मूर्ति पूजा आवश्यक छ ?

हरिप्रसाद सोडारी
११ वैशाख २०८० १३:४८

संसारमा मूर्त र अमूर्त वस्तुहरू छन्। जसको अस्तित्व वा स्वरूपलाई प्रत्यक्ष देख्न सकिँदैन त्यसलाई अमूर्त, जसलाई देख्न सकिन्छ त्यसलाई मूर्त भनिन्छ। अमूर्त वस्तुलाई मूर्तरूपमा देखाउन जुन आकृति वा स्वरूपको निर्माण गरिन्छ त्यसलाई मूर्ति भनिन्छ।

व्याक्टेरिया, भाइरस आदि सूक्ष्म जीवलाई प्रत्यक्ष हेर्न सूक्ष्मदर्शकलगायतका यन्त्र चाहिन्छ। यी भन्दा साना जीव पनि होलान्, जसलाई हेर्न अन्य उपकरणहरूको आविष्कार गर्नुपर्छ। नदेखिने अनेकौँ परमाणुको आकार बनाएर वैज्ञानिकले समेत मूर्तिपूजालाई अनुकरण गरिरहेका छन्।

अतिसूक्ष्म जीवाणुदेखि ठूला जीवजन्तुभित्र व्यापक भएर परमात्माले संसार चलाएको छ। अदृश्य परमात्मालाई साक्षात्कार गर्न सहज होस् भनी निर्माण गरिएको स्वरूपलाई मूर्ति भनिन्छ। त्रिकालदर्शी ऋषिमुनिहरूले तपोबल, योगबलबाट परमात्मालाई साक्षात्कार गरे।

उनीहरूले जस्तो देखे, शास्त्रले जस्तो भने त्यस्तै स्वरूपको मूर्ति बनाए। मूर्तिमा निराकार परमात्माको दर्शन, ध्यान, अनुष्ठान गर्न सजिलो पर्ने हुनाले मूर्तिपूजा लोकप्रिय बन्दै गयो।

ईश्वर पूजामा फलफूल चढाउने, धूप बाल्ने, पानी अर्पण गर्ने परम्पराको विकाश भयो। देवताहरू धूप (गन्ध)बाट प्रसन्न हुने हुनाले यो प्रचलन लोकप्रिय हुन पुग्यो।

तावच्च प्रतिमा पूज्या यावद् विज्ञानसम्भवः ।
ज्ञानाभावे न पूज्येत पतनं तस्य निश्चितम् ।।
-शिवपुराण (सृष्टिखण्ड १२।६७)

अर्थात्, “जबसम्म पूर्ण ज्ञान हुँदैन तबसम्म प्रतिमापूजा गर्नै पर्छ, ज्ञान नभईकन जसले प्रतिमापूजा छोड्दछ, त्यसको पतन निश्चित हुन्छ।” पतनको अर्थ हो परमात्मासम्म पुग्न नसक्नु। साधना सम्पन्न वा ईश्वर साक्षात्कार गर्ने शक्ति भएपछि मूर्तिपूजा छोड्दा फरक पर्दैन।

हरेक भाषामा लेख्न र पढ्न सक्षम हुन अक्षरलाई राम्रोसँग चिन्न एवं उच्चारण गर्न सक्नुपर्छ। ईश्वर प्राप्त गर्ने अवस्थामा पुग्न पूजा, तीर्थाटन, शास्त्र पाठ, माला जपजस्ता कार्य गर्नैपर्छ।

नेपालको प्रकृति र भूगोलले मन्त्र, तन्त्रको साधना एवं यन्त्र निर्माणका लागि सहयोग पुर्‍याएको छ। प्राचीन कालदेखि ऋषिमुनि, साधुसन्तहरूले जीव, जीवन र जगत्को अनुसन्धान गरे। वेदव्यास नेपालमा जन्मिएर दमौलीको व्यासगुफामा साधना गरे।

वाल्मीकिको तपस्यास्थल नवलपरासीको भैँसालोटन, बुद्धको जन्मस्थल लुम्बिनी, महादेव र पार्वतीको बासस्थान गौरीशंकरहिमाल, कुम्भकर्णको साधनास्थल कुम्भकर्णहिमाल, दुर्गाको कर्मस्थल कञ्चनजंघा आदिले नै बताउँछ कि नेपाल साधनाभूमि, पुण्यभूमि र देवभूमि हो।

यही भूमिमा उनीहरूले मूर्तिमा परमात्मालाई साक्षात्कार गरे। त्यसैको प्रभावले नेपालमा दैवी विपत्ति आउने जानकारी मूर्तिले दिन्छन्। जस्तै वि. सं. २०५८ मा राजा वीरेन्द्रको हत्या, वि. सं. २०४६ एवं वि. सं. २०६२/६३को आन्दोलन, वि. सं. १९९०, २०१८, २०४५, २०७२ सालको भूकम्प आउनु पहिले दोलखाजिल्लाको भीमेश्वर, काभ्रेजिल्लाको उग्रचण्डी आदिमा पसिना आएको थियो।

वाल्मीकिको तपस्यास्थल नवलपरासीको भैँसालोटन, बुद्धको जन्मस्थल लुम्बिनी, महादेव र पार्वतीको बासस्थान गौरीशंकरहिमाल, कुम्भकर्णको साधनास्थल कुम्भकर्णहिमाल, दुर्गाको कर्मस्थल कञ्चनजंघा आदिले नै बताउँछ कि नेपाल साधनाभूमि, पुण्यभूमि र देवभूमि हो।

कोरोनाको प्रकोप एवं वि. सं. २०७७ पुष ५ गते तात्कालिक प्रधानमन्त्री के.पी ओलीले प्रतिनिधि सभाको विघटनपूर्व भीमेश्वरमा पसिना आयो। शिवलिंग, मूर्ति, देवस्थल आदि बिना कारण फुट्यो, हल्लियो, पसिना आयो, रोएको आवाज सुनियो भने राष्ट्रप्रमुख वा राष्ट्रको नाश हुन्छ।

मूर्तिबाट भविष्यको जानकारी, ब्रम्हाण्डको रहस्य थाहा हुन्छ। यहाँ साधना गरे अलौकिक आनन्द-सुःख-शान्ति मिल्छ। ज्ञान प्राप्त नहुँदासम्म ध्यान र पूजाका लागि मूर्ति चाहिन्छ।

मन्दिर निर्माण गरी मूर्ति राख्ने व्यापक काम कलियुगको प्रारम्भसँगै भएको देखिन्छ। क्षेत्र वा भूमिलाई पूज्य मान्ने चलन आदिम कालदेखि थियो । रुरु, लुम्बिनी, कुरु, काशी, वाराह, कैलाश, पाशुपत आदि क्षेत्र पवित्रतम भूमि भएकाले दर्शनीय हुन पुगे।

यहाँ स्थापित मन्दिरको गरिमा, जलको महिमा उच्च हुन थाले। सत्ययुगमा मूर्तिपूजाको लोकप्रियता थिएन, निराकार परमात्मालाई चिन्तन गर्ने पद्धतिमात्र थियो। द्वापरयुगपछि मूर्तिपूजाको क्रम बढ्दै गयो।

दयानन्द सरस्वती, कवीरलगायतका साधु एवं केही अन्य सम्प्रदायले मूर्तिपूजाको खण्डन गरेका थिए। एक दृष्टिले यो ठीक पनि हो। तथापि आत्मा र परमात्माको चिन्तन गर्न नसक्दासम्म मूर्तिकै सहयोग लिनुपर्छ।

मानिसको बौद्धिक क्षमता घट्दै गएपछि पवित्रस्थलमा मूर्ति स्थापना गर्न थाले। याज्ञवल्क्य स्मृति (१।२९६–२९८)मा तत्तत् धातुबाट नवग्रहको मूर्ति बनाएर पूजा गर्ने विधान छ। तीर्थस्थलको ऊर्जालाई जम्मा गर्न सक्ने शक्तिशाली ढुंगालाई प्राणप्रतिष्ठा गरी मूर्ति राखियो।

तीर्थस्थल, पुण्यस्थल, देवस्थलको शक्तिले मूर्तिमा ऊर्जा भरियो। उदाहरणका लागि कैलास, मृगस्थली, वाग्वती र पाशुपतक्षेत्रको महत्ताले पशुपतिमन्दिरको अस्तित्व चम्किएको हो। गंगाले वनारसमा विश्वेश्वर शिवलिंगको महत्व बढाएकी छिन्।

क्षेत्रको महत्वले मन्दिरको गरिमा उच्च हुन्छ। भूऊर्जा नहेरी मन्दिर बनाउँदा पैसा र भीड जम्मा होला तर आध्यात्मिक फाइदा हुँदैन।
धर्मबाट अध्यात्मसम्मको यात्रा पूरा गर्न मूर्तिले सहयोग गर्दछ। धार्मिक मानिसहरूले भजन, पूजा, व्रत आदिमा विश्वास गर्छन्।

आध्यात्मिकले ज्ञान, आत्मचिन्तन वा परमात्माको साक्षात्कारमा विशेष जोड दिन्छन्। धार्मिक नभई आध्यात्मिक यात्रा संभव हुँदैन। मानिसको प्रवृत्ति एवं युगको प्रभाव हेरी ऋषिमुनिहरूले विभिन्न पदार्थ एवं रंगका मूर्तिहरू पुज्ने पद्धतिको विकाश गरे।

विशेषतः सरस्वतीको सेतो मूर्ति, रातो रंगलाई तेलमा घोलेर लेपन गरेको हनुमानको मूर्ति, शिव आदिको कालो मूर्तिमा पुज्दा छिटो फल प्राप्त हुन्छ। सूरदासले काली कमलीया चढत न दुजो रंग भन्दै ‘कृष्ण कालो भएकै हुनाले सबै गुणले सम्पन्न थिए भनेका छन्।

कालोमा जस्तो रंग मिलाए पनि कालो नै हुन्छ तर अन्य रंगहरू बदलिन्छन्। अधिकांश साधुहरूले सिद्धि प्राप्त गरेका मूर्ति प्रायः कालो रंगका एवं चुम्बक टाँसिने ढुंगाका छन्। रामकृष्ण परमहंशले कालीको कालो मूर्तिमा सिद्धि पाए। नेपालका अधिकांश देवीका मूर्तिहरू कालै छन्।

कालो रंगको सरस्वतीको मूर्तिमा साधना गरेर सुकृतिदत्त पन्तले वाक् सिद्धि गरेका थिए। सेतो रंग सत्य र सात्विकको प्रतीक हो, यसलाई ब्राम्हण रंग मानिन्छ, रातो क्षत्रीय र शक्तिको प्रतीक हो, पहेँलो वैराग्य एवं वैश्यको प्रतीक हो, कालो शूद्र अर्थात् सबै गुण अटाउने अनन्तको प्रतीक हो।

महाभारतको शान्तिपर्व, विष्णुपुराण एवं वायुपुराणमा रंगको सम्बन्धलाई स्वभाव, जात, प्रकृतिसँग तुलना गरिएको छ। अग्नि र बृहस्पतिलाई ब्राम्हण देवता, इन्द्र-वरुण-यमलाई क्षत्री देवता, वसु-रुद्र–विश्वेदेव-मरुत्लाई वैश्य देवता एवं पूषन्लाई शूद्र देवता भनिएको छ।

देवीदेवताका पूजाअनुसार मिल्ने फल फरक फरक छन्। भैरव, रुद्र र दुर्गाको साधना गर्ने, मशानघाटमा अनुष्ठान गर्ने साधकहरू छिटो रिसाउँछन्। मन्त्रभन्दा तन्त्रसाधकहरू उग्र स्वभावका हुन्छन्। उदाहरणका लागि महादेवलाई पूज्ने र विष्णुका उपासकमा भिन्न स्वभाव भेटिन्छ।

नायमात्मा प्रवचनेन लभ्यो न मेधया न बहुना श्रुतेन।
यमेवैष वृणुते तेन लभ्यस्तस्यैष आत्मा विवृणुते तनुं स्वाम्।।
-मुण्डकोपनिषद् (२।३)

अर्थात्, “परमात्मालाई न प्रवचनद्वारा, न बुद्धिद्वारा, न धेरै सुनेर प्राप्त गर्न सकिन्छ। जसले स्वीकार्छ, उसले परमात्मालाई प्राप्त गर्न सक्छ। किनकि परमात्माले त्यस्तालाई यथार्थ स्वरूप प्रकट गरिदिनुहुन्छ।”

इष्टदेवीदेवतामा मनलाई स्थिर, चिन्तन र भावलाई दृढ, निदिध्यासनलाई अबल बनाउन मूर्तिको आवश्यकता पर्दछ। मूर्तिपूजामा साधकको भाव र भावना प्रकाशित हुन्छ र परमात्मासम्म पुग्न महत्वपूर्ण भूमिका खेल्छ।

साधकको मनबाट आएका चिन्तनअनुसारको मूर्तिमा साधना गरे छिटै लक्ष्य प्राप्त हुन्छ। ‘भावे तिष्ठन्ति देवताः अर्थात्, भावमा नै भगवान् बस्दछन् भनिन्छ। पूजामा शास्त्रीय विधानसहित मानसिक र शारीरिक शुद्धता चाहिन्छ।

नफुट्ने ढुंगा, नटुक्रने रत्न-धातु, नबिग्रने काठबाट मूर्ति बनाउन सकिन्छ। मूर्तिमा नियम र शास्त्रसंगत विधिले पूजा, उपासना गर्नुपर्छ। श्रद्धा नभएका, जुठोसुत्केरो परेका, प्रतिकूल स्वास्थ्य, विषम अवस्थामा मूर्ति पूजा गर्नुहुँदैन।

देवीदेवताको फोटोसँगै पितृहरूको फोटो राखेर पूजा गर्ने नियम छैन। देवीदेवताका तस्वीर एवं मूर्तिहरू पूर्व वा उत्तरतर्फ एवं पितृहरूको दक्षिणतर्फ राख्नु उचित हुन्छ।

निश्चित सीमाभन्दा टाढा रहेको दृश्य, आवाज हाम्रो अधीनमा हुँदैन। अदृश्य परमात्मालाई जान्नका लागि चिन्तन, श्रद्धा, विश्वाससहितको अनुष्ठान आवश्यक पर्छ। यसका लागि मूर्तिपूजाको आवश्यकता पर्दछ। गणेश, महादेव, लक्ष्मी, सरस्वती, गौतमबुद्ध, मुहम्मद पैगम्बर, येशूख्रीष्टलगायतको फोटो वा मूर्ति अहिलेसम्म उत्तिकै लोकप्रिय छन्, सबैले मूर्तिपूजामा विश्वास गर्छन्।

तुलसीदासले भन्नुभएको छ- ‘जाकी रही भावना जैसी प्रभू मूरति देखी तिन जैसी अर्थात्, “मनमा जस्तो भावना उत्पन्न हुन्छ त्यस्तै प्रभूको मूर्ति देखिन्छ।” मूर्ति स्थापना गरी शास्त्रीय विधानअनुसार प्राणप्रतिष्ठापछि पूजा शुरुवात गरिन्छ।

प्राणको अर्थ ईश्वरीय भाव र प्रतिष्ठाको अर्थ स्थापना गर्नु हो। मूर्तिमा कुन देवीदेवतालाई साक्षात्कार गर्न चाहेको हो त्यसैअनुसार प्राणप्रतिष्ठा गरिन्छ। मूर्तिका साथमा पाश्र्वती, गण, बाहान मिलाएर राख्नुपर्छ। कापिलतन्त्रमा भनिएको छ-

आभिरूप्याच्च बिम्बस्य पूजायाश्च विशेषतः ।
साधकस्य च विश्वासाद् देवतासन्निधिर्भवेत् ।।

अर्थात्, “प्राण-प्रतिष्ठाद्वारा मूर्तिमा भगवान्लाई प्रतिस्थापित गराइन्छ र त्यही मूर्तिमा साधकले भगवान् रहेको विश्वास गर्दछ।” मूर्तिमा प्राण भएकाले कपडा लगाइदिनेदेखि खाने, बस्ने प्रबन्ध गरिन्छ।

अमूर्तौचस्थिरा न स्यात्ततो मूर्ति विचिन्तयेत् अर्थात्, मूर्तिविना मन स्थिर हुँदैन, मनस्थिर नभएसम्म लक्ष्य प्राप्ति हुँदैन। मूर्तिलाई मन्दिरमा राखिन्छ। जसको दर्शन र साधनाले मन स्थिर हुन्छ।

विधिपूर्वक बनेका मूर्तिमा अथाहा दैवीशक्ति सञ्चार हुन्छ। द्रोणाचार्यको मूर्तिमा साधना गरेर एकलव्य सर्वश्रेष्ठ धनुर्धर भए। सीताको अनुपस्थितिमा सुनको मूर्ति स्थापना गरेर भगवान् रामले अश्वमेध यज्ञ सफल गरे।

रामकृष्ण परमहंशले कालीको मूर्तिलाई प्रसाद खुवाएका थिए। निराकार परमात्मालाई व्यक्त हुन कुनै माध्यम चाहिन्छ, यसका लागि मूर्ति आवश्यक पर्छ।

भगवान् शिवका शर्व, भव, रुद्र, उग्र, भीम, पशुपति, ईशान तथा महादेव गरी आठ मूर्ति प्रसिद्ध छन्। मूर्तिपूजा वास्तवमा ढुंगा पूजा होइन परमात्माको पूजा हो, ईश्वरको दर्शन गर्ने आधार हो।

वैज्ञानिकहरूले खुल्ला आँखाले देख्न नसक्ने इलोक्ट्रोन, प्रोटोन, न्यूट्रोन आदिको चित्र बनाउँछन्। यस्तै गरी ऋषिमुनिहरू देवीदेवताको सूक्ष्म आकारलाई ध्यानमा राखेर मूर्तिनिर्माण गर्छन्।

मूर्तिपूजाका विरोधी वा खण्डनकर्ताहरू पनि घुमाउरो तरिकाले मूर्तिपूजालाई स्वीकार गरिरहेकै छन्। जस्तै बुद्ध, जिसस, दयानन्द सरस्वती आदिका मूर्ति र फोटाहरू बजारमा, घरका भित्तामा, चर्च, गुम्बा आदिमा निकै देखिन्छन्।

व्यापारीहरूले मूर्ति बेचेर करोडौँको आय आर्जन गर्छन्, साधकहरूले लक्ष्य प्राप्त गर्छन्। मूर्तिपूजा गर्दैनौँ भन्नुको अर्थ हिन्दूहरू पानी पिउँछन् अन्यले वाटर, एच. टु. ओ., जलम् पिउँछन् भने जस्तै हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *