भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई

डिसी नेपाल
१९ असोज २०८१ १९:५५
20
Shares

काठमाडौं। यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मीप्रसाद भट्टराई (लक्ष्मण गाम्नागे) लाई प्रदान गरिएको छ।

भैरव पुरस्कार गुठीले आज यहाँस्थित जोरपाटीमा आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रममा उनलाई सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि नगद रु एक लाख ११ हजार १११ रहेको छ। सोही कार्यक्रममा भैरव वाङ्मय पुरस्कार कोशकार एवं नेपाली भाषा साहित्यको शुद्धीकरण अभियानी चूडामणि गौतमलाई प्रदान गरिएको छ। यस पुरस्कारको राशि पनि नगद रु एक लाख एक हजार १११ रहेको छ।

यसैगरी, रु ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वका बारेमा क्रमशः प्राडा रामप्रसाद ज्ञवाली, साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली र मेनका पोखरेलले प्रकाश पारेका थिए। पुरस्कृत व्यक्तित्वत्रय गाम्नागे, गौतम र गिरीले नेपाली हास्य व्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गरेका थिए।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवं संविधानसभा सदस्य रामेश्वर फुयाँलले साहित्यकारले समाजमा भएको वास्तविकतालाई ऐनाका रूपमा देखाउनुपर्ने बताए। काठमाडौंको उत्तरपूर्वी भेग साहित्यको उर्वर भूमि भएकाले यहाँ धेरै साहित्यिक क्रियाकलाप हुने गरेको उनले सुनाए।

वरिष्ठ पत्रकार विजय चालिसेले हास्य व्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदान महत्वपूर्ण रहेको बताए। आफूलाई साहित्य क्षेत्रमा अघि बढाउन पनि अर्यालको योगदान रहेको चालिसेले चर्चा गरे।

कार्यक्रममा गुठीका अध्यक्ष रोचक घिमिरे, सचिव वसन्त रिजाललगायतले संस्थाले प्रत्येक वर्ष हास्य व्यङ्ग्य साहित्य र कला क्षेत्रमा योगदान गर्नेलाई भैरव अर्यालका नामको पुरस्कार वितरण गर्ने गरिएको जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *