१३६ देशहरुबीच ठूला कम्पनीलाई धेरै कर तिराउने सम्झौता

डिसी नेपाल
२३ असोज २०७८ १६:१२

काठमाडौं। विश्वका अधिकांश देशहरुले ठूला कम्पनीहरुलाई धेरै कर लगाउने ऐतिहासिक सम्झौता गरेका छन् । विश्वका १३६ देशहरु ठूला कम्पनीहरुमाथि कम्तीमा १५ प्रतिशत कर्पोरेट कर लगाउने कुरामा सहमत भएका छन् । यसका अलावा यी देशहरुबीच ठूला कम्पनीको मुनाफामा पनि उचित कर लगाउने सहमति भएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय बहुराष्ट्रिय कम्पनीहरुले आफूले तिर्नुपर्ने करबाट बच्नको लागि कम कर तिर्नुपर्ने देशहरुमा धेरै नाफा देखाउने गरेको चिन्ता व्यक्त गरिएको थियो । कम्पनीहरुले कम कर भएका देशमा धेरै नाफा देखाएर कर छली गरेको चिन्ता बढेपछि यी देशहरुले यो ऐतिहासिक सम्झौता गरेका हुन् ।

यो सम्झौतापछि पनि आलोचकहरुले भने १५ प्रतिशत कर्पोरेट कर एकदमै कम भएको र कम्पनीहरुले यसबाट पनि बच्ने बाटो खोज्ने चिन्ता व्यक्त गरेका छन् । बेलायती अर्थमन्त्री ऋषि सौनकले यो सम्झौतापनि वैश्विक कर प्रणाली अपग्रेड हुने र यो प्रणालीलाई नयाँ दौरको हिसाबले ढाल्न सकिने बताएका छन् । उनले भने ‘अब कम्पनीहरु जहाँ पनि कारोबार गर्नेछन् आफूले तिर्नुपर्ने उचित कर तिर्नेछन् ।’

आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी)ले कैयौं दशकदेखि न्यूनतम कर दर तय गर्नको लागि अभियान चलाइरहेको थियो । ओइसीडीका अनुसार यो सम्झौतापछि करको रुपमा कम्तीमा १५० अर्ब डलर प्रतिवर्षका दरले अतिरिक्त धन प्राप्त हुनेछ र यसबाट महामारीबाट उठ्दै गरेका देशको अर्थव्यवस्था बलियो बनाउन सहयोग पुग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *