जर्मन चान्सलर एंगेला मर्केलले इजरायल पुगेर इरानका विषयमा अहम घोषणा गरिन्

डिसी नेपाल
२५ असोज २०७८ १०:५८

काठमाडौं। १६ वर्षसम्म सत्तामा रहेपछि जर्मन चान्सलर एंगेला मर्केलले यसै वर्ष आफ्नो पद छोड्दैछिन् । तर, पद छोड्नुभन्दा पहिले उनी चान्सलरको रुपमा अन्तिम इजरायल भ्रमणमा छिन् । आइतबार उनले इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटसँग भेटघाट गरिन् ।

भेटवार्तापछि साझा पत्रकार सम्मेलनमा जर्मन चान्सलर मर्केलले इरानसँग आणविक सम्झौताका विषयमा हुने वार्ता एकदमै निर्णायक चरणमा भएको बताएकी छिन् । उनले इरानसँग भएको परमाणु सम्झौतालाई फेरि अस्तित्वमा ल्याउने विषयमा जर्मनीको प्रतिबद्धतामा पनि जोड दिइन् । उनले भनिन् ‘जसरी आणविक सम्झौताको लागि दिन बितिरहेको छ त्यसरी नै इरानले हरेक दिन आफ्नो युरेनियम संवद्र्धनलाई बढाइरहेको छ ।’

मर्केलले इरानलाई भियना सम्झौता अनुसार फेरि वार्तामा ल्याउनको लागि विश्व शक्तिहरुको सहभागिताको आह्वान गरिन् । उनले भनिन् ‘म रुस र चीनको लागि एक ठूलो जिम्मेवारीको रुपमा देखिरहेकी छु ।’ आफ्नो सम्बोधनमा उनले हरेक जर्मन सरकारको लागि इजरायलको सुरक्षा सर्वोच्च प्राथमिकता हुने बताइन् ।

अमेरिकाको ट्रम्प प्रशासनले एकतर्फी निर्णय लिँदै इरानसँग परमाणु सम्झौता तोडेको थियो । यसको प्रतिक्रियामा इरानले पनि स्वयंलाई परमाणु सम्झौताबाट अलग गरेको थियो । सत्तामा बाइडेन आएपछि अमेरिका र युरोपेली देश इरानलाई फेरि यो सम्झौताअन्तर्गत ल्याउने प्रयासमा लागेका छन् । मर्केलले भनिन् ‘मैले कहिल्यै पनि जेसीपीओएलाई आदर्श मानिन, तर कुनै सम्झौता नहुनुभन्दा यो राम्रो हो ।’

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले पनि इरानको परमाणु कार्यक्रमलाई विश्वको लागि खतरा बताउँदै इजरायल इरानलाई रोक्नको लागि जे परिआउँछ गर्ने बताए । यसअघि एक विशेष क्याबिनेट बैठकको क्रममा बेनेटले भने ‘हाम्रो लागि यो रणनीतिक समस्या नभइ अस्तित्वको समस्या हो ।’ बेनेटका अनुसार विगत ३ वर्षमा इरानले आफ्नो परमाणु कार्यक्रम संवद्र्धनलाई तीब्र रुपले बढाएको छ ।

मर्केल र बेनेटले भविष्यको प्यालेस्टाइनका विषयमा भने सार्वजनिक रुपले असहमति जनाए । मर्केलले प्यालेस्टाइनको मुद्दामा भनिन् ‘भलै आज यो विन्दुका दुई राज्य समाधानको कुरा निराशाजनक लाग्छ तर मलाई लाग्छ कि यसलाई वार्ताका क्रममा बेवास्ता गरिनु हुँदैन । यसलाई दबाइनु हुँदैन । साथै यो पनि सुनिश्चित गरिनुपर्छ कि प्यालेस्टाइनी सुरक्षित रहन सकुन् ।’ उनले प्यालेस्टाइनीले जुन कब्जा गरिएका क्षेत्रको माग गरिरहेका छन् त्यहाँ इजरायली बन्दोबस्त निर्माण व्यर्थ भएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *