कविता : सानू नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन

सुशील लामा
२४ पुष २०८० १३:३१
236
Shares

सानू म ढली सकें
किन ढले्, कसले ढाले
कसकाे लागि ढलें
प्रत्येक प्रश्नहरु
बिना उत्तर अनुत्तीर्ण हुँदैछ।
जिन्दगीको परीक्षामा
कोरा सपनाको खाकामा
विवसता र बाध्यताको छन् आलो हस्ताक्षर
आधा बाटोमा पुगी नसकेको जिन्दगी
मौलाएर फुल्न र फक्रिन बाँकी रहेको हाम्रो प्रेम
सबै-सबै कुराबाट
बिछोडी सकेको छ।
कहिल्यै भेट नहुने पक्का भैसकेको छ।
मैले ख्यालै-ख्यालमा
बनाएर गाएको गीत
सत्य साबित भएको छ।
सानू नमाने टेन्सन…..

-सानू कहाँ मन थियो र ?
तिमीलाई छोडेर टाढाको
ढुंगे मन भएका मान्छेको छेउ पर्न
आफ्नो स्वाभिमान होइन उनको स्वाभिमान बचाउन
खुब लडें , लड्दा-लड्दै
म मात्रै होइन म जस्तै धेरै सपनाहरू बोकेको
नेपाल आमाको छोराहरू भकाभक ढले
कति सस्तो भएको छ हाम्रो मृत्यु
हाम्रो मृत्यु भन्दा उनका देशको
कुकुर-बिरालोको मृत्यु महंगो भएको छ ।
सानू…..
मेरो दु:खद मृत्युको खबरले
बालाई भन्दा आमालाई धेरै दुखाउने छ।
नौ-नौ महिना कोखमा
थुप्रै वर्ष साथ र काखमा राखेर हुर्काएको
मलाई यत्ति छिट्टै गुमाउनु पर्दा
खै कसरी समाल्ने हुन्
आफैंले आफैलाई बिचरी उनले
सानू नमाने टेन्सन…

*******

पूरा हुन नसकेको अधुरो सपनाहरू
कलेटी परेको बुढी आमाको ओठ
डाँडापारी पुगेको घाम जस्तै “बा”
बा-आमा चिन्न नपाएको सानी छोरी
थुप्रै-थुप्रै कुराबाट
म टाढिए सदाको निम्ति
मेरो जिद्धिको कारण
निम्तिएको भवितव्य दुर्घटनाको शिकार
तिमी पनि हुने भयो।
सानू…..
स्वदेशमै जिबन धान्ने रोजगारी मिलेको भए
सायद म यसरी बिदेशीनि थिएन,
परदेशी माटोमा
मेरो रगत पोखिने थिएन
अन्जान ठाँउमा भएको मेरो मृत्यु
लावारिस लास बनेर
अन्जान शहरको नाम समेत नचिनेको
अस्पतालको मुर्दाघरमा चिरनिन्द्रमा सुतेर
पर्खी रहेको छ।
स्वदेश फर्कने आशा
अत्तोपत्तो नभएको मिति कुरेर
सानू नबाँचेर तिम्रो टेन्सन दूर गर्न तलब पठाउन सकी
म मरेर पाउने पेन्सन पट्टा तिम्रो हातमा पर्ला-नपर्ला
अज्ञात छ, थाहा छैन…
मरिसकेको लास झिकाउन महिनौं लगाउने सरकारले
के कुरा गर्लान् र तिमी र म जस्तोको
बिछोडको, पीडाको ,पेन्सन को कुरा
सानू नमाने टेन्सन……..

पाँचखाल ,काभ्रेपलान्चोक
हाल-लिमासोल,साईप्रस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *