चकटी बहसमा ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल
काठमाडौं। पठन संस्कृतिको विस्तारका लागि काम गर्दै आएको संस्था बुकाहोलिक्सले ‘मासिक चकटी बहस’को ९५औँ शृङ्खलामा यस पटक अग्रज साहित्यकार पद्मावती सिंहको कथाकृति ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ माथि बहस गराएको छ।
शुक्रबार थापाथलीमा आयोजित उक्त बहस कार्यक्रममा वक्ता साहित्यकार अनिता पन्थीले कृतिमाथि आफ्नो दृष्टिकोण राखिन्। कथाकार समेत रहेकी समीक्षक पन्थीले पद्मावती सिंहका कथाहरूमा विविध पाटाहरू रहेको बताइन्। सहज र सरल लेखनीले कथाकार सिंहका कथाहरूमा विचरण गर्न सजिलो हुने उनले बताइन्।
पन्थीले भनिन्, “पद्मावती सिंहको कथा लेखनमा सुक्ष्मता पाइन्छ। उहाँले नसोचेको विषयमा पनि कथा लेख्दै आउनु भएको छ। उहाँका कथाहरूमा जीवन्तता पाइन्छ। समय, समाज र परिवेश उहाँका कथाहरूमा पाउन सकिन्छ। उहाँका कथामा विद्रोह पनि छ, तर त्यो विद्रोह पनि शालीन छ।”
पन्थीले कृतिभित्रका २२ कथाहरूमाथि टिप्पणी गर्दै पद्मावती सिंहका कथामा संस्कृति, सभ्यताका साथै यौन मनोविज्ञान पनि प्रस्तुत भएको बताइन्। उनले कथाकार सिंहका यौन कथामा कलात्मकता प्रचुर रहेको बताइन्। पन्थीले भनिन्, “यौन कथा लेख्न कलात्मक सोच चाहिन्छ। कलाले अश्लीलता छोपिन्छ।”
पन्थीले कथाकृतिभित्रका कमी कमजोरीहरूको पनि चर्चा गरिन्।
कथाकार सिंहले आफूले कथा लेख्दा कल्पनाको उडान खासै नगरेको बताउँदै आफूलाई छोएको विषयलाई कथाशिल्पमा उन्दै आएको बताइन्।
उक्त अवसरमा केही प्रश्न उठे, जसको जवाफ वक्ता र लेखक दुवैले दिए।
बुकाहोलिक्सकी संयोजक साहित्यकार सगुना शाहले संस्थाको बारेमा जानकारी दिँदै कथा लेखनका सन्दर्भमा आफ्नो विचार राखिन्। उनले सन् २०१३ देखि बुकाहोलिक्सले काम गर्दै आएको बताइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment