राप्ती साहित्य परिषद् र प्रा.डा. रेग्मीलाई नेपाली शिक्षा परिषद्का दुई प्रतिष्ठित पुरस्कार
काठमाडौं। नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ र ‘लेबाल त्रिरत्न पुरस्कार’को घोषणा गरेको छ। परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको प्रबन्ध समितिको बैठकले ती पुरस्कारहरू प्रदान गर्ने निर्णय गरेको हो।
परिषद्द्वारा जारी विज्ञप्ति अनुसार यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ राप्ती साहित्य परिषद्, दाङलाई प्रदान गरिने भएको छ। मोफसलमा रहेर पनि रचनात्मक क्रियाकलापमार्फत आधा शताब्दीदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत उक्त पुरस्कार दिन लागिएको हो। वि.सं. २०५० देखि निरन्तर प्रदान गरिँदै आएको यस पुरस्कारको नगद राशि ५० हजार रुपैयाँ रहेको छ।
त्यसैगरी, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित ‘लेबाल त्रिरत्न पुरस्कार’ वरिष्ठ सर्जक प्रा.डा. जगदीशचन्द्र रेग्मीलाई प्रदान गर्ने निर्णय गरिएको छ। नेपाली संस्कृतिको गहन अध्ययन गरी अनेकौँ अनुसन्धानमूलक कृतिहरूको सिर्जना गरेबापत प्रा.डा. रेग्मीलाई चयन गरिएको परिषद्ले जनाएको छ। यस पुरस्कारको नगद राशि ७५ हजार रुपैयाँ रहेको छ।
घोषित दुवै पुरस्कार आगामी साउन ३१ गते आइतबारका दिन परिषद्को ७६औँ वार्षिकोत्सव (अमृत महोत्सव वर्षको समापन) तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जयन्तीका अवसरमा आयोजना गरिने विशेष समारोहमा समर्पण गरिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment