चिठ्ठी: परदेशबाट दशैंमा बा आमालाई सम्झेर

श्याम गैरे
१३ असोज २०७९ १०:४४

पुजनीय मताश्री र पिताजी,

मैले गरेको पुजनीय सम्बोधन को महिमा म कसरी गराैं खोई? नजिकको तीर्थ जहिले हेला हुँदो रहेछ र त आहिले प्लस टु को परीक्षा पास भएर अमेरिका आएपछि बल्ल यसको महशुस गर्दै छु।

गाँउमा दशैँ आउँदा, धान झुल्थ्यो, पिङ्ग खेलिन्थ्यो, घटस्थापनामा जमरा राखिन्थ्यो, रमिता हेर्न घन्टौं हिँडेर जान्थ्यौं, साथीभाइसँगै हाँसो ठट्टा हुन्थ्यो। दशमीको दिन मान्यजनको हातबाट टिका थापिन्थ्यो र पो रमाइलो हुन्थ्यो।

छन त अहिले परदेशमा पनि दशैँ छ, तर पनि यहाँ दशैंमा पिङ्ग खेलेझै आफ्ना मनका स्मृतिहरुमा खेलेको पिङ्ग उराठलाग्दो हुँदो रहेछ पिताजी। मस्तिस्क सोचमग्न हुँदा झुलेका मेरा आँखा र धान झुल्नुमा अनि घटस्थापनामा जमरा राखेझैँ सम्झनाहरुलाई सेतो कागजका अक्षरहरुमा राख्दा धेरै फरक हुँदो रहेछ माताश्री।

प्रिय स्वजान, खोई हजुरले दिएको आशीर्बाद कसरी पाउंँ? प्रबिधिको प्रचुर विकासले देखादेख गर्न, कुरा गर्न त मिल्छ। तर, हजुरहरुको सानिध्यतामा रहँदाजस्तो आनन्द चाहिँ कहिल्यै नहुँदो रहेछ। यहाँ अहिले मनमा आँधी आइरहेछ।

तर, फरक यत्ति हो कि उज्यालो भबिष्यको अगाडि आँधी आउँदा मान्छे सुरक्षित हुँदो रहेछ। परदेसिनु कतिको रहर हो भने कसैको बाध्यता। रहर र बाध्यताको भुमरीमा फस्दा पनि मान्छे खुसी मान्नु पर्दो रहेछ। परदेशमा चाडपर्बमा रमाइलोको परिभषा हुन्छ-” रमाइलो मान्नु पर्छ।” चाहे पर्बमा होस् या त परिबन्धमा।

दशैं आउदा पनि घर परिवारबाट टाढा हुँदा कहिले काहीं खुसी मान्नु पर्दो रहेछ किनकि यी हाम्रा ओठहरु जुट्दाभन्दा छुटेसंगै देखिने दन्त्य लहरहरुले मानिसलाई बढी आकर्षक बनाउदो रहेछ नि पिताजी।

माताश्री हजुरले कहिल्यै मन अमिलो न बनाउनु होला है किनभने मन अमिलो बनाउदा धमिलो हुदो रहेछ हाम्रो भबिष्य। त्यसैले त हामीहरु परदेसिन बाध्य छौं।

रमिता लाग्ने ठाँउमा पुरस्कारको लागि मैले रेमिटान्स पठाइदिएको छु पिताश्री, यहाँ आसन ग्रहण गर्न बोलाएका छन् जानु होला। परदेसिएकाले चलेको नेपाली समाजलाई चाडपर्ब आउँदा र रेमिटान्स आउदा मात्र खुसी हुने हैन उच्च शिक्षा अध्ययन गरेपछि वा सिप सिकेपछि नेपाल फर्किँदा यो किन आयो?

कसरी आयो भनेर खोजी पुछानी नगरिदिनुहोला र त्यतिबेला बुझ्नु होला कि उसले सधै दशैं स्वदेशमै मनाउछ भनेर। यो कुरा सबैलाई बुझाइदिनु होला है! धेरै लेख्दा पनि माताश्री को घाँटी खसखस गर्ला। यति भन्दै मेरो कलमलाई यँही बिश्राम दिन्छु है।

उही परदेशी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *