राम्रो संस्कारको शुरुवात गरौं

कपिल लोहनी
७ माघ २०७९ ७:४६

हेर्दा हेर्दै नेपालका शहर मात्र होइन, गाउँघरमा पनि जनसंख्या बढेर कोलाहलको स्थितिको सिर्जना भइसकेको छ।

हामी साना छँदा भारतको कलकत्ता, अमेरिकाको न्युयोर्क, चीनको सांघाई, जापानको टोकियो आदि शहरका सडकमा मानिसहरू कमिला सरी हिँडिरहेका, जताततै खचाखच भिडले गर्दा शहरहरू अति व्यस्त रहेका फोटोहरू हेरेर हामी छक्क पर्दथ्यौँ।

तर हिजो आज नेपालका पनि काठमाडौँ लगायत अधिकांश शहरहरू र गाउँघरमा भिडभाड बढेको बढ्यै छ। यस्तो स्थितिमा त्यो भिड र विशाल जनसंख्यालाई आवश्यक यातायातका साधन, खाद्य तथा पेय पदार्थ, लत्ता-कपडा, मनोरञ्जनका साधन, होटेल, रेष्टुरेन्ट, विद्यालय, अस्पताल, क्लिनिक आदि यावत आवश्यकीय सेवा सुविधाका साधन चाहिने नै भयो। त्यस्ता सेवा पु¥याउने व्यक्ति र संस्थाले फेरि झनै भिडभाड बढाउन पनि मद्दत गर्ने नै भए।

यसरी एकातर्पm जनसंख्या बढ्दै जानु र त्यो जनसंख्यालाई बस्ने र खाने बन्दोवस्तीले गर्दा खाली जमिन र हरियालीमा कमी हुँदै जानु तथा यातायातका साधन र उद्योगधन्दाले गर्ने प्रदूषणको कारण वर्षेनी केही डिग्री तापक्रम बढ्दै जानाले जलवायु परिवर्तनमा पनि यसले ठूलो असर पार्ने।

त्यसैले त होला नी हामी साना छँदा जताततै खुला ठाउँ भएको र जनसंख्या पनि कम भएकोले जाडोयाममा अहिले भन्दा पनि चिसो र बिहान बेलुकी हुस्सु र कुहिरोले वातावरण टम्म ढाकिएको हुने तथा हरिया खेतबारी र रुखपातले गर्दा पानी र हरियालीको पनि कमी नहुने। त्यस्तै गर्मीयाममा पनि आज जस्तो गर्मी नहुने । तर आज आएर सबै ऋतुको मौषममा ठूलो परिवर्तन आउन थालेको छ।

गर्मी बढ्दै गएको छ भने जाडोयामको हुस्सु र कुहिरो पनि हराउनुका साथै हिमालमा हिउँ र पानी पर्न कम भएर हिमाल कालो पत्थरमा र पहाड सुख्खा र बन्जर भूमिमा रुपान्तरण हुँदै गएका छन्। यो हिसाबले त केही दशकमा नै हिमनदी तथा हिमताल र झर्ना जस्ता शव्द नै शव्दकोषबाट झिक्नुपर्ने हुनसक्छ।

बढ्दो जनसंख्याको पेट भर्न अब जैविक प्रविधिबाट मात्र उत्पादन गरिएका कृषि उपजले नपुग्ने भएकाले विभिन्न खालका रसायन हालेर उत्पादन गरिएका खाद्य र पेय पदार्थको खपत बढ्दै गएको छ। स्वच्छ हावा खान र सफा पानी पिउन पाउनु पनि भाग्यको कुरा भइसकेको छ।

यी सबै कारणले गर्दा मुलुकमा विभिन्न प्रकारका रोगब्याधी बढ्नुका साथै बिरामी मानिसहरू तथा दीर्घरोगीहरूको संख्या पनि बढ्दै गएको छ। सरकारी तथा नीजि अस्पतालहरू सँधै जसो नै खचाखच भरिएका हुन्छन् भने प्याथोलोजी ल्याब र चिकित्सकका क्लिनिकहरूमा पनि सधैं भिड लाग्ने गरेको छ। घरैमा बसेर पनि कति बिरामीहरू आफ्नो इलाज गराइ रहेका हुन्छन् भने विदेशमा गएर औषधोपचार गर्नेको पनि ठूलै संख्या छ।

आफन्त तथा नजिकका व्यक्तिहरू बिरामी भएर अस्पतालमा वा घरैमा बसेर ओषधिमुलो गर्दा भेट्न जाने मानिसहरूको पनि ताँती लाग्ने गरेको छ। स्वस्थ भएर बस्दा भने भेट्ने मानिस ज्यादै कम हुन्छन् हिजोआज।

कोभिड तथा अन्य सरुवा रोगले गर्दा अस्पताल भरिएको बेलामा बाहेक अन्य कारणले बिरामी परेका मानिसलाई भेट्न अस्पताल पुग्नेको ठूलै संख्या हुन्छ। जति उच्च ओहदाको वा काम लाग्ने व्यक्ति वा उसको नातेदार भयो, त्यति धेरै भिड लाग्ने।

बिरामी भेट्न अस्पताल वा घर पुग्नेहरू पनि विभिन्न कारणले आफ्नो समय खर्चेर भेट्न पुग्दछन्। कोही साँच्चै नै पिर परेर बिरामीको स्वास्थ्य अवस्था बुझ्न र बिरामीलाई सान्त्वना दिन पुग्छन् भने धेरै मानिसहरू बिरामी भेट्ने बहानामा उनका महत्वपूर्ण ओहदामा भएका निकट नातेदारलाई प्रभावमा पार्न पनि पुगेका हुन्छन्। समाजमा बिरलै यस्ता व्यक्ति भेटिन्छन् जसले बिरामीका कुरुवालाई केही समयको लागि फुर्सद दिएर बिरामीलाई आफूले कुरिदिने प्रस्ताव राख्दछन्।

जेसुकै कारणले बिरामी भेट्न गएता पनि, प्रथमतः बिरामी मानिसलाई भेट्न जानु नै एक प्रकारले गलत कुरा हो। अस्पतालमा राखेर वा घरको कोठामा सुरक्षित राखेर बिरामीको उपचार गर्नु भनेको उसलाई बाह्य परजीवी तथा किटाणुहरूबाट पनि सुरक्षित राख्नु हो।

त्यसैले यस्तो परिस्थितिमा उसका चिकित्सक, नर्स तथा घरका केही ज्यादै नजिकका व्यक्तिको पहुँचमा मात्र हुनु पर्दछ बिरामी व्यक्ति। अर्को कुरा बिरामी व्यक्तिले सकेसम्म शान्त वातावरणमा बसेर ज्यादै आरामका साथ औषधि र आवश्यक पौष्टिक आहार सेवन गरेर नचाहिँदा कुरा र व्यक्तिको पहुँचबाट टाढा बसेमा उसलाई छिटो सञ्चो हुन मद्दत मिल्दछ।

मानिसहरूको हरदम भिडमा बस्नु पर्ने नेता, अभिनेता, धर्मगुरु, प्रशासक वा अन्य प्रख्यात व्यक्ति त तनाव र थकानको सिकार हुन्छन् भने एकजना बिरामी मानिस, जसलाई रोग र बिमारीको कारण कसैसँग बोल्न मन हुँदैन, केही खान वा पिउन मन हुँदैन र केही पढ्न वा सुन्न मन हुँदैन, त्यस्तो मानिसले हरदम भेट्न आउने मानिसको भिडलाई कसरी सहेर बस्न सक्ला। त्यसैले पनि बिरामी र दीर्घरोगीलाई सकेसम्म भेट्न गएर अनावश्यक पीडामा पार्नु हुँदैन।

बिरामी अलिक तग्रेर स्वस्थ हुँदै गएको अवस्थामा भने उसलाई केही बेर भेट्दा केही फरक पर्दैन। तर त्यस्तो बेलामा उसलाई तनाव हुने कुरा, अन्य बिरामीका कथा, नकारात्मक कुरा वा घर तथा कार्यालय वा अन्य ठाउँका झैंझगडा बारेका कुरा गर्नु भनेको बिरामीको स्वास्थ्य स्थितिलाई झनै जटिल बनाउनुको बराबर हुन जान्छ।

बिरामीलाई भेट्न जाँदा फुलका गुच्छा, खादा, विभिन्न प्रकारका खानपिनका साधन, मसला, फलफुल आदि लिएर जाने चलन छ। त्यस्ता सामान लिएर जाँदा सबैले आफूले मात्र त्यस्ता सामान लगेको जस्तो गरेर सोचेका हुन्छन्।

तर त्यहाँ भेट्न जाने कैयन्ले त्यस्ता सामान लिएर जाँदा त्यस्ता सामानको ठूलै चुली लागेको हुन्छ बिरामीको कोठामा। आखिर त्यस्ता सामान त्यसै खेर जान्छन् भन्ने कुराको हेक्का कसैमा भएको देखिँदैन।

हामीले बिरामीको लागि लग्ने खानपिनका सामान अधिकांश अस्वस्थकर नै हुन्छन् भन्ने कुरा पनि हामी महसुस गर्दैनौँ। उदाहरणको निम्ति जुनैसुकै प्रकारका बिस्कुटमा पनि मैदा मिलाइएको हुन्छ जुन पाचन प्रणालीको निम्ति हानिकारक हुन्छ भने फलफुलको रसमा विभिन्न प्रकारका रसायन, रङ्ग तथा अधिक मात्रामा चिनी मिलाइएको हुन्छ।

हर्लिक्स तथा अन्य तागत दिने खाद्य पनि धेरै जनाले ल्याइदिएर र दिनहुँ खाँदा खाँदा बिरामी त्यस्ता खानाबाट अवाक भइसकेका हुन्छन्। त्यस्तै फूलका गुच्छा तथा खादा पनि एउटा बिरामीको निम्ति नै अस्पतालमा दिनहुँ दर्जनौँको संख्यामा पुग्छन् भने अस्पतालमा रहेका सम्पुर्ण बिरामीका निम्ति कति धेरै भेला हुन्छन् होला।

एकाध दिन त ती फूलले राम्रै शोभा दिन्छन् तर त्यसपछि भने फुलहरू सड्न थालेर अस्पतालका सफाई कर्मचारीले दिनहुँ ठूलो परिमाणमा अस्पतालका विभिन्न खाले फोहरका साथै त्यस्ता फूल र खानाका प्याकेटहरू पनि फ्याँक्नु पर्ने हुन्छ।

त्यसपछि फेरि हाम्रा असक्षम पालिकाहरूले सडकका नियमित फोहर त व्यवस्थापन गर्न नसकेको बेला शहर भरीका अस्पताल र बिरामी भएका घर घरबाट त्यस्ता अतिरिक्त फोहरको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ।

त्यसैले पनि पहिलो कुरा त बिरामीलाई अनावश्यक तवरले भेट्न नै नजाँदा राम्रो हुन्छ भने भेट्दा त्यस्ता खानपानका सामान र फुलमाला बिना नै भेटेर छोटो कुरा गरेर छिटै बिदा हुनु पनि शिष्टताको एउटा अनुपम नमुना हुन जान्छ।

बरु सुस्वास्थ्यको कामना तथा अन्य राम्रा विचार छापिएका कार्ड र पुस्तक, पत्रपत्रिका उपहारस्वरुप दिँदा भने बिरामीले आफू तग्रिँदै गर्दाको खाली समयमा त्यस्ता कुरा पढेर ती व्यक्तिलाई पछिसम्म सकारात्मक रूपमा सम्झिरहने गर्दछन्।

अस्पताल व्यवस्थापनले पनि अस्पतालमा अनावश्यक भिडभाड कम गर्न बिरामीलाई भेट्न जाने व्यक्तिले केही निश्चित रकम जम्मा गरेर मात्र पालै पालो भेट्न जाने व्यवस्था मिलाउन सके भेट्न जानेको संख्यामा कमी आउने थियो।

त्यसरी उठेको रकम सो बिरामीको अस्पतालको खर्चमा कटौती गर्दा बिरामी र उसका परिवारलाई आर्थिक भार पनि कम पर्न जाने थियो। यस्तो व्यवस्थाको एउटा छुट्टै भरपर्दो प्रणालीको नै विकास गरेर सबै अस्पतालमा लागु गर्न सके ज्यादै राम्रो हुने थियो।

हामीले विचार गर्नुपर्ने अर्को महत्वपुर्ण कुरा के पनि हुन्छ भने, हाम्रो जस्तो अल्प विकसित मुलुकमा स्वास्थ्य र जीवन विमा गर्ने वानी जनतामा बसिसकेको छैन र अधिकांश विमा कम्पनी समेत व्यावसायिक व्यवहार गर्न सक्ने भइसकेका छैनन्।

त्यसैले घरपरिवारमा कोही बिरामी भयो भने आफ्नै श्रोतसाधनले औषधोपचार गर्न मानिस वाध्य हुन जान्छन्। त्यस्तो बेला बिरामी भेट्न जाने व्यक्तिहरूले अस्पताल जाँदा होस् वा घरैमा भेट्न जाँदा पनि खानेकुरा र फूलमालाको सट्टा आफ्नो गक्षताले भ्याएसम्मको मुनासिव नगद रकम नै खाममा राखेर बिरामीका निकट परिवारजन वा अभिभावकलाई दिने बानी बसाले भने त्यस्तो रकमले औषधोपचारमा ठूलो मद्दत पुर्‍याउन सक्दछ।

यो नयाँ संस्कारले वास्तवमा नै समाजमा एक प्रकारको सहयोगको भावना पनि जागृत हुन जान्छ भने यस्तो बेलाको मद्दतले जीवनभर एकापसमा माया, प्रेम र सद्भाव रहिरहन्छ ।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *