नियात्रा

न्यूयोर्कको पनि न्यूयोर्क : म्यानहटन

अमेरिका बाहेक विश्वको अधिकांश मुलुकहरूको भ्रमण सम्पन्न गरिसक्दा पनि कुनै यात्रीले आफूलाई सन्तुष्ट नपाउन सक्छ, किनकि उसले अमेरिका भन्ने देशको भ्रमण गरेकै छैन। ऊ स्वयं मात्र होइन उसका छिमेकीहरूले समेत भन्न सक्छन्-‘के फुटनी लगाउँछौ विश्व भ्रमणको? खै अमेरिका भ्रमण गरेको तिमीले’?

कस्तो अचम्म! अमेरिकाको भ्रमण बेगर सम्पन्न भएका अन्य बृहद यात्राका फेहरिस्त पनि अधुरो सावित हुन जाने मान्यताको विकास। अमेरिकाले संसारभर आफ्नो अस्तित्वको बिशिष्ट मौलो गाड्न सफल परिणतिको नतिजा हुनु पर्छ त्यो मान्यता।

त्यसै गरि अमेरिका बसोबास गरिरहेको कुनै व्यक्तिले अति विकसित न्युयोर्क सहर घुमफिर गरेको छैन भने उसले माथिकै नियति भोग्न सक्छ। यसरी विश्वमान चित्रमा अमेरिका भन्ने एउटा देशले र अमेरिकाभित्र न्यूयोर्कले अब्वल छवि कायम राख्न सफल छन् र त सपनाको मायावी संसारको उपनामले समेत परिचित छन्।

आफ्नो अमेरिका बसाइको ३/४ वर्षसम्ममा पनि न्युयोर्क सहर अबलोकनको अनुकुलता नमिलिरहेको परिबेसमा मनले मनलाई नै केरकार गरिरहन्थ्यो-न्यूयोर्क घुम्न जाने कहिले हो? न्यूयोर्क भ्रमण बेगरको अमेरिकी बसाइको के स्वाद? के आनन्द? भित्री दिलमा अमेरिका बसिरहेछु भन्ने आत्मबोध पनि नहुने।

अत: सन् २०१५ जुनको अन्तिम हप्ता आफू बसेको विस्कन्सन राज्यको म्याडिसन सहरबाट भ्याकेसन मनाउन लाग्यौँ हामी न्यूयोर्कतर्फ।

यस बखत म उक्त अति विकसित राज्य न्यूयोर्कभित्रको पनि झनै उन्नत सहर वा स्थल म्यानहटन भ्रमणको प्रसंगमा हृदयमा उत्सर्जित भावनाहरूलाई लिपिबद्ध गर्ने जमर्कोमा लागेको छु।

जब मैले न्यूयोर्क सहरलाई देखेँ ऊ त योग्य शिल्पीले कुँदेको हिरा जस्तै चम्किरहथ्यो भने म्यानहटन त झन् सोह्र श्रृंगारमा सजिएकी नववधुले सिंगाे सूर्यलाई नै छातीमा टाँसेझैं ज्वाजल्यमान उज्यालो देखिन्थ्यो।

आफ्नो सौन्दर्यपानका लागि हामीलाई इसारा गरे जस्तो लाग्यो म्यानहटनले। उसको विविध विषयहरूको साैन्दर्यमा लठ्ठीन पुगेँ म। सयौँ काँडा छल्दै र ब्यहोर्दै एउटा ‘फूल’ हेर्न आएकोमा सन्तोष लागि रहेथ्यो मलाई।

म्यानहटन शहर

पूर्व पश्चिमभन्दा उत्तर दक्षिण लाम्चो परेर फैलिएको र चारैतर्फ जलवेष्ठित आइल्याण्ड यानेकी टापुको रूपमा रहेको म्यानहटन। आँखाले देखियुञ्जेलको भूभागमा अत्यन्त्यै अग्ला अग्ला र विशाल भवनहरूको विस्कुन हालेर बसेको रहेछ।

गगनचुम्बी अनगिन्ती ती आलिशान भवनहरू एक्कासी देख्ने बित्तिकै म लाटोजस्तै अक्क न वक्क बनेँ। ती दृष्यहरुमा आँखा बिसाएर एकछिन टोलाई रहेँ। हुन पनि त्यो सहर रंग र शौन्दर्यले ह्वारह्वार्ती दन्किरहेजस्तो देखिन्थ्यो।

युरोपका प्रमुख देशहरूको भ्रमणमा केही अग्ला भवनहरू नदेखेको पनि होइन। सिकागोस्थित अमेरिकाकै सबैभन्दा अग्लो भवन सियर्स टावरको अनुभव पनि गरेको छु।

तर एकै स्थानमा त्यति धेरै, वग्रेल्ती र अनगिन्ति अग्ला भवनहरू र त्यसलाई सुहाउने अन्य विकास निर्माणका परिवेस, अबयबहरु कतै देखेको थिइन। साथै अन्यत्र छैन पनि होला भन्ने निष्कर्षमा पुगेँ म।

चिटिक्क परेका अनि दुबो झैँ मौलाएका अनगिन्ती ती गगनचुम्बी भिमकाय भवनहरू केहीमा अन्तर्राष्ट्रिय संगठनहरुका झण्डाहरू फरफराइरहेका थिए भने केहीमा आर्थिक तथा मौद्रिक रुपमा विश्व हाक्ने, हल्लाउने व्यापारिक र व्यवसायिक प्रतिष्ठान तथा संघ-संस्थाहरूका ठूलाठूला साइनबोर्डहरू देखिन्थे।

फराकिला र सफा बाटाघाटाहरूमा चिल्ला कारहरू अबिरल हुँइकिइ रहेछन् भने जलासयहरूमा मोटरबोटहरू सललल बगिरहेछन्। लामा-लामा र भब्य आधुनिक पुलहरूले नदीका दुइ किनार जोडेर ठम्म परी उभिएका देखिन्थे।

भौतिक विकासले पराकाष्ठा नाघेको हुँदा आश्चर्यको पनि आश्चर्य रहेछ म्यानहटन। अमेरिकी जीवनमा घाम भएर झुल्किएको रहेछ यो स्थल। अपूर्व सुन्दरता बोकेर मादकतामा मस्किइरहेकी रुपयौवना सुन्दरीजस्ती देखिन्थ्यो।

समग्रमा भन्नु पर्दा सृजना, निर्माण, उन्नती र ज्ञानको सङ्ग्राहलयजस्तो म्यानहटन। हाम्रा पूर्विय दर्शन तथा सभ्यताका प्रख्यात कारिगर, वास्तुकार अर्थात विद्वान् इन्जिनियर ‘विश्वकर्मा’ भन्ने व्यक्तिको स्थायी कर्मथलो नै म्यानहटन हो कि जस्तो पनि लाग्यो मलाई।

म एउटा यात्रिले त्यहाँ त स्वर्ग नै आएर बसेको रहेछ भने जस्तो आश्चर्य अनुभूत गर्न पुगेँ। मेरो शान्त हृदयमा अनेकन लहर पैदा हुन पुग्छ-अहो! कस्तो सुकिलो र सुगन्धित देश बनाए हँ यी गोराहरुले।

म्यानहटनको अवलोकन भ्रमणको पहिलो पलकमा नै मेरो मनमा एउटा प्रश्नले खुट्टा उचालि रह्यो । त्यही प्रश्नले दिमाग गिजोलेको गिजोल्यै मात्र थिएन। टाउकामा घण्टी पनि बजाइरहेको थियो ।

ल, निर्माणकला सम्बन्धी सम्पूर्ण शिप, कौशलका कुरा छाडौँ तर यो वैभव, यो एैश्वर्य र अद्भूत भौतिक विकास गर्ने आर्थिक क्षमताको तागत के हो? कहाँबाट आयो अथाह श्री, सम्पत्ति ? यी महान इमारतहरू अनि उच्च धरोहरहरू सिर्जनाको श्रोत र साधन कसरी जुट्यो ? हाम्रो सानो दिमागले सोच्दा लाग्न सक्छ- संसारभरको धन, दौलत त्यहीँ टक्टक्याए पनि यो चरम विकास सम्भव नहोला ।

यसै प्रसंगमा मलाई यी अमेरिकीहरूको विगतको दैलो उघार्न मन लाग्यो। झण्डै चार सय वर्ष पहिले मात्र नै यिनीहरू यूरोपतिरबाट आएका हुन्। धनि, शिक्षित, दक्ष, योग्य, क्षमतावान अनि विद्वान् नागरिक हुँदा हुन त आ-आफ्ना देशमा नै अड्डा जमाएर बस्थे होलान्।

उतैको सत्ता स्वार्थमा अबस्य रमाउँथे होलान्। जोखिमयुक्त लामो यात्रा तय गरि स्थानगत रोगव्याध र जंगली जनावरहरूसँग लड्न अनि भविष्यको सुनिश्चितता बेगर जीवनलाई नै दाउमा राख्दै अवस्य आउने थिएनन् अमेरिका। यसैले भन्न सकिन्छ प्रारम्भिक चरणताका आउनेहरू दुर्वलहरू नै थिए। गरिबी र अभावको गरुँगाे पोको बोकेका मात्र थिएनन् दु:ख र पLडाको “खुईय” सुस्केरामा पनि अभ्यस्त थिए।

अर्कोतर्फ सूर्य नअस्ताउने साम्राज्यको अधिपति बनेको बेलायतले झैँ संसारभरको साधन श्रोत अनि धन, दौलत उपर मुख गाड्न नपाएको मात्र हैन स्वयं नै साम्राज्यबादको पन्जामा थियो अमेरिका। देश निर्माणमा मात्र कहाँ लाग्न पायो र यसले?

स्वतन्त्रताका लागि बेलायति साम्राज्यसँग युद्ध लड्यो र आफ्नै देशभित्र सिभिल वार समेत  व्यहाेर्‍याे। यति हुँदा हुँदै पनि नयाँ मुलुकमा प्रवेश गरेको झण्डै २०० वर्षपछि नै न्यूयोर्क र म्यानहटनले मात्र हैन पुरै अमेरिकाले आफ्नो उच्च परिचयको रोशनीलाई संसारभर प्रतिस्थापित गर्न सकेको थियो।

अतः यस्तो जटिल विगत ब्यहोरेको एउटा देशले अल्प समयमानै  “सुनको थालमा सुनकै कचौराहरू घेरा लगाएर भोजन गरिरहेको” देख्दा यो कसरी सम्भव हुन गयो होला भन्ने प्रश्नहरूले वारम्बार मेरो दिमाग गिजोल्नु स्वभाविकै पनि हो।

राजनीतिक हिसाबले कुरा गर्नु पर्दा न्यूयोर्क राज्यको न्यूयोर्क काउण्टिभित्र पर्ने न्यूयोर्क सिटिलाई पाँच भाग याने कि बरो ( Borough )मा विभाजन गरिएको छ। र ती मध्ये म्यानहटन सबैभन्दा बिकसित, सानो तर बढी जनसङ्ख्या भएको बरो हो। यो न्यूयोर्कको ‘मुटु’ अर्थात केन्द्र भाग हो। त्यसैले यसलाई न्यूयोर्कको पनि न्यूयोर्क भनिँदोरहेछ।

म्यानहटनमा हामीलाई गाइडले एउटा ३-४ तले घरभित्र लगे। उनले हामीलाई भने-अब हामी ‘फेरी’’ याने कि पानीजहाजबाट हड्सन रिभरपारि पुग्छौँ र फर्कने कार्यक्रममा छौँ भने। मैलेले सोचेका थिएँ कि यो घर फेरि यात्राको लागि टिकट काट्ने काउण्टर लगायतको व्यापारिक भवन होला।

तर एकछिनपछि हामी उभिरहेको भवन नै हल्लिएको, चलायमान जस्तो अनुभव भयो मलाई। झ्यालहरूबाट दायाँ तथा बायाँ हेर्छु त घरहरू हिँडेका जस्ता लाग्छन्। निश्चित भयो आखिर त्यो ३/४ तल्ले घर नै फेरी याने कि पानीजहाज रहेछ।

जहाजको पछाडितर्फ गएँ म। त्यो त पानीलाई स्वार्रर्र पछाडि फाल्दै अगाडि बढेको पाएँ। पारिपट्टि देखिएका म्यानहटनका अग्लाअग्ला घरहरू क्रमशः टाढा टाढा हुँदै थिए।

हड्सन नदी ठूलो तथा फराकिलो रहेछ। फेरि अगाडि बढ्दै जाँदा उसले पछाडि हुत्याएको पानीको छाल नाच्दाको दृष्य मनमोहक देखिन्थ्यो। अर्कोतर्फ त्यस पानीमा म्यानहटनको प्रतिच्छायाँ ढलपल ढलपल गरेर चल्मलाएथ्यो। हामी अगाडि बढ्दै थियौँ ।

देव्रेतर्फ लामो हड्सन ब्रिज नदीको दुई किनारालाई जोडेर ढसमस्स बसेको देखियो भने दाहिनेतर्फ एउटा सानो टापुमा स्ट्याचु अफ लिवर्टी छर्लङ्ग उभिएथ्यो जसलाई यसो हात तन्काएर काखमा राख्न सकिन्छ भनेजस्तो दूरिमा थियो।

हामी कहिले जहाजको दायाँ र वायाँ त कहिले अगाडि पछाडि गर्दै रमाइ रह्यौँ। फेरीका सबै तलाहरुमा मानिसहरुको घचारो छ। यात्रुहरु दृष्यपानमा व्यस्त थिए। यो नि:शुल्क फेरियानले २५/३० मिनेटपछि यथास्थानमा आएर विश्राम लिँदो रहेछ।

म्यानहटन कडा चट्टानले बनेको आइल्याण्ड हो र त बग्रेल्ती अग्लाअग्ला भवनहरू सयौँ वर्षदेखि सुरक्षित रूपमा अस्तित्वमा रहेका छन्। खास गरी ज्यादै अग्ला भवनहरूको थुप्रो दक्षिणि भाग यानि कि डाउन टाउनमा देखियो। म्यानहटनको दक्षिण भागलाई डाउनटाउन, बीचको भागलाई मिडटाउन र उत्तरी भागलाई अपटाउन भनिँदो रहेछ। डाउन टाउन भन्ने बित्तिकै केन्द्रस्थल, मुख्य भूभागको रूपमा लिइन्छ अमेरिकामा।

डाउन टाउनस्थित वालस्ट्रिल मुख्य फाइनान्सियल एरिया रहेछ। आर्थिक तथा मौद्रिक र इण्टरटेनमेण्टको हिसाबले विश्वको राजधानि नै मानिँदो रहेछ त्यो भूभाग। आर्थिक तथा मौद्रिक रूपमा प्रख्यात ती भवनहरू याने कि संस्थाहरुलाई हेरिरहँदा संसारमा नै आफ्नो आधिपत्य अनि सामर्थ्य जमाउन सफल भएको नोट ‘डलर’ मेरो हृदयको फाँटमा उब्जियो।

अमेरिकाको मात्र हैन आज संसारभरका मुलुकहरुको सर्वस्वीकार्य नोट बन्न डलर सफल हुनुको जस यी संस्थाहरुमा नै जान्छ जस्तो लाग्यो मलाई। ठूला स्टक मार्केट, प्रख्यात बैकहरुको हेडक्वाटरहरू नै रहेछन् त्यहाँ।

क्रमशः मिड टाउन र अप टाउनको पनि केही भाग डुल्यौँ। वर्ल्ड ट्रेड सेण्टर, ट्विनटावर, एम्पायर स्टेट हाउस, ठूलो बन्दरगाह, टाइम स्क्वायर आदि प्रख्यात धरोहरहरु अबलोकन गर्दै गयौँ। त्यस क्षेत्रका मानिसहरुको तौरतरिका, ब्यबहार र सभ्यता बीचबाट पनि उन्नति, बिकास र सम्पन्नता हाँसिरहेको स्पस्ट हुन्थ्यो।

सूर्यको बैँस चरम उत्कर्षमा थियो। सफा तथा नीलो आकाशमा बादलका टुक्राहरु कताकती देखिन्थे। सररर्र बहेको हावाको झोक्काले मेरो केश तथा पोशाक हल्लाई रहेछन्। म भने त्यो सहरको रुपको नशामा लठ्ठिएको अनुभब गरिरहेछु। स्वयंलाई प्रश्न गर्छु-कुन तिर्सनाले यो अद्भुत विकास सृजनामा अभिप्रेरित भए होलान् यी अमेरिकीहरु?

पुरै म्यानहटनलाई पर्यटकहरुका भिडले ढाकेको छ। तिनका उत्सुक अनुहारमा सपना सजिएको प्रतित हुन्थ्यो। यिनका आँखामा आँखा बिसाएर हेरेँ- हरेकका जीवनमा सफलताले अँगालो हालेको भान हुन गयो मलाई।

विशाल क्षेत्रफल ओगटेर बसेको सेन्ट्रल पार्कमा पनि गयौँ हामी। त्यो पूरै पार्क हेर्न लामो समय लाग्ने थियो ता पनि त्यसको प्रमुख भागहरु हेर्न छुटाएनौँ। कङ्क्रिटको जंगलमा रुमल्लिएकाहरूले दिल बहलाउने प्रयोजनार्थ प्राकृतिक हरियाली र त्योसँग सम्बन्धित अनेकन विषयलाई मनोरम किसिमले प्रस्तुत गरिएको देखियो।

त्यहाँ बगैँचाहरूमा, तालहरूका किनारामा, विभिन्न चिडियाखाना वरिपरि, हरिया चौरहरूमा केही युगल युवायुवतीहरू पिरतीको थालिभरी जवानीको सगुन साटासाट गरिरहेका देखिन्थे। नग्नता लुकाउने वस्तु होइन, हेर्ने र अनुभव गर्ने हो भन्ने मुडमा भए जस्ता छन्।

कतिपय त आशक्तिपूर्ण नखरामा ‘ठुँगाठुँङ’ गरिरहेथे। प्रफुल्ल देखिन्थे किनकि त्यो ठुँगाठुँङ मायाको अभिब्यक्ति थियो। आपसी झगडा वा द्वन्द्व थिएन। यौनका प्रतिमा जस्ता लाग्ने उनीहरुको तिर्खा त्यतिले मात्र मेटिएला जस्तो देखिँदैन थियो।

त्यसपछि हामी संयुक्त राष्ट्रसंघको हेड क्वाटर पुग्यौँ। जहाँ १९३ सदस्य राष्ट्रहरुका झण्डाहरु फरफराइरहेका देखिन्थे। म्यानहटनको अपटाउनमा भने प्रायः आवासिय भवनहरु धेरै रहेछन्।

म्यानहटन अवलोकनको क्रममा अनेक रूप, रंग र वर्णका मानिसहरूको उपस्थिति देखिन्थ्यो त्यहाँ। लाग्थ्यो यो आईल्याण्ड सृष्टि भरका मानवहरुको नमूना बस्ती हो। मानिसहरू यति धेरै व्यस्त छन् कि आ-आफ्नो जीवनको स्वाद लिने फुर्सद कसैलाई पनि छैन। दिन मात्र होइन त्यो सहरको रात पनि व्यस्त, कृयाशिल र उज्यालो छ। अविरल जागिरहेछ । त्यो म्यानहटन नथाकेको देख्दा म स्वयं थाक्न पुगेँ।

एकातर्फ अमेरिकाको वैभव र आर्थिक सम्पन्नता अर्कोतर्फ आफ्नै मुलुकको पछौटेपन र गरिबिलाई नियाल्दा मेरो दिमागमा एउटा वैराग्यचेत हाबी हुन पुग्छ र उदेकलाग्दा भाबनाहरु मडारिन्छन्-‘खै, लक्ष्मीको रुपमा रहेकी हाम्री गौमातालाई छ्याक्क काटेर भोजन गर्नेहरु एकातिर यो बैभवसहित चन्द्रमामा पुगिसके अर्कोतर्फ उनैलाई पुज्दै ‘गु र मुत’ खाने हामीहरू भने आहार अनुसारकै व्यवहारमा लिप्त छौँ’।

परंपरा, संस्कार, संस्कृतिलाई पनि कसरी लिने हो कुन्नि ? धर्म-अधर्म भनेको पनि के हो के हो खै ? यति हदसम्म विवेकहिन र अन्यायी त नहुनु पर्ने हो भगवान् यदि अस्तित्वमा छन् भने।

म्यानहटन अबलोकनको पहिलो फालमा नै आफ्नो मनमा उब्जिएका अमेरिकी बैभव, सम्पन्नता र विकास सम्बन्धी कुतुहलता र जिज्ञासाको गाठो विस्तारै फुकाउन उद्यत हुन्छ मेरो मन।

मेरो सानो तथा सुस्त दिमागले तर्कना गर्छ-एकातर्फ ठूलो देश, अथाह प्राकृतिक साधन र श्रोतहरु। अनि अर्कोतर्फ ‘सफ्टवयर बिक्री गरि हार्डवयर खरिद गर्ने’ व्यापारिक कला र पोलेसी। अर्थात् बुद्धि, दिमाग, अक्कल, ट्रिक र टेक्निक बहुमुल्यमा बिक्री गरी जनजीबिकाका सामान्य उपभोग्य विषयवस्तुहरु शुलभ मुल्यमा खरिद गर्ने शिप। यसरी अमेरिकी साधन, श्रोतको निर्माण र व्यवस्थाको मूल आधार प्रथमतः यिनै हुन् कि ?

समग्रमा भन्नु पर्दा राजनैतिक प्रणालीको निष्ठा र दाइत्वपूर्ण प्रयोग, मानवीय र प्राकृतिक साधन श्रोतहरुको उच्च व्यवस्थापकीय क्षमता अनि उचित तथा व्यवहारिक शिक्षा प्रणाली अमेरिकी विकासका मूल आधार हुन भन्ने ठम्याइमा पुग्यो मेरो मन ।

हालः  म्याडिसन, विस्कन्सन अमेरिका ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *