती संस्कारको (परिवर्तनका लागि होइन) परिमार्जनका लागि सामन्त दलालहरुको अधिपत्य खोसिनु पर्छ र आमुल परिवर्तनका लागि सास्कृतिक क्रान्ति गरिनुपर्छ । सास्कृतिक क्रान्तिले सस्कृतिभित्रका विकृति पखालेर शुद्धीकरण गरेपश्चात संस्कार परिवर्तन हुन्छ । चीनको राज्य क्रान्ति पश्चात् माओले सन १९६६ देखि १९७६ सम्म रेड गार्ड तयार गरेर सास्कृतिक क्रान्तिको थालनी गरे।

सास्कृतिक विकृतिका रुपमा रहेका चार स्तम्भहरु पुराना रिवाज, तौर—तरिका, संस्कृति र सोच बदल्ने लक्ष्य थियो र भनेका थिए “बुर्जुवावर्ग कम्युनिष्ट पार्टीमा आफ्नो प्रभाव कायम गरेर एक तरहको तानशाही स्थापना गर्न चाहन्छ।” तर दुई वर्ष (१९६८) मा नै क्रान्तिले सामाजिक विद्रोहको रुप लिएपछि रेडगार्ड विघटन गरेको तितो इतिहास भेटिन्छ ।

राज्य क्रान्तिलाई पूरा गरी थालेको सास्कृतिक क्रान्तिले विद्रोहको बाटो समायो भने नेपालमा सामन्त र बुर्जुवाको काखमा बसेर गरेको क्रान्ति, समझदारीमा लेखेको संविधानबाट सास्कृतिक रुपान्तरण गर्न खोज्नु नपाकेको फलमा झटारो हान्नु शिवाय केही होइन।

साइनामाइट परीक्षण गर्दा जसलाई सुघाइन्छ त्यो मर्ने सम्भावना रहन्छ । यहाँ पनि परीक्षणको पूर्ण तयारी नभई आचार्यलाई संविधानको साइनामाइट सुघाउने काम गरियो जसको पीडाले उनी भौंतारिदैछन भने अनुसन्धाताहरु परीक्षण सफल हुनेनहुने पिरलोमा छन् । प्रसङ्ग नेपालको संविधानको मर्मलाई परीक्षण प्रयोगका लागि दहीमा घोलेर प्रयोगशलाको जठाराग्नीमा बसाल्दा दही मही बनेन, नौनी निस्केन बरु फाटेर छताछुल्ल भयो। त्यसको अम्लिय तत्वले सामाजिक एकतामा उभार र उगाल ल्याइदियो।

दलितले आयोजना गरेको सहभोजमा दही खाँदा जन्ती, मलामी, अर्मपर्म रोकियो । अघोषित सामाजिक बहिष्करणको चितामा हालियो संविधान, कुहिराको काग बनाइयो समाजलाई । नेपाल धर्म निरपेक्ष राष्ट्रको कित्तामा उभिसकेको छ। कागजी संविधानमा लिपिबद्ध गरिएका छन् नागरिकका मौलिक हक । मौलिक हकको लामो सूचीको बुँदा नं २४ (भाग ३, धारा २४) मा उप बुदा (उपधारा १—५) पाँबवटा राखिएका छन् । यी उपधाराले समग्रमा छुवाछुत र भेदभावलाई कानुनबमोजिम दण्डनीय मानेको छ।

दलित पनि मान्छे हुन । यिनले छोएको खाने मान्छे मर्दैन , झर्दैन तर हाम्रो सोच र संस्कार बदलिनु आवश्यक छ भाषण र वक्तब्यबाजीले परिवर्तन आउँदैन । कानुनको पालना इमान्दारी किसिमले गर्न आवश्यक हुन्छ । कानुन संशोधन गरेर फाँसी देउः भनेका पीडित आचार्यको अवस्था दयनीय छ। संसार बदल्नेले आफुबाट शुरुगर्नुपर्छ भन्ने मर्मलाई ध्यानमा राखेर उच्च तहका नेतृत्वबाट दलित सँग लेनदेन थाले आफैं समाज बदलिन्छ ।

दलित समाजका कारिगढ हुन । मन्दिरको मुर्ति, गजुर बनाउने, भगवानका लागि भोग लगाउने हतियार बनाउने पण्डितको पाइजामा सिलाउने, पुजारीको दौरा मिलाउने, भगवानको मन्दिरमा नौमति बजाउने, हरेकलाई पानीदार हीरा बनाएर सजाउने दलित नै हो । फर्केर आफ्नो पाउदेखि शिरसम्म नियाल्नुहोस् हरेक अंगमा दलितका औला छल् । भान्सादेखि बिस्तारासम्म दलितका कला छन् । तथापि दलित माथि यो अन्याय भएको छ । आज पनि दलित पानी छोएको निहुमा पिटिएका छन् । दलित घृणित भन्दा बढी पूज्य छ तापनि जयस्थिति मल्लले बनाएको अलिखित विधानको ओडमा लिखित विधानको उपहास निन्दनीय छ । जात मानिसले बनाएको पहिचान हो । साश्वत सत्य होइन। किनकि भारतमा भएको जात नेपालमा छैन,नेपालमा भएको युरोपमा छैन । मानव निर्मित पहिचानले सिर्जना गरेका विषवृक्षलाई बिस्तारै पातबाट छास्नु बुद्धिमानी होला।

समाज सञ्चालनको स्थायी कानुन धर्मशास्त्र हो सबै सम्प्रदायका धर्मिक कानुन छन् त्यसकै आधारमा समाज र संस्कार चलेको छ । हिन्दु दर्शनमा जातपात र छुवाछुतसिपका भण्डार दलितलाई अछुत बनाउने कारणमध्ये सिप नै हुनसक्छ । सीप नभएका तर समाजमा ठगी खानेहरुले कपडा सिलाउन, जुत्ता बनाउन, हातहतियार निर्माण गर्न, गरगहना, भाँडाकुडा बनाउन कारिगढको ज्यासलमा दैनिक जाने र काम गराउने अनि पाकेको खाना पनि खाइदिने हुदा दर्जनौं मानिसको पेट भर्न सकस भयोहोला र काम पनि लगाउने खाना खाएर अझ दुख दिएको ठहर गरी तिनका घरमा कसैले खाना नखाने भनी फर्मान जारी गरेको हुन सक्छ र पछि त्यही चलन संस्कार बनेको हुनसक्छ । कारण जे होस् जातको आधारमा गरिने विभेद निन्दनीय छ । यसको सहज परिबर्तनको माध्यम खोजिन आवश्यक छ । मानिस भएर पनि मानिसको दर्जामा दर्ज हुन विभन्नि कालखण्ड पार गर्नु पर्दाको पीडामा मल्हम लगाउन कोसिश गर्ने महान योद्धा समाजको नजरमा पतित ठहरिनु सामन्त सोचको पराकाष्ठ हो। अधिग्रो परिवर्तनको द्योतक हो ।

घटना एक विकृति अनेक भित्रिन सक्छन् । उज्यालोको लागि बालेको बत्तीले घर जलाउन सक्छ, त्यस बेला उज्यालो बत्ती निभाउन हतार गर्नुुपर्छ र अन्धकारमै फर्कनुपर्ने बाध्यता आउन सक्छ तसर्थ बत्ती बाल्नुभन्दा अघि ज्वलनशील वस्तुको दीगो व्यवस्थापन गर्न जान्नुपर्छ । मतलब क्रान्तिले प्रतिक्रान्ति नजन्माओस् भन्नेमा चनाखोे हुनुपर्छ । संस्कार समाजको ससम्पति हो । चिनिया सास्कृतिक क्रान्ति मार्फत् माओले दसवषर््ा कुचो लगाउँदा पनि विकृतिका त्यान्द्रा पन्साउन सकेका थिएनन् । हामीले पनि सस्तो लोकप्रियताका लागि पुरातन संस्कारमाथि हमला ग¥यौं भने त्यसले अर्के विद्रोहको जन्म गराउन सक्छ । सबै संस्कारमा थोर धेर विकार छन् तर ती विकारलाई पन्साउन हतार गरियो भने विकार नै संस्कार बन्नसक्छन्।

दही प्रकरण एक थियो तर यसले अनेक घटना सिर्जना गरेको छ । समाज सर्वशक्तिमान हुन्छ समाजविना मानिस रहन असम्भव छ । कानुनी कार्यवाहीले सामाजिक कलहलाई साम्य बनाउँदैन केवल बल्झाउने काम गर्दछ । जातीय भेदभावका दृष्टिले व्यक्ति बहिष्कार गर्नेहरुलाई प्रशासनिक दबाबमा सहभोजन गराउन दिइने आवेगात्मक आदेशले सामाजिक विखण्डन ल्याउँछ भने व्यक्तिगत स्वतन्त्रताको हनन हुन्छ।

पदमा आसिन जिम्मेवार व्यक्तिले ठाडो पीडकलाई दलितसहितको भोज गराउन दिने आदेशको पालना गर्दा पर्न सक्ने मानसिक असरको ख्याल गर्न पर्ने बेला आएको छ । कसैलाई न्याय दिंदा अरुको न्याय खोसिन हुन्न भन्ने विश्वव्यापि मान्यता बिर्सिदा उत्पन्न समस्याको समयमा आकलन गरी पीडिले समाजमा रहने वातावरण बनाउउ सक्नु बुद्धिमानी होला।

समाजमा सामन्ती अवशेष र बुर्जुवा प्रवृत्तिलाई मलजल गरेर सास्कृतिक परिवर्तन गर्न तम्सियो भने द्वन्द्वको विरुवा उम्रन्छ । द्वन्द्वको पहाड रगडिएर निस्कने सानो झिल्कोले संसार खरानी हुन्छ ।दलितको दहीबाट उब्जिएको समस्या शक्ति प्रयोगको अवस्थामा नपुगोस्, सामाजिक सहिष्णुतामा तुषारापात भई जातीय द्वन्द्वमा परिणत नहोस् । सामाजिक संरचना भत्किएर भग्नावशेषमा रुपान्तरणको अवस्था आउने बाटो बन्द गरिनु पर्दछ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो