बुढाथोकीको छुकछुके रेल सार्वजनिक

डिसी नेपाल
१४ मंसिर २०७६ २२:५४

काठमाडौं । साहित्यकार वियोगी बुढाथोकीको नियात्रा सङ्ग्रह बेलग्रेभको छुकछुके रेल शनिबार सार्वजनिक गरिएको छ । सङ्ग्रहको विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नियात्रा लेख्नु लेखक साहित्यकारको दायित्व हो भन्दै साहित्यकार व्यक्ति मात्र नहुने भएकाले समाजका प्रति दायित्व पूरा गर्न उसले लेख्नुपर्छ भने।

नियात्राले विश्वका मुलुकसँग नेपाली पाठक परिचय हुनसक्ने पनि उनले त्यस अवसरमा बताए। सर्जक बुढाथोकीले आफूले देखेका र अनुभव गरेका सन्दर्भलाई इमान्दारीपूर्वक सङ्ग्र्रहमा समेटेको बताउँदै लेखकका लागि इमान्दारी आवश्यक हुने र त्यसमा पनि नियात्राका लागि इमान्दारी अति महत्वपूर्ण हुने विचार व्यक्त गरे।

नियात्रा समाजका अध्यक्ष चन्द्रप्रसाद भट्टराईले समाज नेपाली नियात्रा विधाको विकास तथा विस्तारका लागि आगामी दिनमा पनि सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्दै नेपाली पाठकका लागि बुढाथोकीको बेलग्रेभको छुकछुके रेल पठनीय रहेको बताए। समीक्षक डा नारायण चालिसेले कविता, मुक्तक, गजलमा स्थापित बुढाथोकीले नियात्रामा समेत विशिष्ट पहिचान बनाउनुभएको विचार व्यक्त गरे।

समीक्षक ज्ञानु अधिकारीले बुढाथोकी इमान्दार लेखक हुनुहुन्छ र त्यो इमान्दारी सङ्ग्र्रहमा छ भने। नियात्रा समाज नेपालका महासचिव मोहन चापागाईं, कवि प्रोल्लास सिन्धुलीय तथा बाबु त्रिपाठीले पनि सङ्ग्रहका विभिन्न पक्षमा प्रकाश पारेका थिए। सर्जक तथा साहित्य साधक बुढाथोकीका यसअघि किरिङमिरिङ सडकमा अलपत्र नियात्रा सङ्ग्र्रहसहित कविताका पाँच, गजलका तीन र मुक्तकका तीनवटा सङ्ग्र्रह प्रकाशित भइसकेका छन् । उनको सम्पादन तथा प्रकाशकत्वमा विगत २६ वर्षदेखि शिवपुरी सन्देश साहित्यिक त्रैमासिक निरन्तर प्रकाशित भइरहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *