काञ्जीरोवामा उपत्यकाव्यापी छन्दोवद्ध कविता वाचन

डिसी नेपाल
१३ भदौ २०७६ १९:२२

काठमाडौं। १५४ औँ मोती जयन्तीका उपलक्ष्यमा काठमाडौंको कोटेश्वरस्थित काञ्जीरोवा नेशनल माध्यमिक विद्यालयमा उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

वरिष्ठ भाषाविद् एवम् साहित्यकार प्रा.डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उपत्यकाका बीस विद्यालय सहभागी थिए । स्थापित कुनै एक स्रष्टाको छन्दोबद्ध कविता वाचन गर्नुपर्ने त्यस कार्यक्रममा गति, यति, लय, हाउभाउ र प्रस्तुति–संयोजनकोसमेत मूल्याङ्कन गरिएको थियो ।

भाषाविद् एवम् समालोचक प्रा.डा. मोहनप्रसाद तिमल्सिना, कोशकार प्रा.डा. बद्रीविशाल भट्टराई तथा कवि ठाकुर बेलवासे प्रतियोगिताको निर्णायकको भूमिकामा थिए।

कविता वाचनमा मोक्षदा स्कुलकी तारा तामाङ प्रथम, सेन्ट जेभियर्स स्कुल, गोदावरीकी कृतिका कोइराला द्वितीय, एभरेस्ट स्कुलकी नलिना कार्की तृतीय र ग्लोरी स्कुलका शुभम् पौड्यालले सान्त्वना भए।

विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि प्रा. डा. विष्णुराज आत्रेय, संस्थाका कार्यकारी निर्देशक महेन्द्र खनाल तथा प्रधानाध्यापक रञ्जीत थापाले संयुक्त रूपमा पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरे। प्रमुख अतिथि आत्रेयले छन्द संरक्षणका लागि काञ्जीरोवाले छन्द कवितामार्फत् चलाएको अभियान सराहनीय भएको बताउँदै विजयी प्रतियोगीहरूलाई बधाई ज्ञापन गरे।

आत्रेयले निकट भविष्यमा नेपालमा अन्तर्राष्ट्रिय छन्द सम्मेलन सम्पन्न हुन लागेको र त्यसमा छन्दप्रति चिन्तनशील सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे। साहित्यकार एवम् समालोचक प्रा. डा. मोहनप्रसाद तिमल्सिनाले छन्द हाम्रो मूल पहिचान भएकाले यसको संरक्षणमा सबैले ध्यान पुर्याउनुपर्ने बताए।

कोशकार प्रा डा बद्रीविशाल भट्टराईले छन्दकविता वाचकहरूले गति, यति र लयमा विशेष ध्यान पुर्याउनुपर्ने बताए । कवि एवम् सञ्चारकर्मी ठाकुर बेलवासेले स्वसंस्कृति र पहिचान विस्तारै गुम्दै गइरहेको अवस्थामा नेपाली भाषाप्रति स्नेह दर्साएर काञ्जीरोवाले चलाएको अभियान सराहनीय भएको बताए।

सभापतिको आसनबाट बोल्दै काञ्जीरोवाका कार्यकारी निर्देशक महेन्द्र खनालले विगत डेढ दशकदेखि काञ्जीरोवाले उपत्यकाव्यापी छन्दोबद्ध कविता वाचन प्रतियोगिता आयोजना गर्दै आइरहेको र विद्यालयले यसलाई आगामी दिनमा समायानुकूल परिवर्तित स्वरूपमा निरन्तरता दिने मनस्थिति बनाएको बताए ।

कार्यक्रममा निर्णायक कविहरूले छन्द कवितासमेत वाचन गरेका थिए। कक्षा ९ मा अध्ययनरत छात्राद्वय स्वेच्छा शर्मा र प्रेक्षा अधिकारीद्वारा सञ्चालित कार्यक्रममा विद्यार्थीहरूले ‘सरगम तराना’ नामक दुर्लभ नृत्यसमेत प्रदर्शन गरेका थिए । विद्यालयको नेपाली विभाग तथा काञ्जीरोवा अङ्कुर क्लबको संयोजनमा कार्यक्रम सञ्चालन गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *