‘प्राणको भिख माग्दा पनि, फोटै खिच्यो पत्रकारले’

डिसी नेपाल
८ मंसिर २०७६ २१:४६

पोहोर पैरो लाग्दा पनि, फोटै खिच्यो पत्रकारले
बचाउ भन्दै डाक्दा पनि, फोटै खिच्यो पत्रकारले ।

भुइँचालोले घरै लड्यो, परिवार सबै पुर्‍यो
शोकले रोइ राख्दा पनि, फोटै खिच्यो पत्रकारले ।

सबैतिर ऐया आत्थु, घाइते छन् वरिपरी
प्राणको भिख माग्दा पनि, फोटै खिच्यो पत्रकारले ।

एउटा आँखा चिम्लिएर, क्यामरालाई तेर्स्याउँदै
घाइतेलाई नाघ्दा पनि, फोटै खिच्यो पत्रकारले ।

जति रोदन खिच्न सक्यो, उति मज्जा मिल्छ क्यारे
रन्थनिँदै भाग्दा पनि, फोटै खिच्यो पत्रकारले ।

समी खत्री
खप्तड छान्ना गाउँपालिका (बझाङ)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *