‘भक्ति क्षणिक हुन्छ, दिगो हुदैन’

डिसी नेपाल
२५ भदौ २०७६ २०:५३

दिपायल । अध्यात्म विज्ञानले जुनसुकै कुराको खोजी गरिरहेको हुन्छ, अर्थात् आफूभित्र रहेको परम् सुखलाई आफैँ खोज्न प्रेरित गरिरहेको हुन्छ।

मानव जीवनका दुई प्रमुख लक्ष्यहरु हुन्छन्। एउटा भुक्ति र अर्को मुक्ति। आम मानिस दुवै हातमा लड्डु खोजी रहेका हुन्छन्।

भक्ति र शक्तिको सिमान्त बिन्दुमा पुग्न चाहन्छन्।समाजमा रहेका प्रायः व्यक्तित्वहरुको समागमबाट मानव उर्जालाई अधिक प्रयोग गरि आफू अध्यारोबाट उज्यालो तर्फ लम्कन खोज्छन्।

सभ्यताको खोजिका साथै अनेकौं सज्जन, समाज, समूह र समुदायमा आबद्व भई जीवन झन् मुल्यलाई सार्थक सिद्व बनाउन प्रयत्न गरिएका उदाहरणहरु देखिन्छन्।

भौतिक जगतमा यतिले मात्रै सार्थकता सिद्व हुन्न।समग्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अझ व्यापक दृष्टिकोणले भन्नू पर्दा समस्त ब्रमाण्डलाई नै सम्झनु पर्ने हुन्छ।

स्वजनदेखि समस्त जिवसम्म साचो भक्ति प्रकट गर्नु, साँचो प्रेम उदगार गर्नु,अनुपम श्रद्वा भाव प्रकट गर्दै सर्वे भवन्तु सुखिनको व्यावहारिक पक्ष नै ईश्वरप्रतिको सुमार्ग मानिन्छ।

सत्य निष्ठा पनि त्यहीँ नै हो। स्वजनमा परिवार, गुरु, आचार्य, बाबु आमा, पति, पत्नी, पुत्र, पुत्री, बन्धु, बान्धव, अथिति, बृद्व, बालक, रोगी, छोरी, ज्वाँइ, भान्जो, भान्जी, सखि, सम्धी, कुटुम्ब, सेवक, रक्षक, मालिक, मित्रहरु धेरै हुन्छन्।

हामी जहाँ बसेता पनि सबैसंगको अन्तर सम्बन्धबाट मानव जीवनको व्यापक र विस्तृत अनि जीवनको साध्य प्राप्त गर्न उन्मुख भएका हुन्छौं। सम्बद्व पक्ष सबैसंग वैरता नहुनुको नाम नै विरता हो। योग्यता हो, दक्षता हो, कुशलता हो, जीवनको उपादेयता हो, शक्तिको उपयोगिता हो।

व्यक्ति सरल, अनि समुदायप्रति वैरभाव नभए कुनै छैन। भनेपछि त्यो व्यक्ति निष्पापि छ भन्नु पर्दछ। व्यक्ति सरल र तरल अनि सहज छ भनेमात्र उसभित्र ईश्वरको बाँस हुन सक्छन्। केवल भजन गाएर, भाङ खाएर मात्र इश्वर पाइन्छ भन्ने ग्यारेन्टी केही छैन।

पदमपुराण सृष्टि खन्डमा प्रवेश गर्नुस्, त्यो ग्रन्थमा भनिएको छ। आचार्य, पुरोहित, गुरु, साध्य लोकका स्वामी हुन्, यिनको स्मरण बिना आँखा चिम्म गरिएका देव वन्दना धार्मिक कार्य प्रयोजनहिन हुन्छन्। त्यस कारण जस्ले जीवनभर हित हुने काम गर्छन् उसको पद मात्रै पुरोहित हो।

वास्तविक पुरोहितको बाँकी जीवनसम्म मात्र नभएर जीवन समाप्तिपछि पनि दायित्व उत्तिकै महत्त्वपूर्ण रहन्छ। ब्रम्हलोकका ब्रम्हा वा साध्य लोकका परमेश्वर आँफै उपस्थित हुदैनन्। कार्य विवरण सफलताको कथा प्रतिनिधिमार्फत प्रस्तुत हुन्छन्, भनिन्छ आफू ‘नमरे स्वर्ग देखिन्न’ भन्ने मान्यता यद्यपि प्राचीन तर यथार्थ अहिलेसम्म ठानिएको छ। त्यसकारण आफ्नै वरपर स्वर्ग अनि लोकका परमेश्वर पनि हुनुहुन्छ ठम्याइ पदम पुराणले स्पष्ट गरि दिएको देखिन्छ।

अथिति सम्पूर्ण लोकका इश्वर हुन्। त्यसकारण अथितिलाई खुशी बनाउनु भएको पनि र्इश्वरलाई नै खुशी बनाउनु हो। ज्वाइलाई अप्सरालोकका मालिक भनिएको छ। सम्धी, कुटुम्बि, बन्धु, बान्धव, मातापितालाई भुलोकका मालिक मानिन्छ।

मातापिता मृत्यलोकका मालिक हुन्। मृत्यलोक पनि देवलोकको अंश हो। देवलोकका ईश्वर अमृत सेवन गर्दा वाक्क दिक्क भएर मनुष्यलोकमा झर्न रुचाउँछन्। राम, लक्ष्मण, बुद्व उदाहरण हुन्।

हामीसंग हुने बृद्व, बालबालिका, रोगी, असहाय व्यक्तिहरु आकाश लोकका स्वामी हुन्। यिनलाई आकाश जत्रो विशाल हृदयले चिन्तन गर्नुपर्ने हुन्छ।यिनको योगदान, आशिर्वाद र प्रेरणाले मानव जीवनमा भक्ति र शक्तिको उर्जाले मानव जीवन जिवन्त बन्न पुग्छ।

लोक कल्याणकारी राज्यले दिनदुखी अपांग, अबला, उत्पीडन वर्गलाई विशेष उत्थान गर्ने प्रण गर्दछ। त्यसै अनुरुप सरकारको कल्याणकारी काममा चर्चा पनि हुने गरेको पाइन्छ।

स्वजनमा बन्धु बान्धवहरु, दाजुभाइहरु पनि हुन्छन्।यिनलाई वसुलोकको स्वामी भनेर बताएको हुन्छ।आदर्श र मर्यादा पुरुषोत्तम रामको कथा र उनको चिन्तन गर्नु अघि रामायणकालिन समयतिर फर्कनु भन्दा पनि आदर्श दाजुभाइको सम्बन्ध स्थापित गर्नु भन्ने संकेत हो।

पितृ आज्ञाले साध्य लोकका स्वामी प्रसन्न रहने र भ्रातृ प्रेमले वसुलोकको अनुभुती हुने गर्छ। भाइलाई वसुलोकको स्वामी बताइएको छ भने दाजूलाई पितृलोकको स्वामी बताइएको छ।

पत्नी र पुत्र आफ्नै शरीर हुन भनिएको छ। उनीहरु कमजोर हुनु भनेको आफ्नै शरीर कमजोर हुनु हो।शारीरिक उर्जामा कम भएपछि आत्मबल कमजोर हुन्छ र लक्ष्य प्राप्ति गर्न पनि कठिन हुन्छ।

पति पत्नी अलग होइनन्। जन्म पृथक ठाउँमा झन्डैसंगसंगै हुन्छ र संयोग मिलन पनि हुन्छ। पुत्रपुत्री पनि यस्तै हुन्। उनीहरु कमजोरी र मलिनता भन्नु नै आफ्नो कमजोरी र मलिनता नै हो। भक्ति र शक्तिको सिमान्त प्रयोगको लागि यिनिहरुबाट अनपेक्षितरुपमा अपमानजनक शब्द प्रयोग हुन्। आए पनि सहनशीलता र धैर्यरुपमा स्वीकार्नु पर्ने मान्यता अध्यात्म विज्ञानले प्रष्ट पारेको छ।

वर्तमानमा अवस्था धर्मलाई कुरितिको रुपमा लिने गरिएको छ। वास्तवमा भन्ने हो भने धर्मनितिको उदात्त भावलाई गहिरिएर नबुझ्नाले धर्मलाई सत्य र निष्ठाको गहिराइसम्म हामीले पुर्‍याउन सकेका छैनौं। धार्मिक हुनु भनेको साधु हुनु मात्रै होइन, सज्जन हुनु पनि धर्म नै हो। चिन्तनशील हुनु हो।

लोकको रक्षक हुनु हो। प्रेरणादायी मार्गको पालना गर्नु÷गराउनु धर्म हो। स्वयं आफैंभित्र आनन्द खोज्नु धर्म हो। स्वाध्याय अर्थात् आफैले आफैलाई पढ्नु धर्म हो। स्वफुर्तढंगले आफै भित्रको भगवान् खोज्ने एकल यात्रा नै धर्म हो।

जति धेरै आफू भित्र रमाउन सक्यौं। त्यो भन्दा धेरै संसारभरी घुमेर पनि आनन्द मिल्दैन। नपत्याए विश्व साइकल यात्रीलाई सोध। त्यसकारण आनन्द नआए परमानन्द प्राप्ति हुदैन।

परमानन्द प्राप्त नभएसम्म परमेश्वरको अनुभुती हुदैन। परआत्मा र परमेश्वरको खोजि गर्नेले सर्वत्र उज्यालो देख्छ। सकारात्मक र सहज दुनियाँ देख्छ। परनिन्दा र प्रशसा त्याग गर्नेलाई विजयी र वीर भनेर अध्यात्म विज्ञानमा विश्लेषण गरिएको पाइन्छ।

ईश्वर प्राप्त गर्न चाहनाले तनावरहित जीवन व्यतीत गर्दै ब्रम्हाण्डमा रहेका सबै प्राणिलाई जरायुभित्रका अरबौं अरब जिवात्माहरु प्रती सम दृष्टिकोण राख्छ।यो उद्वात भावमा हिन्दू, बुद्व, इसाई, क्रियसन, मुस्लिम, भनेर समुह वा सम्प्रदायभाव भित्र अडिग हुदैन।

अतः ब्रह्माण्डैव कुटुम्वकवको परिधि र सिमाभावमा प्रस्तुत हुनु पुग्छ। यो लेखको छोटकरी सार भनेको शक्तिबाट भक्ति प्राप्त हुने होइन। यदि प्राप्त भयो भने पनि त्यस्तो भक्ति क्षणिक मात्र हुन्छ दिगो हुदैन भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *