पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

डिसी नेपाल
६ चैत २०८२ १५:०२
16
Shares
महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ।
भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार यहाँ आजदेखि भारतीय दर्शनार्थीको भीड बढेको हो।
फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहानैदेखि दर्शनार्थीको भीड अत्यधिक बढेको हो। यहाँ बिहानैदेखि हजारौँ दर्शनार्थीको भीड बढेपछि मन्दिर र आसपासका क्षेत्रमा नेपाल प्रहरी र भीमदत्त नगरपालिकाको नगर प्रहरी त्यसको व्यवस्थापनमा जुटेको छ।
“पूर्णागिरिको दर्शनपछि सिद्धनाथ मन्दिरको दर्शन गर्नुपर्ने मान्यताका कारण हजारौँको सङ्ख्यामा दर्शनार्थी यहाँ आउने गर्छन्”, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भने, “भारतीय दर्शनार्थीको भोजनका लागि मन्दिर छेउमै भण्डारा लगाइएको छ।”
उनले दर्शनार्थीको भीडभाडसँगै महेन्द्रनगर, बह्मदेव, गड्डाचौकीलगायत क्षेत्रमा चहलपहल बढेको बताए। बजार क्षेत्रको पार्किङ व्यवस्थित गर्ने प्रयास गरिएको छ।
ब्रह्मदेवस्थित सिद्धनाथ मन्दीर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकले नवरात्रा अवधिमा मात्रै दैनिक हजारौँ दर्शनार्थी सिद्धनाथ मन्दिर दर्शनका लागि आउने गरेको बताए। बर्सेनि फागूपूर्णिमादेखि असारसम्म पूर्णागिरि मेला लाग्ने गर्छ। तीन महिनामा सिद्धनाथ मन्दिर दर्शन गर्न एक लाखभन्दा बढी दर्शनार्थी आएको उनले बताए।
“दर्शनार्थीका कारण बजार क्षेत्रमा चहलपहल बढे पनि पहिलेको जस्तो व्यापार छैन”, अध्यक्ष नायकले भने, “होटल व्यवसाय, यातायात व्यवसाय भने योबेला राम्रो हुने गरेको छ।”
यसैगरी, महेन्द्रनगरका अग्रज व्यवसायी प्रमोद जजोदियाले आफूहरू विगत एकदशकयता मिलेर नवरात्रिका बेला मन्दिरमा आउने दर्शनार्थीका लागि भण्डारा लगाउने गरेको बताए। “नवरात्रिका नौ दिन हामी निःशुल्क भोजन गराउँछौँ दैनिक दुई/तीन हजारदेखि आठ/नौ हजारसम्म दर्शनार्थी भोजन गर्छन्”, उहाँले भने, “यहाँका ३०/४० जना व्यापारी मिलेर हरेक वर्ष पूर्णागिरि मेलाका बेला निःशुल्क भोजनको व्यवस्थापन सिद्धनाथ मन्दिर छेउमै हुन्छ।”



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *