हालैको दिल्ली भ्रमण (भाग २)

कपिल लोहनी
२७ फागुन २०७९ ७:४०

भारतको राजधानी तथा सबैभन्दा ठूलो शहर दिल्ली कुल १,४८३ वर्ग किलोमिटरमा फैलिएको छ। २ करोडको हाराहारी जनसंख्या भएको यो शहर विश्वकै सबैभन्दा बढी जनघनत्व भएको शहर हो यानी प्रत्येक वर्ग माइलमा २९,००० भन्दा बढी मानिसको बसोवास छ यहाँ।

राष्ट्रिय राजधानी इलाका (नेशनल क्यापिटल टेरिटोरी) मा पर्ने यो पुरानो शहर पुर्वमा उत्तर प्रदेश र पश्चिममा हरयाणा प्रान्तसम्म फैलिएको छ। गुरुगाउँ, द्वारका, फरिदावाद, बहादुरगढ जस्ता यो शहरका महत्वपुर्ण इलाका हरयाणामा पर्छन् भने नोयडा, गजियावाद उत्तर प्रदेशमा पर्छन्।

दिल्लीको छोटो बसाईँमा पनि प्रत्येक दिन घुम्न निस्कनु भन्दा पहिले दिनको शुरुवात बिहान ४ बजेबाट सधैंझैं नित्यकर्म, डायरी लेखन, पुस्तक तथा पत्रपत्रिकाका कटिङको अध्ययनबाट हुन्थ्यो। बिहान बिहान हामी बसेको नोयडा क्षेत्रमा प्रातःकालीन हिँडाइमा निस्कन्थेँ म।

चौडा भित्री बाटोमा छाडा गाई, बाच्छा-बाच्छी तथा साँढेको बथान नै बसिरहेका हुन्थे र गाडीमा आएर घरमा खेर गएका खाना तथा सागपात छाडा गाइवस्तु र कुकुरहरूलाई खुवाउन आउनेहरू पनि भेटिन्थे।

केही छाडा कुकुरहरूलाई त जाडोबाट बचुन् भनेर ज्याकेट तथा अन्य बाक्ला कपडा पनि लगाई दिएका थिए दयालु व्यक्तिहरूले। अनि सडकको चौडा पेटीमा छाडा कुकुरहरूको निम्ति ससाना तर राम्रै देखिने छाप्रा बनाई दिएर त्यस भित्र सुत्नको निम्ति बिछौना पनि बिछाई दिएका।

घरपालुवा कुकुरहरूलाई घाँटीमा बेल्ट बाँधेर बिहान घुमाउन लगिरहेका। निक्कै राम्रो नश्लका कुकुरहरू। एउटा अलिक चित्त नबुझेको कुरा चाहिँ कुकुरले बाटैमा मल त्याग गरिरहेका।

तर कुकुरका स्वामीलाई त्यस्ता मलको व्यवस्थापन गर्ने बारे र बटुवालाई त्यसो नगर्न बोल्ने कुरामा कुनै चासो नरहेको अवस्था। सडकमा हिँड्ने बटुवाहरूले भने एकछिन मात्र आँखा सडकबाट अन्त डुलाए भने जुत्ताले आची कुल्ची हाल्ने।

बिहानीको भ्रमणको शुरुवात हामीले राजघाटबाट गर्‍यौँ। सन् १९४८मा महात्मा गान्धीको हत्या भएको भोलिपल्ट उहाँको पार्थिव शरीरको दाहसंस्कार गरिएको ठाउँलाई राजघाट भनिन्छ।कालो सिंगमर्मरको चारकुने ढुङ्गामा अखण्ड दिप बालेर शान्त समाधि बनाइएको ठाउँमा दिनहुँ हजारौँ मानिस आएर आफ्नो श्रद्धा प्रकट गर्दछन्।

यमुनाको किनारमा अवस्थित अति नै विशाल यो हरित क्षेत्र र बगैँचामा अन्य ख्यातीप्राप्त व्यक्तित्वहरू जस्तै पण्डित जवाहरलाल नेहरु (शान्ति वन), लालबहादुर शास्त्री (विजय घाट), इन्दिरा गान्धी (शक्तिस्थल), जगजीवन राम (समता स्थल), चरण सिंह (किसान घाट), राजिव गान्धी (वीर भूमि) लगायत धेरैको समाधि छ। हामीले महात्मा गान्धीको समाधिमा नमन गर्‍यौँ।

बेलुकीको समयमा हामी हुमायुको मकबरा हेर्न गयौँ। सन् १५५६ मा मुगल बादशाह हुमायुको निधन पश्चात उनको शव पहिले दिल्लीस्थित पुराना किल्लामा दफनाइएको थियो।

तर पछि सो शव पञ्जावको सिरहिन्दमा लगेर गाडिएको थाहा पाएर उनका छोरा बादशाह अकबरले आफ्नी आमा बेगा बेगमले मुगल सल्तनतमा नै सबैभन्दा भव्य मकबरा बनाएर दफनाउने इच्छा व्यक्त गरेकोले उनकै रेखदेखमा दिल्लीको यमुना नदीको किनारामा विशाल क्षेत्रफल भित्र यो मकबरा बनाउन लगाएका हुन्।

हुन पनि फारसदेखि बोलाइएका त्यतिबेलाका प्रख्यात वास्तुविद् मिराक घियाथुद्दिन र उनका छोरा शैयद मोमम्मदविन मिराक घियाथुद्दिनले यो मकबराको मुख्य भवनको निर्माण र यसको सेरोफेरोको जमीनको नक्शाङ्कन निक्कै मेहनतका साथ गरेका थिए। हुमायुकी रानी बेगा बेगमको निधन पश्चात उनको पार्थिव शरीर पनि हुमायुलाई दफन गरेको ठाउँसँगै दफन गरिएको थियो।

यमुना नदीबाट नहर ल्याएर यो क्षेत्रको सिँचाई गरी यहाँ भव्य बगैँचा बनाइएको थियो। हाल यमुना नदीले आफ्नो बहावको बाटो बदलेकोले यो क्षेत्रबाट उनी केही परबाट बग्ने गरेकी छन्। सेतो गुम्बजाकारको छाना भएको मकबराको रातो किल्ला जस्तो भवनको कलाकारिता ताजमहलको भन्दा कम छैन।

झनै राति अति उज्याला बत्तिहरू बाल्दा त यसको सुन्दरताको झनै बयानै गर्न नसकिने। हुमायुको मकबरासँगै जोडिएका अन्य मकबराहरू पनि हेर्न लायकका छन्।

बेलायती हमलाको विरोधमा विद्रोह गर्दा हार खाएर भारतका अन्तिम मुगल बादशाह बहादुर शाह जफर लालकिल्लाबाट हुमायुको मकबरामा आएर लुकेको अवस्थामा सन् १८५७ मा बेलायती सेनाले पक्रेर उनलाई बर्माको राजधानी रङ्गुनमा लगेर थुने भने उनका ३ जना छोराहरूलाई दिल्लीको सडकमा नै निर्ममतापुर्वक मारे, अनि त्यतिबेला यो मकबराका पनि कैयन् भागहरू ध्वस्त पारिदिए।

हुमायुको मकबरासँगै जोडिएको ‘सुन्दर नर्सरी’ नामको अति सुन्दर बगैँचामा बनभोज गर्न जानेहरूको पनि खासगरी बिदाका दिनहरूमा भिड लाग्ने गर्दछ।

हुमायुको मकबरा हेरेर ज्यादै आनन्दित मन लिएर निस्केका हामी पुरानो दिल्लीमा रहेको प्रख्यात जाह्रा रेष्टुरेन्ट एण्ड क्याफेमा गएर मुगल वादशाहहरूले खाने जस्तै विर्यानी, कवाव तथा अन्य मुगलाई खाना र गुलिया परिकार खाएर पुनः उर्जावान भयौँ। तर रात छिप्पिईसकेको र घर पुग्न धेरै समय लाग्ने भएकोले विश्रामको निम्ति नोयडातिरै हुइँकियौँ।

प्रातःकालीन भ्रमणमा निस्कँदा अपार्टमेन्ट भवनहरूको पार्किङमा गाडी सफा गरिरहेका, दुध, पाउरोटी, अण्डा तथा सागसब्जी र अखबार घर घरमा पुर्‍याउनेहरू, घर सफा गर्ने तथा अन्य सेवा प्रदान गर्नेहरू र ड्युटी बदल्न आएका गार्डहरूको भिड देख्दा महानगरको आर्थिक गतिविधि बिहानैदेखि कसरी चल्न थाल्छ भन्ने सामान्य ज्ञान प्राप्त भयो।

भारतमा निम्न मध्यम वर्गदेखि उच्च वर्गसम्मकै परिवारको वजेट सुहाउँदो आआफ्ना हैसियतका किफायती आवास (अपार्टमेन्ट) र सवारी साधन उपलब्ध छन् भने घर घरमा सेवा प्रदान गर्ने वर्ग केही किलोमिटरको दुरीमा रहेका गाउँहरूबाट आउँदा रहेछन्। यातायातको सर्वसुलभताले गर्दा तिनीहरूलाई पनि काममा आउन खासै मुस्किल रहेनछ। तर यो मामलामा मुम्बइको कहानी भने भिन्दै छ।

आज लोटस टेम्पल, अक्षराधाम हुँदै पुरानो दिल्लीमा अवस्थित प्रख्यात लालकिल्ला, चाँदनीचौक, अग्रसेनकी बावली हेर्न जाने योजना मुताविक बिहानै त्यस तर्फ हिँड्यौँ।

दिल्लीका सबै आवास क्षेत्रमा यथेष्ट हरिया पार्कहरूको व्यवस्था गरिएको छ भने हेर्न लायकका सबै स्मारकमा विशाल हरित क्षेत्र र बगैँचा बनाइएको हुन्छ। एकदिन हामी लोटस टेम्पलतिर घुम्न गयौँ।

दिल्लीको यात्रा गर्दा छुटाउन नहुने ठाउँ हो यो। २६ एकडको हरित बगैँचाभित्र रहेको भव्य लोटस टेम्पल कमलको फुलाकारमा नै बनाइएको छ। जुत्ता फुकालेर मुख्य मन्दिर क्षेत्रमा घुम्नु पर्ने र कमलको फुलाकृतिको १,३०० मानिस अट्ने मुख्य विशाल हलमा नबोलीकन ध्यान मुद्रामा बस्नु पर्ने हुँदा धैर्यधारण गर्न नसक्ने मानिसहरू फुस्फुसाउँदै बोलिरहेका सुन्दा पनि ध्यान भङ्ग भएको महसुस हुँदो रहेछ।

सन् १९८७ मा तयार भएर सबै धर्मका सर्वसाधारणलाई खुला गरिएको यो मन्दिरमा कुनै शुल्क तिर्नु पर्दैन। यस विशाल परिसरको एक कुनामा एउटा संग्रहालय पनि बनाइएको छ। जसबाट हामीलाई वहाई मूल्य र मान्यता तथा यसका प्रवद्र्धक तथा विश्वभरका वहाई धर्म मान्ने सयौँ मुलुकहरू बारे थाहा पाउन सजिलो हुन्छ। वहाइ मन्दिरहरू विश्वभर नै स्थापित छन्।

पूर्वी दिल्लीको यमुना नदी कै किनाराको पाण्डव नगरमा स्थापित स्वामीनारायण अक्षराधाम पनि लोटस टेम्पल जस्तै पछिल्लो समयमा स्थापना भएको एक भव्य धार्मिक स्थल हो र दिल्ली भ्रमणमा जाँदा छुटाउन नहुने गन्तव्य हो।

पुरातन भारतको गुम्बजशैली तथा हिन्दू शिल्पशास्त्रमा आधारित अन्य रामकृष्ण मन्दिरहरू जस्तै यो हिन्दू मन्दिरमा लक्ष्मीनारायण, शिवपार्वती, राधाकृष्ण, सिताराम आदि देवदेवीको भक्ति गरिन्छ र यो सबै धर्मावलम्बीहरूको लागि खुला छ।

२० वटा गुम्बज र २,००० मुर्तिहरूका साथै १४८ हात्तीहरू कुँदिएको यो मन्दिर पुरै घुम्न दिनभरीको समयले पनि पुग्दैन। मन्दिर परिसरमा बनाइएको विशाल कुण्डमा डुङ्गा विहार र साँझको समयमा म्युजिकल फाउण्टेन हेर्न मानिसहरूको ठूलो भिड लाग्ने गर्दछ।

मन्दिर परिसरभित्रै भारतको परम्परालाई झल्काउने एक विशाल बगैँचाको पनि निर्माण गरिएको छ। भारत सरकारबाट प्राप्त ९० एकड जमीनमा बनेको यो मन्दिर परिसर सन् २००५ देखि सर्वसाधारणको निम्ति खुलेको हो।

चारैतिरबाट विशाल पर्खालले घेरिएको तथा ठाउँ ठाउँमा तोप तथा बन्दुकका निम्ति प्वालहरू राखिएको ठूला ठूला राता ढुङ्गाबाट बनाइएको लालकिल्लाको भित्तामा पुग्न पनि विशाल यमुना नदीबाट ल्याइएको नहर तर्नुपर्ने रहेछ।

तर हिजोआज त्यो नहरमा पानी छैन। सन् १६३८ मा निर्माण शुरु गरेर १० वर्षमा निर्माण पूरा भएको भव्य तथा विशाल लालकिल्ला मुगल बादशाह शाहजहाँले आगराबाट राजधानी दिल्लीमा सार्नको निम्ति बनाउन लगाएका हुन्।

उनैले बनाउन लगाएको आग्राको ताजमहल र दिल्लीको लालकिल्ला एकैजना वास्तुविद् उस्ताद अहमद लाहोरीले फारसी वास्तुकलालाई भारतीय परम्परागत कलासँग मिलाएर बनाएका हुन्।

लालकिल्ला आफैंमा एक शहर नै थियो। यसको यमुना नदीतिरको कुनामा वादशाह तथा उनकी बेगम मुमताज महलका निजी महलहरू, रानीको जनाना भेट महल, बादशाहको मनोरञ्जनका लागि बनेको रङ्ग महल, बादशाह बस्ने खास महल आदि थिए भने सोही क्षेत्रमा राजकाज बारे विशिष्ट व्यक्तिहरूसँग भेट्ने दिवाने खास र आम नागरिकसँग भेट्ने दिवाने आम आज पनि त्यहाँ छन्।

सोही क्षेत्रमा राजपरिवारका अन्य सदस्यहरू बस्ने इलाका पनि थियो। यी कक्षहरूमा पुग्नु अघि प्रतिक्षा गर्ने नौवत खाना आज पनि छ। त्यस्तै लालकिल्लामा पस्न र निस्कन त्यहाँ विशाल लाहोरी द्वार र दिल्ली द्वार थिए।

वादशाहका कर्मचारी, सेना तथा अन्य भारदार र सर्वसाधारण बस्ने भिन्दा भिन्दै क्षेत्र थिए। शाहजहाँको मृत्युपछि औरङ्गजेवको फितलो शासनले गर्दा कमजोर हुँदै गएको मुगल साम्राज्यमा फारसका बादशाह नादिर शाहले सन् १७३९ मा हमला गरेर लालकिल्लाको कैयन् भाग ध्वस्त पारिदिए र त्यहाँ भएका महँगा गहना र सम्पत्ति लुटेर केही महिना पछि उनी फारस नै फर्के।

तत्पश्चातका मुगल राजाहरू नाम मात्रका राजा रहेकाले दिल्लीमा अन्य वंशका राजाहरूको आधिपत्य हुन थाल्यो भने बेलायतले पनि त्यही मौकामा दिल्ली आफ्नो हातमा पार्‍यो।

सन् १८५७ को विद्रोहमा बेलायती सेनाले लालकिल्लामा पसेर यसको ८० प्रतिशत जति भाग ध्वस्त पारिदियो र सो ठाउँमा आफ्नो सेनाको छाउनी र प्रशासकीय भवनहरू निर्माण गर्‍ यो। हाल ती प्रशासकीय भवनहरूमा निक्कै चाख लाग्दा संग्रहालयहरू बनाइएको छ।

आज हामी अफगानिस्तानको तालिवानले वामियानका बौद्ध स्मारकहरूलाई निक्कै असभ्य तवरले ध्वस्त पारेको कुरा सम्झिरहन्छौँ तर त्यतिबेला बेलायतले देखाएको विध्वङ्सक कृयालकलापको अगाडि यी केही पनि होइन रहेछन्।

नादिर शाहले जस्तै बेलायती सरकारले पनि लालकिल्लामा रहेका बहुमूल्य वस्तुहरू लुटेर आफ्नो मुलुकमा लगेको थियो। भारतभरका राज्यहरूलाई परास्त गरेर ती सब ठाउँबाट बेलायतले कति बहुमूल्य वस्तुहरू लुटेर लग्यो होला भन्ने कुराको कुनै लेखाजोखा छैन।

पछि भारतकै भाइसरोय लर्ड कर्जनले लालकिल्ला, हुमायुको मकबरा तथा अन्य स्मारकहरूको पुरानै रूपमा पुनर्निर्माण गर्न लगाएका रहेछन् भने सन् १९४७ मा भारत स्वतन्त्र भएपछि यस्ता पुरातात्विक स्मारकहरूको संरक्षणमा अझ बढी कामहरू भए र हुँदैछन्।

भारत स्वतन्त्र हुँदा जवाहरलाल नेहरुले लालकिल्लाबाटै राष्ट्रको नाममा सन्देश दिएका थिए भने अझसम्म पनि भारतको स्वतन्त्रता दिवसमा त्यहाँका प्रधानमन्त्रीले त्यहीँबाट भाषण गर्ने चलन छ। आज जति पनि लालकिल्ला र यसभित्र भएका संग्रहालयहरू हामी हेर्न पाउँछौँ, त्यो शाहजहाँको लालकिल्लाको २० प्रतिशत मात्र बचेको हिस्सा हो।

लालकिल्लाको ठीक पश्चिमपट्टि पुरानो दिल्लीको अति व्यस्त र भिडभाडयुक्त बजार चाँदनीचौक छ। यो बजार पनि बादशाह शाहजहाँले नै बनाउन लगाएका हुन् र यसको खाँका भने उनकी छोरी राजकुमारी जहानाराले गरेकी हुन्।

पुरानो दिल्लीको रेल स्टेशन पनि रहेको चाँदनीचौक दिल्लीको ठूलो थोक बजार हो। हामी यो बजारको भित्र भित्र गल्लीसम्म घुम्न गयौँ। पाकेटमारहरूदेखि सावधानी अपनाउनु पर्ने यो भिडभाडयुक्त बजारमा खानपिन र किनमेलका पसल भने धेरै छन्।

सल्वार-कुर्ता, सारी, गहना, अत्तर तथा धुपहरू, मसला, लत्ता-कपडा आदि जताततै बेच्न राखिएको थियो र ती मध्ये धेरै पसलहरू निक्कै पुराना तथा सन्तान-दरसन्तान हुँदै आजसम्म चलिरहेका छन्।

हेरिटेज वाकको निम्ति बनाइएको पैदल हिँड्ने चौडा बाटोमा अवस्थित मन्दिर, चर्च, मस्जिद गुरुद्वारामध्ये हामी त्यहाँको प्रख्यात र भव्य गुरुद्वारा सीसगञ्ज साहिबभित्र गएर दर्शन गर्‍यौँ।

चाँदनीचौकमा नै भारतको ऐतिहासिक जामा मस्जिद, श्री दिगम्बर जैन लाल मन्दिर, गौरीशंकर मन्दिर, व्याप्टिस्ट चर्च र फतेह्पुरी मस्जिद पनि अवस्थित छन्। यसपाली हामीले बाहिरबाट मात्र हेर्ने समय पायौँ।

दिउँसो लालकिल्लामा निक्कै धेरै हिँडेर थाकेका हामीले चिसो लस्सी र राबडी खाँदा स्वर्गीय आनन्द नै आएको थियो। चाँदनीचौकको बीच भागमा यमुना नदीको पानी ल्याएर विशाल कुण्ड बनाएर राति त्यहाँ चन्द्रमाको छाया पर्ने तथा चारैतिर पसलहरू रहने भएकाले यो क्षेत्र केही हदसम्म शितल पनि रहन्थ्यो। तर पछि त्यहाँको पानीको स्रोत पनि बन्द हुन पुग्यो र सो पोखरी बनेको ठाउँमा सन् १९५० मा एक घण्टाघरको निर्माण हुन गयो।

यसपालीको भ्रमणको क्रममा हामीले अवलोकन गरेको अन्तिम ऐतिहासिक धरोहर अग्रसेनकी बावली हुन पुग्यो। दिल्लीको कनटप्लेस र नेपालको राजदूतावासनिर नै रहेको तथा सानो क्षेत्र ओगटेर बनेको यो स्मारक त्यतिबेलाको खानेपानीको आपुर्ति कसरी हुन्थ्योे भनेर बुझ्ने एक थलो हो।

६० मिटर लम्बाई र १५ मिटर चौडाईको क्षेत्रमा निक्कै खँदिलो कलाकृतिका साथ खन्दै घरकै आकृतिमा ठूला ठूला ढुङ्गा बिछ्याएर भरेङ बनाई ५-६ तल्ला मुनीसम्म लगेर कुवा बनाई खानेपानीको जोहो गर्ने स्थल बनाइएको यो स्मारकको निर्माण प्रख्यात राजा अग्रसेनले गरेको र पछि चौधौँ शताव्दिमा लोदी र तुग्लक वंशका राजाहरूले यसको पुनर्निमाण गराएको जनविश्वास छ।

छोटो समयमा नै अवलोकन गर्न सकिने यो स्मारकमा पुग्दा पनि एक प्रकारको आनन्द आउनुका साथै भानुभक्तको घाँसीकुवाको पनि याद आयो। त्यहाँका भरेङमा बसेर प्राचिन कलाकृति र शान्त वातावरणको आनन्द लिने स्वदेशी तथा विदेशीहरू पनि निक्कै हुँदा रहेछन्।

पछिल्लो समयमा भारतको राजधानी नयाँ दिल्ली लगायत सबै ठूला-साना शहरहरूमा किनमेलका बडा बडा मलहरू खुलेका छन्। यस्ता मलहरूमा स्वदेशी तथा विदेशी ब्राण्डेड सामान वाहेक खानपिनका फुडकोर्ट, सिनेमा तथा मनोरञ्जन र बहुतल्ले पार्किङको सुविधा पनि उपलब्ध छन्।

वास्तवमा भन्ने नै हो भने किनमेलको लागि नेपालबाट थाइल्याण्ड वा सिंगापुर जानु भन्दा नयाँ दिल्ली वा अन्य नजिकका भारतीय शहरहरूमा जानु नै हामीलाई सहज हुनजान्छ।

हामी पनि त्यहाँका प्रख्यात केही मलहरूमा गयौँ। यसपाली किनमेल नगरेर हलुका यात्रा गर्ने सोच बनेको भएता पनि घरपरिवारको सम्झना र मायाका कारण किनमेल गर्न थालेपछि सुटकेर नभरिने त कुरै भएन।

एउटा साँझ हामी हुमायुपुर गाउँमा गएर भारतको पूर्वी पहाडका खाना पाइने होटेलहरू हेर्दै एउटामा बसेर स्थानीय खाना खायौँ। आसाम, दार्जिलिङ, नागाल्याण्ड आदि ठाउँका युवायुवतीले खोलेका यस्ता रेष्टुरेन्टमा आउने पनि अधिकांश मंगोल ढपककै मानिसहरू हुँदा रहेछन्।

भारतको राजधानी नयाँ दिल्ली विभिन्न समयक्रममा भिन्दा भिन्दै साम्राज्यहरूको अधिनमा रहेर पुराना सभ्यताको तोडफोडका साथै नयाँ सभ्यताको निर्माण हुँदै गएको शहर हो।

खासगरी हिन्दू तोमरा, चौहान, सिख, मराठा, जाट, मुसलमान सल्तनत तथा मुगल र वृटिशहरूबाट शाषित दिल्लीमा यी सबैखालका सभ्यताको झल्को पाउन सकिन्छ। सल्तनत र मुगल शासनकालमा बनेका कुतुब मिनार, हुमायुको मकबरा र लाल किल्ला युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत छन्।

चौडा एक्सप्रेस सडक तथा भूमिगत रेल सञ्जालको विकास भइसक्दा पनि दिल्लीको जनसंख्यालाई धान्न सार्वजनिक यातायात प्रणाली अभैm नपुग नै भइरहेको छ। यत्ति घुमेर लामो ट्राफिक जाम छिचोले पश्चात घर पुगेपछि आजको दिन पनि बितिहाल्यो।

२६ डिसेम्बरको बिहान आफ्ना सुटकेस र क्याबिन ब्यागमा सामान मिलाएर वजन लिएँ। सुटकेस ठ्याक्कै २५ किलो र क्याविन ब्याग ७ किलो। पासपोर्ट, टिकट तथा अन्य आवश्यक कागजात मिलाएर ल्यापटपको ब्यागमा राखेँ अनि आज लगाउने कपडा लगाएर नास्ता पनि गरेँ।

छोरी र ज्वाईँले आदरपूर्वक आफ्नै मुख्य कोठा मेरो लागि छोडेका थिए। सफा गरेँ र सबै सामान यथास्थानमा मिलाई दिएँ। छोरीसँग बिदा भएर ज्वाईँसँग एयरपोर्टतिर लागेँ। एकाबिहानै हिँडेकोले सडक केही होलो।

आज दिल्लीमा पहिलो पटक जाडोको बाक्लो कुहिरो लागेको। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिरदेखि नै ज्यादै भिड र लामो लाइन। बल्ल तल्ल भित्र पसेँ।

नेपाल वायुसेवाको काउण्टरमा सुटकेस बुझाएर बोर्डिङ पास लिए पछि बल्ल हलुका महसुस। कोभिडको भ्याक्सिन लगाएको कार्ड पनि देखाउनु प¥यो। भित्र अध्यागमनमा ज्यादै टिठ लाग्दो लाइन। सयौँ मानिस लाइनमा बसिरहेका।

बोर्डिङ पास चेक गर्ने अर्को लाइन सकेर फेरि हातका सामान चेक गर्ने लाइन। विमानस्थलको भव्य ड्युटीफ्री सपमा घरका बच्चाहरूको लागि चकलेटहरू किनेँ। नेपालकै डेविट कार्डबाट पनि किनमेल गर्न मिल्दो रहेछ।

एउटा कफीसपबाट कफी लिएर पिउँदै हाम्रो विमान प्रतिक्षा गर्ने ठाउँमा पुगेँ। दिल्ली एक विशाल ऐतिहासिक शहर हुनुका साथै स्वास्थ्य र शिक्षाको केन्द्र पनि भएको र यहाँ धेरै प्रकारका संग्रहालयहरू पनि भएकाले पुरै दिल्लीको खोज गर्न एक महिना पनि कम हुन जान्छ होला। त्यसैले पनि यहाँ फेरी फेरी पनि भ्रमण गर्ने मानसिकता बनाएको छु।

विमानभित्र झ्यालको सिटमा सजिलोसँग बसेर हिमाल–पहाडका श्रृङ्खला हेर्दै काठमाडौँ आइपुगेँ। मौषम राम्रो भएकोले उडान पनि आरामदायी रह्यो। त्रिभुवन विमानस्थलको आगमन कक्षमा पनि धेरै सुधार भएको पाइयो।

 लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *