जीवन, भ्रम, सत्य र निष्कर्ष

शंकरप्रसाद रिजाल
२१ पुष २०८० ७:१९

संसारका समस्त मानिस आनन्दसँग रहनको लागि या त सन्यासको बाटो हिँडिरहेका छन् या यही समाजभित्र बसेर सामाजिक सेवागरी वा आफ्नो परिवारको कल्याण हेतु काम गरिहेका छन्।

सन्यासी भई समाजदेखि बाहिर बस्ने, बिरक्त भई संन्यासमा जाने वा गृहस्थ आश्रममा नै रहेर आनन्द लिने मानिसको स्वाभाव एक तरल स्वभाव हो। यो मानिसको भावको बेग हो। संन्यासमा एकोहोरो जीवन रहन्छ भने गृहस्थ आश्रममा सबै कुराको समिश्रण पाइन्छ।

प्रत्येक मानिसलाई ईश्वरले कर्म गर्न पठाएका हुन्। विना कर्म गरी निरास र परलोकको आनन्दको तृष्णाले ब्याकुल रहने साधु र संन्यासीलाई वर्तमानको कुनै पर्वाह नहुनु यो के आनन्द हो र। तैपनि आनन्द लिइ त्यसैमा रमाएको देख्दा आज संसारको विकासले उनीहरुलाई गिज्याई रहेको छ।

आज संसारले यिनीहरुको अगाडि हरेक कुराहरु पस्किएर अगाडि राखिदिएको छ। तर यी सब कुरालाई बेवास्ता गरी केवल आफ्नो लागि मात्र आनन्द प्राप्तिको लागि अकर्मण्य रही कर्मशील समाजको धज्जी उडाउनु रिस र क्रोध शिवाय अरु केही हुन सक्दैन।

भगवानको नाम २४ घण्टा लिइरहनु पर्दैन। तर हरेक काममा ईश्वरको नाम सम्झिएर आफ्नो काम गर्नु उत्ताम हो। संसार जोगिवाद, सन्यासीवाद र विरक्तिले चल्दैन। यो संसार जीवनको ठूलो भेल हो जहाँ पौडी नै पर्दछ। अन्यथा त्यो भेलले मानिसलाई काहाँ पुर्‍याउँदै छ थाहा हुँदैन।

यही भ्रमको विभाजनले आज मानिस कोही जोगी, सन्यासी र कोही अत्यन्त कर्मशील बनेर गृहश्थ आश्रम मै बसेर आनन्द लिइरहेका छन्। काम, क्रोध, लोभ, मोह, मद् र मात्सर्य यी कुनै पनि मानिसका निमित्त नैसर्गिक तत्वहरु हुन्, जुन बिना मानिस रहन सक्दैन।

दुध फाटेपनि दुध र घ्यूको मात्रा त्यही नै रहन्छ। आँखाले मात्र नदेखिने हो। यसरी आँखाले नदेखिने चिजलाई छलीछली जीवनदेखि टाढा रहनु भनेको आफूले आफैंलाई ठग्नु सरह हो। यता फेरि गृहस्थ जीवनमा बसेकाहरु पनि चेतनको बिकास नगरी जे मन लाग्यो त्यही गर्ने काममा लागिरहेका छन्।

आदर्श जीवन बिताउने कला कसैमा पनि देखिँदैन। समाज खण्डित छ। समाजमा बसेर बस्तुवादी जीवन बिताउनेले सन्यासी र जोगीहरुलाई औंला ठड्याई ‘जीवनको रसपान गर्न नजान्ने’ भनी रहेका छन् भने संन्यासीहरुले “हरे शिव कति दिनको सुखभोग हो त्यो’ भनी दुत्कारी रहेका छन्। यो जीवन भ्रम नभए अरु के हुन सक्दछ?

जीवनको भ्रमको डिलमा बसी आफ्नो एकल भुतकाल र भविष्यको डर र त्रासमात्र देखाई आफ्नो कर्मको अक्षमता र योग्यतालाई फर्सीको मुन्टाको पातले छोपी अशरीर, अमुर्त र रंगहीन ईश्वर र परमात्माको हरदिन पाण्डित्य छाँटी यो आफूले प्रत्यक्ष देखेको जगतलाई सरासर झुट मान्दै धेरै टाढा रहेको परलोकको कल्पित व्याख्या गर्दै आफ्नो अमुल्य जीवनलाई समेत अकर्मंण्यताको अग्लो बार्दलीमा राखी जीवन लीलाको काल्पनिक कुराहरुको व्याख्या आफ्नो बाकपटुताको करुण शैलीमा सधैं उद्घोष गरी आएका छन्।

उता गृहश्थ आश्रममा बसी लौकिक कुराको रसपान गरी बस्ने ती मानिस पनि लोभी पापी, घमण्डी र बेइमान गरी गरी आफ्नो जीवन उत्सर्गमा पुर्याएका छन् भने दुबैको जीवन सन्तोषमय छैन तथा पूर्ण छैन। उनीहरुको जीवन भ्रमपूर्ण छ। सन्यासी बस्तुवादीहरुको सुखभोगमा भित्रबाट डाह गर्छन् भने वस्तुवादीहरु संन्यासीहरुको सरल जीवनशैलीबाट लोभिएका छन्।

वास्तवमा दुबैको जीवन चिच्याहट लाग्दो छ। उदासीन छ। कोही भाग्यमा रोएका छन् भने कोही कर्म गर्दै रोइ रहेका छन्। कोहस् आफूले आफ्नै बाटो पहिचान गर्न नसकेर अल्मलिएका छन्। गरीब खान लाउन र बस्न नपाएर रोएका छन् भने धनी सम्पत्तिको थुप्रो माथि बसेर पनि पीर र डाहले रोइरहेका छन्।

भर्खर जन्मेका नाबालक आमाको स्तन पान गर्न नपाएर रोइरहेका छन्। बालबालिका स्कूल जानुपर्छ भनेर रोएका छन्। स्कूल कलेज गएकाहरु परीक्षामा असफल भइएला भनेर चिन्तामा छन्। कोही शिक्षा लिन नपाएर झोक्रिएर बसेका छन्।

ठूला बैज्ञानिक आफूले बनाएकै बम बारुदबाट संसार ध्वस्त हुने होकि भनेर ठूलो चिन्तामा छन्। ठूला नेताहरु र राष्ट्राध्यक्षहरु देश कसैले क्वाप्लाक्क पार्ला भनी सधैं त्रासमा रहेका छन्। औषधि निर्माता आफूले बनाएका औषधिबाट मान्छे मर्लान् कि भनी त्रासमा छन्।

कोही बच्चा जिन्मिन्छन् कि भनेर गर्भ तुहाउने काममा लागेका छन् भने कोही बच्चा पाइन्छ कि भनेर अस्पताल अस्पताल चहारी चहारी हिँडिरहेका छन्। कोही बिरामीको कुरुवा बसिबसी रोइ रहेका छन् त कोही मृत लाशलाई पुजा गरी अन्तिम श्रद्धाञ्जलि दिइरहेका छन् भने जोगी सन्यासीहरु पनि एक्लो निरसको जीवन बिताई गंगा घाटहरु र पहाड पर्वत हिमाल घुमिघुमी आफ्नो जीवन बिरह लाग्दो तरिकाले बिताई रहेका छन्।

एउटा भर्खरको युवकले यो जोगीको संसार देख्यो भने उसको दिमागमा के असर पर्ला र उसले जीवनको बाटो कुन चाहिँ लिने भनि अवस्य पनि भ्रममा नपर्ला भन्न सकिन्न।

यो मानिसको मन हजार टुक्रामा विभाजन भई कोही कता छरिएको छ भने कोही कता तर्किएको छ। यस्तो बिचलित अवश्थामा जीवन जिउने सरल मार्ग के हो त? यो कसैले पुष्टि गर्न सक्छ भने उसको पनि जीवनबारे गहिरो अध्ययन हुनु जरुरी छ।

आ-आफ्नो एकल निर्णय मात्र हो जुन अपुष्ट छ। आफ्नो ओछ्यान आफैंलाई प्यारो भएजस्तो आफ्नो जीवन आफूलाई सजीलो र आनन्द लाग्नु स्वाभाविक हो। ओछ्यान त त्यस्तो होस् जुन ठाउँमा सुत्दा सबैलाई आनन्द र सुख होस्। तसर्थ जीवन मार्गको सत्पथ अझै अपुष्ट छ। जीवन कोही संघर्षशील छ भन्छन्, कोही सुखमय, कोही सत्य त कोही असत्य र कोही धुप छायाँ हो भन्छन्। यी सब जीवन जिउन नजान्नेका पारायण मात्र हुन्।

चार्बाक समूहहरु भन्थे “जीवन त “ऋणम कृत्वा घ्रितम पिबेत” हो भनेर हल्ला पिटाई बसेका थिए भने जोगी सन्यासी यो सब संसार असत्य र भ्रम हो। अमुक ईश्वर एकमात्र सर्वसत्तावाद हो भनेर अझै डंका पिटिरहेका छन्। आखिर दुबैको जीवन शैली फेरि कहाँ चिन्मय छ र कहाँ सुख शान्ति अनि अलौकिक छ ?

प्रकाण्ड योगीराज स्वामी रामदेवजी महाराज पनि ३-४ दिन मात्र सत्याग्रहमा के बसेका थिए, बिरामी परी देहरादून हस्पिटल कुदाउनु परेको थियो। संसारमा योग दर्शन र असंख्य आत्मचिन्तनको बिकुल फुकी हिँड्ने ओशो रजनीश पनि बिचरा ५८ बर्षको अल्पायुमा आफूलाई संसारको अध्यात्म चिन्तन र बस्तुबाद्को चिन्मय सुख सुबिधा सम्पूर्ण छोडी जीवन बिसर्जन गर्न बाध्य भए।

त्यस्तै श्रीमद् भागवत पुराण र असंख्य धर्म शाश्त्रका ज्ञाता विद्वान श्री कृपालुजी माहाराज पनि समाधि लिन नसकी बाथरूम वा शयन कक्षमा लडेर देह त्याग गरेका थिए रे। त्यस्तै नेपालका ख्याती प्राप्त ऋषि शिवपुरी बाबा पनि अन्त्यमा मुखको क्यान्सर भई देह त्याग गरेका थिए भने बस्तुवाद्का चरम प्रचारक चार्बकाजहरु पनि ईश्वरवादको चपेटामा परी आफैं बिलय भएका थिए भने जीवन जीउने वास्तविक कला र संस्कृति के हो भन्ने कुराको पुष्टि अझै हुन सकेको छैन।

तसर्थ जीवन जिउने कलाको सम्बन्धमा बेलायतका प्रशिद्ध कवि साहित्यकार विलियम वोर्ड्सवोर्थले जीवनलाई एकमुष्ट परिदृश्य गरी बहुतै अचेतन अवस्थामा रहेको भुत, भविष्य र बर्तवान समयलाई जसले प्रत्याभूति गर्न सक्छ त्यही हो सर्बश्रेष्ठ मार्ग जसमा के थियो, के छ र के हुनु पर्दछ भन्ने कुरालाई जसले अंगीीकार गर्न सक्छ।

विश्व प्रशिद्ध पुस्तक श्रीमदभागवत गीता र महापुराणको सम्पूर्ण कुराहरुको सुमिरण गरी सोही अनुसारको अनुशरण गर्न सकेमा उसैकोमात्र जीवनमात्र निर्धक्क हुने कुरा निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *